ह्यूमन राइट्स वाचको प्रतिवेदन : ‘जेनजी आन्दोलनमा गैरकानूनी बल प्रयोग भयो’



७ मंसिर, काठमाडौं । मानव अधिकारको अवस्थाबारे विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राईट वाचले साढे दुई महिनाअघिको जेनजी प्रदर्शनका क्रममा अस्वभाविक र असंगत’ बल प्रयोग भएको निष्कर्ष निकालेको छ ।

ह्यूमन राइट्स वाचले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भदौ २३ गते प्रदर्शनकारीहरुमाथि करिब ३ घण्टा धेरैपटक गोली चलेको निचोड निकालेको हो । उसले सुरक्षाकर्मीहरुबाट गोली प्रहार गर्ने प्रवृतिलाई अन्धाधुन्ध भनेको छ ।

ह्यूमन राइट्स वाचले आफ्नो संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसैको प्रतिक्रियास्वरुप भोलिपल्ट व्यापक आगजनी र लुटपाट भएको निष्कर्ष निकालेको हो । तर, उसले त्यसमा ‘जेनजी’ प्रदर्शनसँग सम्बन्धित नभएका व्यक्तिहरु पनि संलग्न भएको भनेको छ ।

उसले अध्ययनको निष्कर्षमा हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगले पारदर्शी रुपमा काम गर्नुपर्ने र कानून तोड्ने जोकोहीलाई अनुसन्धान र अभियोजनमा ल्याउन सक्षम हुनुपर्ने औल्याएको हो । उसले त्यसैमा न्यायिक आयोगको सफलता निर्भर हुने औल्याएको छ । उसले जेनजी आन्दोलनपछि बनेको सरकारले पहिलो र दोस्रो दिनको घटनामा संलग्न सबैको छानविन हुनुपर्छ भनेको छ ।

‘सोझै प्राणघातक प्रहार’

राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएका प्रदर्शनकारीहरुमाथि करिव तीन घण्टासम्म धेरैपटक अन्धाधुन्ध गोली चलेको भन्दै उसले त्यसक्रममा मात्रै १७ जनाको ज्यान गएको जनाएको छ । त्यो दिन मर्नेहरुको कुल संख्या भने २२ पुगेको थियो ।

उसले अध्ययन प्रतिवेदनमा पहिलो दिन साढे १२ बजे संसद भवन वरपर जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले सोझै ‘प्राणघातक बल’ प्रयोग गरेको निष्कर्ष निकालेको छ । उसले त्यो प्रहार टाउको, छाती र पेटमा केन्द्रित भएको भन्दै सुरक्षाकर्मीहरु ‘जीवन-मरणको जोखिम’मा नभएकै अवस्थामा पनि बल प्रयोग भएको निष्कर्ष निकालेको हो ।

जीवन-मरणको जोखिममा भने सुरक्षाकर्मीहरुले चेतावनीसहित प्राणघातक बल प्रयोग गर्नु स्वभाविक मानिन्छ । एक अवकाशप्राप्त प्रहरी अधिकारीलाई उदृत गर्दै अध्ययनले ‘भीड नियन्त्रण र प्राणघातक बल प्रयोगको प्रक्रियाको पालना नभएको’ भनेको छ ।

संयुक्त राष्ट्रसंघीय मापदण्ड अनुसार, सुरक्षाकर्मीहरुको जीवन-मरणको तत्कालीन जोखिममा मात्रै प्राणघातक हतियार प्रयोग गर्न मिल्छ । तर, त्यसअघि पनि चेतावनी दिनुपर्छ । नेपालको कानूनमा पनि त्यही व्यवस्था भए पनि परिपालना नभएको अध्ययनको निष्कर्ष छ ।

सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी डिस्कर्डको माध्यमबाट सूचना पाएका सहभागीहरु ठूलो संख्यामा भेला हुँदासमेत संसद भवन जाने सडकमा एक मात्रै अवरोधक ‘ब्लारिकेड’ राखिएको प्रतिवेदनमा उल्लेख छ ।

बिहान ९ बजे आसपास नै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरु भीड ११ बजेसम्म ठूलो भइसकेको भन्दै अध्ययनले प्रदर्शनकारीहरुले ब्यारिकेड नाघेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रहार गरेको विवरण उल्लेख गरेको छ ।

