जुगल हिमाल : प्रकृति र अध्यात्मको संगम (तस्वीरहरू)


काठमाडौंबाट नजिकका चर्चित र व्यस्त पदमार्ग हुन्, लाङटाङ, गोसाइकुण्ड, पाँचपोखरी तथा भैरवकुण्ड । पछिल्लो समय सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल पनि पदयात्रीका लागि रोजाइको गन्तव्य बन्न पुगेको छ ।

काठमाडौंबाट नजिकै भएर पनि जुगल पदयात्रा लामो समयसम्म ओझेल परेको थियो । तर अहिले पदयात्रा, धार्मिक पर्यटन र साहसिक यात्राका लागि नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

काठमाडौंबाट तीन दिनको यात्रामै जुगल हिमालको काखमा पुगेर प्रकृतिको अनुपम सौन्दर्यसँग रमाउन सकिन्छ ।

जुगल हिमाल पदयात्राको पहिलो आकर्षण प्राकृतिक सौन्दर्य नै हो । हिमाली भूगोल, हरियाली वन, खोलानाला, अग्ला डाँडाकाँडा, खुला उपत्यका र वरिपरि देखिने हिमशृंखलाले यात्रालाई सुरुदेखि नै रोमाञ्चक बनाउँछ । उचाइ बढ्दै जाँदा बदलिँदै जाने भूगोल र हिमालको नजिक पुग्दाको अनुभूतिले पदयात्रीलाई फरक संसारमा पुगेको महसुस गराउँछ ।

जुगल हिमाल भ्यू पोइन्टबाट देखिने हिमाली दृश्य यस यात्राको मुख्य आकर्षण हो । समुद्र सतहबाट करिब ४ हजार ५०० मिटरको उचाइमा अवस्थित हिमालको काखमा उभिएर चारैतिर फैलिएको हिमाली भूगोल नियाल्न सकिन्छ ।

‘जुगल भ्यू पोइन्ट’ बाट ३६० डिग्रीमा हिम चुचुराहरूको अवलोकन गर्न सकिन्छ । यहाँका ५ वटा हिमचुचुरालाई सरकारले २०८० सालमै आरोहणका लागि खुला गरिसकेको थियो । ६ हजार ५९१ मिटर अग्लो जुगल १, ६ हजार ५१८ मिटर अग्लो जुगल २, ६ हजार १८४ मिटर अग्लो जुगल ३, ५ हजार ९३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९२२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गरिएको छ ।

त्यसयता पर्वतारोहणका लागि विदेशी नागरिकहरूको आगमन बढेको जुगल हिमाल आरोही एवं जुगल पर्यटन प्रवर्द्धनका अभियन्ता मिलन तामाङले बताए ।

पर्यटन प्रवर्द्धनका लागि जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष २०८३ मनाइरहेको छ । यो वर्ष असोज र कात्तिक महिनामा करिब ६०० आन्तरिक पर्यटक जुगल भ्यू पोइन्टमा आइपुगेको नेपेमासालस्थित होटल व्यवसायी प्रेम शेर्पाले बताए ।

प्राकृतिक सौन्दर्यसँगै अध्यात्मको संगम जुगल

जुगल पदयात्राको सबैभन्दा विशिष्ट पक्षमध्ये एक हो नेपेमासाल । स्थानीय तथा बौद्ध धार्मिक मान्यताअनुसार यो क्षेत्र बौद्ध धर्मका गुरु पद्मसम्भवले ध्यान तथा तपस्या गरेको पवित्र भूमि हो । त्यसैले बौद्ध धर्मावलम्बीका लागि नेपेमासाल सामान्य पर्यटकीय स्थलभन्दा बढी धार्मिक र आध्यात्मिक महत्व बोकेको स्थान हो ।

बौद्ध धर्मगुरुहरूले नेपेमासाललाई कमलको फूलको बगैँचाको रूपमा अर्थ्याएका छन् । चारैतिर हिमशृंखला र बीचमा उपत्यका रहेको नेपेमासाल अध्यात्मसँग जोडिएको बौद्ध धर्म–संस्कृतिका विज्ञ मोहन लामाले बताए ।

हिमालले घेरेको शान्त भूगोल, खुला प्राकृतिक क्षेत्र र धार्मिक आस्थासँग जोडिएको परिवेशले नेपेमासाललाई विशिष्ट बनाएको छ । यहाँ पुग्दा पदयात्राको थकानसँगै मनमा शान्ति र एकाग्रताको अनुभूति हुने वातावरण छ । ध्यान, साधना, धार्मिक अध्ययन तथा प्रकृतिमा केही समय बिताउन चाहनेका लागि यो क्षेत्र विशेष आकर्षण बन्न सक्छ ।

