मेरो पहिलो भोट शृङ्खला-३
उनीहरू परिवर्तनको अग्रपंक्तिमा उभिए, नेताको भाषणमा कहिल्यै छुटेनन् । तर अवसरमा कहिल्यै अटाएनन् । चुनौती मोल्न तयार भए, तर अगाडि पाइला चाल्नै दिइएन ।
उनीहरूलाई कसले र किन छेक्यो ?
‘पितृसत्ताले छेक्यो,’ पद्मकन्या क्याम्पसका जेनजी पहिलो महिला भोटरले भने ।
अनलाइनखबरको ‘मेरो पहिलो भोट’ शृङ्खलाको लागि हाम्रो टिम पद्मकन्या क्याम्पस पुगेको थियो । त्यहाँ पुग्नुअघि हामी त्रिभुवन विश्वविद्यालय कीर्तिपुर पुगेका थियौं, जहाँ महिला विद्यार्थीहरू बोल्नै चाहेनन्, मौन बसे ।
तर, पद्मकन्याको दृश्य फरक थियो ।
विद्यार्थीले जोडजोडले आफ्ना मुद्दा उठाए । पितृसत्तात्मक चेतले वर्षौंदेखि दबाइएको आवाज कहाँ एकै पटक खुल्छ त ? कीर्तिपुरको आवाज पनि पद्मकन्याका महिला जेनजीहरूमा मिसिएर आयो ।
उनीहरूले आधा आकाश ढाकेका छन् । तर २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा महिला उम्मेदवारको संख्या किन न्यून ? उनीहरूले प्रश्न गरिरहेका छन् ।
प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जसमा ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक उम्मेदवार छन् । यो महिला उम्मेदवारीको संख्या ११.३९ प्रतिशत हो ।
यो तथ्यांकले दलहरू महिलाप्रति अनुदार भएको प्रष्ट हुन्छ । यतिबेला ८८.६१ प्रतिशत पुरुष उम्मेदवारहरू मत माग्न घरदैलोमा पुगिरहेका छन् । तिनै महिलाको मतले पुरुष प्रतिनिधि चुनिएर संसद् पुग्ने तर महिला किन पुग्न नसक्ने ?
अब संसद्मा समान महिला प्रतिनिधि लैजानेलाई भोट
यस पटक दल र उम्मेदवारहरूलाई पद्मकन्याका जेनजी महिला पहिलो भोटरहरूले मतबाट जवाफ दिने योजना सुनाए । संसद्मा समान महिला प्रतिनिधि लैजाने दललाई भोट दिने योजनामा छन् उनीहरू । तर यसै पटक पूरै परिवर्तन हुने सम्भावना देख्दैनन् ।
‘पितृसत्ताले जरा गाडेको छ । एकैचोटि उखेल्न सकिँदैन। विस्तारै महिलाहरू आफैं अगाडि बढ्नुपर्छ,’ सान्वी देउजाले भनिन्, ‘हाम्रो लागि अरू कसैले केही गरिदिँदैन, हामी आफैं उठ्नुपर्छ ।’
आफ्ना आवाज आफैं उठाउनुपर्ने अर्क गर्छिन् कविता सिंह । ‘हामी महिलाले आफ्ना लागि आफैं आवाज उठाउनुपर्छ । कसैले बोलिदिँदैन, त्यसैले आफैं उभिनुपर्छ,’ उनले भनिन् ।
नेपालमा भ्रष्टाचार धेरै छ। त्यसैले भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ । ट्रान्सपरेन्सी हुनुपर्छ । नेपालमा भ्रष्टाचार हुँदै नहोस् ।
महिलाहरू सक्षम हुँदाहुँदै पनि पछि पारिएको मत उनीहरूको छ । ‘अरूले के सोच्छन् नहेरी अगाडि बढ्न सके महिला सक्षम हुन्छन्,’ आशिका ज्ञवालीले भनिन् ।
३३ प्रतिशत आरक्षणलाई संस्थागत बनाउनुपर्नेमा उनीहरूको जोड छ । ‘इतिहासमै हेर्दा पनि महिलाले आफैं लडेर अधिकार पाएका हुन् । शिक्षा र आत्मविश्वास नै मुख्य कुरा हो, ‘आशु चौधरीले भनिन्, ‘३३ प्रतिशत आरक्षणलाई संस्थागत बनाउनुपर्छ । महिला आफैं अगाडि आउनुपर्छ ।’
