हेपाटाइटिस–सीको सबैभन्दा ठूलो समस्या भनेको वर्षौंसम्म कुनै लक्षण नदेखिन सक्छ । धेरै बिरामीलाई आफू संक्रमित भएको कुरा धेरै ढिलो थाहा हुन्छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- वरिष्ठ कलेजो तथा ग्यास्ट्रोलोजिस्ट डा. विधाननिधि पौडेलका अनुसार हेपाटाइटिस कलेजो सुन्निने अवस्था हो, जसका प्रमुख पाँच प्रकार ए, बी, सी, डी र ई हुन्छन् ।
- दूषित पानी तथा खानाबाट सर्ने हेपाटाइटिस ए र ई को जोखिम कम गर्न व्यक्तिगत सरसफाइ, सफा खानेपानी र नियमित खोप लगाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
- रगत तथा असुरक्षित सम्पर्कबाट सर्ने हेपाटाइटिस बी र सी लाई साइलेन्ट किलर भनिन्छ, त्यसैले जोखिममा रहेका व्यक्तिले समयमै परीक्षण र उपचार गर्नुपर्छ ।
केही रोग यस्ता हुन्छन्, जसले सुरुमै ठूलो पीडा दिँदैनन् । बरू वर्षौंसम्म शरीरभित्र चुपचाप आफ्नो काम गरिरहेका हुन्छन् । मानिसले सामान्य थकान, भोक कम लाग्नु, पेट फुल्नु वा आँखा अलिकति पहेंलो हुनुलाई खासै वास्ता गर्दैन । तर त्यही सामान्य देखिने संकेतले कलेजोमा गम्भीर समस्या सुरु भइसकेको सन्देश दिइरहेको हुन सक्छ ।
कलेजो शरीरको एउटा यस्तो अंग हो, जसले हामी बाँचिरहन आवश्यक सयौं जैविक प्रक्रिया सञ्चालन गर्छ । हामीले खाएको खाना पचाउन सहयोग गर्ने, शरीरलाई ऊर्जा उपलब्ध गराउने, रगतबाट विषाक्त पदार्थ हटाउने, औषधिलाई शरीरले प्रयोग गर्न मिल्ने बनाउनेदेखि लिएर रोगसँग लड्न सहयोग गर्ने प्रोटिन उत्पादन गर्ने कामसम्म कलेजोले गर्छ ।
तर यही कलेजो सुन्निने समस्या भयो भने शरीरको सन्तुलन बिस्तारै बिग्रिन थाल्छ । सुरुमा खासै लक्षण नदेखिए पनि समय बित्दै जाँदा यसको असर सम्पूर्ण स्वास्थ्यमा पर्न सक्छ । कतिपय अवस्थामा कलेजोमा स्थायी दाग बस्छ, सिरोसिस हुन्छ र अन्ततः क्यान्सरसम्म पुग्ने जोखिम बढ्छ । यी सबै
समस्याको एउटा प्रमुख कारण हो– हेपाटाइटिस ।
हेपाटाइटिस के हो ? कसरी सर्छ ? को बढी जोखिममा ? यहि विषयलाई केन्द्रमा राखेर वरिष्ठ कलेजो तथा ग्यास्ट्रोलोजिस्ट डा. विधाननिधि पौडेलसँग गरिएको सम्पादित अंश:
हेपाटाइटिस के हो ? यो कस्तो रोग ?
हेपाटाइटिस कुनै एउटै रोग होइन । यो कलेजो सुन्निएको अवस्था हो, जसका पछाडि धेरै कारण हुन सक्छन् । अत्यधिक मदिरा सेवन, केही औषधिको असर, अटोइम्युन रोग वा विषाक्त रसायनका कारण पनि कलेजोका भाग सुन्निन सक्छ । तर संसारभर सबैभन्दा धेरै देखिने कारण भने भाइरल संक्रमण नै हो ।
धेरैलाई लाग्छ, हेपाटाइटिस भनेको एउटा मात्रै समस्या हो । वास्तवमा हेपाटाइटिस पाँच प्रकारको हुन्छ, ए, बी, सी, डी र ई । यी सबै भाइरस एउटै परिवारका होइनन् । कसरी सर्छन्, कति खतरनाक हुन्छन्, कसलाई बढी जोखिम हुन्छ र कसरी बच्न सकिन्छ भन्ने विषय पनि एकअर्काभन्दा फरक छ । कुनै केही सातामै निको हुन्छ भने कुनै संक्रमणले वर्षौंसम्म कलेजोलाई थाहै नदिई क्षति पुर्याइरहेको हुन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म भाइरल हेपाटाइटिसलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा अन्त्य गर्ने लक्ष्य राखेको भए पनि चुनौती अझै ठूलो छ । यसको प्रमुख कारण के हो भने धेरै संक्रमित व्यक्तिलाई आफू संक्रमित भएको नै थाहा हुँदैन । रोग पहिचान हुँदा कतिपयमा कलेजो धेरै बिग्रिसकेको हुन्छ ।
कलेजो किन सुन्निन्छ ?
