दक्षिण एसियाको महत्त्वपूर्ण राष्ट्र बंगलादेशमा सन् २०२६ को फेब्रुअरी १२ तारिखमा भएको तेह्रौं संसदीय निर्वाचनले देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको छ। लामो समयदेखि सत्ता सम्हाल्दै आएको दलको पतनपछि भएको यो निर्वाचनलाई जनआन्दोलनपछिको ‘पहिलो स्वतन्त्र चुनाव’का रूपमा लिइन्छ।
करिब पन्ध्र वर्षसम्म शासन गरेको सेख हसिनाको दल अवामी लिग सत्ताबाट बाहिरिएपछि बनेको राजनीतिक शून्यतालाई यो निर्वाचनले भरिदिएको छ। यो चुनाव केवल सरकार परिवर्तनको प्रक्रिया मात्र थिएन, बरु बंगलादेशी जनताको असन्तुष्टि, परिवर्तनको चाहना र लोकतान्त्रिक मूल्यप्रतिको पुनः आस्थाको अभिव्यक्ति पनि थियो। सन् २०२४ मा भएको ठुलो जनआन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा भएको निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट हेरेका थिए, जहाँ बिएनपीले विजय हासिल गर्यो। ३०० सिटमध्ये २१२ सिट जित्यो। दुईतिहाइ बहुमतसहित सरकार गठन गर्ने अवसर पायो। अवामीको शासनकालमा बिएनपी अपोजिसनमा रहेर बसेको थियो। बिएनपीको घोषणापत्रको मुख्य नारा ‘लोकतन्त्रको पुनस्र्थापना, जनमुखी शासन र आर्थिक पुनरुत्थान’ थियो।
बंगलादेशको प्रसंग किन निकालेँ भने हाम्रो देशमा पनि भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चुनावी सरकारले यही फागुन २१ मा चुनाव गराउँदै छ। भावी चुनावीपछि नेतृत्वमा को आउने हो? नेतृत्वमा कुन दल आउने हो? कुन कुन दलले कति मत ल्याउने हुन्? कुनकुन दलका केकस्ता घोषणापत्र छन्? हामी अहिले संवेदनशील मोडमा उभिएका छौं।
बंगलादेशमा जसरी चुनाव अगाडि र पछाडिको परिणाम फरक तरिकाले आयो, बिएनपी ३०० मा २१२ सिट जिती सरकार बनाउने अवसर पायो। हामी पनि यस्तै संवेदनशील अवस्थामा छौं। हामीले इतिहासदेखि राजनीतिक आन्दोलन, बलिदान र परिवर्तनका अनेक चरण पार गरी संविधान पाएका छौं, संघीय प्रणाली अँगालेका छौं, लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिएका छौं। तर यति धेरै परिवर्तनपछि पनि आमनागरिकको मनमा एउटै प्रश्न घुमिरहेको छ – के हामीले खोजेको असल नेतृत्व पायौं? समस्या संविधान र प्रणालीमा होइन, नेतृत्वको सोच, चरित्र र व्यवहारमा देखिन्छ। त्यसैले आज असल नेतृत्व राजनीतिक नारा मात्र नभई राष्ट्रिय आवश्यकता बनेको छ।
हाम्रो देशको राजनीतिक यथार्थ हेर्दा दलहरू बलिया देखिन्छन् तर संस्था कमजोर छन्। नेताहरू चर्चित छन् तर नीतिहरू कमजोर छन्। चुनावमा आकर्षक घोषणापत्र सार्वजनिक गरिन्छन् तर कार्यान्वयनको चरणमा ती कागजमै मात्र सीमित रहन्छन्। भाषणहरू देशप्रेमले भरिएका हुन्छन् तर व्यवहारमा व्यक्तिगत स्वार्थ हाबी हुन्छ। गाउँमा बेरोजगारी छ, सहरमा निराशा छ, युवाहरू रोजगारीका लागि विदेश जान बाध्य छन्।
