प्रकाशित मिति : २७ असार २०८३, शनिबार

नेपालको राजधानी काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि असार २५ गते भएको हृदयविदारक घटनाले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ। मुगु जिल्लाको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुरमा डेरा गरी बस्दै आएका २५ वर्षीय युवक गणेश नेपालीले राइड सेयरिङ एपमार्फत आफ्नो जीविका चलाउँदै आएका थिए।
त्रिपुरेश्वरमा पार्किङ गरी राखेको आफ्नो मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ‘ह्विल लक’ लगाई १ हजार रुपैयाँ जरिवानाको प्रक्रिया अगाडि बढाएपछि उत्पन्न विवादका क्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे। शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा उनलाई तत्काल वीर अस्पतालको बर्न युनिटमा भर्ना गरिए पनि उपचारकै क्रममा असार २६ गते शुक्रबार उनको दुःखद निधन भयो।
यो घटना केवल एउटा व्यक्तिले ज्यान गुमाएको समाचार मात्र होइन, बरु यो राज्यको कठोर प्रशासनिक व्यवस्था, गरिब नागरिकप्रतिको उपेक्षा, संसद्मा उठेका गम्भीर प्रश्न र नेपाली समाजमा व्याप्त चरम मानसिक स्वास्थ्य संकटको एउटा सजीव र कारुणिक दृष्टान्त बनेको छ।
आत्महत्याको भयावह चित्र र पछिल्लो ५ वर्षको तथ्यांक
गणेश नेपालीको मृत्यु एउटा एक्लो घटना होइन। नेपालमा आत्महत्याको दर डरलाग्दो गतिमा बढिरहेको छ, जसलाई विज्ञहरूले “मौन महामारी” भनेका छन्। नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा स्थिति भयावह छ।
आर्थिक वर्ष २०७८/७९ मा करिब ६,८३० जनाले आत्महत्या गरेका थिए भने २०७९/८० मा यो संख्या बढेर ६,९०८ पुग्यो। आर्थिक वर्ष २०८०/८१ मा ७,०५५ र २०८१/८२ मा ७,१२० पुग्यो। चालू वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या ७,२५० नाघिसकेको छ। पछिल्लो ५ वर्षमा ३५,००० भन्दा बढी नेपालीले आफ्नो जीवन आफैं समाप्त पारेका छन्। यो तथ्यांकले स्पष्ट पार्छ कि हाम्रो समाजमा केही कुरा गम्भीर रूपमा बिग्रिरहेको छ।

मानिस किन र कसरी आत्महत्याको बाटो रोज्छन् भन्ने विषयमा साइक्याट्रिस्ट डाक्टर सिर्जना महर्जनका अनुसार, मानिसले आत्महत्याको बाटो रोज्नु पछाडि एउटा मात्र कारण हुँदैन। गणेश नेपालीको घटनामा जस्तै, अधिकांश आत्महत्याका घटनाहरूमा ‘तत्काल घटित’ समस्याभन्दा पनि त्यसभन्दा अगाडि लामो समयदेखि थुप्रिँदै आएको मानसिक दबाबले काम गरिरहेको हुन्छ भन्ने उनको भनाइ छ।
डिप्रेसन, एन्जाइटी र बाइपोलार डिसअर्डर जस्ता मानसिक स्वास्थ्य समस्याहरूले मानिसलाई बाँच्नप्रति निराश बनाउने तथा उपचारको अभावमा यी समस्याहरूले मानिसलाई ‘मृत्यु नै एकमात्र विकल्प हो’ भन्ने भ्रममा पार्ने महर्जनको भनाइ छ ।
गणेशको केसमा १ हजार रुपैयाँको जरिवाना एउटा सामान्य अंक लाग्न सके पनि जसको खल्तीमा खाने पैसा हुँदैन, उनका लागि त्यो १ हजार ‘पहाड’ हुने तथा बेरोजगारी र ऋणको बोझले मानिसलाई विचलित बनाउने मनोवैज्ञानिकको भनाइ छ । सडकका साना व्यवसायी र राइडरहरूलाई राज्यले गर्ने दण्डात्मक व्यवहारले उनीहरूमा ‘आशाको अन्त्य’ गराउने तथा समाजमा हुने अपमानबोध र पारिवारिक कलहले पनि व्यक्तिलाई चरम निराशामा धकेल्ने मनोवैज्ञानिकहरू बताउँछन् ।
सबै आत्महत्याका कारण उस्तै हुन्छन् भन्ने हुँदैन, मूलतः आत्महत्याका कारकहरू आर्थिक तङ्गी, बेरोजगारी, कुलत, र मानसिक असन्तुलन नै हुन्। तर, व्यक्तिको सहनशीलताको क्षमता (Coping Mechanism) फरक हुन्छ। जो व्यक्तिसँग सहयोग माग्ने ठाउँ वा परामर्शको पहुँच हुन्छ, उसले सायद आत्महत्याको बाटो रोज्दैन। तर जब व्यक्ति एक्लो महसुस गर्छ र समाधानका सबै ढोका बन्द हुन्छन्, तब ऊ आत्मघाती कदम उठाउँछ भन्ने डाक्टर सिर्जनाको बुझाइ छ।
यसलाई कम गर्नको लागि राज्य आफै संवेदनशील हुन जरुरी रहेको तथा राज्यले सम्बन्धित निकायलाई यस्तो कुरामा कसरी पीडितको उद्धार गर्ने भन्ने छुट्टै तालिम दिन जरुरी रहेको उनले बताइन्। आत्महत्यामा चाँडोभन्दा चाँडो उद्धार आवश्यक हुने उनको बुझाइ छ। यस्तो कुरामा कुनै पनि ढिलासुस्ती हुने बित्तिकै उद्धार गर्न नसकिने र पीडितको ज्यान जान सक्ने अवस्था रहेको महर्जनले बताइन्।
के के आए राजनीतिक प्रतिक्रिया ?
