प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ३२ दिनदेखि बन्द रहेको अवस्थामा ह्वाइट हाउस प्रशासनले संघीय आप्रवासन प्रवर्तन सञ्चालनमा केही ‘साँघुरो समायोजन’ गर्ने प्रस्ताव अघि सारेको छ। डेमोक्र्याटहरूले बजेट पारित गर्न राखेका कडा मागहरूको जवाफमा प्रशासनले मंगलबार सिनेटका रिपब्लिकनहरूलाई पत्र लेख्दै केही क्षेत्रमा लचिलो हुने संकेत दिएको हो।
ह्वाइट हाउसका बोर्डर जार टम होमान र विधायक मामिलाका सहयोगी जेम्स बेडले पठाएको पत्रमा अधिकारीहरूले आफ्नो परिचय स्पष्ट पार्नुपर्ने र ‘फिल्ड’ मा खटिँदा एजेन्सीको नाम खुलाउनुपर्ने उल्लेख छ। साथै, अस्पताल र विद्यालयजस्ता ‘संवेदनशील स्थान’ हरूमा नागरिक आप्रवासन प्रवर्तन गतिविधिहरूलाई सीमित गर्ने प्रस्ताव पनि गरिएको छ। यद्यपि, राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षाको हकमा भने यसमा छुट रहने जनाइएको छ।
डेमोक्र्याटहरूले भने प्रशासनको यो प्रस्ताव अझै अपर्याप्त भएको बताएका छन्। अल्पसंख्यक नेता चक शुमरले अधिकारीहरूले मास्क लगाउन नपाउने र निजी घर वा व्यवसायमा प्रवेश गर्न वारेन्ट अनिवार्य हुनुपर्ने जस्ता मुख्य मागहरूमा ह्वाइट हाउस अझै अनुदार रहेको टिप्पणी गर्नुभएको छ। मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्युपछि उठेको ‘बल प्रयोगसम्बन्धी नीति’ को मागलाई पनि पत्रले सम्बोधन नगरेको उनीहरूको गुनासो छ।
बजेट अभावका कारण विभाग बन्द हुँदा अमेरिकी विमानस्थलहरूमा यात्रुहरूले सास्ती भोग्नुपरिरहेको छ। बिना पारिश्रमिक काम गरिरहेका यातायात सुरक्षा प्रशासनका अधिकारीहरू बिदा बस्ने वा जागिर छाड्ने क्रम बढेपछि वसन्त ऋतुको यात्रा सिजनमा उडानहरू प्रभावित हुन थालेका छन्। ह्वाइट हाउसले डेमोक्र्याटहरूलाई सम्झौताका लागि गम्भीर नभएको आरोप लगाए पनि थप छलफलका लागि ढोका खुला रहेको बताएको छ।