स्वस्थ अवस्थामा यसका कोषहरूले निरन्तर काम गरिरहेका हुन्छन् । भाइरस संक्रमण भएपछि वा अन्य कारणले कलेजोमा आक्रमण भएपछि शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । भाइरससँग लड्ने क्रममा कलेजोका कोषहरू पनि क्षतिग्रस्त हुन थाल्छन् र सुन्निन सुरु हुन्छ ।
सुरुमा सुन्निने समस्या केही हप्तामात्र रहन सक्छ । यस्तो अवस्थालाई एक्युट हेपाटाइटिस भनिन्छ । धेरैजसो हेपाटाइटिस–ए र हेपाटाइटिस–ई यस्तै प्रकारका हुन्छन् । उचित आराम र उपचारपछि बिरामी पूर्णरूपमा निको पनि हुन सक्छ ।
तर समस्या त्यतिबेला सुरु हुन्छ, जब संक्रमण ६ महिनाभन्दा बढी समय शरीरमा रहिरहन्छ । यसलाई क्रोनिक हेपाटाइटिस भनिन्छ । विशेषगरी हेपाटाइटिस–बी र हेपाटाइटिस–सी यसरी वर्षौंसम्म शरीरमा लुकेर बस्न सक्छन् ।
यही क्रममा कलेजोका स्वस्थ कोषहरूको ठाउँमा बिस्तारै दाग (फाइब्रोसिस) बस्न थाल्छ । यदि समयमै उपचार भएन भने यही दाग बढ्दै गएर सिरोसिसमा परिणत हुन्छ । सिरोसिस भएपछि कलेजोले आफ्नो सामान्य काम गर्न गाह्रो हुन्छ र अन्ततः कलेजो फेलियर वा कलेजो क्यान्सरसम्म पुग्ने जोखिम बढ्छ ।
यी पाँच प्रकारका हेपाटाइटिसबीच आखिर फरक के छ ? कुन बढी खतरनाक ?
धेरै मानिसलाई हेपाटाइटिस भनेपछि एउटा मात्रै रोगको चित्र दिमागमा आउँछ । अस्पतालमा पनि बिरामीले ’मलाई हेपाटाइटिस भएको छ’ भन्ने गर्छन् । तर चिकित्सकका लागि यो मात्र पर्याप्त जानकारी हुँदैन । किनभने सबैभन्दा पहिले उनीहरूले सोध्ने प्रश्न नै हुन्छ, कुन प्रकारको हेपाटाइटिस ?
कारण स्पष्ट छ । हेपाटाइटिस–ए, बी, सी, डी र ई सबैले कलेजो सुन्निने समस्या निम्त्याउँछ तर तिनको स्वभाव एकअर्काभन्दा धेरै फरक हुन्छ । कुनै दूषित पानीबाट फैलिन्छ, कुनै संक्रमित रगतबाट । कुनै केही सातामै निको हुन्छ भने कुनैले वर्षौंसम्म कलेजोलाई बिस्तारै नष्ट गरिरहेको हुन्छ । त्यसैले सबैलाई एउटै रोग भनेर बुझ्नु उचित हुँदैन ।
हेपाटाइटिसलाई बुझ्न सबैभन्दा सजिलो तरिका यसको संक्रमण फैलिने माध्यम बुझ्नु हो । मोटामोटी रूपमा हेर्दा हेपाटाइटिस–ए र ई दूषित खाना तथा पानीसँग जोडिएका संक्रमण हुन् । त्यसैले, सरसफाइ राम्रो हुँदा यी संक्रमणको जोखिम पनि उल्लेखनीय रूपमा घट्छ । तर हेपाटाइटिस–बी, सी र डी भने संक्रमित रगत, शरीरका तरल पदार्थ, असुरक्षित सुई वा असुरक्षित यौन सम्पर्कमार्फत फैलिने संक्रमण हुन् । त्यसैले यिनको रोकथामका उपाय पनि फरक हुन्छन् । यही भिन्नताले उपचारमा पनि फरक पार्छ ।
हेपाटाइटिस–ए कसरी लाग्छ ? कसरी सर्छ ?
