नयाँ वर्ष २०८३ प्रारम्भ: हर्षोल्लासका साथ देश-विदेशमा मनाइँदै



प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार


मंगलबारदेखि विक्रम संवत् २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ।

आज वैशाख १ गते, वर्षको पहिलो दिन देशभर एक-आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ। संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ।

सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ। सोही संवत्को आज पहिलो दिन हो। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन अर्थात् वैशाख संक्रान्ति (मेष संक्रान्ति) पनि हो।

सूर्यको गतिअनुसार चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन्। सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिबाट बाहिरिँदा पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले यो संवत् वैज्ञानिक रहेको विद्वान्हरूको भनाइ छ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलताको मूल्याङ्कन गरी, असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्ने योजना निर्माण गर्दै संकल्प गर्दछन्।

आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठो खाने र साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक-आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।

विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। तराईमा आजका दिन मात्रै सलहेशको फूल फुल्ने भएकाले पनि यसको छुट्टै महत्त्व र विशेषता रहेको छ।





Source link

Leave a Comment

Translate »