सगरमाथा आरोहणमा अमेरिकीहरुको आकर्षण, प्राकृतिक चुनौती र मानवीय क्षतिको जोखिम भने उच्च



प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार

सगरमाथा आरोहणमा अमेरिकीहरुको आकर्षण, प्राकृतिक चुनौती र मानवीय क्षतिको जोखिम भने उच्च

बेस क्याम्प वानबाट सगरमाथा। फोटो सौजन्य: रुपर्ट टेलर-प्राइस/ CC BY-SA 2.0

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने सपना धेरैले देख्छन् । कसैका लागि यो व्यक्तिगत उपलब्धिको विषय हुन्छ भने कसैका लागि जीवनकै सबैभन्दा साहसिक यात्रा । कतिपयका लागि सगरमाथा केवल हिमाल होइन, आफ्नै सीमाभन्दा बाहिर पुगेर आफूलाई चिन्ने चुनौती पनि हो । यही सपना बोकेर हरेक वर्ष विश्वका विभिन्न देशबाट सयौँ आरोही नेपाल आइपुग्छन् ।

समुद्री सतहबाट ८ हजार ८४८.८६ मिटर उचाइमा रहेको सगरमाथा विश्वभरका साहसिक पर्यटकहरूको आकर्षणको केन्द्र हो । त्यसैले धेरैको एउटै सपना हुन्छ – ‘जीवनमा एक पटक भए पनि सगरमाथाको चुचुरोमा पुग्न पाए…।’

यही सपना बोकेर नेपाल आउने विदेशी आरोहीहरूमध्ये अमेरिकी नागरिकको उपस्थिति उल्लेख्य छ । हिमालप्रतिको आकर्षण, साहसिक यात्राप्रतिको मोह र व्यक्तिगत चुनौती पार गर्ने इच्छाले अमेरिकी पर्यटकहरू सगरमाथा आरोहणतर्फ विशेष आकर्षित भएका छन् ।

सगरमाथा आरोहणका लागि वसन्त ऋतु (विशेषगरी मार्चदेखि मेसम्मको अवधि) सबैभन्दा उपयुक्त र लोकप्रिय मानिन्छ । यही सिजनका लागि यो वर्षको वसन्तु ऋतुमा हालसम्म (सन् २०२६ को मार्च १ देखि मे १५ सम्म) ५५ देशका ४ सय ९४ जनाले सगरमाथा आरोहण अनुमति लिइसकेका छन् । तीमध्ये अमेरिकी नागरिक ७७ जना छन्, जसमा ९ महिला र ६८ पुरुष छन्।

पर्यटन विभागका अनुसार सोही अवधिमा सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १ सय ९ चिनियाँ नागरिकले अनुमति लिएका छन् । उनीहरूमध्ये २६ महिला र ८३ पुरुष छन्। त्यसपछि भारतका ६१ जना (२६ महिला र ३५ पुरुष), संयुक्त अधिराज्यका ३२ जना (१ महिला र ३१ पुरुष) तथा रूसका १८ जना (४ महिला र १४ पुरुष) ले सगरमाथा आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार अस्ट्रेलियाका १५ जना (६ महिला र ९ पुरुष), जापानका १४ जना (सबै पुरुष) तथा नेपालका १२ जना (३ महिला र ९ पुरुष) ले पनि यस वर्षको वसन्त यामका लागि सगरमाथा आरोहणको लागि अनुमति लिइसकेका छन् ।

सगरमाथा आरोहणमा अमेरिकीहरुको आकर्षण, प्राकृतिक चुनौती र मानवीय क्षतिको जोखिम भने उच्च
हिमाल अवलोकन गर्दै पर्यटक

अन्य हिमालमा पनि आकर्षण

सगरमाथामात्र होइन, अन्य हिमालमा पनि विदेशी आरोहीहरूको आकर्षण बढ्दो देखिएको छ । पर्यटन विभागले यस वर्षको वसन्त सिजनका लागि हालसम्म (सन् २०२६ को मार्च १ देखि मे १५ सम्म) ७९ देशका १ हजार १ सय ८१ जनालाई पर्वतारोहण अनुमति प्रदान गरिसकेको छ । तीमध्ये २ सय ८३ महिला र ८ सय ९८ पुरुष छन् ।

अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १ सय ५६ जना रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा अमेरिका छ, जहाँबाट २५ महिला र १ सय २५ पुरुष गरी कुल १ सय ५० जनाले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

त्यसपछि भारतका ९७ जना, संयुक्त अधिराज्यका ७४, जर्मनीका ७२ र रूसका ७० जनाले अनुमति लिएका छन् । नेपालबाट भने ४ महिला र ३९ पुरुषसहित ४३ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार क्यानडाका ४१ जना, जापानका ३६ जना तथा पोल्यान्डका ३२ जनाले पनि यो वसन्त याममा सगरमाथासहित विभिन्न हिमाल चढ्न अनुमति लिएका छन् ।

यद्यपि, पर्वतारोहण जोखिमरहित भने छैन । हालै मकालु हिमालबाट फर्किने क्रममा हिमपहिरोमा परी एक अमेरिकी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार मकालुको क्याम्प–३ र क्याम्प–२ बीच करिब ७ हजार २ सय मिटर उचाइमा गएको हिमपहिरोमा परी ५३ वर्षीया अमेरिकी नागरिक सेली जोहान्सन गम्भीर घाइते भएकी थिइन् ।

उनको वैशाख २८ गते मृत्यु भएको थियो । यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा अमेरिकी नागरिक सेलीसहित ७ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्ला दुई वर्षमा पनि अमेरिकी अग्रस्थानमा

पछिल्ला दुई आर्थिक वर्ष (२०८०/८१ र २०८१/८२) को तथ्याङ्कले पनि अमेरिकी आरोहीहरूको आकर्षण उच्च रहेको देखाउँछ ।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २ सय ९४ अमेरिकी नागरिकले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका थिए । तीमध्ये ६० महिला र २ सय ३४ पुरुष थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २ सय ६५ अमेरिकी नागरिकले अनुमति लिएका थिए, जसमा ४३ महिला र २ सय २२ पुरुष थिए ।

गत आर्थिक वर्षमा ८७ देशका २ हजार ५ सय ४८ जनाले पर्वतारोहण अनुमति लिएका थिए । अघिल्लो आर्थिक वर्षमा भने ९३ देशका २ हजार ३ सय ७३ जनाले अनुमति प्राप्त गरेका थिए ।

सगरमाथा आरोहणमा अमेरिकीहरुको आकर्षण, प्राकृतिक चुनौती र मानवीय क्षतिको जोखिम भने उच्च
नेपालको हिमालय क्षेत्र अन्तर्गत करिब १९,००० फिटको उचाइमा लोबुचे हिमाल चढ्दै गरेका चाड जुक्स। फोटो: डिड्रिक जोन्क, सीसी बाइ-एनसी-एसए २.०

पर्वतारोहणबाट राज्यले उल्लेख्य आम्दानी पनि गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा सरकारले पर्वतारोहण अनुमति शुल्कबाट ७६ करोड ८६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो भने अघिल्लो वर्ष ९१ करोड ८६ लाख रुपैयाँ प्राप्त भएको थियो ।

पछिल्ला दुई वर्षको तथ्याङ्क अनुसार पर्वतारोहणबाट प्राप्त कुल सलामी रकममध्ये सगरमाथाको हिस्सा ७८ दशमलव ७४ प्रतिशत रहेको छ । यद्यपि, गत वर्ष पर्वतारोही दलको संख्या केही घटे पनि कुल आरोही संख्या भने बढेको देखिएको पर्यटन विभागले जनाएको छ ।।

हिमाल आरोहण : व्यक्तिगत अनुभव, आत्मविश्वास र कीर्तिमानी यात्रा

पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारी सगरमाथालगायत विभिन्न हिमाली क्षेत्रमा जारी आरोहण गतिविधिहरू सुरक्षित, व्यवस्थित तथा सफल रूपमा सञ्चालन भइरहेको बताउँछन् । सतोरी एडभेन्चर्स प्रा. लि.का प्रबन्ध निर्देशक समेत रहेका उनी हिमाल आरोहण एक विशिष्ट प्रकृतिको साहसिक गतिविधि भएको बताउँछन् ।

