ह्युस्टन विमानस्थलमा नक्कली बोर्डिङ पास लिएर विमानभित्र लुक्ने व्यक्ति पक्राउ



प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार

a united airlines plane flying in the sky

तस्बिर: डेभिड साइफर्स / अनस्प्लास

गत महिना अमेरिकाको ह्युस्टनस्थित जर्ज बुस इन्टरकन्टिनेन्टल विमानस्थलमा युनाइटेड एयरलाइन्सको उडानमा नक्कली बोर्डिङ पास प्रयोग गरी लुकीछिपी चढेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। अदालतमा दर्ता गरिएको कागजातअनुसार यो घटना गत मे १८ मा भएको हो।

ह्युस्टन निवासी २५ वर्षीय अब्दुल रहमान ओरियोमीलाई शुक्रबार पक्राउ गरिएको हो। उनलाई ह्यारिस काउन्टी अदालतको रेकर्डअनुसार महत्वपूर्ण पूर्वाधारमा अवरोध पुर्‍याएको गम्भीर अपराधको आरोप लगाइएको छ।

कागजातका अनुसार मे १८ को बिहान टर्मिनल ‘सी’ मा ओरियोमीको बोर्डिङ पासमा समस्या देखिएपछि उनले सुरक्षा अधिकारीहरूसँग कुरा गरेका थिए। सुरक्षाकर्मीहरूले उनको फोटो खिचेर उनलाई भित्र जान अनुमति दिएका थिए। भित्र छिरेपछि उनले युनाइटेड एयरलाइन्सका कर्मचारीहरूसँग पटक-पटक कुरा गरे र विमानमा चढ्ने प्रयास गरे। तर, हरेक पटक बोर्डिङ पास स्क्यान नभएपछि उनलाई फर्काइएको थियो।

बिहान करिब ९ बजे ओरियोमी लस एन्जलस जाने युनाइटेड एयरलाइन्सको उडान ४६९ को लाइनमा बसे। प्रहरी प्रतिवेदनअनुसार, कर्मचारीहरू अन्य यात्रुसँग व्यस्त भएको मौका छोपेर उनी बोर्डिङ पास देखाए जस्तो गर्दै कर्मचारीहरूलाई झुक्याएर विमानतर्फ जाने बाटो भित्र पसे।

विमानभित्र छिरेपछि उनी एउटा सिटमा बसे र पछि शौचालय छिरे। उनी बाहिर निस्किँदा उक्त सिटको वास्तविक यात्रु आइसकेका थिए। विमान पूर्ण रूपमा भरिएकाले उनले बारम्बार शौचालयभित्र छिरेर आफूलाई लुकाउने प्रयास गरे। विमान गुड्न थाल्दा पनि एक व्यक्ति लगातार शौचालयभित्रै रहेको देखेपछि एक सचेत यात्रुले विमानपरिचारिका लाई खबर गरे।

कर्मचारीहरूले उनलाई सिटमा बस्न आग्रह गर्दा पनि उनी मानेनन् र शौचालय नै गइरहे। नाम सोध्दा उनले आफ्नो गलत नाम ‘मिस्टर लोपेज’ बताएका थिए। विमानको सूचीमा सो नामको कोही पनि यात्रु नभेटिएपछि विमानलाई पुनः गेटतर्फ नै फर्काइयो।

त्यसपछि सबै यात्रु र चालक दलका सदस्यहरूलाई विमानबाट ओरालेर ह्युस्टन प्रहरीको के-९ टोलीले विष्फोटक पदार्थको जाँच गर्‍यो। केरकारका क्रममा उनले आफ्नो वास्तविक नाम बताए। युनाइटेड एयरलाइन्सका प्रबन्धकका अनुसार ओरियोमीको नाममा एउटा बुकिङ त थियो, तर पैसा भुक्तानी नगरेका कारण त्यो रद्द भइसकेको थियो।

सुरुमा उनलाई चेतावनी दिएर विमानस्थलबाट निकालिएको थियो, तर उनले प्रहरीको भिडियो खिच्दै हंगामा मच्चाएका थिए। यस घटनाका कारण उक्त उडान तीन घण्टा ढिलो भएको थियो।

अनुसन्धानपछि ओरियोमीको बोर्डिङ पास नक्कली भएको पुष्टि गर्दै प्रहरीले उनलाई शुक्रबार पुनः पक्राउ गरेको हो। उनलाई हाल ह्यारिस काउन्टी प्रोसेसिङ सेन्टरमा राखिएको छ र धरौटीको सुनुवाइका लागि अदालत पेश गरिनेछ।





Source link

Leave a Comment

Translate »