तालमा साइबरट्रक डुबाउने चालक अमेरिकामा पक्राउ



प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार

a futuristic car parked in a parking lot

फोटो : सोमालिया भेटरन/अनस्प्ल्यास

टेस्ला साइबरट्रकलाई जानाजानी तालमा चलाएको आरोपमा अमेरिकामा एकजना चालक पक्राउ परेका छन्। उनले गाडीको “वेड मोड” सुविधा परीक्षण गर्न यस्तो गरेको प्रहरीले जनाएको छ।

नर्थ टेक्सासस्थित ग्रेपभाइन प्रहरी विभागका अनुसार ग्रेपभाइन तालमा साइबरट्रक पानीमा फसेपछि उद्धारका लागि प्रहरी बोलाइएको थियो। गाडीमा पानी पस्न थालेपछि चालक र यात्रुहरू बाहिर निस्केर गाडीलाई त्यहीँ छाडेका थिए।

टेस्लाको अनलाइन म्यानुअलअनुसार “वेड मोड” सुविधाले साइबरट्रकलाई नदी वा खोला जस्ता पानीयुक्त स्थानमा अधिकतम ८१ दशमलव ५ सेन्टिमिटर गहिराइसम्म चलाउन अनुमति दिन्छ।

प्रहरीका अनुसार चालकले “वेड मोड” प्रयोग गर्न जानाजानी गाडी तालमा हुलेको स्वीकार गरेका छन्। तर, केही समयमै गाडी बन्द भएर पानी पसेपछि त्यो तालमै फसेको थियो।

प्रहरीले चालकलाई तालको प्रतिबन्धित क्षेत्रमा गाडी चलाएको तथा जल सुरक्षासम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

आंशिक रूपमा पानीमा डुबेको साइबरट्रकलाई तालको दक्षिणी किनाराबाट निकालिएको थियो। उद्धार कार्यमा ग्रेपभाइन अग्नि विभागको जल उद्धार टोलीले पनि सहयोग गरेको थियो।

प्रहरीले कुनै गाडी पानीमा चल्न सक्षम भए तापनि त्यसरी ताल वा पानीयुक्त क्षेत्रमा प्रवेश गर्नु कानुनी र सुरक्षा दुवै हिसाबले जोखिमपूर्ण हुने चेतावनी दिएको छ।

टेस्लाको साइबरट्रक रकेटजस्तै डिजाइन र बुलेटप्रुफ स्टिल सामग्रीबाट बनेको विद्युतीय पिकअप ट्रक हो। यसको मूल्य ७० हजार अमेरिकी डलरभन्दा बढी रहेको छ। यो सन् २०१९ मा सार्वजनिक गरिएको थियो भने सन् २०२३ देखि ग्राहकलाई उपलब्ध गराउन थालिएको हो।

टेस्लाले आफ्नो म्यानुअलमा पानीमा प्रवेश गर्नुअघि गहिराइको सही मूल्याङ्कन गर्नु चालककै जिम्मेवारी भएको उल्लेख गरेको छ। पानीका कारण गाडीमा भएको क्षति वा पानी पस्दा हुने समस्या वारेन्टीअन्तर्गत नपर्ने पनि कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार साइबरट्रकको अधिकतम पानी पार गर्ने क्षमता टायरको तल्लो भागबाट मापन गरिन्छ। टेस्लाले तीव्र बहाव भएका नदी वा गहिरो पानीमा गाडी नचलाउन पनि चेतावनी दिएको छ।





Source link

Leave a Comment

Translate »