प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार

यूएससीआईएसले हालै जारी गरेको नयाँ पोलिसी मेमोले अमेरिकाभित्रै बसेर ग्रीन कार्ड आवेदन दिने प्रक्रियामा ठूलो बहस सिर्जना गरेको छ। विशेषगरी भिजिटर, विद्यार्थी तथा अन्य नन-इमिग्रान्ट भिसावाहकहरूका लागि अडजस्टमेन्ट अफ स्टेटस प्रक्रिया कडा बन्न सक्ने संकेतपछि नेपाली समुदायमा पनि अन्योल र चासो बढेको छ। यो नयाँ नीतिले कसलाई असर गर्छ? को-को छुटको दायरामा पर्छन्? अमेरिकाभित्रै ग्रीन कार्ड आवेदन गर्ने प्रक्रिया अब कति जोखिमपूर्ण हुन सक्छ? कन्सुलर प्रोसेसिङतर्फ फर्किनुपर्ने अवस्था कत्तिको बढ्न सक्छ? यिनै विषयमा केन्द्रित रहेर अध्यागमन वकिल केशवराज सेडाईसँग खसोखासका प्रधानसम्पादक किशोर पन्थीले गरेको विस्तृत कुराकानी प्रस्तुत गरिएको छ।
यो कुराकानी हालै सम्पन्न लाइभ सेसनको हो, जसलाई एआईमार्फत ट्रान्सक्राइब गरिएको छ र सम्पादकद्वारा सामान्य सम्पादन गरिएको छ। प्रत्येक व्यक्तिको अध्यागमन अवस्था, भिसा इतिहास र कानुनी परिस्थिति फरक हुने भएकाले यहाँ व्यक्त गरिएका धारणा वा जानकारीलाई व्यक्तिगत कानुनी सल्लाहको रूपमा लिनु हुँदैन। आफ्नो व्यक्तिगत केस सम्बन्धी निर्णय लिनुअघि योग्य अध्यागमन वकिल वा कानुनी विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नु उपयुक्त हुनेछ।
युएससीआईएसले ग्रीन कार्ड आवेदनका लागि स्वदेश फर्कनुपर्ने भन्दै एउटा नयाँ पोलिसी मेमो जारी गरेको छ, यो मेमो खासमा के हो?
अहिले यो विषयलाई लिएर अलि हलचल चलिरहेको छ, अमेरिकामा भूकम्पजस्तै अवस्था आएको छ। वास्तवमा कुरा के हो भने, केही नियमहरू परिवर्तन भएका छन्। युएससीआईएसले नयाँ इन्टरनल मेमो जारी गरेर आफ्ना इमिग्रेसन अफिसरहरूलाई अपडेट गराएको हो। उनीहरूका लागि यो एउटा निर्देशन दिइएको डकुमेन्ट हो। पहिले हामीले के बुझ्नुपर्छ भने, मूल कानुन फेरिएको छैन र नियम पनि फेरिएको छैन। यो केवल आन्तरिक मेमोमा परिवर्तन गरेर प्रक्रियागत परिमार्जन गरिएको हो।
ऐतिहासिक रूपमा हेर्ने हो भने, सन् १९५२, १९५८, १९६०, १९६२ हुँदै विभिन्न समयमा र पछि १९८६ र १९९६ मा इमिग्रेसन कानुनमा विभिन्न प्रकारका परिवर्तन र विकासहरू भए। तर यो केवल ओपिनियनको कुरा मात्र हो, यसमा पुरानो व्यवस्थाको पूर्ण उन्मूलन गरिएको थिएन। तर अहिले जुन मे २१, २०२६ को नयाँ मेमो आएको छ, त्यसले जनताको अडजस्टमेन्ट अफ स्टेटसको अधिकारलाई एउटा स्थायी वा स्वतः प्राप्त अवधारणाको रूपमा होइन, तजविज अधिकार वा विशेषताको रूपमा लिएको छ। नेपाली भाषामा सरल रूपमा भन्नुपर्दा, अमेरिकाभित्रै ग्रीन कार्ड आवेदन दिनका लागि मात्र तपाईंलाई यो आधारभूत अधिकार स्वतः प्राप्त हुँदैन।
अडजस्टमेन्ट भनेको अमेरिकाभित्रै रहेर ग्रीन कार्डको आवेदन दिने प्रक्रिया हो भने कन्सुलर प्रोसेसिङ भनेको आफ्नो देशमा रहेको अमेरिकी एम्बेसी वा कन्सुलेटमा गएर भिसा लिई ग्रीन कार्ड पाउने प्रक्रिया हो।
धेरै मानिसहरूको चासो रहेकाले हामी असाइलमबाटै सुरु गरौँ। एसाइलीहरूलाई केही असर पर्छ?
