प्रधानाध्यापक : शैक्षिक गुणस्तर सुधारका सारथि


News Summary

Generated by OK AI. Editorially reviewed.

  • माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी वर्गीकृत भएसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रधानाध्यापकको भूमिकाबारे बहस शुरू भएको छ।
  • युनेस्कोको प्रतिवेदनअनुसार प्रधानाध्यापकको सबल नेतृत्वले मात्र विद्यार्थीको शैक्षिक उपलब्धिमा २७ प्रतिशतसम्म सकारात्मक भिन्नता ल्याउन सक्छ।
  • विद्यालयको रूपान्तरणका लागि प्रधानाध्यापकलाई राजनीतिक हस्तक्षेपमुक्त राखी निष्पक्ष छनोट र नेतृत्व विकास तालिमको व्यवस्था गर्न आवश्यक देखिन्छ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा वैशाख २८ गते प्रकाशन भयो । नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी वर्गीकृत (ग्रेडेड) भए । यो नतिजा गत वर्षको भन्दा ४.१७ प्रतिशतले बढी हो । गएको २ वर्षको नतिजा हेर्दा २०८० मा ४७.८६ र २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी वर्गीकृत थिए । यस वर्ष सुधारको यो वृद्धि दर कायम हुन सकेन ।

परिणामको बारेमा विभिन्न कोणबाट व्याख्या विश्लेषण भइरहेको छ । गुणस्तर अभिवृद्धिको जिम्मेवारी कसको हो ? अपेक्षाकृत सुधार किन हुन सकेन ? आदि । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा धेरै पक्षको भूमिका हुन्छ । पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा पद्धति, विद्यालय वातावरण, विषयगत शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकारलगायत शैक्षिक गुणस्तर वृद्धिमा जिम्मेवार हुन्छन् । तर बढी भूमिका विद्यालयको चार दिवार भित्रका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीको हुन्छ ।

महाभारतमा पाण्डवले युद्ध लडे तर सारथि थिए कृष्ण । त्यस्तै, विद्यालयमा युद्ध कला शिक्षकले सिकाउँछन्, युद्ध विद्यार्थी लड्छन् र प्रधानाध्यापक समग्र युद्धलाई सौम्य सारथि बनेर हाँक्छन् । युद्ध जित्न यी तीनै पक्षको महत्वपूर्ण योगदान छ । यो लेख भने प्रधानाध्यापकको भूमिकाका बारेमा मात्र केन्द्रित छ ।

विद्यालयको भौतिक, शैक्षिकलगायत समग्र पक्षको गुणात्मक विकासमा प्रधानाध्यापकको भूमिका प्रमुख रहन्छ । विद्यालयको सफलता वा असफलता प्रत्यक्षतः प्रधानाध्यापकको नेतृत्व क्षमतासँग जोडिएको हुन्छ । विद्यालयमा उपलब्ध मानवीय, भौतिक र आर्थिक स्रोत साधनको उचित परिचालन गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा नेतृत्व प्रदान गर्ने मुख्य जिम्मेवार व्यक्ति नै प्रधानाध्यापक हुन् ।

अहिलेको युग प्रविधिको हो । एआई र च्याट जीपीटी विद्यार्थीको साथी भइसकेको अवस्थामा शिक्षक पनि सोहीअनुसार रुपान्तरण हुन जरुरी छ ।

सन् २०२५ मा युनेस्कोले प्रकाशित गरेको दिगो विकासको लक्ष्य शिक्षाको विश्व अनुगमन प्रतिवेदनअनुसार प्रधानाध्यापक विद्यालयका प्रशासनिक प्रमुखका साथै शैक्षिक सुधारका संवाहक हुन् । गुणस्तर सुधारका लागि प्रधानाध्यापकले शिक्षण सिकाइ प्रक्रियामा प्रत्यक्ष निगरानी, मार्गदर्शन र पृष्ठपोषण प्रदान गर्छन् ।

