३५ बुँदे श्वेतपत्र जारी गर्दै युवा परिषद्को उपाध्यक्षबाट बस्नेत बिदा


२० पुस, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत आफ्नो चार वर्षे कार्यकल पूरा गरेर आइतबारबाट बिदा भएका छन् । बस्नेत २०७८ पौष २१ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट परिषद्को कार्यकरी प्रमुखको रुपमा काम गर्ने गरी नियुक्त भएका थिए ।

आज युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालयमा आयोजित कार्यक्रममा औपचारिक रुपमा बिदाइ गरेका छन् । त्यसैगरी उपाध्यक्ष बस्नेतको सम्मानमा परिषद् कार्यालयमा समेत बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।

बिदाइ हुनुअघि परिषद् परिसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले ३५ बुँदो श्वेतपत्र समेत जारी गरेका छन् ।

श्वेतपत्रमा बस्नेतले आफ्नो चार वर्षे कार्याकालका दौरान भएगरेका प्रमुख उपलब्धि समेटेका छन् । श्वेतपत्रमा बस्नेतले भनेका छन्, ‘यस अवधिमा नेपाली युवाहरूको सर्वाङ्गीण विकास गर्दै उनीहरूलाई भविष्यको कर्णधार मात्र हैन, वर्तमानको साझेदार समेत बनाउने मुल उद्देश्यबाट अभिप्रेरित हुँदै निरन्तर काम गर्ने कोशिस गरेँ ।’

पत्रकार सम्मेलनमा बस्नेतले  स्रोत र साधनको सीमितताका बाबजुद परिषद्ले युवाको पक्षमा अधिकतम कोशिस गरेको बताए ।

‘एकातिर उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्ने र अर्कोतिर अन्य साझेदार निकायहरूसँगको सहकार्यबाट परिषद्लाई आम युवामाझ पुर्‍याउने निरन्तर  प्रयास गरेँ,’ उनले भने ।

बस्नेतले चारवर्षे कार्यकालमा चार प्रधानमन्त्री र पाँच युवा तथा खेलकुदमन्त्री फेरिए पनि आफुले पुरा कार्यकाल काम गर्न पाएको अनुभव सुनाए ।

बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय युवा नीति २०८२ जारी गर्नेदेखि लिएर १० हजार वढि युवाको नेतृत्व विकासका लागि नमुना संसद अभ्यास गराइएको फेहरिस्त पेश गरेका छन् ।

बस्नेतले आफ्नो कार्यकालमा युवाका लागि ३९० घण्टे नि:शुल्क रोजगारमूलक सिपविकास तालिम, नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास  लगायतका कार्यक्रम शुरु गरेको बताएका छन् ।

श्वेतपत्रमा जारी प्रमुख उपलब्धिहरू :

१) युवाको सर्वाङ्गीण विकासमार्फत् राष्ट्र निर्माणमा सार्थक सहभागिता सुनिश्चित गर्ने दुरदृष्टि सहित राष्ट्रिय युवा नीति २०८२ जारी गरिएको ।

२) युवाहरूको देश शीर्षकको राष्ट्रिय युवा गीत निर्माण गरी ख्यातिप्राप्त कलाकार र राष्ट्रिय व्यक्तित्वहरूका साथ भिजुअलाइज्ड समेत गरेर राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट सार्वजनिक गरिएको ।

३) असंलग्न देशका युवाहरूको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमार्फत् असंलग्न देशका युवाहरूको अन्तर्राष्ट्रिय संगठन (ल्ब्:ब्थ्इ) को संस्थापक सदस्यको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको ।

४) युवा उद्यम कार्यक्रम अन्तर्गत विना धितो विना ब्याज व्यवसायिक परियोजनाका आधारमा युवाहरूलाई ५ लाखको दरले प्रदान गरिएको १९ करोड वरावरको कर्जा असुल गरी सरकारी कोषमा फिर्ता गरिएको ।

५) परिषदद्वारा स्थानीय तहसंगको सहकार्यमा ३५९५ युवाहरूलाई आइएलओको मापदण्डमा आधारित न्थ्द्य–क्थ्द्य अन्तर्गत सातदिने युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको ।

६) युवाहरूको नेतृत्व कौशल र कुटनीतिक क्षमता अभिवृध्दिका लागि परिषदको नयाँ र लोकप्रिय कार्यक्रमका रूपमा १६–२४ उमेरका ५०० युवालाई नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास (ल्थ्ऋ:ग्ल्) गराइएको ।

