अमेरिकामा ग्रिनकार्ड वाहकहरू धमाधम पक्राउ: २८ वर्षदेखि बस्दै आएका व्यक्ति विमानस्थलबाटै हिरासतमा



प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकामा विगत २८ वर्षभन्दा बढी समयदेखि कानुनी रूपमा बसोबास गर्दै आएका जमैकन नागरिक तथा ग्रिनकार्ड वाहक डेटन आन्द्रे लिन्से हाल अध्यागमन हिरासतमा रहेका छन्। गत फेब्रुअरीको अन्त्यमा जमैकामा बिदा मनाएर अमेरिकाको शिकागोस्थित ओ’हेर अन्तर्राष्ट्रिय विमानस्थल फर्कने क्रममा उनलाई अध्यागमन अधिकारीहरूले पक्राउ गरेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकामा आप्रवासीहरू विरुद्धको कडा नीति र देशनिकाला गर्ने अभियान तीव्र पारिएको छ। वकिल र आप्रवासी अधिकारवादी समूहहरूका अनुसार पछिल्लो समय ग्रिनकार्ड वाहक, आवेदन विचाराधीन रहेका व्यक्तिहरू र अमेरिकी नागरिकका पति/पत्नीहरू समेत पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ।

अदालती कागजात अनुसार लिन्सेको पृष्ठभूमिमा सन् २०१४ को एउटा घरेलु दुर्व्यवहारको सामान्य मुद्दा  र झण्डै १० वर्ष पुरानो एउटा सवारी नियम उल्लंघन,मादक पदार्थ सेवन गरी सवारी चलाएको  रेकर्ड देखिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार न्यायाधीशले यी पुराना अपराधहरू छुट्टाछुट्टै रूपमा गम्भीर नभए तापनि समग्रमा यसले कानुनको बारम्बार उल्लंघन गर्ने प्रवृत्ति देखाएको भन्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका छन्।

लिन्सेकी पत्नी बेन्जी लिन्सेले सामाजिक सञ्जाल र गोफण्डमी  मार्फत आफ्ना पतिको कुनै ठूलो गम्भीर अपराध  नभए तापनि आइसले अन्यायपूर्ण रूपमा हिरासतमा राखेको गुनासो गरेकी छिन्। हालसम्म कानुनी लडाइँका लागि उनको परिवारको करिब ४०,००० डलर खर्च भइसकेको छ।

अमेरिकी कानुन अनुसार स्थायी बासिन्दाको अधिकार पाएका ग्रिनकार्ड वाहकहरूले पनि कुनै आपराधिक रेकर्ड वा अध्यागमन नियम उल्लंघन गरेको खण्डमा देशनिकालाको सामना गर्नुपर्ने हुनसक्छ। विशेष गरी विदेश यात्राबाट अमेरिका फर्कने क्रममा विमानस्थलमा उनीहरूको पृष्ठभूमि पुनः कडा रूपमा जाँच गरिन्छ।

लिन्सेका वकिलहरूले उनको हिरासतको वैधानिकतालाई चुनौती दिँदै केन्टकीको संघीय अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्।

एक तथ्यांक अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता जुलाई २०२६ सम्ममा आप्रवासीहरूले हिरासत विरुद्ध ५९,३४४ भन्दा बढी बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिसकेका छन्। यो संख्या यसअघिका तीनवटा राष्ट्रपतीय कार्यकालको कुल संख्या भन्दा पनि बढी हो।

जुन महिनाको अन्त्यमा मात्रै अध्यागमन र भन्सार प्रवर्तनले एक ५ दिने अभियानमा करिब १०,००० मानिसहरूलाई पक्राउ गरेको थियो। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेको प्रतिवेदन अनुसार मार्च २०२६ सम्ममा ट्रम्पको दोस्रो कार्यकालमा करिब ३ लाख ९० हजारभन्दा बढी मानिस पक्राउ परिसकेका छन्।

लिन्सेजस्तै अन्य प्रतिष्ठित व्यक्तिहरू, जस्तै कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलिल र विस्कॉन्सिनका इस्लामिक सोसाइटीका अध्यक्ष सालाह सरसुर पनि लामो समय ग्रिनकार्ड भए तापनि हालैका महिनाहरूमा हिरासतमा परेर पछि अदालतको आदेशमा रिहा भएका छन्।





Source link

Leave a Comment

Translate »