प्रधानाध्यापक कक्षा कोठामा कति समय बिताउँछन्, शिक्षकले प्रयोग गर्ने शिक्षण विधि कस्तो छ, विद्यार्थीमा सिकाइ भइरहेको छ कि छैन, विद्यार्थी कति अनुशासित र परिश्रमी छन् जस्ता विषयमा निरन्तर अनुगमन गर्दै पृष्ठपोषण र उत्प्रेरणा जागृत गर्नुपर्छ । युनेस्को प्रतिवेदन भन्छ- अब शिक्षण विधिको आमूल परिवर्तन आवश्यक छ । यो प्रक्रियाको लागि प्रधानाध्यापकले शिक्षकलाई सहजीकरण गर्नुपर्छ ।

अहिलेको युग प्रविधिको हो । एआई र च्याट जीपीटी विद्यार्थीको साथी भइसकेको अवस्थामा शिक्षक पनि सोहीअनुसार रुपान्तरण हुन जरुरी छ । यसका लागि विद्यालयमा डिजिटल कक्षा कोठा, कम्प्युटर ल्याब र प्रविधियुक्त शैक्षिक सामग्री आदिको उचित व्यवस्थापन गर्ने काम प्रधानाध्यापकको हो ।

शिक्षकको क्षमता विकास सरकारको जिम्मेवारी हो । सरकारले लामो समयको तालिम सञ्चालन गर्छ । तर शिक्षा व्यवस्था राम्रो भएका विश्वका कयौं देशले विद्यालयमा आधारित छोटो समयको शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यसैले नेपालमा पनि प्रधानाध्यापकको नेतृत्वमा विद्यालय स्तरमा तालिम, गोष्ठी, कार्यशाला, अन्तर्क्रिया, छलफल जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । प्रधानाध्यापकको नेतृत्वमा विद्यालयलाई सिकाइ केन्द्रको रूपमा स्थापित गर्नुपर्छ ।

प्रधानाध्यापक शैक्षणिक नेताका साथै व्यवस्थापक र प्रशासक पनि हो । विद्यालयको समग्र प्रशासन व्यवस्था चुस्त भएन भने गुणस्तरीय शिक्षा सम्भव छैन । विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन, लेखा परीक्षण र वित्तीय अनुशासन, प्राप्त स्रोत साधनको उचित परिचालन, सामाजिक परीक्षण, सम्पत्ति अभिलेखीकरण र संरक्षण आदि प्रधानाध्यापकका प्रशासनिक काम हुन् । विद्यालयमा सुशासन कायम गर्ने काम प्रधानाध्यापकको हो ।

प्रधानाध्यापक विद्यालयको दूरदृष्टि, लक्ष्य र गन्तव्यमा प्रष्ट हुनुपर्छ । यी विषयमा नेतृत्व प्रष्ट हुँदा मात्र उसले शिक्षक र विद्यार्थीलाई अनुशासन, सकारात्मक कर्म र मिहिनेतका लागि उत्प्रेरित गर्न सक्छ । शिक्षकलाई आफ्नो कार्यप्रति जिम्मेवार बनाउन र मनोबल उच्च राख्न प्रधानाध्यापक निष्पक्ष, सहयोगी र प्रजातान्त्रिक हुनु पर्छ । प्रधानाध्यापकले राम्रो काम गर्ने शिक्षक र कर्मचारीलाई सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुका साथै कमजोरी गर्नेलार्ई सचेत गराउँदै सुध्रने मौका दिनुपर्छ जसले गर्दा विद्यालयमा अनुशासन कायम हुन्छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षा मन्त्रालयको प्रतिवेदनअनुसार प्रधानाध्यापकले प्रशासनिक कामका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षक र विद्यार्थीको मार्गदर्शक र उत्प्रेरकको भूमिका निर्वाह गरेमा मात्र विद्यार्थीको शैक्षिक उपलब्धि दिगो रूपमा वृद्धि हुने कुरामा जोड दिएको छ ।