७) देशभरका स्थानीय युवा परिषद उपाध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरी अनुभव आदनप्रदान गरिएको । स्थानीय सरकारसंगको समन्वयमा स्थानीय युवा परिषद गठनको अभियान अघि वढाइएको ।

८) युवा केन्द्रित नीति, वहस र पैरवीलाई राष्ट्रिय जीवनको अभिन्न अंग वनाउने उदेश्यले अन्तर्राष्ट्रिय युवा दिवस मध्ये दुई पटक सम्माननीय राष्ट्रपति र तिन पटक सम्माननीय प्रधानमन्त्री सहित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय व्यक्तित्वहरूको सहभागितामा उत्सवमय ढंगले मनाइएको ।

९) देशभर युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र युवाहरूको वित्तीय पहुंच अभिवृध्दि गर्ने उदेश्यले कोशी, मधेस, वागमति, गण्डकी कर्णाली प्रदेशमा वृहत् युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिएको ।

१०) संघीय तहमा अन्य संघसस्थासंगको साझेदारीमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना गरिएको ।

११) २५ सय निर्वाचन प्रहरी (म्यादि प्रहरी) सहित करिब १० हजार युवालाई सहभागी गराई युवा उद्यम परामर्श तथा मार्गदर्शन प्रदान गरिएको ।

१२) युवाहरूलाई तत्काल रोजगारी वा स्वरोजगारीमा जोड्ने अभिप्रायले सातै प्रदेशका विभिन्न ठाउँमा युवालाई नि:शुल्क रोजगारमुलक सिप विकास तालिम सञ्चालन गरिएको ।

१३) नव युवाको वैज्ञानिक सोच र आविश्कारलाई प्रवर्द्धन गर्न काठमाडौ जनकपुर र धनगढीमा राष्ट्रियस्तरमा युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको ।

१४) विपत व्यवस्थापन, डिजिटल साक्षरता, प्राथमिक स्वास्थ्य लगायतका विभिन्न विषय र क्षेत्रमा करिब ५ हजार स्वयंसेवक विकास गरी सम्वन्धित् क्षेत्रमा परिचालन गरिएको ।

१५) प्रतिस्पर्धात्मक युवा नेतृत्व विकास कार्यक्रम (थ्ीम्ए) मार्फत् युवा नेतृत्व विकासमा महत्वपुर्ण टेवा पुर्‍याइएको ।

१६) युवाको नविन व्यवसायिक सोचलाई प्रवर्द्धन र सम्वर्द्धन गर्दै उद्यम र उद्योगसम्म पुर्याउने उद्देश्यले देशका विभिन्न भागमा नवप्रवर्तन तथा इन्क्युवेसन कार्यक्रम सञ्चालन गरिएको ।

१७) संघीय तह, प्रदेश तह र ७७ जिल्लाका फरकफरक पालिकामा १६–२४ उमेर समुहका १०५९० युवालाई नमुना युवा संसद अभ्यास गराइ युवा नेतृत्व विकास एवम् सशक्तिकरण गरिएको ।

१८) करिब २१५० दलित, अल्पसंख्यक, सिमान्तकृत वर्गका युवाहरूको सार्वजनिक सेवा प्रवेशमा पहुंच अभिवृध्दिका लागि लोकसेवा तथा शिक्षा सेवा आयोग कक्षा सञ्चालन गरिएको ।

१९) कला, साहित्य, संस्कृति र मनोरञ्जनका क्षेत्रमा क्रियाशिल युवाको संरक्षण र प्रवर्द्धन कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरको लोक दोहरी प्रतियोगिता, गजल प्रतियोगिता, चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको ।

२०) विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिमा सहिद, वेपत्ता भएका परिवारका युवाको क्षमता, नेतृत्व र उद्यमशीलता विकासका लागि सञ्जाल गठन गरी विविध कार्यक्रम सञ्चालन गरिएको ।

२१) वैकल्पिक हेरचाहमा हुर्किएका अभिभावकविहिन युवाहरूको परिचय, पहिचान नेतृत्व विकास र सशक्तिकरणका लागि युवा सञ्जाल गठन गरी विविध कार्यक्रम आयोजना गरिएको ।

