अमेरिकाको न्यूजर्सीमा दोस्रो ‘नेपाल डे’ भव्य, मेयरले गरिन् जुन ६ लाई ‘नेपाल डे’ घोषणा



प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार


अमेरिकाको न्यूजर्सीस्थित फेयरलन सिटीमा नेपाल डे न्यूजर्सीको आयोजनामा शनिबार आयोजित ‘नेपाल डे’ कार्यक्रममा न्यूजर्सी र न्यूयोर्क वरपर बसोबास गर्ने नेपाली एवं नेपाली मूलका अमेरिकीहरूले नेपाली कला र संस्कृतिको विशेष प्रदर्शन गरेका छन्। नेपालीहरुको उत्साहजनक र उल्लेख्य सहभागिता रहेको यो कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजर्सीसँगको समन्वय र सहकार्यमा आयोजना गरिएको हो।

नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने र अमेरिकामा नेपाली समुदायको उपस्थितिलाई थप बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल डे न्यूजर्सीका कन्भेनर सञ्जिव श्रेष्ठले जानकारी दिए। उनले यस्ता कार्यक्रमले मातृभूमि प्रतिको दायित्व, नेपाली कला र संस्कृतिको संरक्षणसँगै डायस्पोरामा सामाजिक एकता र सद्भाव बढाउन ठुलो योगदान पुर्‍याउने दाबी गरे।

नेपाली र अमेरिकी झण्डाहरूले सजिएको कार्यक्रम स्थलमा मौलिक भेषभुषामा सजिएका सहभागीहरूको उत्साहले वातावरण निकै रोचक र उल्लासमय बनेको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले गरेका थिए भने फेयरलन सिटीकी मेयर क्रिटिना कुट्रोन र उपमेयर जोश रेईनिजको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत भण्डारीले अमेरिकामा रहेका नेपालीहरूलाई यहाँको कानुन पूर्ण रूपमा पालना गरेर अगाडि बढ्न सुझाव दिए। साथै उनले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा अमेरिकामा रहेका नेपालीहरूले पुर्‍याएको योगदान र चालेका सकारात्मक पहलहरूको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रममा सहकार्य गर्न महावाणिज्य दूतावास सदैव तत्पर रहेको जानकारी दिए। कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले समेत आ-आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमकी विशेष अतिथि एवं फेयरलन सिटीकी मेयर क्रिटिना कुट्रोनले जुन ६, २०२६ लाई आधिकारिक रूपमा ‘नेपाल डे’ घोषणा गर्दै नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरिन्। मेयर कुट्रोनले भनिन्, “हाम्रा नेपाली बासिन्दाहरूले आफ्नो दोस्रो नेपाल डे मनाउँदै गर्दा उनीहरूसँग सहभागी हुन पाउँदा म निकै सम्मानित महसुस गरिरहेकी छु। नेपाली समुदायको समृद्ध संस्कृति, परम्परा र हाम्रो सहरका लागि उनीहरूले पुर्‍याएको योगदानलाई कदर गर्ने यो एउटा उत्कृष्ट अवसर हो। न्यानो स्वागतका लागि र यो विशेष उत्सव हामी सबैसँग बाँड्नुभएकोमा धन्यवाद।”

उत्सवका क्रममा नेपाली मौलिक एवं परम्परागत नृत्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रम स्थलमा नेपाली मौलिक खानाका परिकार, परम्परागत पोसाकहरू तथा नेपाल चिनाउने विभिन्न जानकारीमूलक सामग्रीहरूको प्रदर्शनी एवं बिक्रीवितरण समेत गरिएको थियो, जसले अमेरिकी नागरिकहरूलाई समेत आकर्षित गरेको थियो।

गत वर्षबाट सुरु गरिएको यो नेपाल डे कार्यक्रमलाई अब प्रत्येक वर्ष निरन्तरता दिइने संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। आगामी दिनमा यस कार्यक्रमलाई थप परिस्कृत, परिमार्जित र बृहत् सहभागितामूलक बनाउँदै लैजाने प्रतिबद्धता जनाउँदै अध्यक्ष श्रेष्ठले नेपालप्रतिको माया र दायित्वलाई विश्वको जुनसुकै कुनामा रहे पनि सबैले आ-आफ्नो ठाउँबाट पूरा गर्नुपर्नेमा जोड दिए।

दोस्रो चरणको साङ्गीतिक कार्यक्रममा चर्चित नेपाली कलाकारहरू जेम्स प्रधान र कृष्ण काफ्लेले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मनोरन्जन प्रदान गरेका थिए ।

सबै तस्वीर: राजन काफ्ले





Source link

Leave a Comment

Translate »