५२ प्रतिशत महिलाको संख्या हुँदा संसद्मा न्यून महिला पुग्नुको जवाफ दलसँग उनीहरूले खोजेका छन् ।
‘महिलालाई ३३ प्रतिशत आरक्षण पनि घटाइँदै लगिएको छ । नेपालमा ५२ प्रतिशत महिला जनसंख्या हुँदा पनि संसद्मा ५२ प्रतिशत प्रतिनिधित्व किन छैन ?,’ आशुले प्रश्न गरिन् ।
यसका लागि पद्मकन्याका महिला जेनजीहरूले हिम्मत उठाउने घोषणासमेत गरे । ‘पद्मकन्या जस्तो ठाउँबाटै नेतृत्व विकास गर्न सकिन्छ । महिलाले आफैं हिम्मत देखाएर अगाडि बढे सबैको साथ मिल्छ,’ चेतना नहर्कीले भनिन् ।
महिलालाई कमजोर नआँक्न उनीहरूले सचेत गराए ।
‘महिलालाई कमजोर ठानिन्छ तर त्यो गलत हो । महिलाले पनि केही गर्न सक्छन्, अगाडि बढ्नुपर्छ,’ रक्षा चौलागाईंले भनिन् ।
त्यसैले महिला सशक्तीकरण कागजमा होइन, संरचनागत अवरोध हटाएर महिला प्रतिनिधि सुनिश्चित गर्नेलाई मत दिने उनीहरूले निष्कर्ष सुनाए ।

भोट दिन उत्साहित
महिला उम्मेदवारको उपस्थिति न्यून भए पनि यस पटक भोट दिन उनीहरू उत्साहित देखिए । जेनजी आन्दोलनले उनीहरूलाई भोट दिन प्रेरित गरेको छ ।
‘कसले बाजी मार्ला भनेर उत्साहित भएको छु,’ सुनसरी क्षेत्र नम्बर २ कि मतदाता देउजाले सुनाइन् ।
बाँके-१ कि मतदाता रहेकी ज्ञवालीले म्याच हेर्दाको जस्तो महसुस गरेकी छिन् । ‘एकदमै एक्साइटेड छु । पहिलो पटक भोट गर्ने भएर पनि होला । पूरै म्याच हेर्दा आउने जस्तो फिलिङ आएको छ,’ उनले भनिन् ।
यस पटकको चुनावले परिवर्तन ल्याउने आशा गर्छन् उनीहरू । ‘जेनजी आन्दोलन र अहिलेको परिवेश हेर्दा विकासतिर लम्कियोस् भन्ने चाहना छ । लोकतन्त्रमा मताधिकारले त्यो कुरा निर्धारण गर्छ । म सकारात्मक र आशावादी छु,’ आशुले भनिन् ।
तनहुँ-१ कि मतदाता रहेकी चेतना २१ फागुनको नतिजाको पर्खाइमा छिन् । ‘पहिलो पटक मतदान गर्दैछु । नतिजा कस्तो आउँछ भनेर उत्साहित छु,’ उनले भनिन् ।
चुनावपछि विकासले गति लिनेमा आशा राख्छिन् सिन्धुपाल्चोककी रक्षा । ‘जेनजी आन्दोलनपछि देशमा धेरै परिवर्तन आइरहेको छ । विकासका लागि राम्रो योजना बन्छ भन्ने आशाले म धेरै एक्साइटेड छु,’ उनले भनिन् ।
युवा जनशक्ति विदेशिनु पर्ने बाध्यताको अन्त्य चाहन्छिन् दोलखाकी मनिषा । ‘जेनजी आन्दोलन विकास होस् भनेर गरियो । र, युवा विदेशिनु नपरोस् भनेर हो । अब रोजगारी होस्,’ उनले भनिन् ।
भ्रष्टाचारको अन्त्य
धेरै आन्दोलन भए । व्यवस्था परिवर्तन भयो । तर आम जनताको अवस्था सुधार भएन । भ्रष्टाचार रोकिएन । अबको चुनावपछि जनताको अवस्था सुधार र भ्रष्टाचार अन्त्य गर्ने प्रतिनिधि जेनजी महिलाले चाहेका छन् ।
‘नेपालमा भ्रष्टाचार धेरै छ। त्यसैले भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ,’ सान्वीले भनिन्, ‘दोस्रो कुरा, ट्रान्सपरेन्सी हुनुपर्छ । नेपालमा भ्रष्टाचार हुँदै नहोस् ।’
देश समृद्ध नहुनुको कारण भ्रष्टाचार रहेको निचोड उनीहरूको छ ।
‘भ्रष्टाचारकै कारण हामी पछाडि परिरहेका छौँ । शिक्षा भए पनि रोजगार छैन । भए पनि जीवन चलाउन पुग्दैन । त्यसैले धेरै युवाहरू विदेशिनु परेको छ,’ कविता सिंहले भनिन् ।