यी विभिन्न वर्गहरूलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो भागमा असाइली र रिफ्युजीहरू पर्छन्, जुन वर्गहरू एउटै प्रकृतिका हुन्। जसले फर्म आई-५८९ मार्फत असाइलम फाइल गरे र असाइलम अफिस वा इमिग्रेसन कोर्टका जजले त्यसलाई अप्रुभ गरिदिए, उनीहरूले त्यो अप्रुभल भएको एक वर्षभित्रै ग्रीन कार्ड फाइल गर्न पाउँछन्। त्यसपछि उनीहरूको ग्रीन कार्ड अप्रुभ हुन्छ। यो अहिलेको इमिग्रेसन कानुनअनुसारकै नियमित प्रक्रिया हो। उनीहरूलाई यो मेमोले कतै असर गर्दैन, उनीहरूको जे व्यवस्था थियो, त्यसमै सीमित रहन्छ।
त्यसैगरी क्युबन एक्ट, नाक्रा, हाइटियन लगायतका अन्य सुविधाहरू सुरक्षित हुन्छन् र उनीहरूको परिवारका लागि पनि कुनै समस्या हुँदैन। त्यस्तै, भावा अन्तर्गत ग्रीन कार्ड फाइल गर्दा पाइने सुविधाहरू पनि जारी नै रहन्छन्। हिंसा र अपराधको सिकार भएकाहरूले अडजस्टमेन्ट अफ स्टेटस एप्लिकेसन फाइल गरेपछि पनि यो सुविधा पाइरहन्छन्।
अर्कोतर्फ २४५-आईको कुरा छ। यदि कोही डिसेम्बर १८, २००० भन्दा अगाडि अमेरिका आइपुगेको छ र एप्रिल ३०, २००१ भित्र पारिवारिक वा रोजगारीको आधारमा ग्रीन कार्ड प्रक्रिया सुरु गरिएको छ भने त्यो २४५-आई अन्तर्गत पर्छ।
भिजिटर भिसामा आएर रोजगारीको आधारबाट इबी-१, इबी-२ फाइल गरेर ग्रीन कार्ड लिनुपर्नेहरू, अथवा विवाहमार्फत पारिवारिक आधारमा ग्रीन कार्ड लिनेहरूको हकमा चाहिँ के हुन्छ?
