अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ?


हालसम्म लेजरले गर्भमा प्रत्यक्ष हानि गर्छ भन्ने ठोस प्रमाण छैन, तर पर्याप्त अनुसन्धान नभएकाले चिकित्सकहरू सामान्यतया गर्भावस्थामा लेजर नगर्न सल्लाह दिन्छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • लेजर हेयर रिमुभल सुरक्षित प्रक्रिया हो तर चिकित्सकको सल्लाह र प्रमाणित उपकरणबाट मात्र गरिनु आवश्यक छ, गलत प्रयोगले छाला समस्या बढाउन सक्छ।

काठमाडौं । समयसँगै सौन्दर्य र व्यक्तिगत हेरचाहको धारणा तीव्र रूपमा परिवर्तन भइरहेको छ । आजभोलि राम्रो देखिनु मात्र होइन, अनावश्यक कपाल हटाएर छाला सफा र आकर्षक बनाउने चाहना पनि बढ्दो छ ।

यही कारण शरीरका विभिन्न भागका कपाल हटाउने उपायप्रति आकर्षण बढेको देखिन्छ । सामाजिक सञ्जाल, सौन्दर्य क्लिनिकहरूको वृद्धि र दीर्घकालीन समाधान खोज्ने प्रवृत्तिले यो प्रविधिलाई झन् चर्चामा ल्याएको छ ।

तर यसबारे धेरै जिज्ञासा र भ्रमहरू पनि छन् । जस्तो कि, के यो सुरक्षित छ ? कति प्रभावकारी छ ? सबैले गर्न मिल्छ कि मिल्दैन ?

यिनै प्रश्नहरूको उत्तर खोज्दै निजामती कर्मचारी अस्पतालमा कार्यरत छाला तथा सौन्दर्यसम्बन्धी विशेषज्ञ डा. प्रज्वल पुडासैनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय लेजर हेयर रिमुभल किन यति धेरै ट्रेन्डमा आएको हो ?

यसको मुख्य कारण भनेको मानिसहरूले अब दीर्घकालीन समाधान खोज्न थालेका छन् । वाक्सिङ वा सेभिङजस्ता उपायहरू अस्थायी हुन्छन्, बारम्बार गर्नुपर्छ र कतिपय अवस्थामा छाला पोल्ने, एलर्जी वा संक्रमणको जोखिम पनि हुन्छ । त्यसको तुलनामा लेजर हेयर रिमुभलले रौंको वृद्धि नै ढिलो बनाउने भएकाले मानिसहरूलाई सुविधाजनक लागिरहेको छ ।

विशेषगरी महिलाहरूमा अनुहारमा आउने अनावश्यक रौँ, हर्मोनल समस्याका कारण बढेको कपाल वा सौन्दर्यसम्बन्धी चिन्ताले गर्दा यो प्रविधि लोकप्रिय बनेको हो ।

पुरुषहरूमा पनि दाह्रीको समस्या, बारम्बार हुने संक्रमण वा छालामा दाग बस्ने समस्याका कारण लेजर रोज्ने प्रवृत्ति बढेको छ । अर्को कारण भनेको प्रविधिको विकास पनि हो । पहिले लेजर महँगो, सीमित र जोखिमयुक्त मानिन्थ्यो । तर, अहिले प्रविधि सुरक्षित, प्रभावकारी र धेरै ठाउँमा उपलब्ध भएको छ । यसले गर्दा मानिसहरूमा विश्वास बढेको छ ।

लेजर हेयर रिमुभल वास्तवमा कस्तो प्रविधि हो ? कसरी काम गर्छ ?

सरल भाषामा भन्नुपर्दा, लेजर भनेको एक प्रकारको शक्तिशाली प्रकाश (लाइट) हो, जसको (वेभ लेन्थ) विशेष रूपमा मिलाइएको हुन्छ । यो प्रकाश रौं रहेको ‘मेलानिन’ नामक रङ दिने तत्वमा लक्षित हुन्छ । जब लेजरको प्रकाश रौंहरूमा पर्ने गर्छ, मेलानिनले त्यसलाई सोस्छ र त्यसबाट तातो (हिट) उत्पन्न हुन्छ ।

यही तातोले रौंको जरामा रहेका कोषहरूलाई क्षति पुर्‍याउँछ, जसले गर्दा रौंको वृद्धि क्रमशः कमजोर हुँदै जान्छ । यस प्रक्रियालाई वैज्ञानिक रूपमा ‘फोटोथर्मोलाइसिस’ भनिन्छ ।

महत्वपूर्ण कुरा के हो भने लेजरले छालाभन्दा बढी कपालको मेलानिनलाई लक्षित गर्छ, जसले समयसँगै यसको वृद्धि घटाउँदै लैजान्छ ।

यसले रौंलाई स्थायी रूपमा हटाउँछ कि होइन ?

