प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार
आइस अधिकारी । फाइल तस्वीर
अमेरिकाको मिनेसोटामा एक भेनेजुएली नागरिकमाथि गोली चलाउने अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) अधिकारीमाथि झुटो बयान दिएको र हमला गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। घटनाबारे गलत विवरण दिएको आरोप लागेका अधिकारीमाथि देशव्यापी पक्राउ वारेन्टसमेत जारी भएपछि यो घटना अमेरिकाको आप्रवासन कारबाहीमाथि थप प्रश्न उठाउने विषय बनेको छ।
अमेरिकी राज्य मिनेसोटाका अभियोजकहरूले सोमबार आइस अधिकारी क्रिस्टियन क्यास्ट्रोविरुद्ध चारवटा दोस्रो श्रेणीका हमला र एउटा झुटो अपराध प्रतिवेदन दर्ता गरेको अभियोग लगाएको घोषणा गरेका छन्। यी आरोप जनवरीमा आप्रवासन पक्राउ अभियानका क्रममा भेनेजुएली नागरिक जुलियो सोसा–सेलिसमाथि गोली चलाइएको घटनासँग सम्बन्धित छन्।
अमेरिकी वकिल मेरी मोरियार्टीका अनुसार क्यास्ट्रोले एक घरको मुख्य ढोकातर्फ गोली चलाएका थिए। अभियोजन पक्षले क्यास्ट्रोले ढोकाभित्र रहेका चार वयस्क व्यक्तिलाई तत्काल शारीरिक क्षति वा मृत्युको भय सिर्जना गर्ने उद्देश्यले गोली चलाएको आरोप लगाएको छ।
मोरियार्टीले पत्रकार सम्मेलनमा भनिन्, “क्यास्ट्रोले घरभित्र पसेका मानिसहरूले आफू वा अरू कसैलाई कुनै खतरा नदिएको थाहा हुँदाहुँदै आफ्नो हतियार प्रयोग गरे।”
उनका अनुसार गोलीले घरको अगाडिको ढोका छेड्दै जुलियो सोसा–सेलिसको खुट्टामा लागेको थियो। त्यसपछि गोली कपाट हुँदै बालबालिकाको शयनकक्षको भित्तामा गएर अड्किएको थियो।
घटनाबारे प्रतिक्रिया माग्दा अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
अधिकारीहरूका अनुसार जनवरी १४ को रात आइस अधिकारीहरूले सोसा–सेलिस र अर्का भेनेजुएली नागरिक अल्फ्रेडो अलेजान्द्रो अल्जोर्नालाई उनीहरूको घर नजिक आप्रवासन कारबाहीका क्रममा रोकेका थिए। त्यसक्रममा सोसा–सेलिसको खुट्टामा गोली लागेको थियो।
तर मोरियार्टीका अनुसार दुवै व्यक्ति मिनेसोटामा कानुनी रूपमा बसिरहेका थिए ।
प्रारम्भिक रूपमा डिएचएसले जारी गरेको विवरणमा सोसा–सेलिस र अल्जोर्नाले अधिकारीमाथि बेल्चा र कुचो प्रयोग गरी आक्रमण गरेको आरोप लगाइएको थियो। उनीहरूमाथि अधिकारीमाथि हमला गरेको अभियोगसमेत लगाइएको थियो।
तर पछि प्राप्त नयाँ प्रमाणले घटनाको वास्तविकता फरक रहेको देखाएपछि ती सबै मुद्दा खारेज गरिएका थिए। मिनेसोटाका अभियोजकहरूले नयाँ प्रमाणहरू प्रारम्भिक आरोपसँग मूल रूपमा मेल नखाने बताएका थिए।
फेब्रुअरी र अप्रिलमा सार्वजनिक गरिएको भिडियोले संघीय निकायको दाबीमाथि गम्भीर प्रश्न उठायो। भिडियोमा एक व्यक्ति घर नजिक बेल्चा समातेर उभिएको देखिन्छ, तर केही समयपछि उनले त्यो फालिदिन्छन्। अर्का व्यक्ति भने खाली हात घरतर्फ दौडिएको देखिन्छ।
त्यसपछि एक अधिकारीले तीमध्ये एक जनालाई बल प्रयोग गरेर भुइँमा लडाएको दृश्य भिडियोमा कैद भएको छ।
भिडियो सार्वजनिक भएपछि कार्यवाहक आइस निर्देशक टोड लियोन्सले भिडियो प्रमाणको समीक्षा गर्दा दुई अधिकारीले शपथ लिएर दिएको बयान सत्य नभएको जस्तो देखिएको बताएका थिए।
दुवै अधिकारीलाई अनुसन्धान पूरा नभएसम्म प्रशासनिक बिदामा राखिएको थियो।
लायन्सले त्यसबेला भनेका थिए, “शपथ लिएर झुट बोल्नु गम्भीर संघीय अपराध हो। अनुसन्धानको निष्कर्षपछि उनीहरूले जागिर गुमाउनुका साथै फौजदारी अभियोजन पनि सामना गर्नुपर्ने हुन सक्छ।”
मोरियार्टीले थपिन्, “गोली चलाउँदा क्यास्ट्रो कुनै शारीरिक जोखिममा थिएनन्। उनीमाथि बेल्चा वा कुचोले प्रहार गरिएको थिएन। वास्तवमा उनलाई कसैले छोएकोसमेत थिएन।”
यसैबीच मिनेसोटामा आप्रवासन अभियानमा सहभागी अर्का आइस एजेन्ट ग्रेगोरी डोनेल मोर्गन जुनियरमाथि पनि गत महिना दोस्रो श्रेणीको गम्भीर हमला गरेको आरोप लागेको थियो।
अभियोगअनुसार उनले राजमार्गको छेउबाट गैरकानुनी रूपमा गाडी चलाउँदै अर्को सवारीसाधन नजिक पुगेपछि त्यसमा रहेका दुई सर्वसाधारण नागरिकको टाउकोतर्फ बन्दुक तेर्साएका थिए। त्यसपछि पीडित पक्षले आपत्कालीन नम्बर ९११ मा फोन गरेको बताइएको छ।
मोरियार्टीका अनुसार “राजमार्गको छेउबाट गैरकानुनी रूपमा गाडी चलाउँदै सर्वसाधारण नागरिकमाथि बन्दुक तेर्साउनु कुनै संघीय अधिकारीको अधिकार क्षेत्रभित्र पर्दैन।”
ट्रम्प प्रशासनले नोभेम्बर अन्त्यमा ‘मेट्रो सर्ज’ नामक आप्रवासन अभियानका लागि मिनेसोटामा ३ हजार संघीय एजेन्ट परिचालन गरेको थियो।
यस अभियानका क्रममा छुट्टाछुट्टै घटनामा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि देशभर व्यापक विरोध प्रदर्शन भएको थियो। मारिनेमा ३७ वर्षीया रिनी गुड र स्थानीय भेटेरान्स अस्पतालमा कार्यरत सघन उपचार कक्षका नर्स एलेक्स प्रेट्टी रहेका थिए।