हामीले के बुझ्नुपर्छ भने उनीहरूले आवेदकलाई दुई वर्गमा विभाजन गरेका छन्। एउटा वर्ग छुट पाएको वर्ग हो, जसको बारेमा हामीले पहिले नै चर्चा गरिसक्यौँ। यसमा असाइली, वावा, २४५-आई, नाक्रा, र क्युबन एक्ट लगायतका सबै परे।
अब दोस्रो समूहको कुरा गरौँ, जसलाई उनीहरूले लक्षित गरेका छन्। यसमा क्यानडाबाट आउने टिएन भिसा, इ-२, इ-३ भिसा, बी-१/बी-२ (भिजिटर भिसा), तथा अन्य नन-इमिग्रान्ट भिसाहरू जस्तै ओ-१ (ओ-१ए, ओ-१बी), पि-३ लगायतका सबै समूहका नन-इमिग्रान्ट भिसावाहकहरू पर्छन्।
यी भिसाहरू लिँदा मानिसहरूले ‘म अमेरिकामा स्थायी रूपमा बस्दिनँ, कामधन्दा, व्यापार वा मिटिङ जस्ता आफ्ना विशेष कामहरू सकेर फिर्ता जानेछु’ भनी प्रतिबद्धता जनाएर भिसा पाएका हुन्छन्। उनीहरूले त्यही मनसाय (इन्टेन्ट) देखाएर भिसा लिएका हुन्छन्।
यसको अर्थ बी-१/बी-२ भिसामा आउनेहरू सिधै ग्रीन कार्डमा जान पाउँदैनन्। अचेल ‘मैले फाइल गरेँ’ भनेर मानिसहरूले दुई प्रकारका आधा-अधुरा कुरा गरिरहेका छन्। तर अब बी-१/बी-२ भिसामा हुँदा सिधै फाइल गर्दैमा सजिलै ग्रीन कार्ड दिन सकिँदैन। उनीहरूले यस्ता केसमा एनटिए (डिपोर्टेसनको अदालतमा उपस्थित हुने नोटिस) समेत इस्यु गरिरहेका छन्।
त्यसोभए अहिलेको परिस्थितिमा स्टेटस अडजस्टमेन्ट गर्न चाहनेहरूले के गर्ने त?
अहिलेको स्थितिमा भन्नुपर्दा अडजस्टमेन्ट अफ स्टेटसका लागि आवेदन दिने बेलामा धेरै सोच-विचार गर्नुपर्छ। विभिन्न कानुनी विशेषज्ञहरूसँग सल्लाह गरेर, उनीहरूको अनुभव बुझेर मात्र अघि बढ्नुपर्छ। इमिग्रेसन वकिलहरूसँग कुरा गरेर कुन विकल्प राम्रो हुन्छ भन्ने कुरा बुझेपछि मात्र कुनै पनि एप्लिकेसन फाइल गर्नुपर्छ।
विशेष गरी बी-१/बी-२ भिजिटर भिसामा आउनेहरूले अमेरिका आएपछि के गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ। विवाहको हकमा, यदि कसैले विवाह गर्ने नै हो भने यहाँ आइपुगिसकेपछि मात्र गर्ने, नेपालमा वा आफ्नै देशमा हुँदा योजना बनाएर आउने होइन। यहाँ आएपछि साँच्चैको विवाह (बोनाफाइड म्यारिज) भएको हुनुपर्छ। यहाँ आइपुगेपछि विवाह गरेर फेरि आफ्नै देश फर्किने र कन्सुलर प्रोसेसिङ पूरा गरेर अगाडि बढ्न सकिन्छ कि सकिँदैन भनेर हेर्नुपर्छ।
यहाँ आएको दुई-तीन महिनाभित्रै केही पनि गर्नु हुँदैन। ९० दिन नाघेपछि मात्र विवाह र अन्य कानुनी प्रक्रिया अगाडि बढाउनुपर्छ। ९० दिन कटेपछि मात्र विवाह गरेर आई-१३० (पारिवारिक निवेदन) फाइल गर्न सकिन्छ।
तर एउटा कुरा ध्यान दिनुहोला, यस्तो अवस्थामा भिसा थप्ने (एक्सटेन्सन) वा अनावश्यक विवादमा लाग्ने काम नगर्नुहोला, किनकि एक्सटेन्सन अप्रुभ हुने सम्भावना न्यून हुन्छ। जब उनीहरूले तपाईंको आई-१३० एप्लिकेसन देख्छन्, तब तपाईंको मनसाय इमिग्रान्ट इन्टेन्ट (स्थायी रूपमा बस्ने मनसाय) भएको प्रष्ट हुन्छ, जबकि तपाईं नन-इमिग्रान्ट इन्टेन्टमा आउनुभएको थियो। यस्ता अवस्थामा भिसा थप्न गाह्रो हुन्छ। त्यसैले कुनै झमेलामा नपर्नुहोला।
आई-१४० (रोजगारीमा आधारित निवेदन) को कुरामा पनि उनीहरू यहाँ आएर ९० दिन बसेर, रिसर्च गरेर, आई-१४० फाइल गरे पनि उनीहरू नेपाल फर्केर कन्सुलर प्रोसेसिङमार्फत नै आउनुपर्छ भन्ने अहिलेको मुख्य नीति र चलिरहेको विषय हो।
कामदार भिसा एच-१बी र एल-१ मा हुनेहरूलाई के हुन्छ?