गर्मीको मौसम छ । यात्राका क्रममा तिर्खा लाग्यो र बाटोछेउको पसलबाट एक गिलास पानी पिइयो वा बाहिरको सलाद, चटपटे वा राम्रोसँग नपकाएको खाना खाइयो । त्यतिबेला सबै कुरा सामान्य लाग्न सक्छ । तर यदि त्यो पानी वा खाना भाइरसले दूषित बनाएको थियो भने केही सातापछि त्यसको असर कलेजोमा देखिन थाल्न सक्छ ।
हेपाटाइटिस–ए यस्तै संक्रमण हो, जुन मुख्य रूपमा दूषित खाना र पानीबाट फैलिन्छ । भाइरस संक्रमित व्यक्तिको दिसाबाट वातावरणमा पुग्छ र सरसफाइ कमजोर हुँदा पानी वा खानामार्फत अर्को व्यक्तिको शरीरमा प्रवेश गर्छ । त्यसैले सुरक्षित खानेपानी र सरसफाइ राम्रो नभएका ठाउँमा यसको जोखिम बढी हुन्छ ।
संक्रमण भएपछि सुरुका केही दिन सामान्य भाइरल ज्वरोजस्तै लाग्न सक्छ । शरीर गल्छ, भोक हराउँछ, वाकवाकी लाग्छ, कहिलेकाहीँ हल्का ज्वरो आउँछ । धेरैले यसलाई सामान्य मौसमी संक्रमण ठानेर बेवास्ता गर्छन् । तर केही दिनपछि पिसाब गाढा हुँदै जान्छ, छाला र आँखाको सेतो भाग पहेंलो देखिन थाल्छ । त्यसपछि मात्रै धेरै मानिस अस्पताल पुग्ने गर्छन् ।
हेपाटाइटिस–ए प्रायः दीर्घकालीन रोग बन्दैन । शरीरको प्रतिरक्षा प्रणालीले केही हप्तादेखि केही महिनाभित्र भाइरसलाई नियन्त्रणमा ल्याइदिन्छ । तर यसलाई सामान्य भनेर बेवास्ता गर्न भने मिल्दैन । विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला वा पहिलेदेखि कलेजोसम्बन्धी समस्या भएका व्यक्तिमा संक्रमणले गम्भीर रूप लिन सक्छ ।
यसको उपाचार के छ ?
हेपाटाइटिस–’ए’ बाट जोगिन महँगो उपचारभन्दा सरल बानीहरू धेरै प्रभावकारी हुन्छन् । उमालेको वा सुरक्षित पानी पिउने, शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने, फलफूल तथा तरकारी राम्ररी सफा गर्ने र आवश्यक परे खोप लगाउने बानीले संक्रमणको जोखिम निकै कम गर्न सक्छ ।
अर्को महत्वपूर्ण कुरा, हेपाटाइटिस–ए लागेको व्यक्तिले पूर्ण आराम गर्नुपर्छ । कलेजोले संक्रमणसँग लडिरहेको बेला मदिरा सेवन गर्नु वा जथाभावी औषधि खानु झन् हानिकारक हुन सक्छ ।
हेपाटाइटिस–बी कसरी सर्छ ? किन यसलाई ‘साइलेन्ट किलर’ भनिन्छ ?
