प्रकाशित मिति : २४ असार २०८३, बुधबार
ओमर लोपेजको तस्बिर
यदि ग्रिन कार्डवाहक अमेरिकाबाहिर हुँदा बच्चा जन्मिएको खण्डमा उक्त बच्चालाई आफूसँगै अमेरिका ल्याउन आप्रवासी भिसा प्राप्त गर्न आवश्यक हुँदैन । तर, ग्रिन कार्डवाहकको अस्थायी प्रकारको विदेश भ्रमणका क्रममा उक्त बच्चा जन्मेको हुनुपर्छ ।
साथै बच्चा जन्मेको २ वर्ष पूरा नहुँदै अमेरिका ल्याइसकेको हुनुपर्छ । बच्चाका साथमा आउने ग्रिन कार्डवाहक आमा वा बुबा बच्चाको जन्मपछि अमेरिकामा पहिलो पटक प्रवेश गर्दै गरेको हुनुपर्छ ।
अमेरिकाको यात्रा सुरु गर्नुअघि आफू र बच्चाका लागि विमान चढ्न अनुमति दिने आवश्यक कागजात भए÷नभएको पनि सुनिश्चित गर्नुपर्छ । तपाईंसँग ग्रिन कार्ड, रिइन्ट्री परमिट वा रिटर्निङ रेसिडेन्ट भिसामध्ये एक हुन आवश्यक छ । तपाईं कानुनी रूपमा अमेरिकाको स्थायी बासिन्दा भएको र एक वर्षभन्दा कम समयदेखि अमेरिकाबाहिर भएको प्रमाण चाहिन्छ ।
एक वर्षभन्दा बढी अमेरिकाबाहिर भएको भए रिइन्ट्री परमिट वा रिटर्निङ रेसिडेन्ट भिसामध्ये एक चाहिन्छ । रिइन्ट्री परमिटमा आउँदा २ वर्षभन्दा कम अवधि अमेरिकाबाहिर बसेको हुनुपर्छ भने रिटर्निङ रेसिडेन्ट भिसा हुनेहरूलाई समयसीमा लागू हुँदैन ।
ग्रिन कार्डवाहक अभिभावक र बच्चा दुवैका पासपोर्टहरू हुनुपर्छ । बुबाआमा दुवैको नाम समावेश भएको बच्चाको जन्मदर्ता प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रको मूल कागजात अंग्रेजीमा छैन भने साथमा अंग्रेजी अनुवाद हुनुपर्छ ।
यसरी अमेरिका आउने क्रममा बच्चालाई भिसाको छुट बच्चाको जन्म प्रमाणपत्र प्रस्तुत गरेपछि बिना कुनै शुल्क वा आवेदनबिना नै दिइनेछ । साथै बुबाआमाका लागि आप्रवासी भिसा जारी गरेपछि भिसाको म्याद छँदै जन्मेको बच्चालाई पनि बिनाभिसा बाबुआमासँग अमेरिका प्रवेश दिइन्छ ।
सीबीपी ज्ञानमालाबाट