आई-४८५ (अडजस्टमेन्ट अफ स्टेटस) एप्लिकेसनको कुरा गर्दा, अहिलेको नयाँ नियमअनुसार केवल एच-१ र एल-१ भिसावाहकहरू मात्र यसमा एक्जेम्प्ट (छुट पाएका) विधा हुन्। यसमा पनि एच-१ लाई एल-१ भन्दा अगाडि अर्थात् बढी सुरक्षित मानिन्छ।
अरू भिसा जस्तै बी-१/बी-२ को हकमा त्यो सुविधा छैन, जहाँ भिजिटरका रूपमा आएर सिधै फाइल गर्न पाइयोस्। विगतमा आई-१४० वा आई-१३० को आधारमा आई-४८५ पनि सँगै फाइल गर्न सकिन्थ्यो। तर भर्खरैको यो नयाँ मेमोअनुसार ग्रीन कार्ड आवेदन फाइल त होला, तर अन्ततः कन्सुलर प्रोसेसिङ गर्न लगाइनेछ वा अडजस्ट गरिनेछ भन्ने कुरामा कडा सर्तहरू छन्।
त्यस्तै, आवेदकको कुनै आपराधिक रेकर्ड हुनु हुँदैन। मान्छेको ब्याकग्राउन्ड राम्रो हुनुपर्छ। यदि काम गर्नका लागि इएडी वर्क परमिट कार्ड छ भने त्यसको सही प्रयोग गर्नुपर्छ। साथै तपाईंले आफ्नो समुदायमा सहयोग गरेको, होमलेस सेल्टर वा वृद्धाश्रममा सहयोग गरेको र विवाहित जोडी हो भने आफ्ना श्रीमान्/श्रीमतीसँगै बसेको हुनुपर्छ। समाजमा तपाईंले आफ्नो सकारात्मक भूमिका देखाउनुपर्ने हुन्छ। सम्पत्तिको कुरा पनि आउँछ।
यदि कोही अन्डर-इम्प्लोइमेन्ट (क्षमताभन्दा कम स्तरको काम) मा छ भने त्यसलाई नकारात्मक रूपमा बुझिन्छ। यसले रोजगारदातालाई पनि समस्यामा पार्न सक्छ।
उदाहरणका लागि, यदि तपाईं संगीतकार, कलाकार वा फिल्म निर्देशकका रूपमा असाधारण क्षमता (एक्स्ट्राअर्डिनरी एबिलिटी – इबी-१) भएको विधामा हुनुहुन्छ, वा गायक/गायिका, अभिनेत्री हुनुहुन्छ; तर यहाँ आएर उबर ड्राइभरजस्तो काम गरेको वा फरक विधाको डब्लु-२ देखाउनुभयो भने, यसले तपाईं आफ्नो मुख्य उद्योगमा काम गर्ने मनसाय राख्नुहुन्छ भन्ने कुरा प्रमाणित गर्दैन।
यसले गर्दा तपाईंको केसमा नेगेटिभ असर पर्न सक्छ। त्यहाँ धेरै नेगेटिभ पाटाहरू छन्। कतिपय मानिसहरू अमेरिका आउँदाआउँदै आतुर भएर तीन महिना पुग्नेबित्तिकै तुरुन्तै ग्रीन कार्ड फाइल गर्छन्। छिटो-छिटो नेपालको प्रायोरिटी डेट मिलाएर आई-१४० र आई-४८५ सँगै फाइल गर्छन्, तर यो हतारोलाई पनि अहिले नेगेटिभ रूपमा हेरिन्छ।
तपाईंको गुड मोरल क्यारेक्टर, ट्याक्स (कर) चुक्ता गरेको विवरण, बैंक रेकर्ड र समाजमा तपाईंले दिएको योगदान राम्रो हुनुपर्छ। बेघरहरूलाई खाना वितरण गरेको, सामाजिक सेवा गरेको वा वृद्धाश्रम र नर्सिङ होमहरूमा भोलन्टियर (स्वयंसेवा) गरेको रेकर्डले नेपाल र भारतका आवेदकहरूको हकमा सकारात्मक भूमिका खेल्छ।