जुगल यात्राका क्रममा अर्को महत्त्वपूर्ण पक्ष ब्रह्मायणी नदीको उद्गम क्षेत्रसँग जोडिएको छ । ब्रह्मायणी नदीको उद्गम भगवान ब्रह्माको कपालबाट उत्पत्ति भएको विश्वाससहित नदीको मुहानलाई ब्रह्मकपालीको रूपमा लिइएको र यहाँ महादेव पत्नी पार्वतीले पनि ध्यान तपस्या गरेको स्कन्ध पुराणमा उल्लेख रहेको बताइन्छ ।

नदीको उद्गम क्षेत्र, हिमाली वातावरण र धार्मिक विश्वासलाई एकीकृत गरेर जुगलको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसले पदयात्रामा जाने पर्यटकलाई हिमालको दृश्य मात्र होइन, स्थानीय भूगोल, नदी प्रणाली, स्थानीय तामाङ तथा शेर्पा समुदायको जीवनशैली, खानपान र धार्मिक–सांस्कृतिक सम्पदाबारे बुझ्ने अवसरसमेत दिन्छ ।

कस्तो छ जुगल पदयात्राको सुविधा ?

काठमाडौंबाट नजिकै भए पनि जुगल हिमाल क्षेत्र पूर्ण रूपमा विकसित पर्यटकीय पूर्वाधार भएको गन्तव्य भने होइन । यसलाई नयाँ र सम्भावनायुक्त पदयात्रा गन्तव्यका रूपमा बुझ्नुपर्छ ।

जुगल यात्रामा निस्कनुअघि मार्ग, मौसम, बसोबास, खानपान र आवश्यक सामग्रीबारे स्थानीय गाइड वा स्थानीय जनप्रतिनिधिसँग जानकारी लिनु उपयुक्त हुन्छ ।

जुगल क्षेत्रको पदयात्रामा स्थानीय बस्ती, गोठ तथा उपलब्ध सामुदायिक बसोबासको व्यवस्थामा निर्भर हुनुपर्ने अवस्था छ । उच्च हिमाली क्षेत्रमा पुग्दै जाँदा होटल तथा व्यवस्थित आवासको सुविधा सीमित छन् । अहिले उपलब्ध स्थानीय स्रोत र पूर्वाधारलाई व्यवस्थित गर्दै थप सुविधा विस्तार गर्नुपर्ने अवस्था छ ।

पदमार्गमा संकेत बोर्ड, विश्रामस्थल, सरसफाइ पर्याप्त देखिन्छ भने सुरक्षित बसोबास र सञ्चार सम्पर्कको व्यवस्था विस्तार गर्न सके यात्रालाई अझ सहज बनाउन सकिन्छ । यात्राका क्रममा दिपुदेखि माथिल्लो पदमार्गमा फोन नेटवर्क पूर्ण रूपमा असुविधा छ ।

राजधानीबाट सडकमार्ग हुँदै सिन्धुपाल्चोकको जुगल क्षेत्रसम्म पुग्न सकिन्छ । त्यसपछि स्थानीय बस्ती र पदमार्ग हुँदै नेपेमासाल तथा भ्यु पोइन्टतर्फको यात्रा अघि बढ्छ । पाँच दिनको यात्रामा जुगल हिमाल भ्यू पोइन्टसम्म पुगेर फर्कन सकिने भएकाले लामो बिदा मिलाउन नसक्ने पदयात्रीका लागि पनि यो गन्तव्य आकर्षक बन्न सक्छ ।

काठमाडौंबाट कसरी पुग्ने जुगल भ्यू पोइन्ट ?

यात्राको पहिलो दिन काठमाडौंको जडीबुटीदेखि अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको बलेफी पुग्न सकिन्छ । बलेफीबाट बायाँतर्फ मोडिँदै ब्रम्हायणी नदीको तिरैतिर कालोपत्रे सडक र कच्ची सडक हुँदै कात्तिकेसम्म पुग्न सकिन्छ ।

जडीबुटीबाट कात्तिकेसम्म बिहान ६ बजेदेखि नै बस सुविधा छ । कात्तिकेबाट तेम्बाथान हुँदै दिपुसम्म सडक सुविधा छ । तर साना सवारी साधनहरु रिजर्भ गरेर मात्रै यात्रा गर्न सकिन्छ । पहिलो दिन तेम्बाथान वा दिपु बास बसेर दोस्रो दिन करिब ८ घण्टा यात्रा गरी नेपेमासाल पुग्न सकिन्छ ।

तेस्रो दिन सबेरै हिँडेर जुगल भ्यू पोइन्ट पुग्न सकिन्छ । फर्किएर पुन: पेमासालमा बास बस्न सकिने छ । चौथो दिन पुन: तेम्बाथान वा गाडीको सुविधा भए सोही दिन काठमाडौं आइपुग्न सकिन्छ ।

    

 

  

 





Source link

Translate »