सरकारले करिव साढे १२ बजे कफ्यूको घोषणा गर्दा समेत प्रदर्शनकारी र पत्रकारले कुनै जानकारी नपाएको भन्दै ह्यूमन राइट्स वाचले एक पत्रकारको भनाइ उदृत गर्दै एक बजेभित्र ‘वातावरण अत्यन्तै खराब भएको’ औल्याएको छ । त्यसक्रममा प्रत्यक्षदर्शीहरुले आफ्नो नजिकबाट गोली गएको बताउँदै ‘प्राणघातक बल प्रयोग गर्नुअघि कुनै चेतावनी सुनिएको थिएन’ भनी बताएका छन् ।

स्थिति शान्तिपूर्ण रहेको अवस्थामा पनि प्रहरीले बल प्रयोग गरेको भेटिएको छ । करिब पौने २ बजे प्रहरीको गोली एक किशोरीको काँधमा लाग्यो । उनले आफूलाई गोली लागेको बेला स्थिति शान्त भएको र कुनै हिंसा नभएको बताइन् । त्यही बेलामा सुरक्षाकर्मीहरुले गोली चलाएका थिए ।

एक प्रदर्शनकारीका अनुसार, सिंहदरबार वरपर भेला भएका ३३ जनालाई प्रहरीको स्पेसन टास्क फोर्सका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका उनीहरुमाथि कुटपिट भयो, सुरक्षाकर्मीहरुले धम्क्याए, अनि भोलिमात्रै छाडे । सुरक्षाकर्मीहरुले अस्पतालमै पुगेर बल प्रयोग गरेका थिए ।

शव भेटिएका ४७ जनामध्ये ३५ जनाको गोली प्रहारबाट ज्यान गएको देखिएको भन्दै उसले अधिकांशको टाउको, घाँटी, छाती र पेटमा चोट रहेको औल्याएको छ । अनि अस्पतालमा भर्ना हुने घाइतेहरुको संख्या सयौं थियो ।

‘दोस्रो दिन अर्थात पहिलो दिनको प्रतिक्रिया’

त्यो घटनाले दोस्रो दिनको हिंसा भड्किएको भन्दै ह्यूमन राइट्स वाचले अर्को दिनको आगजनी, कुटपिट र आक्रमणहरुमा भने प्रदर्शनसँग असम्बन्धित मानिसहरु सक्रिय भएको निष्कर्ष निकालेको हो । सरकारी भवन, राजनीतिज्ञ, पत्रकार र अन्य व्यक्तिको घर आगजनी हुँदा, उनीहरू कुटपिटमा पर्दा राज्यको सुरक्षा बल ‘प्रभावकारी हस्तक्षेप गर्न’ असफल देखिएको उसको निष्कर्ष हो । उसले विद्यालय, व्यवसाय र सञ्चारमाध्यममाथिको अक्रमणलाई पनि यसैसँग जोडेको छ ।

भोलिपल्ट प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गरेका थिए, कैयौले हतियार लुटे । आक्रमणमा तीन प्रहरीको ज्यान गयो । अध्ययनले ‘धेरै ठाँउमा सर्वसाधारणले पनि आगजनीमा भाग लिएको देखियो’ भन्ने निष्कर्ष निकालेको छ ।

ह्यूमन राइट्स वाचको प्रतिवेदन : ‘जेनजी आन्दोलनमा गैरकानूनी बल प्रयोग भयो’

भिडले नेताहरुलाई कुटपिट गर्नुका साथै घरमा आगो लगाइदिएको, तत्कालिन प्रधानमन्त्री लगायतलाई सैनिक हेलिकप्टरले उद्धार गर्नुपरेको, संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायतका भवनहरुमा अगजनी भएको, निजी सम्पत्ति लगाइएको र हजारौं कैदी भागेको घटनालाई गम्भिर मानेको छ ।

ह्यूमन राइट्स वाचको अनुसन्धानकर्मीहरुको टोलीले कैयौ प्रत्यक्षदर्शीहरुलाई सोधपुछ गरेको थियो । उनीहरुले कैयौं ठाँउमा छानिछानि आगजनी र आक्रमण गरिएको आफ्नो अनुभव सुनाएका थिए । अनि दोस्रो दिन सुरक्षाकर्मीहरुले हस्तक्षेप नगरेकोमा प्रश्न उठाएका थिए । दोस्रो दिन धेरै ठाँउमा सुरक्षाकर्मीहरु नरहेको र त्यसले गर्दा जनधन सुरक्षित हुन नसकेको अध्ययनको निष्कर्ष हो ।