यो त भयो टाइमलाइनको कुरा। अब आफैँलाई भ्रममा नराखौँ, त्यो पुरानो सजिलो समय गयो। अब ग्रीन कार्डको अडजस्टमेन्ट अफ स्टेटसमा जसले एप्लाई गर्छ, उसलाई एकजना राम्रो र चतुर इमिग्रेसन वकिल चाहिन्छ। वकिलको सहयोग लिएर मात्र अगाडि बढ्न सकिन्छ कि भनी प्रयास गर्नुपर्छ। नत्र सीधा डिपोर्टेसनको चिठ्ठी दिएर यहाँबाट निकाल्न पनि सक्छन्, यो पहिलो खतरा हो।
पहिले नै आई-४८५ फाइल गरिसकेका मानिसहरूको अवस्था के हुन्छ?
त्यो कुरा केसको प्रकृतिको आधारमा निर्णय हुन्छ। सामान्यतया आई-१३० र आई-१४० को आधारमा आई-४८५ फाइल गर्न त सकिन्छ। यदि तपाईंको आई-१३० वा आई-१४० अप्रुभ भइसकेको छ र तपाईंका कागजातहरू पनि सही छन् भने त्यसकै आधारमा अडजस्टमेन्ट पाउनुपर्ने हो। तर यो नयाँ मेमोले के भन्छ भने, आई-१४० वा आई-१३० अप्रुभ भए तापनि (यदि तपाईं एक्जेम्प्ट विधामा हुनुहुन्न भने) तपाईंले नयाँ प्रक्रिया सुरु गरेर कन्सुलर प्रोसेसिङका लागि नेपाल जानुपर्ने हुन सक्छ। समयको हिसाबले यो प्रक्रियामा समय लाग्छ, तर पहिलेको जस्तो सजिलै अमेरिकाभित्रै बसेर मौका पाउने अवस्था अब छैन।
विद्यार्थी भिसामा आएकाहरू रोजगार वा परिवारमा आधारित ग्रीन कार्डको तरिकाबाट अडजस्टमेन्ट अफ स्टेटसको प्रक्रियाबाट जान पाउँछन् कि कन्सुलर प्रोसेसमै जानुपर्छ?
मेरो सुझाव र विश्लेषण यो हो कि यदि हामीसँग बलियो कानुनी आधार र प्रमाण छ भने पक्कै पनि अडजस्टमेन्ट अफ स्टेटसबाट जान सकिन्छ, नत्र कन्सुलर प्रोसेसमै जानुपर्ने हुन्छ।
प्रत्येक वर्ष करिब ८,००० नेपाली विद्यार्थीहरूले ग्रेजुएसन (स्नातक) गर्छन्। तीमध्ये धेरैजसो विद्यार्थीहरूले ओपिटी गर्छन् र उनीहरू स्टेम ओपिटीमा बस्छन्। त्यो तीन वर्षको अवधिमा उनीहरूले एच-१बी भिसा फाइल गर्छन्। तर जो लटरीमा पर्दैनन्, धेरै एम्प्लोयरहरूले उनीहरूको लेबर सर्टिफिकेट सिधै फाइल गरिदिँदैनन्।
तर अबको जुन नयाँ परिप्रेक्ष्य छ, यसमा जसको आई-१४० अप्रुभ भइसकेको छ, उनीहरूले पनि सजिलै आई-४८५ फाइल गर्न पाउँदैनन्। उनीहरूलाई पनि कन्सुलर प्रोसेसिङमा जान लगाइनेछ। कन्सुलर प्रोसेसिङमा जानुभन्दा अगाडि तपाईंले आफ्नो इमिग्रेसन हिस्ट्रीको विश्लेषण गर्नुपर्छ।
विद्यार्थी (एफ-१) त यहाँ पढिरहेकै हुन सक्छ, जस्तै उसले मास्टर्स वा त्योभन्दा माथिल्लो तहको पढाइ गरिरहेको हुन सक्छ। अब कन्सुलर प्रोसेसमा जाँदा, यहाँ पढिरहेको विद्यार्थीले नेपाल गएर भिसाको इन्टरभ्यूको डेट आएपछि मात्र जानुपर्ने हुन्छ। इन्टरभ्यूको डेट आएपछि त्यहाँ गएर मेडिकल गराउने र अर्को एक-दुई हप्ता बसेर ग्रीन कार्ड इन्टरभ्यूका लागि नेपालमा बस्नुपर्ने हुन्छ।
