News Summary
Generated by OK AI. Editorially reviewed.
- धनुषा–४ मा करिब २६ मुसहर परिवारहरू नागरिकता र जग्गा बिना भौतिक र सामाजिक समस्यामा जीवन बिताइरहेका छन्।
- चुनावका बेला मात्र नेताहरू बस्तीमा भोट माग्न आउँछन्, तर समस्याहरू सम्बोधन गर्दैनन्।
- धनुषा–४ मा कुल ३७ जना उम्मेदवार छन् ।
५ फागुन, बटेश्वर (धनुषा) । झगरु सदा (४५) ओछ्यानमा सुत्दा आकाशका जून–तारा छर्लङ्ग देखिन्छन् । खरले छाएको झुपडीको छानो पनि आधा भत्किइसकेको छ । त्यो बढ्दो छ ।
जाडोमा त्यो नाङ्गो आकाशबाट चुहिने शीत छल्न आफूले ओढेको बर्को तान्नु नै झगरुका लागि सबैभन्दा सजिलो उपाय हो । आधा च्यातिएको फुसको छानो टाल्नु उनका लागि त्यो भन्दा कठिन हो ।
झगरु र ललिता सदाका लागि अबका केही महिना भने अलि सजिलो हुनेछ, किनभने मधेशमा गर्मी बढ्न लागेको छ । र, गर्मीको बेलामा आधा च्यातिएको छानाले जाडोमा झैं पिरोल्दैन । तर चैत वैशाखमा आउने हुरीले बाँकी छानो उडाएन भने बर्खा लाग्दासम्म उनको बास हुन्छ । यदि त्यो बेलासम्म छानो लगाउन सकेनन् भने बर्खामा ओत लाग्दै ठाउँ पनि हुनेछैन ।
‘बिहान–बेलुकी ज्यालामजदुरी नगरी खान पुग्दैन, त्यसबाट आएको पैसाले दैनिक छाक टार्न पनि गार्हो छ कसरी घर बनाउनु ?’ सोमबार अपराह्न अनलाइनखबरकर्मी बस्तीमा पुग्दा झगरुले भने, ‘सकेको भए यस्तो घरमा बसिरहन मन थियो र ?’
झगरु सानै हुँदा उनका बाबु असर्फी र आमा पञ्ची सदा बिते । उनका भाइ जितेन्द्र पनि सानैमा बिते । झगरुको बुझाइमा उनीहरू तिनैजना ‘रोग, भोक र शोक’ले बितेका हुन् ।
झगरु र ललिताका पाँच सन्तान छन् । जेठो छोरा काम खोज्दै भारतको मद्रास गएका छन्, अरु चारजना उनकै काखमा छन् । आफूहरू र सन्तानका लागि आमने सामने फर्केका दुई झुप्रा छन् । छेवैमा भान्सा बनाइएको अर्को सानो टहरो छ अनि तीन टहराको बिचमा आँगनजस्तो भागमा सानो माटाको चुल्हो छ ।
उनीहरूको टहरामा ढोका छैन, बाँसको फट्टक बनाएका छन् । छेवैमा च्यातिन लागेको सानो प्लाइउडको टुक्रा भुइँमा थियो, जुन अर्को टहराको ढोका लगाउन काम लाग्थ्यो । तर तल ढोका लगाएर के गर्नु माथि छानो करिब ह्वाङ्गै हुन लागेको छ ।
झगरु र ललिताका चार सन्तान जतिबेला पनि बस्तीमै खेलिरहेका भेटिन्छन्, स्कूल जाँदैनन् ।
‘हाम्रो नागरिकता छैन, बच्चाहरूको जन्मदर्ता छैन, अहिलेसम्म खेलेर बसेका छन्’ ललिता सदा भन्छिन्, ‘हामरा दुनु परानीके नागरिकता नैहै, बेटाबेटीके कना बन्तै ? (हामी बुढाबुढीकै नागरिकता छैन, यिनीहरुको कसरी जन्मदर्ता बनोस् ?)’
