संकटमा आठपहरिया संस्कृति


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आठपहरिया समुदायले आफ्नो छुट्टै पहिचान अनुसार आदिवासी जनजातिमा सूचीकृत हुन सरकारसँग लामो समयदेखि माग गर्दै आएको छ।
  • धनकुटा नगरपालिकाले आठपहरिया भाषा र संस्कृतिको संरक्षणका लागि संग्रहालय बनाउने तयारी गरिरहेको छ।

९ जेठ, धनकुटा । पूर्वी नेपालको अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्‍गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया ।

आधुनिकता समयसँगै बदलिँदो समाज, यसको प्रभाव र राज्यको औपचारिक मान्यताबाट टाढा रहँदा आठपहरिया समुदाय आफ्नै पहिचान जोगाउन संघर्षरत छ । आफ्नै संस्कार-संस्कृतिका साथै आफ्नै भाषा र भेषभूषा रहेको आठपहरिया समुदायले आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने माग लामो समयदेखि गर्दै आएको छ ।

२०५८ सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत हुन पहल थालेको तर राज्यले नसुनेको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाको गुनासो छ ।

‘राज्यले आठपहरियाको छुट्टै पहिचानलाई अझै औपचारिक रूपमा स्वीकार नगर्दा सामाजिक, शैक्षिक तथा आर्थिक रूपमा पछि पर्नुपरेको छ’ उनी भन्छन् , ‘हाम्रो पहिचान अनुसारका सबै प्रमाणहरूका आधारमा हामी आठपहरिया नै हौँ । त्यसैले नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

सूर्यका अनुसार आठपहरिया समुदायको आफ्नै भाषा, भेषभूषा, संस्कार, संस्कृति, परम्परा र सामाजिक संरचना छ । तर राज्यले छुट्टै समुदायका रुपमा नचिनेकाले आठपहरियाको अस्तित्व नै ओझेलमा परेको उनी बताउँछन् ।

धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया यस क्षेत्रका भूमिपुत्र भन्न रुचाउँछन् । २०७८ सालको जनगणना अनुसार आठपहरियाको जनसंख्या ५ हजार ८७८ मात्रै छ । २०५८ सालको जनगणनामा यिनीहरूको जाति ‘आठपहरिया राई’ उल्लेख गरिएको थियो । २०६८ र २०७८ को जनगणनामा भने यिनीहरूको जातिको नाम ‘आठपहरिया’ मात्रै उल्लेख गरिएको छ ।

आठपहरिया समुदायभित्र छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङलगायत गरी १९ जातीय समूह छन् । उनीहरूले अहिलेसम्म आफ्नै सांस्कृतिक परम्परा, पूजा प्रणाली र चाडपर्वलाई निरन्तरता दिँदै आएका छन् ।

आठपहरियाहरू आफ्नै प्रकारका चाडपर्व मनाउँछन् र आफ्नै देवी देवताको आरधना गर्छन् । उनीहरूको मुख्य बसोबास मुख्य गरी धनकुटा नगरपालिकामा छ । काम विशेषले बाहिर रहेका उनीहरू कुनै चाडपर्व मान्न वा पितृकार्य गर्न धनकुटा अर्थात जन्मथलो नआई नहुने मान्यता छ ।

नेपालका बहुल आदिवासी जनजातिहरूको सर्वांगीण विकास तथा उत्थान गर्ने उद्देश्य लिएर नेपाल सरकारले वि.सं. २०४६ को परिवर्तनपछि आदिवासी जनजाति विकास समिति बनाई काम गर्दै आएको थियो । उक्त उद्देश्य परिपूर्ति गर्न र अझै प्रभावकारी बनाउनका लागि प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरिएको छ ।

प्रतिष्ठानको उद्देश्यमध्ये आदिवासी जनजातिहरूको भाषिक तथा साँस्कृतिक विविधताको संरक्षण तथा प्रवर्धन पनि एक हो । तर आठपहरिया जातिका रुपमा सूचीकृत गरिनुपर्ने माग सम्बोधन नभएको किराँत आठपहरिया समाजका उपाध्यक्ष सूर्यको गुनासो छ।