गणेश नेपालीको मृत्युको खबर सार्वजनिक भएपछि संसद्मा सरकारविरुद्ध आक्रोश देखियो। प्रमुख प्रतिपक्ष लगायत सत्ता पक्षका सांसदहरूले पनि सरकारको असंवेदनशीलतामाथि प्रश्न उठाए।
कांग्रेस सभापति गगनकुमार थापाले “यो एउटा नागरिकको मात्र मृत्यु होइन, हाम्रो व्यवस्थाको ऐना हो। हामीले कस्तो समाज बनाउँदै छौँ जहाँ नागरिकले बाँच्न भन्दा मर्न सजिलो महसुस गर्छ? १ हजार रुपैयाँ तिर्न नसक्ने अवस्थामा पुगेको युवालाई राज्यले केही गर्न सकेन?” भन्ने आशयमा सरकारलाई प्रश्न गरेका छन्।
त्यस्तै सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारलाई प्रश्न गर्दै भने, “के अब हरेक गरिब नागरिकले पेट्रोल बोकेर हिँड्नुपर्ने अवस्था सिर्जना भइसकेको हो? महानगरपालिकाको जरिवाना नीति जनता मार्ने मेसिन बनेको छ।”
सांसद भूमिका लिम्बु सुब्बाले गरिब जनताप्रति प्रशासनको व्यवहार कुकुर बिरालोको भन्दा खराब भएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइन्।
नेकपा (एमाले) का सांसदहरूले सरकारको लाचारी र असंवेदनशीलताको कडा विरोध गर्दै छानबिन समिति बनाउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
संसद्मा उठेका यस्ता आवाजहरूले नीति निर्माताहरू अब सडकको यथार्थसँग जोडिनुपर्ने बेला आएको छ। जरिवानाको नाममा हुने प्रशासनिक ‘आतंक’ बन्द हुनुपर्छ भन्ने आवाज अहिले संसद्मा गुन्जिरहेको छ।
आत्महत्या रोकथामका लागि राज्य र समाजको भूमिका
गणेश नेपाली जस्ता थुप्रै युवाहरूलाई जोगाउन अब राज्य र समाजले तत्काल मानसिक स्वास्थ्यको सर्वसुलभ पहुँच, हेल्पलाइनको प्रभावकारी सञ्चालन, प्रशासनिक सुधार, रोजगारी र सुरक्षा, सामाजिक सञ्जाल र मिडियाको भूमिका साथै आत्महत्या रोकथामका लागि ‘समुदायमा आधारित’ कार्यशालाहरू आयोजना गर्नुपर्छ भन्ने कुरामा डाक्टर सिर्जना महर्जनको सुझाव रहेको छ।
गणेश नेपालीको मृत्युले राज्यको ढुकढुकीमा प्रश्न उठाएको तथा जरिवानाको १ हजार रुपैयाँका लागि एउटा युवाले आफ्नो ज्यान आहुति दिनुपर्ने अवस्था सिर्जना हुनु भनेको हाम्रो लोकतन्त्र र राज्य संयन्त्रको ठूलो असफलता रहेको सरोकारवालाहरु बताउँछन्। आत्महत्या गर्ने व्यक्ति कमजोर नभई, लामो समयदेखि अन्याय, अभाव र निराशासँग लडिरहेको एउटा पीडित हो, जो अन्ततः थकित भएर यो बाटो रोज्न बाध्य भएको सरोकारवालाहरुको बुझाई छ।
नागरिकलाई डरले होइन, कि भरोसाले बाँच्न सिकाउने राज्यको दायित्व भएको र सरकारले केवल छानबिन समिति गठन गर्ने वा क्षतिपूर्ति दिने कार्यमा मात्र सीमित नजनी प्रशासनिक दमन बन्द गर्न, मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्न र नागरिकको जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिने गरी नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
(यदि तपाईं वा तपाईंले चिन्नु भएको कोही व्यक्ति गम्भीर मानसिक तनाव, चरम निराशा, वा आत्महानि (आफ्नो ज्यान लिने) जस्ता सोचबाट गुज्रिरहनु भएको छ भने, कृपया एक्लो महसुस नगर्नुहोस्। मद्दत माग्नु कमजोरी होइन, बरु बुद्धिमानी र हिम्मतको कुरा हो र सहयोग सधैं उपलब्ध छ। नेपालमा रहनुहुनेहरूले २४सै घण्टा निःशुल्क उपलब्ध राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन नम्बर ११६६ वा मानसिक स्वास्थ्य हेल्पलाइन नम्बर ९८१३४७१६४० मा सम्पर्क गर्न सक्नुहुन्छ। अमेरिका र क्यानडामा हुनुहुन्छ भने ९८८ मा कल वा म्यासेज गरेर सुसाइड एण्ड क्राइसिस लाइफलाइनको निःशुल्क र गोप्य सेवा लिन सक्नुहुन्छ। त्यस्तै, बेलायतमा हुनुहुन्छ भने ११६ १२३ मा र अस्ट्रेलियामा हुनुहुन्छ भने १३ ११ १४ मा सम्पर्क गरी परामर्श लिन सक्नुहुन्छ। अन्य देशहरूमा रहनुहुने नेपालीहरूले आफ्नो स्थानीय आपत्कालीन सेवा नम्बरहरू वा त्यहाँको राष्ट्रिय मानसिक स्वास्थ्य हेल्पलाइनमा तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंको जीवन अमूल्य छ, र गोप्य रूपमा सहयोग लिनका लागि यी नम्बरहरूमा जुनसुकै समयमा सम्पर्क गर्न सकिन्छ।)