यो सबैभन्दा धेरै सोधिने प्रश्न हो । वास्तविकता के हो भने लेजर हेयर रिमुभलले कपाललाई पूर्णरूपमा स्थायी रूपमा हटाउँदैन, तर यसको वृद्धि उल्लेखनीय रूपमा घटाउँछ । सामान्यतया ५ देखि १० सेसनसम्म उपचार गरिन्छ । यसपछि करिब ७० देखि ९० प्रतिशतसम्म कपाल कम हुन्छ । बाँकी कपाल पातलो, हल्का र ढिलो बढ्ने हुन्छ ।

पहिलो केही सेसनपछि कपाल अचानक हराएजस्तो देखिन्छ, तर त्यो अस्थायी हुन्छ । कपालको आफ्नै जीवनचक्र हुन्छ, बढ्ने र झर्ने चरण हुन्छन् । लेजरले मुख्यतः बढ्ने चरणमा रहेका कपालमा मात्र प्रभाव पार्छ । दीर्घकालमा हेर्दा, कपालको वृद्धि निकै कम हुन्छ र धेरैलाई सन्तोषजनक परिणाम मिल्छ । तर कहिलेकाहीँ ‘मेन्टेनेन्स सेसन’ पनि आवश्यक पर्न सक्छ ।

लेजर गर्नुअघि के–कस्ता तयारी आवश्यक हुन्छ ?

लेजर उपचार सफल र सुरक्षित बनाउन तयारी निकै महत्वपूर्ण हुन्छ ।

सबैभन्दा पहिले, उपचार गर्नुभन्दा २–४ दिनअघि रौं खौरिनुपर्छ । तर, वाक्सिङ वा कपाल तान्ने काम गर्नु हुँदैन, किनकि यसले कपालको जरा हटाइदिन्छ र लेजरलाई लक्षित गर्ने मेलानिन नै हुँदैन ।

यदि छालामा घामले डढेको (ट्यानिङ), एलर्जी, संक्रमण वा घाउ छ भने उपचार स्थगित गर्नुपर्छ । यस्तो अवस्थामा लेजरले छालामा झन् समस्या बढाउन सक्छ ।

कसैलाई धेरै पीडा महसुस हुने भएमा उपचारअघि हल्का हुने क्रिम प्रयोग गर्न सकिन्छ । साथै, अनुभवी र प्रमाणित चिकित्सक वा प्रशिक्षित व्यक्तिबाट मात्र उपचार गराउनु अत्यन्त आवश्यक हुन्छ ।

लेजर हेयर रिमुभल कत्तिको सुरक्षित छ ?

सही तरिकाले, सही व्यक्तिमा र सही उपकरण प्रयोग गरेर गरियो भने लेजर हेयर रिमुभल सुरक्षित प्रक्रिया हो ।

तर केही अवस्थाहरूमा सावधानी आवश्यक हुन्छ । जस्तै, गर्भावस्था, स्तनपानको समय, सक्रिय छालाको संक्रमण, एलर्जी वा केही दीर्घ छाला रोगहरू भएको अवस्थामा लेजर नगर्नु उपयुक्त हुन्छ ।

लेजर गर्दा आँखाको सुरक्षा अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले, सुरक्षात्मक चस्मा अनिवार्य प्रयोग गरिन्छ । हल्का रातोपन, सुन्निने वा पोलेको महसुस हुने जस्ता सामान्य साइड इफेक्टहरू हुन सक्छन्, ती केही दिनमै आफैं ठीक हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यो प्रक्रिया प्रशिक्षित र लाइसेन्स प्राप्त व्यक्तिबाट गरिनुपर्छ । गलत तरिकाले गरियो भने छालामा दाग, पोल्ने वा अन्य समस्या आउन सक्छ ।

मेलानिनलाई नै असर गर्ने उपचार हुँदा छालामा पनि असर पर्दैन ?