जनजीविकाका मुद्दा संसद्मा उठाउने उम्मेदवारलाई मत दिने सोच उनीहरूले बनाएका छन् ।
‘आफ्नो क्षेत्रबाट प्रतिनिधि पठाइसकेपछि त्यो प्रतिनिधिले आफ्नो क्षेत्रका राम्रा–नराम्रा गतिविधि, आवश्यकता र समस्याहरू संसद्मा गएर बोलिदिने हुनुपर्छ,’ आशिकाले भनिन् ।
मानिसका आधारभूत आवश्यकतामा जोड दिने नै साँचो अर्थमा प्रतिनिधि हुने विश्वास राख्छिन् आशु चौधरी ।
सक्षम युवाहरू संसद्मा किन छैनन् ? अग्रजहरूले स्पेस नदिएसम्म पुस्तान्तरण सम्भव हुँदैन । त्यसैले पुस्तान्तरण अनिवार्य छ ।
‘जसले शिक्षाको मुद्दा उठाओस् । शिक्षा र सिपलाई रोजगारीसँग कसरी जोड्ने भन्ने कुरा उठाओस्,’ उनले भनिन् ।
समाजलाई बुझेको प्रतिनिधि नै आजको आवश्यकता ठान्छिन् चेतना । ‘समाज बुझ्ने र समाजकै मुद्दा उठाउने प्रतिनिधि चाहन्छु । ठूलो भाषण मात्रै होइन, एक्सनमा जान्ने नेता होस् । शिक्षा, स्वास्थ्य, इन्फ्रास्ट्रक्चर, रोजगारी यी सबै क्षेत्रमा बेसिक निड पूरा गर्ने नेता चाहिन्छ । यी मुद्दा उठाउन सक्ने भए आई विल भोट फर देम,’ उनले भनिन् ।
शिक्षालाई सिपसँग जोड्न पहल गर्ने प्रतिनिधि चाहन्छिन् रक्षा । ‘शिक्षामा थ्यौरी मात्रै होइन, प्राक्टिकल हुनुपर्छ । स्किल डेभलपमेन्टमा जोड दिने, देश विकास गर्ने प्रतिनिधि चाहिन्छ,’ उनले भनिन् ।
मनिषा पनि शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिनिधि चाहिएको बताउँछिन् । ‘भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना मुख्य हो । पढाइ प्राक्टिकलसँग जोडियोस् । स्वास्थ्यमा सुधार होस् । ट्राफिक व्यवस्थापन पनि राम्रो होस्,’ उनले भनिन् ।
अब पुस्तान्तरण र हस्तान्तरण
आगामी चुनावबाट नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्नेमा उनीहरू सहमत देखिए । तर केहिले फरक मत पनि राखे ।
‘पुराना नेताहरू सबै गलत छैनन् । नयाँ सबै सही पनि छैनन् । पुरानाको अनुभव हस्तान्तरण हुनुपर्छ र नयाँलाई पनि बाटो दिनुपर्छ,’ सान्वीले भनिन् ।
पुरानाको ज्ञान लिएर नयाँ प्रतिनिधि अगाडि बढ्नुपर्ने जोड दिन्छिन् आशिका । पुस्तान्तरण अनिवार्य सर्त रहेको बताउँछिन् आशु ।
‘सक्षम युवाहरू संसद्मा किन छैनन् ? अग्रजहरूले स्पेस नदिएसम्म पुस्तान्तरण सम्भव हुँदैन । त्यसैले पुस्तान्तरण अनिवार्य छ,’ उनले भनिन् ।
नयाँ-पुराना मिलेर अगाडि बढ्नुपर्ने धारणा पनि उत्तिकै उठ्यो । ‘अग्रजसँग अनुभव छ, हामीसँग एनर्जी र नलेज छ । दुवैलाई स्पेस दिनुपर्छ,’ चेतनाले भनिन् ।
तर, रक्षा भने हस्तान्तरण र पुस्तान्तरणको पक्षमा उभिइन् । ‘पुरानाले केही नगरेका होइनन्, तर नयाँले नयाँ स्किल र क्षमता ल्याउँछन् । त्यसैले हस्तान्तरण र पुस्तान्तरण हुनैपर्छ,’ उनले भनिन् ।
तस्वीर-भिडियो : शंकर गिरी/कमल प्रसाईं अनलाइनखबर
मेरो पहिलो भोट शृङ्खला-१
जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न
मेरो पहिलो भोट शृङ्खला-२