हेपाटाइटिस–बी हेपाटाइटिस–ए भन्दा बिल्कुल फरक संक्रमण हो । यो दूषित खाना वा पानीबाट सर्दैन । बरू मुख्य रूपमा संक्रमित रगत, असुरक्षित यौन सम्पर्क, संक्रमित सुई तथा संक्रमित आमाबाट नवजात शिशुमा सर्न सक्छ ।
हेपाटाइटिस–बीको सबैभन्दा ठूलो चुनौती भनेको धेरै संक्रमित व्यक्तिमा सुरुमा कुनै लक्षण नदेखिनु हो । कतिपय मानिस वर्षौंसम्म आफू संक्रमित भएको थाहै नपाई सामान्य जीवन बिताइरहेका हुन्छन् । तर यही अवधिमा भाइरसले भने बिस्तारै कलेजोलाई क्षति पुर्याइरहेको हुनसक्छ ।
कतिपयलाई सामान्य थकान, भोक कम लाग्ने, खाना रुचि नहुने, पेटको दाहिने भागमा हल्का दुखाइ, वाकवाकी लाग्ने वा जोर्नी दुख्ने जस्ता सामान्य लक्षण मात्र देखिन सक्छन् । तर संक्रमण बढ्दै जाँदा आँखा र छाला पहेंलो हुने, पिसाब गाढा हुने, शरीर सुन्निने र तौल घट्ने समस्या देखिन सक्छ ।
हेपाटाइटिस–बी भएका सबै बिरामीमा रोग दीर्घकालीन हुँदैन । धेरै वयस्कमा शरीरको प्रतिरक्षा प्रणालीले केही महिनाभित्र भाइरसलाई नियन्त्रण गर्न सक्छ । तर केहीमा संक्रमण ५ महिनाभन्दा बढी रहन्छ । यही अवस्थालाई क्रोनिक हेपाटाइटिस–बी भनिन्छ ।
क्रोनिक संक्रमण भएका व्यक्तिमा वर्षौंसम्म कलेजो सुन्निने भइरहँदा बिस्तारै फाइब्रोसिस, त्यसपछि सिरोसिस र अन्ततः कलेजोको क्यान्सर हुने जोखिम उल्लेखनीय रूपमा बढ्न सक्छ ।
यसको उपचार र बच्ने उपाय के हो ?
हेपाटाइटिस–बीको सबैभन्दा राम्रो पक्ष भनेको यसको प्रभावकारी खोप उपलब्ध हुनु हो । नवजात शिशुदेखि वयस्कसम्म आवश्यक परे खोप लगाउन सकिन्छ । समयमै खोप लगाए हेपाटाइटिस–बी मात्र होइन, हेपाटाइटिस–डीबाट समेत अप्रत्यक्ष सुरक्षा प्राप्त हुन्छ ।
यदि संक्रमण भइसकेको छ भने सबै बिरामीलाई औषधि आवश्यक पर्दैन। रगतमा भाइरसको मात्रा, कलेजोको अवस्था र अन्य परीक्षणको आधारमा चिकित्सकले उपचार आवश्यक छ वा छैन भन्ने निर्णय गर्छन । अहिले उपलब्ध एन्टिभाइरल औषधिले भाइरसलाई नियन्त्रणमा राख्न र कलेजोमा थप क्षति हुनबाट जोगाउन मद्दत गर्छ ।
साथै असुरक्षित यौन सम्पर्क नगर्ने, परीक्षण गरिएको रगत मात्र प्रयोग गर्ने, सुई वा सिरिन्ज साझा नगर्ने तथा ट्याटु वा पियर्सिङ गर्दा सुरक्षित र जीवाणुमुक्त उपकरण प्रयोग भएको सुनिश्चित गर्ने बानीले पनि संक्रमणबाट बच्न सकिन्छ ।
हेपाटाइटिस मध्ये पनि सी अझै बढी जोखिमपूर्ण मानिन्छ, किन ?