लेजरले कपालमा रहेको मेलानिनलाई लक्षित गर्छ । तर मेलानिन त छालामा पनि हुन्छ, त्यसैले स्वाभाविक रूपमा ‘छालालाई असर गर्दैन ?’ भन्ने जिज्ञासा उठ्छ ।

लेजर टार्गेटेड टेक्नोलोजी हो । यसको (वेभ लेन्थ) र ऊर्जा यस्तो तरिकाले मिलाइन्छ कि यसले मुख्य रूपमा रौंका जरामा रहेको मेलानिनलाई असर गरोस् । कपालको मेलानिन बढी केन्द्रित र गहिराइमा हुने भएकाले लेजरले त्यसलाई प्राथमिक रूपमा सोस्ने गर्छ ।

तर व्यवहारमा छाला पूर्णरूपमा अछुतो रहन्छ भन्ने होइन । विशेषगरी हाम्रो जस्तो गोरोदेखि गहुँगोरो वा अलि कालो छालामा पनि मेलानिन बढी हुने भएकाले केही जोखिम रहन्छ । यदि सही सेटिङ प्रयोग भएन, छाला पहिले नै ट्यानिङ (घामले डढेको) अवस्थामा छ, वा संवेदनशील छ भने लेजरको ऊर्जा छालाले पनि सोस्न सक्छ । त्यसले गर्दा छाला पोल्ने, रातो हुने, कालोपन बढ्ने (हाइपरपिग्मेन्टेसन) जस्ता समस्या देखिन सक्छन ।

यही कारणले लेजर गर्दा कुलिङ सिस्टम प्रयोग गरिन्छ । लेजर अघि, लेजरको समयमा र पछि पनि छालालाई चिसो राखिन्छ । यसले छालालाई जोगाउँछ र केवल कपालको जरामा मात्र असर पुग्ने सम्भावना बढाउँछ ।

पहिलेदेखि चल्तीमा आएको वाक्सिङ र शेभिङभन्दा यो कत्तिको राम्रो विकल्प हो ?

वाक्सिङ र शेभिङ दुवै अस्थायी उपाय हुन् । यी विधिहरू बारम्बार दोहोर्याउनुपर्छ र छालामा एलर्जी, पोल्ने वा संक्रमणको जोखिम हुन्छ । लेजर हेयर रिमुभलले भने दीर्घकालीन रूपमा कपालको वृद्धि कम गर्छ । यसले समय, पैसा र असुविधा दुवै घटाउँछ । छालामा समस्या पनि त्यति दिँदैन ।

तर यो एकपटकमै हुने समाधान होइन, धैर्य र नियमित सेसन आवश्यक हुन्छ । त्यसैले, दीर्घकालीन समाधान खोज्ने व्यक्तिहरूका लागि लेजर राम्रो विकल्प हुन सक्छ ।

के लेजर हेयर रिमुभल सबैले गर्न सक्छन्, कि केही समूहले गर्न हुँदैन ?

लेजर हेयर रिमुभल धेरैका लागि सुरक्षित र प्रभावकारी भए पनि केही विशेष अवस्थाहरूमा यो नगर्नु वा केही समयका लागि स्थगित गर्नु राम्रो हुन्छ ।

सबैभन्दा पहिले, कपालको प्रकृति नै महत्त्वपूर्ण हुन्छ । कालो वा गाढा कपाल भएका व्यक्तिमा लेजर राम्रोसँग काम गर्छ, तर सेतो, फुलेको वा धेरै हल्का कपालमा मेलानिन कम हुने भएकाले यसको प्रभाव हुँदैन । त्यसैले त्यस्ता व्यक्तिहरूमा यसले काम गर्दैन ।

त्यसपछि गर्भावस्थाको कुरा आउँछ । हालसम्म लेजरले गर्भमा प्रत्यक्ष हानि गर्छ भन्ने ठोस प्रमाण छैन, तर पर्याप्त अनुसन्धान नभएकाले चिकित्सकहरू सामान्यतया गर्भावस्थामा लेजर नगर्न सल्लाह दिन्छन् । स्तनपान गराइरहेका अवस्थामा पनि सावधानी अपनाइन्छ ।

छालाको अवस्था अर्को महत्त्वपूर्ण पक्ष हो । यदि छालामा संक्रमण (ब्याक्टेरियल, भाइरल), एलर्जी, घामले डढेको अवस्था (ट्यानिङ), घाउ वा कुनै सक्रिय छाला रोग छ भने लेजर गर्नुहुँदैन । यस्तो अवस्थामा लेजरले समस्या झन् बढाउन सक्छ, जस्तै कालोपन बढ्ने, पोल्ने वा संक्रमण फैलिने ।

केही दीर्घ छाला रोगहरू जस्तै: सेतो दाग (विटिलिगो) वा अन्य संवेदनशील अवस्थामा पनि विशेष सावधानी आवश्यक हुन्छ, किनकि लेजरले रोगलाई ट्रिगर गर्न सक्छ ।

कतिपयले चिकित्सकको सल्लाह बिना पनि लेजर हेयर रिमुभल सेवा दिइरहेको सुनिन्छ । यो कतिको सुरक्षित हो ?