२२) यौनिक तथा लैङ्गिक अल्पसंख्यक युवाहरूको हकहित संरक्षण तथा नीति निर्माणमा पहुंच अभिवृध्दिका लागि सञ्जाल गठन गरी विविध क्रियाकलाप सञ्चालन गरिएको ।

२३) घरेलु कामदारका रूपमा रहेका युवाहरूको पहिचान, सम्मान र सामाजिक सुरक्षाका निम्ति सञ्जाल गठन गरी विविध क्रियाकलाप सञ्चालन गरिएको ।

२४) पर्यटन क्षेत्रमा क्रियाशील पथप्रदर्शक युवाहरूको सञ्जाल गठन गरी त्यसक्षेत्रका युवाहरूलाई विविध गतिविधि मार्फत् सशक्तिकरण गरिएको ।

२५) स्वस्थ्य क्षेत्रमा क्रियाशील युवाहरूको स्वास्थ्यकर्मी युवा सञ्जाल गठन गरी त्यस क्षेत्रका युवाहरूलाई समुदायमा परिचालन गरिएको ।

२६) विदेशवाट फर्किएर आएका युवाहरूले सिकेका ज्ञान, सिप, प्रविधि र ल्याएको पुजी परिचालन गरी देशभित्र उद्यमशीलता सृजना गर्न रिटर्नी युवा सञ्जाल मार्फत् विविध क्रियाकलाप सञ्चालन गरिएको ।

२७) अपाङ्गता भएका युवाहरूको नेतृत्व विकास, क्षमता विकास र सिप विकासका लागि विविध क्रियाकलाप सञ्चालन गरिएको ।

२८) परम्परागत सीप हस्तान्तरण र संरक्षणका लागि गठित सञ्जाल मार्फत विविध क्रियाकलाप सञ्चालन गरिएको ।

२९) विभिन्न संघसंस्थासंगको सहकार्यमा मर्यादित महिनावारीका लागि अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन आयोजना गरिएको। विभिन्न संघसंस्थासंग सहकार्यमा दक्षिण एसियाली जलवायु कार्य सम्मेलन आयोजना गरिएको ।

३०) उद्यमशीलता तथा वित्तीय साक्षरता र नमुना युवा संसद अभ्यासका लागि प्रशिक्षक प्रशिक्षण (त्इत्) सञ्चालन गरिएको ।

३१) जेनजी आन्दोलनपछि जेनजी सहिदको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरिएको, जेनजी युवाको सहभागितामा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद गरिएको। त्यस्तै जेनजी युवाकै सहभागितामा सामाजिक जवाफदेहिता मिडिया र युवा संवाद तथा मिडिया र सूचना साक्षरता अभिवृद्धि जस्ता विशेष कार्यक्रम गरिएको ।

३२) स्थानीय युवा परिषद गठनका लागि नमुना स्थानीय युवा परिषद ऐन तर्जुमा गरी सवै स्थानीय तहमा पठाइएको । युवामैत्री स्थानीय शासन दिग्दर्शन अद्यावधिक गरी सातै प्रदेशमा युवा मैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको ।

३३) परिषदले पछिल्लो चारवर्षमा गरेका मुलभुत क्रियाकलाप समेटिएको २४४ पृष्ठको युवा तस्वीर दर्पण प्रकाशन गरिएको ।

३४) यसैगरी नेपाल स्थित संयुक्त राष्ट्रसंघ सम्वद्ध निकायहरू, विकास साझेदार संस्थाहरू, युवा केन्द्रित् सरकारी तथा गैरसरकारी संस्थाहरू, नागरिक संगठनहरू, परिषद आवद्ध संघसंस्थाहरूसँगको सहकार्यमा युवा सवलीकरण र सशक्तिकरणका विविध कार्यक्रम गरिएको ।

३५) यसैगरी रोजगारमूलक सीप विकास तालिम कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, युवा नवप्रवर्तन तथा इन्क्युवेशन कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, प्रतिभावान युवाहरूकालागि फेलोसिप कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन साझेदारी कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८१, मिडिया तथा सुचना साक्षरता कार्यढांचा, २०८२, नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यढाँचा, २०७९, नमुना स्थानीय युवा परिषद ऐन, २०८२ लगायतका नीतिगत दस्तावेज निर्माण तथा स्वीकृत गरिएको ।





Source link

Leave a Comment