देशमा रोजगारी पाइँदैन, शासन छैन, सरकारी काममा ढिलासुस्ती छ। नीति बनाउने तहमा बसेका नेतृत्वहरू सत्ता समीकरण, गुटबन्दी र कुर्सीको राजनीतिमा अल्झिएको अनुभूति जनताले गरिरहेका छन्। असल नेतृत्व भनेको देश र जनता बुझेको, अरूका दुःख र पीडाको अनुभूति गर्न सक्ने हुनुपर्छ। केवल चुनाव जित्ने कला होइन, दीर्घकालीन राष्ट्रिय दृष्टि राख्ने हुनुपर्छ। असल नेतृत्व व्यक्तिगत हितलाई होइन, राष्ट्रिय हितलाई प्राथमिकता दिने र गल्ती स्वीकार गरेर सुधार गर्न सक्ने क्षमता हुनुपर्छ।
नेपालको अर्थतन्त्र आज पनि रेमिट्यान्समा निर्भर छ। कृषिप्रधान देश भए पनि किसानको जीवनस्तर कमजोर छ, उद्योग विस्तार हुन सकेको छैन र पर्यटन सम्भावनायुक्त हुँदाहुँदै पनि नीति स्थायित्वको अभावमा पूर्ण रूपमा फस्टाउन सकेको छैन। यो अवस्था प्राकृतिक कारणले होइन, नेतृत्वको असफलताबाट सिर्जित भएको यथार्थ हो। यदि असल नेतृत्व भएको भए कृषिमा आधुनिक प्रविधि भित्रिन्थ्यो, उद्योगमा लगानी सुरक्षित हुन्थ्यो, युवालाई देशमै रोजगारी मिल्थ्यो र अर्थतन्त्र आत्मनिर्भर बन्ने दिशामा अघि बढ्थ्यो।
आज राज्यले योजना बनाउँछ तर योजनामा जनताको विश्वास छैन। बजेट आउँछ तर कार्यान्वयन हुँदैन। परियोजना घोषणा हुन्छ तर समयमा सम्पन्न हुँदैन। यो सबै व्यवस्थापन क्षमताको कमजोरी हो, जसको जड नेतृत्वमा छ।
शिक्षा र स्वास्थ्य भविष्य निर्माण गर्ने आधारस्तम्भ हुन्। तर हाम्रो यथार्थमा शिक्षा प्रणाली पुरानो पाठ्यक्रममा अडिएको छ, व्यावहारिक सिपको अभाव छ र अनुसन्धान संस्कार कमजोर छ। स्वास्थ्य क्षेत्रमा गाउँ–गाउँमा डाक्टर छैनन्, अस्पतालमा उपकरणको कमी छ र उपचार आमनागरिकका लागि महँगो बन्दै गएको छ। यदि असल नेतृत्व भएको भए शिक्षालाई रोजगारसँग जोडिन्थ्यो, स्वास्थ्यलाई व्यापार होइन सेवा बनाइन्थ्यो र राज्यले नागरिकलाई आधारभूत सुरक्षा सुनिश्चित गथ्र्यो। तर आज यी क्षेत्रहरू पनि नीति र व्यवस्थापनको कमजोरीका कारण संकटमा परेका छन्।
नेपालको अर्को गहिरो समस्या नैतिक संकट हो। भ्रष्टाचार सामान्य विषय बनेको छ र अनियमितता अपवाद होइन, दैनिकी बनेको छ। कानुन सबैका लागि बराबर छैन भन्ने अनुभूति जनतामा गहिरिँदै गएको छ। जब नेतृत्व नै नैतिक हुँदैन, तब समाज दिशाहीन बन्छ। त्यतिबेला विद्यार्थीले मेहनतभन्दा पहुँचलाई मूल्य दिन थाल्छ, युवाले सेवा र संघर्षभन्दा विदेशलाई विकल्प ठान्छ र व्यापारीले नीतिभन्दा चिनजान खोज्न थाल्छ। असल नेतृत्व चरित्रबाट सुरु हुन्छ – पारदर्शिता, इमानदारी, उत्तरदायित्व र सार्वजनिक जीवनमा शुद्धता। नेता नैतिक भएमा समाज बलियो हुन्छ र देशले सही दिशा पाउँछ।
संघीय प्रणाली नेपालका लागि अवसर र चुनौती दुवै हो। स्थानीय तहसम्म अधिकार पुगेको छ र सरकार जनतासँग नजिकिएको छ। तर क्षमता अभाव, दोहोरो संरचना र स्पष्ट नीति नहुँदा संघीयता कहिलेकाहीं खर्चिलो र अलमलिँदो देखिन्छ।