यो अहिलेको सबैभन्दा चिन्ताजनक पक्ष हो । लेजर हेयर रिमुभललाई धेरैले साधारण ‘ब्युटी प्रोसेजर’ मात्र ठान्छन्, तर वास्तवमा यो मेडिकल टेक्नोलोजीमा आधारित उपचार हो । त्यसैले, चिकित्सकीय ज्ञान र तालिम बिना गरिने यस्तो सेवा पूर्णरूपमा सुरक्षित मान्न सकिँदैन ।

आजभोलि कतिपय ब्यूटी पार्लर वा अनलाइनबाट किनेका उपकरण प्रयोग गरेर पनि सेवा दिने चलन बढेको छ । तर समस्या के हो भने, त्यस्ता ठाउँमा छालाको प्रकार छुट्याउने, रोगको अवस्था पहिचान गर्ने, वा कस्तो अवस्थामा लेजर गर्न नहुने भन्ने ज्ञान प्रायः पर्याप्त हुँदैन ।

उदाहरणका लागि, यदि कसैको छालामा संक्रमण, एलर्जी, घामले डढेको अवस्था (ट्यानिङ) वा केही दीर्घ रोगहरू छन् भने लेजर गर्न मिल्दैन । चिकित्सकले यस्ता अवस्था पहिचान गरेर उपचार स्थगित गर्न सक्छन्, तर गैर–विशेषज्ञले त्यो छुट्याउन सक्दैन । त्यसले छाला पोल्ने, दाग, कालोपन बढ्ने, वा संक्रमण फैलिने जोखिम नबढ्ला भन्न सकिँन्न ।

अर्को महत्त्वपूर्ण कुरा, उपकरणको सेटिङ पनि हो । लेजरको शक्ति (एनर्जी), (वेभ लेन्थ) र अन्य प्यारामिटरहरू छालाको प्रकार र कपालको प्रकृतिअनुसार मिलाउनुपर्छ । गलत सेटिङ प्रयोग भयो भने छाला पोल्ने, घाउ हुने वा उल्टै कपाल बढ्ने (प्याराडक्सिकल हेयर ग्रोथ) जस्ता समस्या देखिन सक्छन् ।

सुरक्षाका हिसाबले आँखाको संरक्षण पनि अत्यन्त जरुरी हुन्छ । लेजरको किरण आँखामा परे गम्भीर क्षति हुन सक्छ । चिकित्सकीय सेटअपमा सुरक्षात्मक चस्मा, सुरक्षित कोठा र आवश्यक उपकरणहरू हुन्छन्, जुन सबै ठाउँमा उपलब्ध हुँदैन ।

त्यसैले, चिकित्सकको सल्लाहबिना वा प्रशिक्षित जनशक्तिबिना गरिने लेजर सेवा जोखिमपूर्ण हुन सक्छ । सबैभन्दा सुरक्षित उपाय भनेको प्रमाणित क्लिनिक, अनुभवी चिकित्सक वा लाइसेन्स प्राप्त प्राविधिकबाट मात्र यस्तो सेवा लिनु हो । अन्ततः, लेजर हेयर रिमुभल आफैंमा सुरक्षित प्रक्रिया भए पनि ‘कसले र कसरी गरिरहेको छ’ भन्ने कुरा नै यसको सुरक्षाको मुख्य आधार हो ।

धेरै लेजर गर्दा क्यान्सर गराउँछ भन्ने कुरा पनि सुनिन्छ, नि ? यो कुरा कतिको सत्य हो ?

यो भ्रम मात्र हो । हालसम्मको वैज्ञानिक प्रमाणअनुसार लेजर हेयर रिमुभलले क्यान्सर गराउँछ भन्ने कुनै ठोस आधार छैन । यसमा प्रयोग हुने प्रकाश छालाको सतहमा मात्र सीमित हुन्छ र शरीरभित्र गहिरो प्रभाव पार्दैन ।

त्यसैले, यो प्रक्रिया सुरक्षित मानिन्छ । तर सधैं प्रमाणित उपकरण र विशेषज्ञबाट मात्र गराउनु आवश्यक छ ।





Source link

Leave a Comment