प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार

फोटो : एपी/रासस
अमेरिकाको ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। अमेरिकी सेक्रेट सर्भिसका अनुसार सुरक्षा जाँच चौकीतर्फ आएका एक व्यक्तिले सुरक्षाकर्मीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय समयअनुसार साँझ करिब ६ बजे ती व्यक्ति ह्वाइट हाउस परिसर बाहिर रहेको सुरक्षा चौकीमा पुगेका थिए। त्यसपछि उनले अचानक सुरक्षाकर्मीमाथि गोली चलाउन थाले।
जवाफमा सेक्रेट सर्भिसका अधिकारीहरूले पनि गोली प्रहार गरेका थिए। गोली लागेर घाइते भएका संदिग्धलाई उपचारका लागि अस्पताल लगिएको भए पनि पछि उनको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
घटनाका क्रममा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। ती व्यक्तिलाई कसको गोली लागेको हो भन्ने कुरा अझै स्पष्ट नभएको सेक्रेट सर्भिसले जनाएको छ। स्रोतका अनुसार घाइते सर्वसाधारणको अवस्था गम्भीर रहेको छ।
अधिकारीहरूले मृतक २१ वर्षीय नसिरे बेस्ट रहेको बताएका छन्। स्रोतका अनुसार उनी यसअघि पनि ह्वाइट हाउसको सुरक्षासम्बन्धी घटनामा पक्राउ परेका थिए।
सन् २०२५ को जुन महिनामा उनले ह्वाइट हाउसको प्रवेश मार्ग अवरुद्ध गरेका थिए। त्यसबेला उनले आफूलाई “भगवान” दाबी गरेका कारण मानसिक स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको थियो।
त्यसको एक महिनापछि, जुलाई २०२५ मा उनले पुनः ह्वाइट हाउस परिसरभित्र प्रवेश गर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसले उनलाई पक्राउ गरेको थियो। त्यसपछि अदालतले उनलाई ह्वाइट हाउस क्षेत्रबाट टाढा रहन आदेश दिएको थियो।
अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमा आफूलाई “साँचो ओसामा बिन लादेन” भनेर उल्लेख गरेको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हानि पुऱ्याउने संकेत गरेका सामग्रीहरू फेला परेको स्रोतहरूले बताएका छन्।
घटनाका बेला राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए। उनी सुरक्षित रहेको र उनलाई घटनाबारे जानकारी गराइएको अधिकारीहरूले जनाएका छन्। गोली चलेको आवाज आउनासाथ ह्वाइट हाउस क्षेत्रमा तत्काल सुरक्षा सतर्कता बढाइएको थियो।