असल नेतृत्व भएमा संघीयता विकासको माध्यम बन्छ,जनसहभागिताको अभ्यास बन्छ र स्थानीय आवश्यकताअनुसार नीति बन्ने प्लेटफर्म बन्छ तर कमजोर नेतृत्वमा यही संघीयता भ्रष्टाचारको नयाँ तह बन्न सक्छ र स्रोतको दुरुपयोग बढ्न सक्छ।
नेपालको जनसंख्याको ठुलो हिस्सा युवा हो, तर नेतृत्व पुरानो सोचमा अडिएको अनुभूति हुन्छ। विचार नयाँ छैन, शैली पुरानो छ। युवालाई भाषणमा प्रशंसा गरिन्छ तर नीतिनिर्माणमा सहभागी गरिँदैन। असल नेतृत्वले युवालाई केवल मतदाता होइन, राष्ट्र निर्माणको साझेदार बनाउँछ। प्रविधिमा लगानी, उद्यमशीलताको प्रवर्धन र नवप्रवर्तनलाई अवसर दिन सक्ने नेतृत्वले मात्र देशलाई अगाडि लैजान सक्छ। युवा पलायन रोजगारीको मात्र समस्या होइन, नेतृत्वप्रतिको विश्वासको संकट पनि हो।
असल नेतृत्व जन्मिन प्रश्न गर्ने समाज आवश्यक पर्छ। मिडिया मौन भयो भने सत्ता निरंकुश हुन्छ, नागरिक समाज कमजोर भयो भने लोकतन्त्र खोक्रो बन्छ। मिडियाले प्रशंसा मात्र होइन आलोचना गर्नुपर्छ, प्रचार होइन तथ्य बोल्नुपर्छ, डर होइन सत्य रोज्नुपर्छ। नागरिकले पनि चुनावका बेला मात्र होइन, दैनिक शासनप्रति प्रश्न गर्न सिक्नुपर्छ। असल नेतृत्व भनेको दृष्टि भएको, नैतिक, सक्षम, समावेशी र उत्तरदायी नेतृत्व हो– पाँच वर्ष होइन पचास वर्ष सोच्ने, कानुनभन्दा माथि होइन कानुनभित्र बस्ने, भाषण होइन कामले देखाउने, सबै वर्ग र क्षेत्रलाई समेट्ने र गल्ती स्वीकार गरेर सुधार गर्ने नेतृत्व।
नेतृत्व केवल नेताले मात्र बनाउँदैन, मतदाताले पनि बनाउँछ। नागरिकले पैसामा मत दिन्छ भने भ्रष्ट नेता जन्मिन्छ, जातमा मत दिन्छ भने विभाजनकारी नेता जन्मिन्छ र डरमा मत दिन्छ भने कमजोर नेता जन्मिन्छ। तर विचार, चरित्र र कार्यक्रम हेरेर मत दिइयो भने असल नेतृत्व सम्भव हुन्छ। नेपाललाई आज क्रान्ति होइन चरित्र चाहिएको छ, भाषण होइन व्यवहार चाहिएको छ र नाराभन्दा नीति चाहिएको छ।
व्यक्तिभन्दा प्रणाली बलियो बनाउने नेतृत्व आवश्यक छ। असल नेतृत्वको खोजी राजनीतिक नारा होइन, राष्ट्रिय अभियान बन्नुपर्छ – घरघर, विद्यालय, मिडिया र संसद्मा। यदि आज सही नेतृत्व छानिएन भने भोलिका पुस्ताले हामीलाई प्रश्न गर्नेछन् – अवसर हुँदा पनि किन सही बाटो रोजिएन?
अहिले तीव्र रूपमा चुनाव प्रचारप्रसार भइरहेको छ। हामीले विचार गर्नुपर्ने र हाम्रो एउटै स्पष्ट प्रश्न– हामी अनुहार खोज्दै छौं कि चरित्र खोज्दै छौं? भाषण सुन्दै छौं कि भविष्य बनाउँदै छौं? भदौ २३ र २४ को आन्दोलनले मागेको कुरा – सुशासन, देशमै रोजगारी, सत्ताकेन्द्रित नभई सेवा गर्ने नेतृत्व, डर होइन दिशा दिने नेतृत्व। जसरी बंगलादेशमा घोषणापत्रसहित केही गर्छु भन्ने पार्टी आएको छ, त्यस्तै चुनावी प्रक्रिया हाम्रो देशमा पनि चाहिएको छ। यसपालिको चुनाव धेरै क्षति ब्यहोरेर आएको चुनाव हो, यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ।