****
धनुषा बटेश्वरको शान्तिपुर टोलमा भर्खरै बनेको पक्की पुल छ । त्यसको छेवैमा राति उज्यालो छर्ने ‘फ्लड लाइट’ भएको पोल भर्खरै गाडिएको छ । त्यही पोल छेवैको सानो बाटोबाट भित्र छिरेपछि लोकतन्त्रको उज्यालो देख्न नपाएको मुसहर बस्तीमा पुगिन्छ । जहाँ, करिब २६ परिवारले एकैसाथ उस्तैउस्तै खालका दुःख र कष्टहरु भोगिरहेका छन् ।
त्यही बस्तीमा कसैको पनि लालपूर्जा छैन । सामुदायिक स्कूलको जग्गामा उनीहरू वर्षौंदेखि बसिरहेका छन् ।
केही सीमित व्यक्तिहरूको मात्रै नागरिकता बनेको छ । तिनै मतदाताहरूको भोटको लोभमा नेताहरू प्रत्येक चुनावका बेलामा बस्तीमा छिर्छन् ।
त्यही भेटिएकी तुल्फीदेवी सदा सम्धिनीको घरमा पाहुना भएर पुगेकी रहिछन् । मुसहर बस्ती र चुनावको प्रसंग उठ्नासाथ उनले आक्रोश पोख्न थालिन् ।
‘यहाँ नेताहरु आएको थियो, भोट माग्यो, जित्यो र गयो, त्यसपछि आएन’ उनले मैथिली लबजमा आक्रोश पोख्दै भनिन्, ‘जितेपछि सरकारी पैसा ल्याउँदो रहेछ, खायो अनि बस्यो । दलितलाई कसले हेर्छ ? यहाँ कसैले हेर्दैन, आफ्नो पोको पार्यो, भयो ।’

त्यही बस्तीमा भेटिएका सागर सदा नजिकैको श्रीकाली जनज्योति माविमा ९ कक्षासम्म पढेका छन्, जो प्राय: भारतमा बस्छन् । अहिले भने उनी छुट्टीका बेलामा गाउँ पुगेका थिए । उनले मुसहर बस्तीका बासिन्दाहरूलाई श्रम गरेर आधारभूत जीवनयापन गर्न पनि कठिनाइ भइरहेको बताए ।
‘यहाँका मानिसहरू कि भारत गएर काम गर्छन्, कि अरुको खेतबारीमा काम गर्छन्,’ उनले भने, ‘यहाँको अवस्था सधैं यस्तै हो । नेताहरू चुनावको बेलामा मात्रै भोट माग्न आउँछन् । अरुबेला कसैलाई मतलब हुँदैन ।’
मुसहर समुदाय प्रायः भूमिहीन
मुसहर मधेशका दलित समुदाय हुन् । तराईका आठ जिल्लामा रहेका मुसहर समुदाय प्रायः भूमिहीन छन् । उनीहरू कृषि मजदुरीमै ज्यादा संलग्न हुने गरेको पछिल्लो समय भारतका शहरहरूमा जाने गरेका छन्, पछिल्ला वर्षहरूमा नगन्य संख्यामा बैदेशिक रोजगारीमा जान थालेका छन् ।
उनीहरू प्रायः अरुको जग्गा वा सार्वजनिक ठाउँमा छाप्रो बनाएर बसेका छन् । जग्गाको लालपूर्जा नभएका कारण नागरिकताको प्रमाणपत्र नभएका र बच्चाको जन्मदर्ता समेत बनाउन सकेका छैनन् ।
****
राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंले २०७८ सालमा जनगणनाको विवरण सार्वजनिक गर्दा ‘निर्वाचन क्षेत्र अनुसार जनसांख्यिक प्रतिवेदन’ पनि सार्वजनिक गरेको थियो । त्यो प्रतिवेदन अनुसार, धनुषा–४ मा करिव १५ प्रतिशत जनसंख्या मधेशी दलितहरूको छ, उनीहरूका लागि आधारभूत सुविधा नै जिन्दगीको ठूलो सपना हुने गरेको छ ।
धनुषा–४ का कुल मतदाता करिव एक लाख २८ हजार छन् । जनगणनाको आँकडालाई आधार मान्दा करिब २० हजार मतदाताहरू मधेशी दलित समुदायका छन् ।