हेपाटाइटिस–सी पनि मुख्य रूपमा संक्रमित रगतबाट फैलिने संक्रमण हो । विगतमा परीक्षण नगरिएको रगत चढाउँदा यसको जोखिम धेरै थियो । अहिले रक्त परीक्षण अनिवार्य भएकाले त्यो जोखिम घटेको छ । तर संक्रमित सुई, लागुऔषध इन्जेक्सन, असुरक्षित स्वास्थ्य उपकरण वा राम्रोसँग जीवाणुमुक्त नगरिएका ट्याटु उपकरणबाट अझै संक्रमण हुन सक्छ ।
हेपाटाइटिस–सीको सबैभन्दा ठूलो समस्या भनेको यसले वर्षौंसम्म कुनै लक्षण नदेखाउन सक्छ । यही कारणले धेरै बिरामीलाई आफू संक्रमित भएको कुरा धेरै ढिलो थाहा हुन्छ । कतिपयमा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्रै रोग पत्ता लाग्छ।
सुरुमा सामान्य थकान, कमजोरी, भोक कम लाग्ने वा वाकवाकी लाग्ने बाहेक खासै समस्या नदेखिन सक्छ । तर भाइरसले भने चुपचाप कलेजोमा क्षति पुर्याइरहेको हुन्छ । धेरै वर्षपछि मात्रै सिरोसिस, कलेजो फेल हुने वा कलेजोको क्यान्सर देखिन सक्छ ।
हेपाटाइटिस–सी निको हुन्छ ?
पहिले हेपाटाइटिस–सीको उपचार निकै कठिन मानिन्थ्यो । तर अहिले अवस्था धेरै परिवर्तन भएको छ । आधुनिक डाइरेक्ट–एक्टिङ एन्टिभाइरल औषधिले अधिकांश बिरामीमा केही हप्ताको उपचारमै भाइरस पूर्णरूपमा हटाउन सक्छ ।
तर एउटा समस्या अझै पनि छ, हेपाटाइटिस–सी विरुद्ध प्रभावकारी खोप उपलब्ध छैन । त्यसैले, यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संक्रमित रगतको सम्पर्कबाट बच्ने, सुई साझा नगर्ने, सुरक्षित स्वास्थ्य सेवा प्रयोग गर्ने र जोखिममा परेका व्यक्तिले समयमै परीक्षण गराउनु हो ।
हेपाटाइटिस–डी किन हुन्छ ?
हेपाटाइटिस–डीलाई अनौठो भाइरस मानिन्छ । किनभने यसले एक्लै संक्रमण गर्न सक्दैन । यो केवल पहिलेदेखि हेपाटाइटिस–बी भएका व्यक्तिमा मात्र देखिन्छ । अर्थात् शरीरमा हेपाटाइटिस–बी नभए हेपाटाइटिस–डीले पनि संक्रमण गर्न सक्दैन ।
यदि कुनै व्यक्तिमा हेपाटाइटिस–बी र डी दुवै संक्रमण भए भने कलेजोमा क्षति धेरै छिटो हुन सक्छ । यस्तो अवस्थामा सिरोसिस, कलेजो फेलियर र कलेजोको क्यान्सर हुने जोखिम पनि बढ्छ ।
यसैले हेपाटाइटिस–डीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हेपाटाइटिस–बीको खोप लगाउनु हो । बी संक्रमण नै नभएपछि डी संक्रमण हुने सम्भावना पनि रहँदैन ।
हेपाटाइटिस–ई कसरी सर्छ ? यसबाट कसरी बच्न सकिन्छ ?
हेपाटाइटिस–ई धेरै हिसाबले हेपाटाइटिस–एसँग मिल्दोजुल्दो हुन्छ । यो पनि मुख्य रूपमा दूषित पानी र खानामार्फत फैलिन्छ । विशेषगरी वर्षायाम, बाढीपछिको अवस्था वा सुरक्षित खानेपानीको अभाव भएका क्षेत्रमा यसको जोखिम बढी हुन्छ।
संक्रमण भएपछि ज्वरो, थकान, वाकवाकी, भोक कम लाग्ने, पेट दुख्ने, आँखा पहेंलो हुने र पिसाब गाढा हुने जस्ता लक्षण देखिन सक्छन् । अधिकांश बिरामी केही हप्तामै निको हुन्छन् ।
तर गर्भवती महिलामा, विशेषगरी गर्भावस्थाको अन्तिम चरणमा, हेपाटाइटिस–ई गम्भीर बन्न सक्छ । त्यसैले गर्भवती महिलाले सुरक्षित खानेपानी, सफा खाना र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उमालेको वा सुरक्षित पानी पिउने, खाना राम्रोसँग पकाएर खाने, शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने र सरसफाइमा विशेष ध्यान दिनु हो । यही सामान्य सावधानीले हेपाटाइटिस–ईको जोखिम उल्लेखनीय रूपमा कम गर्न सक्छ ।