नेपालीसहित न्युयोर्कबासीको दाबी नगरिएको रकम राज्यसँग सुरक्षित, यसरी लिनुहोस् फिर्ता



प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार


के तपाईँले न्युयोर्कमा काम गर्दा पाएको कुनै चेक साट्न बिर्सनुभएको छ? वा वर्षौँअघि बन्द नगरेको बैंक खातामा केही डलर बाँकी थियो कि? न्युयोर्कबासीहरूलाई आफ्नो नाममा सरकारी ढुकुटीमा बेवारिसे पैसा छ कि छैन भनेर जाँच गर्न आग्रह गरिएको छ ।

लामो समयसम्म प्रयोगमा नआएका बैंक खाता, नसाटिएका पे–चेक, प्रयोग नभएका गिफ्ट कार्ड, वा बिर्सिएका ट्याक्स रिटर्नजस्ता रकमलाई अनक्लेम्ड फण्ड मानिन्छ। निश्चित समयसम्म कसैले दाबी नगरेपछि यस्ता रकम राज्यको कन्ट्रोलर कार्यालयमा बुझाइन्छ। न्युयोर्क राज्यसँग सन् १९४० देखि यताका यस्ता करोडौँ डलर जम्मा भएर बसेका छन्।

खसोखासले प्रणालीमा चेक गर्दा अमेरिकामा बस्ने हजारौं नेपालीका हराएका चेकहरु विभिनन राज्यको कोषमा थन्किएर बसेका छन् । उनीहरुले आफ्नो रकम दावी नगरेका कारण उक्त रकम राज्यको बैंकमा थन्किएर बसेको हो । प्रणालीमा चेक गर्दा हजारौं नेपालीहरुको लाखौं डलर दावी गर्न बाँकी रहेको देखिएको छ ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै ९३ हजार अमेरिकी डलर अर्थात् झण्डै सबा करोड नेपाली रुपैया अझै वेवारिस अवस्थामा रहेको छ । यो रकम अहिलेसम्म कसैले पनि दावी नगरेपछि राज्यकोषमा वेवारिस अवस्थामा रहेको हो ।

खसोखासले चेक गर्दा टेक्सासमा एउटै नेपालीको नाममा ५ हजार डलरसम्म रकम देखियो भने २ हजार डलरभन्दा माथि दावी गर्न बाँकी रहेको रकम धेरै नेपालीहरुका नाममा देखियो । न्युयोर्कमा पनि नेपालका व्यक्तिगत र विजनेशका हराएका चेकहरु प्रणालीमा उल्लेख्य रुपमा देखिएको छ ।

स्ट्याटन आइल्याण्डमा मात्र ७ लाख ८० हजारभन्दा बढी खातामा करिब १४९ मिलियन डलर दाबी हुन बाँकी छ। २५० डलरभन्दा कम रकम भएका खाताका हकमा राज्यले आफैँ चेक पठाउने प्रक्रिया सुरु गरेको छ। तर २५० डलरभन्दा बढी रकमका लागि भने सम्बन्धित व्यक्तिले आफैँ दाबी गर्नुपर्ने हुन्छ।

तपाईँ वा तपाईँको परिवारको नाममा कुनै रकम छ कि छैन भनेर जाँच गर्न दुई तरिका अपनाउन सक्नुहुन्छ। न्युयोर्क स्टेट कन्ट्रोलरको आधिकारिक वेबसाइटमा गएर आफ्नो नाम खोज्न सकिन्छ। वा ८००-२२१-९३११ मा फोन गरेर पनि जानकारी लिन सकिन्छ। यो प्रक्रिया पूर्ण रूपमा निःशुल्क छ। त्यसैले यसका लागि कुनै पनि तेस्रो पक्षलाई शुल्क नतिर्न कन्ट्रोलर कार्यालयले सतर्क गराएको छ।





Source link

Leave a Comment

Translate »