ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गोरखाका अमृत गान्धारीले आफ्ना छोरीहरूसँग मिलेर पारिवारिक ब्यान्डमार्फत ठमेलमा परम्परागत गन्धर्व सङ्गीत र सारङ्गीको प्रवर्द्धन गरिरहेका छन् ।
  • गान्धारीले क्लिनिकल म्युजिक थेरापीमार्फत अपाङ्गता भएका बालबालिकाको उपचार गर्नुका साथै आर्जित रकमबाट गरीब बालबालिकालाई शैक्षिक सहयोग गर्दै आएका छन् ।
  • उनले ठमेलमा ‘अविरा म्युजिक सप’ सञ्चालन गरी स्वदेशी तथा विदेशी नागरिकलाई सारङ्गी बजाउन सिकाउनुका साथै यसको बिक्री वितरणसमेत गर्दै आएका छन् ।

१६ जेठ, काठमाडौं । काठमाडौं गेस्ट हाउसको गार्डेनमा बेलुकीको चिसो हावाले हानिरहेको थियो । हल्का पानी पर्नथालेपछि गर्मी मौसममा शीतलता थपिँदै गयो । पर्यटकहरू पनि गेस्ट हाउसभित्रै यताउता हिँडिरहेका थिए । कसैले चिया त कसैले कफीको कप समातेर आकाश हेर्दैथिए । सम्भावित मौसमको पूर्वानुमान चल्दै थियो ।

त्यही बेला एकाएक मधुर स्वर अनि कर्णप्रिय बाजामा गुञ्जन थाल्छ–

‘के म नेपाली होइन र

के मलाई माया छैन र…

बाजेले खामो गाडेको

झोलीको डोब छैन र…’

सारङ्गी, मादल, बाँसुरीसहितका बाजाबाट निस्किएको यो मार्मिक धुनले सबैको ध्यान तानिहाल्यो । मादलको तालले सारङ्गीमा अतिरिक्त मिठास थप्दैगयो । गीतका हरेक शब्दले पुरानो पुस्ताको संघर्ष, पहिचान र माटोसँगको सम्बन्ध बोकेको भान हुन्थ्यो ।

केहीबेर अघि यताउता गरिरहेका केही पर्यटक आफ्ना फोन क्यामेरासहित अघि बढे । र, एकटकले हेरिरहे- बाबा अमृत गान्धारी र छोरीहरू अनु गान्धारी अनि दृष्टि गान्धारीको प्रस्तुति ।

गाउने र बजाउनेहरूको अनुहारमा थकानको कुनै छनक थिएन । संगीतप्रतिको गहिरो समर्पण उनीहरूमा छचल्किरहेको थियो ।

यी कलाकार गन्धर्व समुदायका हुन् । नेपाल आएका पर्यटकलाई मनोरञ्जन दिन र आफ्नो परम्परागत बाजा विश्वमाझ चिनाउन लागिपरेका छन् । बाबा अमृतको त दैनिकी नै यसमै जोडिन्छ । ठूली छोरी अनुले सारङ्गी र स्वर, अनि सानी छोरी दृष्टिले मादलले अमृतलाक्ष्ए सधैँ साथ दिँदै आएकी छन् ।

अनु आफैँ हाल स्नातक चौथो वर्ष पढ्दैछिन्, भने दृष्टिले भर्खरै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएकी छन् । यी बाबा–छोरीले एउटा पारिवारिक ब्यान्ड बनाइसकेका छन् । विशेषगरी अनु र दृष्टिका हातमा सारङ्गी र मादल देख्दा भन्न सकिन्छ– आफ्ना बाउ–बाजेको परम्परा अब यी छोरीहरूको कोमल हातमा सरेको छ ।

‘हामीले यसरी ब्यान्ड बनाएर यस्ता ठाउँमा आएर झुम्न सन् २०१२ मा सुरु गरेका हौं,’ अमृत भन्छन्, ‘पहिले ठमेलका साथीहरू मिलेर सुरु गरेको थियौं । पाँच–छ जना थियौं । लकडाउनपछि साथीहरू कोही पढाइमा, कोही काममा, कोही बाहिर लागे । त्यसपछि मैले आफ्नै छोरीहरूलाई सिकाउन थालेँ ।’