संकटमा आठपहरिया संस्कृति

आठपहरियालाई आदिवासी जनजातिको सूचीकृत गरिनुपर्छ भन्ने आफ्नो पनि माग रहेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउँछन् । आठपहरियाको पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्न धनकुटा नगरपालिकाले संग्रहालय बनाएको र चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

मुख्य चाड वाडाङ्मेट

आठपहरियाले विशेष गरी मंसिरे अर्थात वाडाङ्मेट चाड धुमधामसँग मनाउने गरेका छन् । वर्षभरिमा परेको शोकलाई सामूहिक रूपमा उकास्ने र जेठो सन्तान जन्मिएको खुसीयाली मनाउने पर्व हो–वाडाङ्मेट ।

आठपहरियाको ठूलो घर, अर्थात् ५२ चुले घरमा ‘माङ्लाङ्’ उठाएपछि वाडाङ्मेट पर्व सुरु हुन्छ । माङ्लाङ् उठाएको तीन दिनपछि वर्षभरि मृत्यु भएका परिवारका सदस्यहरू तीन दिनको पैदल यात्रामा निस्केर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा पुग्ने चलन छ । त्यहाँ पुगेर आफन्तको दुःख बोक्नेले कपाल र दाह्री मुण्डन गरी नुहाएर कपालसहित दसी बगाउने र बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ ।

तीन दिनको यात्राको क्रममा खुला ठाउँ र खोलाको बगरमा बस्नुपर्ने र सो क्रममा अन्य समयमा गाउन नहुने मुन्धुम वा भक्ति गाउने चलन रहेको छ । बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको बिहान घर फर्केपछि भोलिपल्ट घरघरमा पितृ पूजा सम्पन्न हर्कबढाइँ गर्ने चलन छ । जेठो सन्तान जन्मिएको र नयाँ घर निर्माण गरिएको परिवारमा हर्षोल्लासपूर्वक भोज आयोजना गरी नाचगान गर्ने परम्परा रहिआएको किराँत आठपहरिया समाज धनकुटा नगर अध्यक्ष सचेता आठपहरियाले बताइन्।

संकटमा आठपहरिया संस्कृति

कात्तिक पूर्णिमाअघि करिब एक हप्तादेखि सुरु हुने वाडाङ्मेट पर्व औंसीसम्म मनाइन्छ । यस पर्वमा विभिन्न परिकारको स्वाद लिँदै ढोल, मारुनी, डल्लो नाच प्रदर्शन गर्ने र पैसाको माला दान गर्ने चलन छ । पैसाको माला दान गर्दा मनोकामना पूरा हुने विश्वास आठपहरिया समुदायमा रहेको छ ।

वाडाङ्मेट चाडलाई सम्मान गर्दै धनकुटा नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।

वैशाखमा बिसु र भदौमा न्वागी

आठपहरिया समुदायले वैशाखमा बिसु र भदौ वा असोजमा न्वागी पर्व धूमधामका साथ मनाउने गर्छन् । परिवार र समुदायमा सुख शान्ति, समृद्धि र मेलमिलापको कामना गर्दै आठपहरियाहरूले आठ दिनसम्म बिशु चाड मनाउने गर्छन् ।

न्वागी चाडमा नयाँ बाली पितृ तथा कुललाई चढाउने चलन छ । यो चाड भदौ शुक्ल पूर्णिमा पछिको बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनसम्म मनाउने चलन रहेको छ ।

संकटमा आठपहरिया भाषा, संस्कृति र भेषभूषा

आठपहरिया जातिको भाषा, धर्मसंस्कार र सँस्कृति जगेर्ना प्रमुख चुनौतीको रुपमा रहेको छ । हालसम्म यस जातिको आफ्नो लिपि पत्ता लाग्न सकेको छैन र भाषा, सँस्कृतिसमेत लोपोन्मुख अवस्थामा रहेको पाइन्छ ।

