प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार
फोटो: ग्लोबल रेसिडेन्स इन्डेक्स
अमेरिकी सरकारले जुन १ देखि पासपोर्टसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ। सरकारले सन्तानको हेरचाह र पालनपोषणबापत बुझाउनुपर्ने रकम (चाइल्ड सपोर्ट) नतिर्ने अभिभावकहरूमाथि थप कडा कदम चाल्ने भएको हो। ट्रम्प प्रशासनले त्यस्ता अभिभावकहरूको अमेरिकी पासपोर्ट खारेज गर्ने तयारी गरेको छ, जसका कारण आगामी जुन १ देखि हजारौँ मानिस अन्तर्राष्ट्रिय यात्रा गर्नबाट वञ्चित हुन सक्नेछन्।
अमेरिकी विदेश मन्त्रालयले लामो समयदेखि चाइल्ड सपोर्टको ठूलो रकम बक्यौता राखेका अमेरिकी अभिभावकहरूको पासपोर्ट खारेज गर्ने तयारी तीव्र पारेको हो। उक्त बक्यौता रकम भुक्तानी नगर्दासम्म उनीहरूले विदेश यात्रा गर्न पाउने छैनन्। सरकारले यसका लागि ३० वर्ष पुरानो कानुन—सन् १९९६ को ‘पर्सनल रेस्पोन्सिबिलिटी एन्ड वर्क अपर्चुनिटी रिकन्सिलेसन एक्ट’ को दायरालाई विस्तार गरेको हो। यो कानुनले सङ्घीय सरकारलाई यात्रासम्बन्धी कागजात रद्द गर्ने अधिकार दिन्छ।
यो परिमार्जित नियम गत मे ८ देखि नै लागू भइसकेको छ। पहिलो चरणमा मे ८ देखि १ लाख डलरभन्दा बढी ‘चाइल्ड सपोर्ट’ बुझाउन बाँकी रहेका व्यक्तिहरूको पासपोर्ट रद्द गरिएको थियो। अब दोस्रो चरणअन्तर्गत, आगामी जुन १ देखि ७५ हजार डलर वा सोभन्दा बढी रकम तिर्न बाँकी रहेकाहरू यसको चपेटामा पर्नेछन्। यद्यपि, अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयसँग भुक्तानी योजनामा सम्झौता गर्नेहरूले भने पासपोर्ट खारेजीको यो कारबाहीबाट बच्न सक्नेछन्।
यस कानुनको ‘पासपोर्ट डिनायल प्रोग्राम’ अन्तर्गत २,५०० डलरभन्दा बढी चाइल्ड सपोर्ट बक्यौता रहेका जुनसुकै अभिभावकको यात्रा कागजात रद्द गर्ने अधिकार सरकारी अधिकारीहरूलाई छ। यसअघि, विदेश मन्त्रालयले यो नियम तब मात्र प्रयोग गर्थ्यो, जब सम्बन्धित व्यक्ति आफैँ पासपोर्ट नवीकरण गर्न वा अन्य कन्सुलर सेवा लिन दूतावास वा सरकारी कार्यालय पुग्थे। तर, अब ट्रम्प प्रशासनले बक्यौता रहेका व्यक्तिहरूलाई सिधै लक्षित गरी खोजेरै कारबाही गर्ने रणनीति लिएको छ। अधिकारीहरूले स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको डाटाबेस प्रयोग गरी छिट्टै नै पासपोर्टहरू खारेज गर्न सुरु गर्ने पुष्टि गरेका छन्।
यो नयाँ कदमबाट ठ्याक्कै कति मानिस प्रभावित हुनेछन् भन्ने स्पष्ट सङ्ख्या नभए पनि यो सङ्ख्या हजारौँ हुन सक्ने अनुमान गरिएको छ। अधिकारीहरूका अनुसार चाइल्ड सपोर्ट बाँकी रहेका मानिसहरूको सङ्ख्या ठूलो भएकाले यो नीति चरणबद्ध रूपमा लागू गरिँदै छ।
१ लाख डलरभन्दा बढी बक्यौता भएका समूहमा ५० जनाभन्दा कम मानिस परेका थिए। सूचना पाएपछि उनीहरूलाई पेमेन्ट प्लान (भुक्तानी योजना) मा सहभागी भएर पासपोर्ट जोगाउन सक्ने विकल्प दिइएको थियो। ७५ हजार डलरभन्दा बढी बक्यौता भएकाहरूलाई जुन १ देखि ट्र्याक गरिनेछ। यो कार्यक्रमले अन्ततः कम्तीमा २,५०० डलर बक्यौता रहेका सम्पूर्ण ३५ लाख अभिभावकहरूलाई समेट्नेछ, जसले आफ्ना बालबालिकाको रेखदेखको रकम बुझाएका छैनन्।