अघिल्लोपटक करिब डेढ सयभन्दा कम मतले हारजित भएको यो क्षेत्रमा मधेशी दलित समुदायको मतलाई उम्मेदवारहरूले अनेक आश्वासन र प्रलोभनबाट आकर्षित गर्न खोज्ने कतिपय स्थानीयहरूको अनुभव छ । मुसहर बस्ती छिरेका बेला पल्लो गाउँबाट आएकी एक स्थानीय बृद्धाले सुनाइन्, ‘यिनीहरूको गरिबीमा नेताहरूले फाइदा उठाउँछन् । केही पैसामा भोट लिएर जान्छन् । यसपालि पनि अब नेताहरू आउने बेला भइसकेको छ ।‘
****
त्यो बस्ती पार गरेर औरही खोला तरेपछि क्षिरेश्वरनाथ नगरपालिका–३ पकरियामा पुगिन्छ । पकरियाका करिब ७० परिवार मुसहर बस्ती छ । बस्तीको मुखैमा सरितादेवी सदा खिन्न र उदास भएर बसिरहेकी थिइन् ।
पक्षघातबाट पीडित उनका ससुराको २० दिनअघि निधन भएको रहेछ । त्यसको चार दिनपछि उनकी बुढीसासू पनि बितिन् । उनका श्रीमान सुन्दर सदाले ज्याला मजदुरी गरिरहेका छन् । घरमा रहेका आठ जनाको परिवार पाल्नु चानचुने कुरा होइन ।
खरले छाएको उनको जीर्ण फुसको पुरानो घरको छानो फाटेको छ । बिरामी ससुराको उपचार गर्दा ऋण खोज्नुपर्यो । आफैं सुकुमवासी, त्यसमाथि ऋण । पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।
काखे बच्चा खेलाइरहेकी सरितादेवीले अर्को वर्ष खेप्नुपर्ने कष्ट देखिसकेकी छन् । उनी भन्छिन्, ‘अर्को वर्षायाममा घर मर्मत गर्न सकिँदैन । छिमेकीको सहयोग बाहेक अरु उपाय छैन ।’
उनकै छिमेकी रहेकी ५५ वर्षीया सबुर सदा पाँच वर्षदेखि पक्षघातबाट पीडित छन् । उनको नागरिकता छैन, नागरिकता नभएकाले सरकारी अस्पतालमा उपचार गराउन पनि पाएकी छैनन् ।
नागरिकता नबनेकाले अपांग भत्ताको झनै के कुरा गर्नु ? नागरिकताका लागि चाहिने कागजात खोज्दाखोज्दै उनलाई एकाएक पक्षघात भएको थियो । पक्षघात भएपछि उनको नागरिकता बनाउने सपना समेत थलिएको छ ।
धनुषा क्षेत्र नम्बर–४ को करिब चार किलोमिटरको दूरीमा रहेका यी दुई मुसहर बस्तीमा कयौं कुराहरू समान छन् । दुवै बस्तीमा बनेका शौचालयहरू प्रयोगविहीन थिए । शान्तिपुर मुसहर बस्तीमा दुई कोठे शौचालय बन्दाबन्दै अलपत्र छ । ढोका नहालेकाले त्यहाँ कोही पनि जादैनन् ।

अर्को पकडिया बस्तीका कयौं घरका अगाडि प्यान हालेका शौचालय अलपत्र छाडिएका छन् । माथिपट्टि न गारो छ न कसैले खम्बा गाडेर छेकबार लगाइदिएका छन् । त्यहाँ पनि शौचालयका प्यानमा माटो भरिएको देखिन्थ्यो ।
दुई मुसहर बस्तीको फुसले छाएका र झारपातमा माटो पोतेर बारेका कयौं गाह्राहरू भत्किएका थिए । बस्तीका बालबालिकाहरु खालीखुट्टा फोहोरमा खेलिरहेका थिए, झिंगा भन्किरहेका थिए । स्कूल जाने बालबालिकाहरू औंलामा गन्न सकिन्छ । उनीहरूले पाँच कक्षा पास गर्नु त निकै ठूलो कुरा हुने भयो ।
पकडियाका रामलोचन साह, मुसहर बस्तीको मुखमा रहेको घुम्ती पसलमा गफ गरेर बसिरहेका थिए ।
खेतमा सिंचाइ गर्न घर नजिकैको घुम्तीमा बसिरहेका मुसहरहरूको प्रसंग उठ्नासाथ भने, ‘उनीहरुसँग न जग्गा छ, न जमीन । यिनीहरुसँग समस्यै समस्या बाहेक के छ र ?’
