प्याकेटबन्द खानेकुरा टिकाउने ‘केमिकल’ ले बढाउँछ क्यान्सर र मधुमेहको जोखिम: अध्ययन



प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार

a person holding a plastic bag of strawberries

फोटो : जेन लस/अनस्प्लास

अध्ययनहरूले केही संरक्षक पदार्थ (प्रिजर्भेटिभ्स) लाई क्यान्सर र टाइप–२ मधुमेहको जोखिमसँग सम्बन्धित देखाएका छन्।

सोडियम नाइट्राइट, पोटासियम नाइट्रेट, सोर्बेट, पोटासियम मेटाबाइसल्फाइट, एसिटेट तथा एसिटिक एसिडजस्ता संरक्षकहरूले प्रोस्टेट, स्तन तथा अन्य क्यान्सरको जोखिम ३२ प्रतिशतसम्म बढाएको पाइएको छ। त्यसमध्ये धेरैले टाइप–२ मधुमेहको जोखिम ४९ प्रतिशतसम्म बढाएको देखिएको छ।

यद्यपि यो अनुसन्धान अवलोकनमा मात्र आधारित भएकाले यसले प्रत्यक्ष कारण प्रमाणित नगर्ने विज्ञहरूले बताएका छन्। फ्रान्सका अनुसन्धानकर्ताहरूले उमेर, तौल, धूमपान, शारीरिक गतिविधि र समग्र खानपानजस्ता अन्य प्रभावकारी पक्षलाई समेत ध्यानमा राखेर यो अध्ययन गरिएको बताएका छन्।

द कोक्रेन कोलाबोरेसनकी अनुसन्धान विशेषज्ञ रेचल रिचर्डसनका अनुसार अध्ययनले आहार मूल्याङ्कन र स्वास्थ्य अभिलेख विश्लेषणमा व्यापक पद्धति अपनाएको छ। उनले यो नतिजाले थप अनुसन्धानको आवश्यकता देखाएको बताएकी छन्।

नयाँ अध्ययनले बजारमा पाइने धेरै प्याकेटबन्द खाद्य पदार्थमा ब्याक्टेरिया र ढुसी नष्ट गर्न प्रयोग गरिने संरक्षक पदार्थहरूले उच्च रक्तचापको जोखिम २९ प्रतिशतसम्म बढाउने समेत देखाएको छ। यसले हृदयाघात र पक्षघातको जोखिम १६ प्रतिशतले वृद्धि गर्ने देखिएको छ।

अनुसन्धानअनुसार रङ परिवर्तन हुन नदिन प्रयोग गरिने “प्राकृतिक” भनिने एन्टिअक्सिडेन्ट संरक्षक पदार्थहरू—जस्तै साइट्रिक एसिड र एस्कोर्बिक एसिड (भिटामिन सी) समेत बढी मात्रामा सेवन गर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम २२ प्रतिशतले बढेको पाइएको छ।

फलफूल तथा तरकारीमा प्राकृतिक रूपमा पाइने यी तत्वहरू संरक्षकका रूपमा (कृत्रिम रूपमा) प्रयोग हुँदा भने स्वास्थ्यमा फरक प्रभाव पार्न सक्ने अध्ययनका वरिष्ठ लेखक माथिल्द तुभिएले बताएका छन्। उनी फ्रान्सको राष्ट्रिय स्वास्थ्य तथा चिकित्सकीय अनुसन्धान संस्थानसँग आबद्ध अनुसन्धान निर्देशक हुन्।

उनका अनुसार प्राकृतिक रूपमा पाइने एस्कोर्बिक एसिड र रासायनिक रूपमा उत्पादन गरी खाद्य पदार्थमा थपिने एस्कोर्बिक एसिडले शरीरमा फरक असर पार्न सक्छ। त्यसैले फलफूल र तरकारीमा हुने प्राकृतिक तत्वसँग यो अध्ययनको निष्कर्षलाई समान रूपमा बुझ्न नहुने उनले स्पष्ट पारे।

अध्ययनले अल्ट्राप्रोसेस्ड (अत्यधिक प्रशोधित) खाद्य पदार्थमा रहेका विभिन्न संरक्षकहरूले मुटुसम्बन्धी जोखिम बढाउन भूमिका खेल्न सक्ने देखाएको छ। लन्डनस्थित ब्रिटिस हार्ट फाउन्डेसनकी पोषण विशेषज्ञ ट्रेसी पार्करले यो निष्कर्षले युरोपियन सोसाइटी अफ कार्डियोलोजीको पछिल्लो चेतावनीलाई समर्थन गरेको बताएकी छन्।

यसअघि भएका अध्ययनहरूले अल्ट्राप्रोसेस्ड खाद्य पदार्थ सेवन गर्दा मुटुरोगबाट मृत्यु हुने जोखिम करिब ५० प्रतिशत, मोटोपनाको जोखिम ५५ प्रतिशत, निद्राको समस्या ४१ प्रतिशत तथा टाइप–२ मधुमेहको जोखिम ४० प्रतिशतसम्म बढ्ने देखाएका थिए। यी सबै समस्या मुटुको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

पार्करका अनुसार अल्ट्राप्रोसेस्ड खाद्य पदार्थमा धेरै चिनी, नुन र बोसो हुनु मात्रै यसको हानिकारक प्रभावको कारण होइन; यो नयाँ अध्ययनले संरक्षक पदार्थहरूको भूमिकाबारे थप स्पष्टता दिएको छ।

अनुसन्धान टोलीका अनुसार संरक्षक पदार्थ केवल अल्ट्राप्रोसेस्ड खाद्य पदार्थमा मात्र सीमित छैनन्। अध्ययनले मानिसहरूले सेवन गर्ने संरक्षकयुक्त खाद्य पदार्थमध्ये केवल ३५ प्रतिशत मात्र अल्ट्राप्रोसेस्ड वर्गमा पर्ने देखाएको छ।

अध्ययनकी प्रमुख लेखक अनाइस हासेनबोलरका अनुसार संरक्षक पदार्थ अहिले धेरै प्रकारका खाद्य वस्तुमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। युरोपियन हार्ट जर्नलमा प्रकाशित यो अध्ययनले १५ वर्षभन्दा माथिका १ लाख १२ हजारभन्दा बढी व्यक्तिमा ५८ प्रकारका संरक्षक पदार्थको प्रभावबारे अध्ययन गरेको थियो। सहभागीहरूले सन् २००९ देखि आफ्नो खानपानको विस्तृत अभिलेख राख्दै आएका छन्।

अनुसन्धानकर्ताहरूले कम्तीमा १० प्रतिशत सहभागीले सेवन गरेका १७ प्रकारका संरक्षकको विस्तृत विश्लेषण गर्दा आठ प्रकारका संरक्षक उच्च रक्तचापसँग सम्बन्धित देखिए। तीमध्ये पोटासियम सोर्बेट, पोटासियम मेटाबाइसल्फाइट र सोडियम नाइट्राइट ब्याक्टेरिया, ढुसी र इस्ट (yeast) नष्ट गर्न प्रयोग हुने मुख्य संरक्षक हुन्।

पोटासियम सोर्बेट वाइन, बेकरी सामग्री, चिज र ससमा प्रयोग गरिन्छ। पोटासियम मेटाबाइसल्फाइट वाइन, जुस, बियर र अन्य पेय पदार्थमा पाइन्छ। सोडियम नाइट्राइट भने बेकन, ह्याम र प्रशोधित मासुमा प्रयोग गरिन्छ। एजेन्सीको सहयोगमा





Source link

Leave a Comment

Translate »