मानिसहरूले हिमाल आरोहणलाई केवल साहसिक यात्राको रूपमा मात्र नभई व्यक्तिगत अनुभव, आत्मविश्वास र कीर्तिमानी यात्राको रूपमा पनि लिन थालेको उनको बुझाइँ छ । ‘पछिल्लो समय मानिसहरूले आरोहणलाई केवल साहसिक यात्राको रूपमा मात्र नभई व्यक्तिगत अनुभव, आत्मविश्वास र कीर्तिमानी यात्राको रूपमा पनि लिन थालेका छन् ।’, उनी भन्छन्, ‘यसै कारण विश्वभरबाट नेपालका हिमालहरूमा आकर्षण निरन्तर बढिरहेको छ ।’

मे २० मा सगरमाथाको आरोहण गरेका अमेरिकी कूटनीतिज्ञ माइक हार्कर पनि सगरमाथाले आफूभित्र प्रकृतिप्रति, आफूभन्दा अघिका आरोहीहरू प्रति, प्रयास गर्नेहरू प्रति र कहिल्यै फर्किएर आउन नसकेकाहरू प्रति अगाध सम्मानभाव जगाइदिने बताउँछन्।

आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत साझा गर्दै उनले भनेका छन्, “यसले मस्तिष्कको शक्तिलाई पनि उजागर गर्छ। डेथ जोनमा तपाईंलाई अगाडि बढाउने एकमात्र चिज भनेकै तपाईंको मस्तिष्क हो। शिखरबाट क्याम्प ३ मा झर्ने क्रममा मैले यसको तीव्र महसुस गरेँ। तपाईं को हुनुहुन्छ वा तपाईं आफूलाई के कुराको हकदार ठान्नुहुन्छ भन्ने कुरासँग सगरमाथालाई कुनै सरोकार हुँदैन। तैपनि, हिमालमा यस्ता क्षणहरू पनि आए जहाँ चोटपटक वा अवरोधहरू हुनासाथ ठीक त्यही समयमा सही उपचार वा सहयोगी हातहरू प्रकट भए जस्तो देखिन्थ्यो।”

सगरमाथा आरोहणमा अमेरिकीहरुको आकर्षण, प्राकृतिक चुनौती र मानवीय क्षतिको जोखिम भने उच्च
सगरमाथामा अमेरिकी कूटनीतिज्ञ माइक हार्कर। तस्वीर स्रोत : नेपालस्थित अमेरिकी दूतावास

माइक हार्कर पृथ्वीको सबैभन्दा उच्च स्थानमा पुग्ने पहिलो अमेरिकी कूटनीतिज्ञ हुन्। माइकले निजी स्तरमा गरेको यो सगरमाथा आरोहण सन् २००६ मा अन्नपूर्ण आधार शिविरको पदयात्राबाट सुरु भएको २० वर्षे यात्राको उत्कर्ष हो; जसले पहिलो पटक नेपालसँग माइकको आत्मीय सम्बन्ध गाँसेको थियो।

नेपालका हिमालहरू विश्वभरका साहसीहरूका लागि केवल प्राकृतिक उचाइ मात्र नभएर आत्मिक रूपान्तरण र दृढ इच्छाशक्तिको कसी समेत बनिरहेका छन् । हिमालको यो लोभलाग्दो आकर्षणसँगै जोडिएर आउने प्राकृतिक जोखिम र आरोहीहरूले गुमाउनुपर्ने ज्यान अर्को दुःखद पाटो हो । नेपाल सरकार र पर्यटन क्षेत्रले आरोहणलाई अझ बढी सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन सके हिमालको गौरव र राष्ट्रिय राजस्व दुवैलाई दीर्घकालीन रूपमा उकास्न सकिने देखिन्छ ।





Source link

Leave a Comment