अहिले होमल्यान्ड सेक्युरिटीले व्यापक रूपमा एआई प्रयोग गर्छ। उनीहरूको एआईले जब सूचनाहरू स्क्रिनिङ गर्छ, तब कुनै पनि नेगेटिभ प्रभाव पार्ने विवरण भेटियो भने एम्बेसीबाट भिसा दिन डिनाई गर्न सक्छन्। यदि भिसा डिनाई भयो भने तपाईं उतै रोकिनुपर्ने ठूलो जोखिम हुन्छ।
हामीले विद्यार्थीबाट तथा एच-१ र एच-१ बाट ग्रीन कार्डको बाटोमा जाने भिन्नता बुझ्नुपर्छ। यदि तपाईं एफ-१ भिसाबाट सिधै लेबर सर्टिफिकेसन र आई-१४० लिएर ग्रीन कार्ड (आई-४८५) फाइल गर्नुहुन्छ भने, यो नयाँ मेमोअनुसार तपाईंको आई-४८५ डिनाई हुने सम्भावना ९०% सम्म हुन्छ। र एकपटक उनीहरूले आई-४८५ डिनाई गरेपछि तपाईंको एफ-१ को ओपिटी, सिपिटी वा स्टेम ओपिटीको स्टेटस पनि समाप्त हुन्छ र तपाईं सिधै डिपोर्टेसनको प्रक्रियामा पर्नुहुन्छ। एफ-१ बाट सिधै ग्रीन कार्ड फाइल गर्नु अहिले निकै खतरनाक छ।
यसको विपरीत, यदि तपाईं एफ-१ बाट पहिले एच-१बी भिसामा जानुहुन्छ भने अवस्था फरक हुन्छ। उनीहरूले एच-१बी भिसामा भएको व्यक्तिको ग्रीन कार्ड आवेदन खारेज वा अस्वीकार गर्न सक्छन्, तर एच-१बी भिसा रद्द गर्न भने सक्दैनन्। ग्रीन कार्ड आवेदन अस्वीकृत भए पनि उनीहरूसँग एच-१बी भिसा भने कायम नै रहन्छ।
एच-१बी बाट ग्रीन कार्डमा जाँदा तपाईंले अमेरिकाका लागि के योगदान दिइरहनुभएको छ, तपाईंको कुन क्षेत्रमा एक्सपर्टिज (विशेषज्ञता) छ, के यो नेसनल इन्ट्रेस्ट (राष्ट्रिय हित) मा छ, वा तपाईं एक्स्ट्राअर्डिनरी एबिलिटी भएको व्यक्ति हो भन्ने कुराहरू बलियोसँग प्रस्तुत गर्न सक्नुपर्छ। तपाईं एच-१ बाट ग्रीन कार्डमा जाँदै हुनुहुन्छ भने, तपाईंले आफ्नो बलियो ब्याकग्राउन्ड र सामग्रीहरू तयार पारेर युएससीआईएस अफिसरलाई आफू आफ्नो क्षेत्रको शीर्ष स्थानमा पुगेको व्यक्ति हो भनी प्रमाणित गर्नुपर्छ।
दोस्रो कुरा, मानौँ तपाईं आईटी सेक्टरमा इन्फर्मेसन सेक्युरिटी एनालिस्टको रूपमा काम गर्दै हुनुहुन्छ, जसले डिपार्टमेन्ट अफ डिफेन्सको सफ्टवेयर एप्लिकेसन, बैंकिङ सिस्टम वा अमेरिकाको फाइनान्सियल इन्टिग्रिटीको सुरक्षामा मद्दत गरिरहेको छ। यस्ता क्षेत्रहरूमा तपाईं अमेरिकाको हितका लागि महत्त्वपूर्ण व्यक्ति हो भनी प्रमाणित गर्न सकिन्छ। त्यसैले एच-१बाट ग्रीन कार्डमा जाँदा धेरै फाइदा हुन्छ, किनभने एच-१ भिसामा ड्युअल इन्टेन्ट (अस्थायी र स्थायी दुवै मनसाय राख्न मिल्ने) को कानुनी प्रावधान हुन्छ।
यदि अफिसरले ग्रीन कार्ड दिन चाहेन र आई-४८५ डिनाई गरिदियो भने एच-१ भिसावाहकलाई के असर पर्छ?
