प्रकाशित मिति : २५ असार २०८३, बिहिबार
Photo: Simon Ray/ Unsplash
अमेरिकी प्राविधिक क्षेत्रको प्रतिष्ठित कम्पनी माईक्रोसफ्ट र यसको गेमिङ ब्रान्ड एक्सबक्सले ठुलो सङ्ख्यामा कर्मचारी कटौती गरेपछि अमेरिकामा तीव्र आक्रोश बढेको छ। कम्पनीले एकातिर अमेरिकी नागरिकहरूलाई रोजगारीबाट हटाएको र अर्कोतिर हजारौँ विदेशी कामदारका लागि ‘एच-वानबी’ भिसा स्वीकृत गराएको तथ्य सार्वजनिक भएपछि यो विवाद चर्किएको हो।
माईक्रोसफ्टले समग्र कम्पनीबाट ४,८०० र यसको भिडियो गेम कन्सोल उत्पादक शाखा ‘एक्सबक्स’ बाट मात्रै १,६०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। तर, यूएससीआईएसको तथ्याङ्क अनुसार माईक्रोसफ्टले यसै वर्ष २,२७३ जना विदेशी कामदारहरूलाई रोजगारदाता-प्रायोजित एच-वानबी भिसा अन्तर्गत भित्र्याउने अनुमति पाइसकेको छ।
यो खबर बाहिरिएसँगै सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ताहरूले कम्पनीको कडा आलोचना गरिरहेका छन्। कतिपयले यसलाई अमेरिकी कामदारमाथिको धोका र औद्योगिक स्तरको जागिर चोरीको संज्ञा दिएका छन्। श्रम लागत घटाउनका लागि अमेरिकीहरूलाई निकालेर विदेशीहरूलाई अवसर दिएको उनीहरूको आरोप छ।
वेस्ट भर्जिनियाका रिपब्लिकन सांसद राइली मूरले यस भिसा कार्यक्रमको अन्त्य गर्न माग गर्दै भनेका छन्,यो पूर्ण रूपमा पागलपन हो। ठुला प्रविधि कम्पनीहरूले अमेरिकी कामदारहरूलाई विस्थापित गर्न यो आप्रवासन कार्यक्रमको दुरुपयोग गरिरहेका छन्। अब यो एच-वानबी घोटाला बन्द हुनुपर्छ।
यसैबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एच-वानबी भिसा प्रणालीमा भइरहेको सम्भावित ठगी र अनियमितता विरुद्ध श्रम विभागले दर्जनौँ उप-पोइना जारी गर्दै व्यापक अनुसन्धान सुरु गरेको घोषणा गरेका छन्। उनले अमेरिकी रोजगारीमा पहिलो अधिकार अमेरिकी नागरिककै हुनुपर्नेमा जोड दिएका छन्।
विवादका बिच एक्सबक्सकी मुख्य कार्यकारी अधिकृत आशा शर्माले कम्पनीको वित्तीय अवस्था कमजोर भएकाले यो कठोर निर्णय लिनुपरेको बताएकी छिन्। एक आन्तरिक मेमोमा उनले उल्लेख गरेकी छिन्, हाम्रो व्यवसाय अहिले स्वस्थ अवस्थामा छैन। हाम्रो नाफाको मार्जिन प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा ३ देखि १० गुणासम्म कम छ, जसका कारण एक्सबक्सलाई नयाँ शिराबाट अघि बढाउनु आवश्यक भएको हो।
त्यस्तै, माईक्रोसफ्टका प्रवक्ताले यो निर्णय भिसा स्थितिका आधारमा नभई विशुद्ध व्यावसायिक आवश्यकता अनुसार लिइएको दाबी गरेका छन्। उनका अनुसार यस कटौती प्रक्रियाबाट एच-वानबी भिसामा कार्यरत विदेशी कर्मचारीहरू समेत प्रभावित भएका छन्।