त्यसपछि अनुले सारङ्गी सिकिन् । दृष्टिले मादल बनाउने प्रयास थालिन् । छोरीहरू पनि उत्साहका साथ सिक्नथाले ।

‘अहिले हामी परिवारकै टिमले यो हाम्रो परम्परा जगाउने धुन बोकेका छौं,’ अमृतले अनलाइनखबरसँग भने ।

अमृतका अनुसार उनी गोरखा जिल्लाभित्रको सानो गन्धर्व बस्तीमा हुर्किएका थिए । उक्त गाउँमा जम्मा १०–१२ घर मात्र छन् । पुस्तौंदेखि त्यो समुदायका बासिन्दा सारङ्गी बोकेर गाउँ–गाउँ हिँड्थे । कुनै ठाउँमा घटना भयो भने त्यसलाई तुरुन्त गीत बनाएर अर्को गाउँ पुर्‍याउँथे । रेडियो, टेलिभिजन केही नभएको समयमा गन्धर्वहरू नै खबर पुर्‍याउने माध्यम थिए । र, त्यही गीतबाट कमाएको पैसाले उनीहरू परिवार पाल्थे ।

ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी

‘मेरो बाबा र हजुरबाले पनि सारङ्गी नै बजाएर जीवन गुजारे,’ अमृत सम्झन्छन्, ‘बाल्यकालमा बाबा गाउँ–गाउँ गएर सारङ्गी बजाएको देख्थेँ । उहाँहरू घरमा कमै बस्नुहुन्थ्यो । त्यही देखेर म पनि यो कलामा रमाएँ । हाम्रो रगतमा नै सारङ्गी बग्छ ।’

विस्तारै समय बदलिँदै गएपछि उनीहरू गाउँ–गाउँ घुम्नुको सट्टा पर्यटकीय क्षेत्रमा आफ्नो कला प्रस्तुत गर्न थाले । यही क्रमले काठमाडौंमा रहेका यी नयाँ पुस्ता ठमेलको काठमाडौं गेस्ट हाउसमा ल्यायो । अचेल उनीहरु हरेक साँझ ६ बजेदेखि ८ बजेसम्म यहीँ नियमित सांगितिक कार्यक्रम गर्छन् । यसबाहेक अन्य रेस्टुरेन्ट, होटल र इभेन्टमा पनि पुग्छन् ।

पर्यटकहरूको ठूलो समूह आएर नेपाली संस्कृति र संगीत खोज्दा पनि उनीहरूलाई बोलाउने गरिन्छ । विदेशी पर्यटकहरू गितार, ड्रम र आफ्नै देशका बाजा सुनेर आउँछन् । तर जब सारङ्गी र गन्धर्व गीत सुन्छन्, मन्त्रमुग्ध सुनिन्छन् । धेरैले अमृत, अनु र दृष्टिलाई भन्छन्– तिमीहरूको म्युजिक एकदमै राम्रो छ । हामीले खोजेको यस्तै थियो ।

यसरी आफूहरू आफ्नो संस्कृति र परम्परा जोगाइरहेकोमा पर्यटकहरू पनि खुसी सुनिने अनुभव उनीहरूको छ । केही पर्यटक त खोज्दै–खोज्दै उनीहरूले गाउने ठाउँमै आइपुग्छन् । विदेशी पर्यटकको यो माया र सम्मानले उनीहरूलाई थप ऊर्जा दिन्छ । पर्यटकले त खुसी भएर टिप्स पनि थपिदिन्छन् ।

ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी

तर, उनीहरूको लागि यो संगीत र समर्पण टिप्स कमाउने माध्यम भने होइन । उद्देश्यमा पनि फगत टिप्स या नगद आम्दानीमात्र छैन । ‘जीवनमा आम्दानी आवश्यक छ, तर सबैथोक त्यहीमात्र भनेर हामीले यसो गरिरहेका होइनौं,’ अमृत भन्छन् । त्यसैले पर्यटकहरूले खुसी भएर दिने टिप्सबाट उठेको पैसालाई आफूहरू दुई भागमा बाँड्न्ने उनी बताउँछन् । ‘केही परिवारको खर्चमा र बाँकी गरिब तथा असहाय बालबालिकालाई सहयोग गर्न,’ उनले भने ।