अफिसरलाई मनाउन र ग्रीन कार्ड लिनका लागि तपाईंले पहिलो प्रयास गर्ने हो। अब मानौँ, अफिसरले तपाईं त्यो मेरिट टेस्टमा योग्य हुनुभएन भनी निर्णय गर्यो। जुन मे २१ को मेमोमा उल्लेख गरिएको ‘टोटालिटी अफ सर्कमस्टान्सेज टेस्ट’ छ, त्यो तपाईंले पूरा गर्नुभएन भने तपाईंको आई-४८५ त डिनाई हुन्छ। तर, आई-४८५ डिनाई भए तापनि उसले तपाईंको एच-१ भिसा खारेज गर्न सक्दैन।
अर्कोतर्फ, अघिको एफ-१ को विश्लेषण सम्झिनुस्; एफ-१ को हकमा आई-४८५ डिनाई हुनासाथ एनटिए इस्यु भएर तपाईं डिपोर्टेबल आवेदक बन्नुहुन्छ। तर एच-१ मा उसले तपाईंको स्टेटसलाई छुन सक्दैन। ग्रीन कार्ड डिनाई भए पनि तपाईं कन्सुलर प्रोसेसिङको बाटो रोजेर नेपाल जान सक्नुहुन्छ, र त्यहाँबाट ग्रीन कार्ड लिएर पुनः अमेरिका फर्कन सक्नुहुन्छ। एफ-१ भर्सेस एच-१ को मुख्य भिन्नता र फाइदा यही हो।
यसको अर्थ, एच-१ र एफ-१ बाट जानेहरूका लागि धेरैजसो अवस्थामा कन्सुलर प्रोसेसमै जानुपर्ने बाध्यता यो मेमोले देखाएको छ—जबसम्म उनीहरूसँग एक्स्ट्राअर्डिनरी सर्कमस्टान्सेज (असाधारण परिस्थिति) को बलियो प्रमाण हुँदैन। र यो नियम एच-२ए, एच-२बी, वा एच-३ लाई होइन, केवल एच-१बी लाई मात्र लागू हुन्छ। साथै एल-१ (एल-१ए र एल-१बी) दुवै यसमा अलाउड (योग्य) छन्।
विशेष गरी मेडिकल क्षेत्रका धेरै नेपालीहरू जे-१ भिसामा आएर ग्रीन कार्डमा जाने गर्छन्। उनीहरूलाई यो मेमोले कस्तो असर पार्छ?
