अमेरिकामा ३४ वर्षसम्म लुकेको ‘हत्या रहस्य’, अन्तत: पत्नीकै हत्यामा पति पक्राउ



प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार

अमेरिकामा ३४ वर्षसम्म लुकेको ‘हत्या रहस्य’, अन्तत: पत्नीकै हत्यामा पति पक्राउ

सन् १९९२ मा आफ्नी पत्नीको रहस्यमय मृत्यु प्रकरणमा ३४ वर्षपछि नयाँ मोड आएको छ। ६८ वर्षीय जेम्स रोबर्ट र्यान्डललाई वाशिङ्टनस्थित एक नर्सिङ होमबाट पहिलो दर्जाको हत्या अभियोगमा पक्राउ गरिएको छ।

पियर्स काउन्टी शेरिफ कार्यालयका अनुसार, नोभेम्बर १९९२ मा जेनिस र्यान्डल आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन्। घटनास्थलमै नजिकैको एउटा खाटमा उनकी सानी छोरी पनि थिइन्।

घटनापछि जेनिसका पति र्यान्डलले प्रहरीले उनी सम्भवतः औषधिको अत्यधिक सेवन (ओभरडोज) का कारण मृत्यु भएको हुनसक्ने बताएका थिए। उनले पत्नीलाई पेनकिलर प्रयोग गर्ने बानी रहेको पनि बताएका थिए। त्यसबेला दुवैबीच सम्बन्ध बिग्रिएको थियो भने डिभोर्सको प्रक्रिया चलिरहेको थियो।

प्रहरीले सुरुवातमा घटनालाई ओभरडोजको रूपमा अनुसन्धान गर्‍यो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको समयमा शरीरमा कुनै औषधि नभएको पुष्टि भएपछि केसलाई हत्या अनुसन्धानमा रूपान्तरण गरियो।

तर, त्यसबेला पर्याप्त प्रमाण नपुगेका कारण कसैलाई पक्राउ गर्न सकिएको थिएन। शेरिफ कार्यालयले भन्यो – “केवल साना(साना संकेतहरू मात्र भेटिएका थिए, जसले गिरफ्तारीका लागि पर्याप्त आधार दिन सकेन।”

तीन दशकसम्म नसुल्झिएको यो केसमा नयाँ मोड तब आयो, जब परिवारका सदस्यहरूले महत्वपूर्ण जानकारी सार्वजनिक गरे। रिपोर्ट अनुसार, र्यान्डलले आफ्ना दाजुभाइ र आफ्नै सन्तानसँगको कुराकानीमा पत्नीको हत्या गरेको स्वीकार गरेका थिए।

अदालतमा एक सहायक अभियोजकले भने – “उनले आफ्ना भाइसँग अपराध स्थल कसरी बनावटी बनाइयो भन्नेबारे पनि बताएका थिए।”

त्यस्तै, उनले आफ्नी एक छोरीलाई पनि हत्या स्वीकार्दै भनेका थिए – “मैले जेनिसको टाउकोमा तकिया थिच्नुपरेको थियो‘ । बस् यति थाहा राख, यो मैले गरेको हो।”

शेरिफ कार्यालयका अनुसार नयाँ सूचना र सुराकीहरूले केसलाई नयाँ दृष्टिकोणबाट पुनः अनुसन्धान गर्न मद्दत गरेको हो । अनुसन्धानले जेनिस र्यान्डलको मृत्यु “हिंसात्मक संघर्षको परिणाम” भएको देखाएको छ। साथै, सन् १९९२ मा दिइएको प्रारम्भिक बयानहरू गलत भएको पनि पुष्टि भएको छ।

प्रहरीले पर्याप्त आधार तयार गरेपछि र्यान्डललाई एभरेटस्थित एक रिटायर्मेन्ट सुविधाबाट पक्राउ गरिएको हो। र्यान्डललाई बिहीबार अदालतमा पेश गरिएको थियो, जहाँ उनले हत्या अभियोग अस्वीकार गरेका छन्।

उनी हाल १० लाख अमेरिकी डलर धरौटीमा हिरासतमा छन्।

शेरिफ कार्यालयले यो केसलाई “प्रविधि र अनुसन्धान प्रक्रियामा भएको प्रगतिले दशकौँपछि पनि न्याय दिलाउन सक्छ भन्ने उदाहरण” भन्दै उल्लेख गरेको छ।

जेनिस र्यान्डलकी छोरी केटी वाकिनले भनिन् – “हाम्रो परिवारमा कसैले पनि र्यान्डल जिम्मेवार थिए भन्नेमा कहिल्यै शंका गरेन।”

उनले थपिन् – “त्यतिबेला हामीसँग प्रमाण थिएन।”

वाकिनका अनुसार, परिवार अझै पनि यो घटनाबाट मानसिक रूपमा निको हुने प्रयासमा छ। उनले सबै अदालतका सुनुवाइहरूमा सहभागी हुने बताएकी छन्।

उनले भावुक हुँदै भनिन् – “हाम्रो आमालाई हामीबाट खोसियो। मेरी बहिनीलाई आमाको कुनै सम्झना नै छैन। मेरी आमाले उनलाई धेरै माया गर्थिन्।”





Source link

Leave a Comment