बागदेवी माध्यमिक विद्यालय काभ्रेका प्रधानाध्यापक हिमाल केसी लेख्छन्- शिक्षक भित्र काम गर्ने उत्साह, सम्मानको अनुभूति र अपनत्वको भावना जागृत नभएसम्म वास्तविक सिकाइमा सुधार आउँदैन । शिक्षकलाई विश्वास चाहिन्छ, सम्मान चाहिन्छ, सुन्ने वातावरण चाहिन्छ । जे परे पनि म तपाईँसँगै छु भन्ने भावना देखाउनुस्, शिक्षकले तपाईँको कल्पनाभन्दा बाहिरको काम गर्न सक्छन् ।

केसीले भनेझैँ शिक्षकलाई आश्वस्त गराउन सरकार, समाज र दल सबैको सकारात्मक सोच र कर्म आवश्यक छ । तर शिक्षकलाई विश्वासमा लिने कार्यको सुरुवात गर्ने पहिलो व्यक्ति भने प्रधानाध्यापक नै हो ।

विद्यालयलाई भयमुक्त स्थलको रूपमा विकास गर्दै शान्त सिकाइ केन्द्र बनाउने दायित्व प्रधानाध्यापकको हो । विद्यालयलाई छात्रा तथा फरक क्षमता भएका विद्यार्थी मैत्री बनाउँदै समाजका सबै प्रकारका फूल फुल्न सक्ने वातावरण निर्माण गर्न सक्नु सफल प्रधानाध्यापकको गुण हो ।

तीनै तहको सरकारको शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने कार्यको नेतृत्व प्रधानाध्यापकले गर्छन् । सरकारले कार्यक्रम र बजेट प्रदान गर्छ, त्यसको सही उपयोग गर्ने काम प्रधानाध्यापकको हो ।

विद्यालय पढ्ने र पढाउने थलोका साथै समाजले संस्कार, संस्कृति र समभाव सिक्ने मन्दिर पनि हो । त्यसैले प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सबैले आचारसंहिता पालना गर्नु पहिलो कर्तव्य हुन्छ । जगतगुरु स्वामी डा. प्रपन्नाचार्यको विद्या र विनयशिलता सँगै हिँड्नु पर्छ भन्ने भनाइलाई प्रधानाध्यापकले सधैं ख्याल गर्नुपर्छ ।

प्रधानाध्यापक समुदाय र विद्यालयको पुल हो । प्रधानाध्यापकले शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक र समुदायको सहयोग लिनु अपरिहार्य छ । अभिभावकलाई आफ्ना बालबालिकाको सिकाइप्रति सचेत गराउन नियमित रूपमा अभिभावक भेला गर्ने, विद्यालयका राम्रा र सुधार गर्नुपर्ने क्षेत्रको बारेमा जानकारी गराउने कार्य प्रधानाध्यापकको हो । साथै, विद्यालय व्यवस्थापन समितिसँग समन्वय गर्दै विद्यालयको नीति निर्माण गर्ने, विद्यालय सुधार योजना बनाउने, बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानाध्यापकको नै हो ।

तीनै तहको सरकारको शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने कार्यको नेतृत्व प्रधानाध्यापकले गर्छन् । सरकारले कार्यक्रम र बजेट प्रदान गर्छ, त्यसको सही उपयोग गर्ने काम प्रधानाध्यापकको हो । प्रधानाध्यापकले स्थानीय, प्रदेश र संघीय सरकारबाट प्राप्त बजेट पारदर्शी र उद्देश्यअनुरूप सम्बन्धित कार्यक्रममा खर्च गर्नुपर्छ ।

