प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

प्यालेस्टाइन अभिनेता मोताज मालहीस । तस्वीर : उनको इन्स्टाग्रामबाट
प्यालेस्टाइन अभिनेता मोताज मालहीसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धका कारण यस वर्षको ओस्कार समारोहमा सहभागी हुन नसक्ने बताएका छन्। मालहीस अभिनित फिल्म “द भ्वाइस अफ हिन्द राजाब” उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ एकेडेमी अवार्ड (ओस्कार) का लागि मनोनित भएको छ।
यो फिल्म सन् २०२४ मा गाजामा इजरायली सेनाको कारबाहीमा मारिएकी पाँच वर्षीया प्यालेस्टाइन बालिका हिन्द राजाबको कथामा आधारित छ। फिल्ममा मालहीसले बालिकालाई बचाउन प्रयास गर्ने एक कल सेन्टर अपरेटरको भूमिका निभाएका छन्।
मालहीसले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई प्यालेस्टाइन नागरिकता भएका कारण अमेरिकामा प्रवेश गर्न अनुमति नदिइएको बताएका छन्। उनले ओस्कार समारोहमा उपस्थित हुन नपाउँदा आफूलाई निकै दुख लागेको उल्लेख गरेका छन्।
डिसेम्बरमा जारी एक घोषणामा ट्रम्पले प्यालेस्टाइन प्राधिकरणद्वारा जारी वा स्वीकृत यात्रा कागजात प्रयोग गर्ने व्यक्तिहरूको अमेरिकामा प्रवेशलाई पूर्ण रूपमा सीमित गर्ने निर्णय गरिएको बताएका थिए। सुरक्षा कारण देखाउँदै लागू गरिएको उक्त प्रतिबन्ध जनवरी १ देखि प्रभावमा आएको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।
यस विषयमा प्रतिक्रिया माग्दा अमेरिकी विदेश मन्त्रालयले तत्काल कुनै टिप्पणी दिएको छैन।
उक्त फिल्म एक वास्तविक घटनाबाट प्रेरित भएको बताइएको छ, जसमा हिन्द राजाबका परिवारका पाँच सदस्य र उनलाई बचाउन गएका दुई एम्बुलेन्सकर्मी पनि इजरायली गोलीबारीमा मारिएका थिए। इजरायलले भने उक्त घटनाबारे समीक्षा भइरहेको जनाएको छ।
मालहीसका अनुसार फिल्मका अन्य प्यालेस्टाइन कलाकारहरूसँग अमेरिका यात्रा गर्न मिल्ने नागरिकता भए पनि उनीसँग केवल प्यालेस्टाइन पासपोर्ट मात्र रहेको छ।
यसैबीच, ट्रम्प प्रशासनले अमेरिकामा रहेका केही विदेशी प्रो-प्यालेस्टाइन समर्थकहरूलाई देशनिकाला गर्ने प्रयास पनि गरेको बताइएको छ। शुक्रबार एक आप्रवासन न्यायाधीशले लेकाआ कोर्डियालाई रिहा गर्न आदेश दिएका थिए।
गाजामा उनका १७० भन्दा बढी परिवारका सदस्य गुमाएका कोर्डिया एक वर्षदेखि हिरासतमा थिइन्। यसअघि दिइएका दुई आदेशका बाबजुद पनि उनको रिहाइ हुन सकेको थिएन।