९ वर्षको उमेरमा अमेरिका आएका ४ सन्तानका बुवा एक महिनादेखि आइसको हिरासतमा



प्रकाशित मिति : भाद्र १९, २०८२ शुक्रबार

९ वर्षको उमेरमा अमेरिका आएका ४ सन्तानका बुवा एक महिनादेखि आइसको हिरासतमा

तस्वीर स्रोत : गोफन्डमी

अमेरिकामा करिब ५० वर्षअघि ग्रिन कार्ड लिएर प्रवेश गरेका मिशिगन निवासी ५८ वर्षीय प्यालेस्टिनी मूलका नाएल शम्मा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा परेका छन्। उनी करिब एक महिनादेखि पश्चिम मिशिगनको नर्थ लेक प्रोसेसिङ सेन्टरमा थुनिएका हुन् ।

स्थानीय समाचारमाध्यमका अनुसार, शम्मा आफ्नी पत्नी क्रिस्टिनाका लागि कफी बनाउन लागिरहेका बेला नचिनिने कार परिवारको घर अगाडि आएर रोकेको थियो र त्यहींबाट उनलाई नियन्त्रणमा लिइएको थियो।

शम्मा ९ वर्षको उमेरमा आफ्ना आमाबाबुसँग अमेरिकामा आएका थिए। उनी यरुशलेममा जन्मिएका थिए, ठीक एक वर्षअघि इजरायलले उक्त शहरलाई नियन्त्रणमा लिएको थियो। यस कारण उनलाई कुनै देशको औपचारिक नागरिकता प्राप्त भएन र उनी राज्यविहीन बने।

९ वर्षको उमेरमा अमेरिका आएका ४ सन्तानका बुवा एक महिनादेखि आइसको हिरासतमा

उनी चार सन्तानका पिता र दुई नाति–नातिनीका हजुरबुवा हुन्।

आइसका प्रवक्ताका अनुसार, शम्मासँग २० वर्ष लामो आपराधिक रेकर्ड छ। यसमा घर फोड्ने, हतियारसहितको हिंसा, र गम्भीर आक्रमणजस्ता मुद्दा सामेल छन्। उनले आफैं १९८० को दशकमा शिकागोस्थित ‘ल्याटिन किङ्स’ सडक ग्याङसँग संलग्न भएको कुरा स्वीकारेका थिए।

२० वर्षको उमेरमा आक्रमण मुद्दामा जेल गएको बेला उनको ग्रिन कार्ड खारेज गरिएको थियो। सन् १९८९ देखि उनीमाथि अन्तिम निर्वासन आदेश जारी छ। तर इजरायली अधिकारीहरूले स्वीकृति नदिँदा २०१२ मा गरिएको निर्वासन प्रयास असफल भएको थियो।

उनकी श्रीमती क्रिस्टिनाका अनुसार, शम्माले सन् २०१२ देखि प्रत्येक वर्ष आइसमा अनिवार्य चेक-इन गर्दै आएका थिए । उनी मे महिनामै रिपोर्ट गर्न गएका थिए, त्यतिबेला उनलाई “सबै कुरा ठीक छ” भन्ने जानकारी दिइएको थियो।

“उनी वर्षमा एकपटक रिपोर्ट गर्नुपर्थ्यो। मे महिनामा गएका थिए। त्यतिबेला सबै कुरा ठीक छ भनेर भनेका थिए,” क्रिस्टिनाले बताइन्।

९ वर्षको उमेरमा अमेरिका आएका ४ सन्तानका बुवा एक महिनादेखि आइसको हिरासतमा

शम्माकी भान्जी सारा हद्दादले भन्छिन्, “उनलाई गाजामा निर्वासन गरियो भने त्यहाँको युद्धग्रस्त अवस्थाले उनको जीवन जोखिममा पर्छ।” हद्दादले थपिन्, “यो परिवारका लागि अत्यन्तै कठिन समय हो। हामी उनलाई धेरै माया गर्छौं। उनी सबैको हेरचाह गर्छन्।”

सारा हद्दादले शम्माको पक्षमा चेन्ज डटकममा याचिका दायर गरेकी छिन् भने गोफन्डमीमार्फत आर्थिक सहयोग अभियान सुरु गरेकी छिन्। बिहीबार बिहानसम्म ५१ दाताबाट ३,४०० अमेरिकी डलरभन्दा बढी संकलन भइसकेको छ।

उनीहरूको याचिकामा भनिएको छ, “उनी एक मेहनती, कर तिर्ने, समुदायमा योगदान गर्ने, परिवारप्रेमी व्यक्ति हुन्। उनी आफ्ना दुईवटा कुकुरसँग घर फर्कन्छन्, नाति–नातिनीहरूसँग खेल्छन् र सकेसम्म राम्रो मानिस बन्ने प्रयास गर्छन्। तर पनि आइसले कुनै चेतावनी बिना नै उनलाई परिवारबाट छुट्यायो।”





Source link

Leave a Comment