अमेरिका र इरानबीचको युद्धविराम जोखिममा, ऊर्जा संकटको डर बढ्यो



प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार


अमेरिकी उपराष्ट्रपति जेडी भान्सले २१ घण्टा चलेको शान्ति वार्ताबाट कुनै सम्झौता ननिस्किएको बताएपछि द्वन्द्वको भविष्यबारे प्रश्न उठेको छ। यसले मंगलबारदेखि सुरु भएको दुई हप्ताको युद्धविरामलाई पनि जोखिममा पार्न सक्छ। यदि इरान ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सहमत भएन भने विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित भइरहनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताअघि इरानले सम्झौता नगरे “पूरै सभ्यता नष्ट हुने” चेतावनी दिएका थिए। तर अहिले उनी युद्ध पुनः सुरु गर्न इच्छुक देखिँदैनन्, किनकि यो अमेरिकी जनताबीच अलोकप्रिय बन्दै गएको छ।

भान्सले अमेरिकाले आफ्नो “अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव” प्रस्तुत गरिसकेको भन्दै अब निर्णय इरानकै हातमा रहेको संकेत दिएका छन्। विश्लेषक निक रोबर्टसनका अनुसार बिनासम्झौता वार्ता टुंगिनु संकट समाधानको आशामा ठूलो धक्का हो।

यी वार्ताहरू सन् १९७९ मा इरानमा इस्लामिक गणतन्त्र स्थापना भएयता अमेरिका–इरानबीचका सबैभन्दा उच्चस्तरका भेटघाट थिए। अमेरिका छिटो समाधान खोजिरहेको देखिएको थियो भने इरान दीर्घकालीन रणनीतिमा अघि बढिरहेको थियो।

इरानले आफ्नो धारणा परिवर्तन गरेन भने अर्को वार्ता अनिश्चित बन्ने र युद्धको सम्भावना बढेर जाने देखिएको छ। इरानसँग शान्ति वार्ताका लागि पाकिस्तानको इस्लामावाद पुगेको उपराष्ट्रपति भान्स नेतृत्वको प्रतिनिधिमण्डल फर्किएको छ।

यसैबीचमा अमेरिकी पूर्व अधिकारीले अमेरिकाभन्दा इरान बलियो अवस्थामा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयका पूर्व मध्यपूर्व वार्ताकार आरोन डेभिड मिलरले अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता बिनासहमति टुंगिएपछि इरान “अमेरिकाभन्दा बलियो अवस्थामा” रहेको बताएका हुन्।

इरान अहिले कुनै पनि सम्झौताका लागि हतारमा नरहेको भन्दै उनले इरानसँग अझै उच्चस्तरको युरेनियम रहेको दाबी गरे। उनले इरानले अहिले पनि ‘स्ट्रेट अफ होर्मुज’ माथि नियन्त्रण कायम गरेको बताए।





Source link

Leave a Comment

Translate »