उनका अनुसार, करिब ३० वर्षअघि नजिकैको औरही खोलामा बाढी आएपछि मुसहरहरू विस्थापित भएका थिए ।

रामलोचनका अनुसार, जिम्दार ‘राजा तर्कबहादुर’ले आफ्नो जग्गा प्रयोग गर्न दिएर उनीहरुलाई गुन गरेका रहेछन् । तिनै ‘तर्कबहादुर शाह’का सन्तानले बेवास्ता गरेकाले मुसहरहरू अर्कैको जग्गामा ढुक्कैले बसेका थिए ।
‘यहाँका नेताहरूका लागि मुसहरबस्ती भोट बैंक बाहेक केही होइन’ उनी भन्छन्, ‘चुनाव आएपछि नेताहरू पछिपछि भोट माग्न आउँछन्, जान्छन् । अर्को चुनाव नआउँदासम्म फर्किन्नन् ।’
****
मधेश प्रदेशको राजधानी जनकपुर नजिकैका यी र यस्तै गाउँका समस्या सम्बोधन गर्ने प्रतिबद्धता गर्दै संघ, प्रदेशदेखि स्थानीय तहसम्मका अनेक चुनावमा थरी-थरी उम्मेदवार झुपडीको आँगनमा पुग्ने गर्छन् । तर उनीहरूले चुनाव जितेर गएपछि यी बस्तीको अन्धकारप्रति फर्किएका छैनन् । काठमाडौं र जनकपुर राजधानीको सत्ता खिचातानीबाट फुर्सद निकालेर बेलाबखत यी बस्तीहरूमा छिरेको भए पक्कै पनि अहिलेको दृश्य देखिन्थ्यो होला ।

विगतमा जस्तै यसपालि पनि धनुषाका समस्या सम्बोधन गर्ने प्रतिबद्धताकासाथ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
एमालेका उपमहासचिव एवं यसअघि पटकपटक मन्त्री भइसकेका रघुवीर महासेठ धनुषा–४ का एक उम्मेदवार हुन् । यसअघि लगातार दुई चुनाव जितेका उनी यसपालि तेस्रो जित हासिल गर्ने दौडधुपमा छन् ।
दुईपटकको प्रतिस्पर्धामा निर्वाचित हुन नसकेका कांग्रेसका महेन्द्र पनि यादव निर्वाचित हुने प्रयासमा छन् ।
यसअघि दुई दल बदलेर राजकिशोर महतो रास्वपाबाट उम्मेदवार बनेका छन् । नेकपाका सञ्जय कुमार महतो र जसपा नेपालका कृष्णचन्द्र प्रसाद साह अर्का उम्मेदवार हुन् । धनुषा–४ मा कुल ३७ जना उम्मेदवार छन् ।
यी सबैजसो उम्मेदवारका लागि चुनाव जित्न यी र यस्ता बस्तीका नागरिक भोट बैंक हुन् । जसलाई चुनावका बेला मात्र प्रयोग गर्छन् । ‘चुनावका बेला आउँछन्, पैसा दिएर फकाउँछन् जान्छन्’ रामलोचन साह दिक्दारी पोख्छन् ।
फोटो/भिडियो : कमल प्रसाईं/अनलाइनखबर