सामान्यतया जे-१ भिसावाहकहरूको हकमा ‘२ वर्षे फरेन रेजिडेन्सी रिक्वायरमेन्ट’ लागू हुन्छ। त्यसैले उनीहरूले ‘वेभर’ पाएर मात्र ग्रीन कार्ड प्रक्रियामा जाने सिस्टम भएकाले उनीहरूलाई यो मेमोले धेरै प्रभाव पार्दैन। उनीहरू स्टेट स्पोन्सर्ड वेभर वा निश्चित क्षेत्रका अस्पतालहरूमा काम गरेर मेडिकल वेभरहरू प्राप्त गर्छन्। वेभर पाइसकेपछि उनीहरूलाई युएससीआईएसले धेरै झन्झट दिँदैन। जे-१ भिसामा भए पनि वेभर प्रक्रिया पूरा गरेका हुनाले उनीहरूलाई यो नयाँ नियमबाट एक्जेम्प्सन (छुट) मिल्ने सम्भावना धेरै उच्च छ।
तसर्थ, नेपालीहरूको सन्दर्भमा यो मेमोले सबैभन्दा बढी असर पार्ने भनेको भिजिटर भिसा (बी-१/बी-२), विद्यार्थी भिसा (एफ-१/एफ-२) र नन-मेडिकल जे-१ भिसामा रहेकाहरूलाई हो। यसमा ओ-१, ओ-१ए, ओ-१बी लगायतका सबै भिसा क्याटेगरीहरू पर्छन्।
पारिवारिक हिसाबले अमेरिकी नागरिक वा ग्रीन कार्ड होल्डरसँग विवाह गरेर ग्रीन कार्डमा जान खोज्दा पनि यही नियम लागू हुन्छ?
यसमा पनि त्यही समान फर्मुला लागू हुन्छ। अमेरिकी नागरिक वा ग्रीन कार्ड होल्डरसँग विवाह गरेर स्टेटस परिवर्तन गर्न खोज्दा, यदि आवेदक एच-१ वा एल-१ भिसामा छ भने उसलाई सहज हुन्छ। तर यदि भिजिटर वा विद्यार्थी भिसामा छ भने उसले कडा कानुनी सर्त र स्क्रिनिङको सामना गर्नुपर्ने हुन्छ। तपाईंले आफ्नो असाधारण अवस्था प्रमाणित गरेपछि केही फरक पर्दैन। उदाहरणका लागि, तपाईंसँग मेडिकल अवस्था हुन सक्छ वा दम्पतीको मेडिकल अवस्था हुन सक्छ। एक्स्ट्रिम हार्डसिप (अत्यधिक कठिनाइ) प्रमाणित गर्न सकेमा ग्रीन कार्ड पाउने सम्भावना रहन्छ।
जुन जनसंख्या अमेरिकामा छ, अमेरिकामा आएर ओभरस्टे, स्टेटस उल्लंघन, भिसाको उल्लंघन वा अनाधिकृत काम गरेकाहरूलाई मुस्किल हुने सम्भावना छ। कुनै पनि स्टेटस अडजस्ट गर्नुअगाडि सावधानीपूर्वक कदम चाल्नुहोला। एच-१ र एल-१ का सन्दर्भमा बाहेक अरूमा देशनिकालाको प्रक्रिया सुरु हुने भएकाले विज्ञहरूको सल्लाह लिएर मात्र अगाडि बढ्नुहोला।
दूतावासबाट कन्सुलर प्रक्रियाबाट अगाडि बढ्दा, अहिले नेपालीहरूको लागि आप्रवासी भिसा स्थगित गरेकाले अन्तर्वार्तासम्म मात्र लिने गरिएको छ। तर नेपालको सन्दर्भमा अडजस्टमेन्ट फाइल गर्दा, भिजिटर भिसामा आएको कोही व्यक्तिले ९० दिनपछि विवाहमार्फत अडजस्टमेन्ट अफ स्टेटस फाइल गरेमा त्यो अवस्थामा अधिकारीलाई कन्भिन्स (आश्वस्त) गर्न सक्ने सम्भावना छ। किनभने नेपालका लागि आप्रवासी भिसा स्थगित गरिएको छ; त्यसैले नेपालमै गएर ग्रीन कार्ड आउँदैन। यदि यस्तो तर्क गरेमा नेपालका लागि प्लस प्वाइन्ट हुन सक्छ। कानुन व्यवसायीले त्यो दृष्टिकोण पनि प्रयोग गर्न सक्छन्।