प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार

फोटो: एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तौल घटाउन र व्यायाम बढाउन चिकित्सकले सुझाव दिएका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको मे महिनामा गरिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गर्दा चिकित्सकको यो सुझाव बाहिर आएको हो।
चिकित्सकले ट्रम्पलाई तौल घटाउन, नियमित व्यायाम बढाउन तथा स्वस्थ आहार अपनाउन सुझाव दिएका छन्। यद्यपि उनको समग्र स्वास्थ्य अवस्था उत्कृष्ट रहेको उल्लेख गरिएको छ।
ह्वाइट हाउसका चिकित्सक डा. शन बार्बाबेलाले प्रेस सचिव क्यारोलिन लेभिटलाई सम्बोधन गर्दै लेखेको पत्रमा ट्रम्पको मुटु, फोक्सो, स्नायु प्रणाली तथा समग्र शारीरिक अवस्था अत्यन्त राम्रो रहेको बताएका छन्।
पत्रमा भनिएको छ, “राष्ट्रपति ट्रम्प उत्कृष्ट स्वास्थ्य अवस्थामा छन्। उनको मुटु, फोक्सो, स्नायु प्रणाली तथा समग्र शारीरिक कार्यक्षमता सबल छ। मानसिक तथा शारीरिक क्षमता पनि उत्कृष्ट छ। उनी राष्ट्रप्रमुख तथा सशस्त्र सेनाका सर्वोच्च कमान्डरको जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सक्षम छन्।”
मङ्गलवार गरिएको स्वास्थ्य परीक्षणका क्रममा ट्रम्पलाई स्वास्थ्यसम्बन्धी पूर्वसावधानीका सुझावहरू पनि दिइएको थियो। चिकित्सकका अनुसार उनलाई सन्तुलित आहार लिन, कम मात्रामा एस्पिरिन सेवन गर्न, शारीरिक गतिविधि बढाउन तथा तौल निरन्तर घटाउन सल्लाह दिइएको छ।
गत वर्ष अमेरिकी इतिहासकै सबैभन्दा बढी उमेरमा शपथ लिने राष्ट्रपति बनेका ट्रम्पले यसपटक वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा स्वास्थ्य परीक्षण गराएका हुन्। राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि उनले उक्त केन्द्रमा स्वास्थ्य परीक्षण गराएको यो तेस्रो पटक हो।
ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा कुनै गम्भीर स्वास्थ्य समस्या नदेखिएको र ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको उल्लेख गरिएको छ।