वर्षमा ६–६ महिनाको संकलन हेरेर ८ देखि १० जना बच्चालाई किताब, कापी, कलम, झोला र केही नगद सहयोग गरिरहेका छन् । ‘जसको परिवारले यी आधारभूत कुराहरू किन्न सक्दैन, उनीहरूलाई प्राथमिकता दिन्छौं,’ अमृतले सुनाए, ‘हामीलाई आफूले जे पाएको छ, त्यसको अलिकति अरूलाई बाँड्न पाउँदा मन शान्त हुन्छ । यसलाई त्यस्तो ठूलो उल्लेख्य गरेको छ भनेर नभनिदिनुहोला । यो त सामान्य मानवीय धर्म न हो ।’

ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी

भारतबाट क्लिनिकल म्युजिक थेरापीमा पोस्ट ग्रेजुएट डिप्लोमा गरेर फर्केपछि अमृतले अझ व्यवस्थित तरिकाले यी काम गर्न थालेका हुन् । यसले उनीहरूको काम अझ अर्थपूर्ण बनेको छ । इमाडोलमा रहेको कृपा काउन्सिलिङ एन्ड थेरापी सेन्टरमार्फत उनीहरू अटिजम, डाउन सिन्ड्रोम, लर्निङ डिसेबिलिटी भएका बालबालिकासँग काम गर्छन् ।

‘संगीतले बोली नआउने बच्चालाई बोल्न सिकाएको छ, एक्लो बच्चालाई साथी बनाएको छ, हात–खुट्टाको मुभमेन्ट सुधारिएको छ,’ अमृतले दाबी गरे, ‘यो कुनै मिथ वा जादु होइन । यो वर्षौँदेखिको वैज्ञानिक रिसर्चमा आधारित कुरा हो । हामीले व्यावहारिक रूपमा पनि देखेका छौं ।’

यसरी अनलाइनखबरसँग पोखिँदै गर्दा अमृत आफ्नो समूदायको विगतमा फर्किए । गन्धर्व समुदायको आफ्नै गौरवपूर्ण इतिहास छ । पहिले अप्सराहरू नाच्ने र गन्धर्वहरू सारङ्गी बजाउने कथा छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणको बेला मणिराम गाइनेले सारङ्गी बजाएर बहादुर सेनालाई हौसला दिएका प्रसंग छन् । जनआन्दोलनमा रुबिन गन्धर्वले गीत गाएर महत्वपूर्ण योगदान दिए । विशेष आन्दोलनहरूमा गन्धर्वमा गीतले परिवर्तनलाई योगदान दिए ।

ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी

घटना र कथालाई गीत बनाएर जनतासम्म पु‍र्‍याउने परम्परा थियो । अहिले पनि यो परिवारले त्यही जिम्मेवारी बोकेर हिँडिरहेको छ । उनीहरूले गोर्खाको आफ्नो बस्तीमा पनि नियमित रूपमा बालबालिका र महिलाहरूलाई सारङ्गी र मादल सिकाउने गर्छन् । ठमेलमा ‘अविरा म्युजिक सप’ खोलेर सारङ्गी बेच्छन् र सिकाउँछन् । युट्युब च्यानलमा बेसिकदेखि एडभान्ससम्म ट्युटोरियल राखेका छन् ।

विदेशीहरूले पनि ‘नेपालको पहिचान’ भन्दै सारङ्गी किनेर लैजान्छन् । कतिले त सिकेर पनि जान्छन् । सारङ्गी किनेर लगेर सिकेपछि फेरि खुसी हुँदै फर्किएका पर्यटक त कति छन् कति ? कतिले त सिक्न नसके पनि घरमा सजाएर राख्छन् ।

‘हामीले आफ्नो तर्फबाट सकेको गरिरहेका छौं,’ अमृत भन्छन्, ‘अरू समुदायले पनि आफ्नो परम्परागत बाजा जोगाउनुपर्छ । सबै मिलेर मात्र हाम्रो सांस्कृतिक धरोहर जोगिन सक्छ ।’

यसरी हामीसँग गफिँदै उनीहरुले आफ्नो पारिवारिक ब्याण्डको प्रस्तुतिलाई भने जारी राखिरहे । अमृत, अनु र दृष्टि बाजा बजाउँदै गाइरहे –

‘सीता रानी वनैमा

आज लहरी चल्यो मनैमा… ।’





Source link

Leave a Comment