विद्यालयको रुपान्तरण र परिवर्तनको नेतृत्व प्रधानाध्यापकले गर्छन् । परिवर्तनप्रति सकारात्मक र सबल नेतृत्व गर्ने प्रधानाध्यापक भएका विद्यालयको शैक्षिक सुधार छिटो भएको पाइन्छ । युनेस्को प्रतिवेदनका अनुसार प्रधानाध्यापकको नेतृत्वले मात्र विद्यार्थीको शैक्षिक उपलब्धिमा २७ प्रतिशतसम्म फरक पार्न सक्छ ।

अभिभावक, समाज र सरकारले समेत शैक्षिक गुणस्तरको सारथि स्वीकारेको प्रधानाध्यापकले इमान्दारिता साथ आफ्नो कर्तव्य निभाउने क्रममा थुप्रै समस्या झेल्नु पर्ने देखिन्छ । सीमित स्रोत साधन, राजनीतिक हस्तक्षेप, शिक्षक दरबन्दीको अभाव, अनुगमनको कमी, पेसागत सहयोगको अभाव, विद्यार्थीमा बढ्दो अनुशासनहिनता, अभिभावकको विद्यालयप्रतिको चासोमा कमी प्रधानाध्यापकले बेहोर्दै आएका समस्या हुन् ।

बजेट अभावका कारण कतिपय गर्नै पर्ने शैक्षिक क्रियाकलाप गर्न नसकिएको गुनासोसमेत कतिपय प्रधानाध्यापकको रहन्छ । विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी नहुनु, अभिभावकले भनेबमोजिम कम्प्युटर शिक्षा पढाउन नसक्नु, दरबन्दीको अभाव हुनु, अतिरिक्त क्रियाकलाप गर्न तथा विद्युत, पानी, इन्टरनेट लगायतका शीर्षकमा रकमको कमी हुन्छ । कम्प्युटर र विज्ञान सामग्री मर्मत गर्ने रकम छैन । अभिभावक भेला, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको बैठक बस्दा चिया-खाजाको व्यवस्थासम्म गर्न नसकिने अवस्थासमेत विद्यमान देखिन्छ ।

शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सबल, सक्षम, सौम्य र समभावी प्रधानाध्यापकको आवश्यकता पर्छ । जसको लागि कार्यसम्पादन र जेष्ठतामा आधारित छनोट प्रणाली, प्राज्ञिक र प्रशासनिक अधिकार सम्पन्न, नेतृत्व विकास तालिम, स्रोत र साधनको उचित प्रबन्ध, राजनीतिक हस्तक्षेपबाट मुक्त अनिवार्य सर्त हुन् । युनेस्को प्रतिवेदनका अनुसार विद्यालयले सक्षम प्रधानाध्यापक चाहने हो भने निष्पक्ष छनोट प्रक्रिया, विश्वासको वातावरण तथा नेतृत्व विकास र दक्षता अभिवृद्धिको अवसर मुख्य कुरा हुन् ।

अन्त्यमा, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यका मुख्य सारथि प्रधानाध्यापक हुन् । प्रधानाध्यापकको कुशल समन्वय, सहकार्य, व्यवस्थापन र नेतृत्वले नै विद्यालयको रूपान्तरण सम्भव हुन्छ । प्रधानाध्यापकले समग्रमा प्राज्ञिक नेतृत्व, प्रशासकीय व्यवस्थापन, प्रेरणदायी सहयात्री, सर्वपक्षीय समन्वयकर्ता तथा शिक्षक, विद्यार्थी र समाजको अभिभावकको रुपमा सन्तुलित र संयमित भएर विद्यालयको नेतृत्व गर्न सकेमा मात्र गुणस्तरीय शिक्षाको सपना साकार हुन सक्छ ।

त्यसैले, प्रधानाध्यापक विद्यालयको प्रशासनिक प्रमुखका साथै शैक्षिक सुधारको मूल नेतृत्व भएकोले सोही रूपमा आदर सम्मान र सबलीकरण गर्नु आजको आवश्यकता हो ।





Source link

Leave a Comment