हाल आएर थोरै भए पनि देवनागरी लिपिको प्रयोग गरी ‘आठपहरिया भाषा’को व्याकरण लेखन गरी अध्ययन अध्यापन गरिँदै आएको छ । नेपाल सरकारबाट कक्षा ५ सम्म मातृभाषामा शिक्षा प्रदान गर्ने अवसर प्रदान गरिए तापनि धेरै लोपोन्मुख अवस्थामा रहेका भाषाहरूको शब्दकोश नहुँदा अध्ययन अध्यापनमा सरकारको योजनाअनुसार उपलब्धि हासिल नभएको यस समुदायका अगुवाहरू बताउँछन् ।

संकटमा आठपहरिया संस्कृति

आफ्नो भाषालाई यिनीहरू आठपहरिया भाषा भन्छन् । यो भोट बर्मेलीको किराँती भाषा हो । बेलाहारे भाषासँग यो भाषाको वंशाणुगत निकटता रहेको बताइन्छ । त्यसबाहेक छथरे लिम्बू र याख्या भाषासँग पनि यसको निकटता रहेको यसका जानकार बताउँछन् । आठपहरिया भाषालाई असुरक्षित भाषाको सूचीमा समेत राखिएको छ ।

आठपहिरया जातिभित्र मार्गा जिमी र अन्य थलो मान्ने गरेका छन् भने जाति, थर, पाछा र थलो रहे पनि भाषा एउटै रहेको छ ।आठपहरिया समुदायका अगुवा धनबहादुर आठपहरिया नयाँ पुस्तामा मातृभाषा प्रयोग घट्दै जाँदा भाषा लोप हुने जोखिम बढेको बताउँछन् ।

‘आठपहरिया भाषा अहिले लोपोन्मुख अवस्थामा पुग्नुको मुख्य कारण अन्य भाषाको प्रभाव हो । नेपाली भाषाले पनि आठपहरिया भाषालाई धेरै गाँजेको छ । अहिले अभिभावकमा अंग्रेजी भाषाको मोह पनि बढेको छ,’ उनले भने ।

उनका अनुसार मातृभाषाको उच्चारण तथा प्रयोगमा आउने कठिनाइले पनि नयाँ पुस्तालाई भाषा सिक्नबाट टाढा बनाइरहेको छ । घरभित्र समेत नेपाली भाषा प्रयोग बढ्दै जाँदा आठपहरिया भाषाको पुस्तान्तरण कमजोर बन्दै गएको छ ।

संकटमा आठपहरिया संस्कृति

आठपहरियाको पुरुषले लगाउने र महिलाले लगाउने भेषभूषाहरूले पनि मौलिक विशेषता बोकेका रहेका छन् । खास गरेर महिलाहरूले लगाउने पहिरन र गहना विशेष प्रकारका छन् तर बढ्दो आधुनिकीकरणले यी मौलिक भेषभूषाहरू पनि हराउन थालेका छन् । भेषभूषाहरू संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया भेषभूषा सिलाइ प्रशिक्षण गरेर केही जनशक्ति उत्पादन गरेको धनकुटा नगर प्रमुख तामाङले बताए ।

परम्परागत घरहरू लोप हुँदै

धनकुटा नगपालिकाभित्र बसोबास गर्दै आएका आठपहरिया समुदायको परम्परागत रुपमा रहेका घरहरू पछिल्लो समय लोप हुँदै गएका छन् । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घरहरू लोप हुन थालेका हुन् ।

नगरपालिकाभित्र रहेका फुस (खर)को छाना हुने सबै घरहरूमा जस्तापाता लगाउन नगरपालिकाले जस्तापाता दिएपछि पुराना घरहरू लोप भएका हुन्।

आठपहरिया जातिले आफ्नो कुलपूजा गर्ने घरमा खरको छानाले छाएको हुनुपर्ने परम्परा छ । जस्तापाताले छाएको ठाउँमा पूजा गर्न नहुने ७५ वर्षकी आइतमाया आठपहरियाले बताइन् ।

संकटमा आठपहरिया संस्कृति





Source link

Leave a Comment