भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल हस्तान्तरण गर्ने ट्रम्पको दाबी



प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल हस्तान्तरण गर्ने बताएका छन्। राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरिएको सैन्य कारबाहीपछि ट्रम्पको यस्तो दाबी आएको हो।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त हुने रकम राष्ट्रपति हुनुको हैसियतले आफ्नै नियन्त्रणमा रहने बताएका छन्। उनका अनुसार उक्त रकम भेनेजुएलाका जनता र अमेरिकाको हितका लागि खर्च गरिनेछ।

यसअघि ट्रम्पले भेनेजुएलामा अमेरिकी तेल उद्योग आगामी १८ महिनाभित्र “पूर्ण रूपमा सञ्चालनमा आउने” र त्यहाँ ठूलो लगानी भित्रिने अपेक्षा व्यक्त गरेका थिए। तर, विश्लेषकहरूले भने भेनेजुएलाको पुरानो उत्पादन क्षमता पुनर्जीवित गर्न अर्बौँ डलर लगानी र कम्तीमा एक दशक लाग्न सक्ने बताएका छन्।

भेनेजुएलाका अन्तरिम अधिकारीहरूले प्रतिबन्धमा परेको ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको तेल अमेरिकालाई हस्तान्तरण गर्ने तयारी गरेको बताइएको छ।

ट्रम्पको यो अभिव्यक्ति भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिका रूपमा शपथ लिएको भोलिपल्ट आएको हो। पूर्व राष्ट्रपति निकोलस मदुरोलाई लागुऔषध तस्करी र हतियार सम्बन्धी अभियोगमा अमेरिका पुर्‍याइएको छ।

ट्रम्पले भेनेजुएला तेल उत्पादक राष्ट्र हुनु अमेरिकाका लागि लाभदायक हुने र यसले इन्धनको मूल्य घटाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। यसै सिलसिलामा प्रमुख अमेरिकी पेट्रोलियम कम्पनीका प्रतिनिधिहरूले यसै हप्ता ट्रम्प प्रशासनसँग भेट्ने योजना बनाएका छन्।

भेनेजुएलासँग करिब ३०३ अर्ब ब्यारेल तेल भण्डार छ, जुन विश्वकै सबैभन्दा ठूलो प्रमाणित भण्डार हो। यद्यपि, सन् २००० को सुरुवादेखि नै त्यहाँको तेल उत्पादन निरन्तर घट्दो क्रममा छ।

ट्रम्प प्रशासनले भेनेजुएलाको तेललाई ठूलो अवसरका रूपमा हेरे पनि त्यहाँ उत्पादन बढाउनु अमेरिकी कम्पनीहरूका लागि खर्चिलो र प्राविधिक रूपमा कठिन छ। भेनेजुएलाको तेल भारी प्रकृतिको हुने भएकाले यसको प्रशोधन जटिल मानिन्छ।

हाल भेनेजुएलामा सञ्चालनमा रहेको एक मात्र अमेरिकी कम्पनी चेभ्रोन हो। अर्को अमेरिकी कम्पनी कोनोकोफिलिप्सले पनि त्यहाँको पछिल्लो घटनाक्रम र विश्व ऊर्जा आपूर्तिमा पर्ने प्रभावको नजिकबाट निगरानी गरिरहेको छ।





Source link

Leave a Comment

Translate »