इरानी आक्रमणमा १२ अमेरिकी सैनिक घाइते, इन्धन भर्ने विमानमा क्षति


प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार

फोटो : एएफपी/रासस

इरानले साउदी अरेबियाको एयरबेसमा गरेको आक्रमणमा परी कम्तीमा १२ जना अमेरिकी सैनिक घाइते भएका छन्। साउदी अरेबियास्थित प्रिन्स सुल्तान एयरबेसमा भएको उक्त आक्रमणमा ती सैनिकहरू घाइते भएका हुन्।

घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था अत्यन्त गम्भीर छ। ‘वाल स्ट्रिट जर्नल’ का अनुसार आक्रमणका समयमा ती सैनिकहरू बेसभित्रको एक भवनमा रहेका थिए। यस आक्रमणमा कम्तीमा एउटा मिसाइल र केही ड्रोन प्रयोग गरिएको थियो।

आक्रमणबाट केही हवाई इन्धन भर्ने विमानहरूमा समेत क्षति पुगेको छ। यससँगै इरानी आक्रमणमा परी घाइते हुने अमेरिकी सैनिकको कुल संख्या ३०० नाघेको छ।

यसअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकी र इजरायली पक्षमाथि “निरन्तर गैरकानुनी आक्रमण” गरेको आरोप लगाएका थिए।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले विद्यालय, अस्पताल, ऐतिहासिक तथा सांस्कृतिक भवन एवं आवासीय क्षेत्रजस्ता “नागरिक लक्ष्य र केन्द्रहरू” मा आक्रमण भइरहेको बताएका छन्। उनले इरानी जनताको रक्षाका लागि देशले दृढतापूर्वक प्रयास जारी राख्ने उल्लेख गरे।

यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि थप १० दिनसम्म आक्रमण नगर्ने बताएको २४ घण्टा नबित्दै भएको हो।

Source link

Leave a Comment