उसले प्रत्यक्षदर्शी र विश्लेषकहरुको भनाई उद्धृत गर्दै विभिन्न राजनीतिक समूह र घुसपैठियाहरु यस्ता गतिविधिमा संलग्न भएको हुनसक्ने औल्याएको छ । उसले प्रतिवेदनमा भनेको छ, ‘विश्वसनीय आपराधिक गतिविधिको आरोप भए, त्यसको छानबिन हुनुपर्छ ।’

ह्यूमन राईट वाचले भदौको हिंसालाई ‘गम्भीर मानव अधिकार उल्लंघनले भरिएको घटना’ भनी निष्कर्ष निकालेको हो । ‘यसमा सुरक्षा बलका सदस्य हुन् वा राजनीतिक पात्र, जो–कोही जिम्मेवार छन्, उनीहरुलाई जवाफदेही बनाइनुपर्छ’ ह्यूमन राइट्स वाचकी एसिया उप-निर्देशक मीनाक्षी गंगुलीको भनाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘कानून तोड्ने कोही पनि अनुचित रुपमा जोगाइदैनन् भन्ने सरकारले सुनिश्चित गर्नुपर्छ ।’

ह्यूमन राइट्स वाचले जाँचबुझ आयोगलाई सुरक्षाबलको भूमिका, घुसपैठको आरोप र अरु आपराधिक गतिविधि सबैको अनुसन्धान गर्न सल्लाह दिएको छ । दुई साता अघिसम्म प्रहरीले जेनजी आन्दोलनका दुई दिनको घटनामा संलग्न भएको आरोपमा ४२३ जनालाई पक्राउ गरेको तर अघिल्लो दिन गोली चलाउने प्रहरी अधिकारीमाथि कुनै कारबाही नभएको भन्दै प्रश्न उठाएको छ ।

विगतका मानव अधिकार उल्लंघनका घटनालाई पनि ह्यूमन राइट्स वाचले अध्ययनका क्रममा विश्लेषण गरेको देखिन्छ । विगतका शान्तिपूर्ण आन्दोलन र शसस्त्र द्वन्द्वमा संलग्न मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही भएको छैन । उसले यो विषयलाई गम्भिरतापूर्वक उठाएको छ ।

‘नेपालमा विगतका मानव अधिकार उल्लंघनमा देखिएको दण्डहीनताले यस पटकको हिंसा सम्भव बनायो’ ह्यूमन राईट वाचकी एसिया उप-निर्देशक मीनाक्षी गंगुलीको भनाइ उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘छानबिन लुकाउने, अभियोजन ढिलो गर्ने परम्परा अन्त्य गर्न अत्यावश्यक छ ।’

भ्रष्टाचार, उचित जीवनस्तरको अभाव लगायत नागरिक अधिकारको विषय जोडिएर आन्दोलन भएको औंल्याउँदै उसले विगतका ती विफलतालाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सम्बोधन गर्नुपर्छ भनेको छ ।

ह्यूमन राइट्स वाचले अध्ययनका क्रममा ५२ जना प्रत्यक्षदर्शी, पीडित, पत्रकार, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, सुरक्षा अधिकारीहरुसँग अन्तर्वार्ता र कुराकानी गरेको थियो । उसले सामाजिक सञ्जालमा गरिएका पोष्ट, अनुसन्धानकर्मीहरुलाई ‘शेयर’ गरिएको फोटो र भिडियोको विश्लेषण गरेको थियो । अस्पताल, प्रदर्शनस्थल र आगजनी भएका ठाँउहरुको अवलोकनबाट समेत प्रतिवेदन तयार पारिएको भन्दै उसले अनुसन्धान काठमाडौं केन्द्रित रहेको स्पष्ट पारेको छ ।

सन् १९७८ मा स्थापित ह्यूमन राइट्स वाच एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जसले मानव अधिकार, हिंसा, युद्धअपराधलगायतको अनुगमन गर्छ । उसका अनुसन्धानकर्मीहरुले जेनजी आन्दोलनपछि काठमाडौंमा केन्द्रित भएर अनुसन्धान र अनुगमन गरेका थिए ।





Source link

Leave a Comment