हिमालको गीत गाउँदै हिमाल बिर्सिरहेका हामी

हिमालको गीत गाउँदै हिमाल बिर्सिरहेका हामी


अस्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः ।

पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्यां इव मानदण्डः ।।

– कुमार सम्भवम्

महाकवि कालिदासले हिमालय पर्वत शृङ्खलालाई पृथ्वीको मेरुडण्ड मात्रै मानेका छैनन्, हिमाल र समुद्रबीचको रोमाञ्चक सम्बन्धको छनक समेत दिएका छन् । पूर्वीय संस्कृति र साहित्यमा हिमाल नजोडिएको कुनै प्रसंग र साहित्य नै छैन । वैदिककालदेखिका हरेक धार्मिक ग्रन्थमा समेत हिमालय पर्वतको प्रसंग उठाइएको छ । सनातन धर्मावलम्बीको सबैभन्दा प्रसिद्ध ग्रन्थ श्रीमद्भागवत गीताको दशौं अध्यायको पच्चीसौं श्लोक भन्छ :

महर्षीणां भृगुरहं गिरामरम्येकमक्षरम् ।

यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालयः ।।

भगवान् श्रीकृष्णले आफ्नो वैभव हिमालय पर्वतसँग दाँजेर हेरेका छन् । यसले समेत हिमालको महत्व परापूर्वकालमा कति थियो भन्ने प्रष्ट दिन्छ । दुर्गा सप्तशती चण्डीमा राक्षसबाट प्रताडित देवताको सौर्यबाट उत्पन्न भएकी दिगम्बर देवीले हिमालय पर्वतलाई वासस्थान बनाएको प्रसंग होस् वा परीक्षितलाई राजकाज सुम्पिएपछिको पाण्डवको महापन्थ गमन नै किन नहोस्; हिमालको महिमा र महत्व त्यो समयमा अत्यन्तै उच्च स्थानमा रहेको पाइन्छ ।

हिमालय पर्वत पवित्रता र भिसुभियाको ज्वालापर्वत प्रलयको रूप मानिन्छ । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको कथामा वर्णन छ भने किराँत महादेव आएर हाम्रै हिमालमा खेलेको कथा पनि छ । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र सृष्टिकर्ताको महानतामा विश्वास गर्न मानिस बाध्य हुन्छ । उहिलेका ऋषिमुनिहरूले हिमालयमा ज्ञान पाए झैं रुसो, रस्किन, गोथे, नित्से, वर्डस्वर्थ, किट्स आदिले हिमालयमा शान्तिको प्रेरणा पाए । पूर्वलाई हिमालले जीवन दिएको छ, सभ्यता दिएको छ र मोक्ष पनि ।

भानु पराजुली

परापूर्वकालदेखि अहिलेसम्म विचार शुद्धि, आत्मा शुद्धि र आत्मबोध चाहने सबैको गन्तव्य हिमाल नै हुने गरेको छ । प्रसिद्ध सांगीतिक समूह जोन लेननको पूर्व मोह, अहिलेका माइक्रोसफ्टका जोन उडको अन्नपूर्ण क्षेत्रको पदयात्राको वर्णन र तिमी हिमालमा पुगेपछि, त्यहाँ उल्मरले हकारेको आवाज सुन्दैनौं भन्ने अर्ति पनि हिमालय क्षेत्रले दिने आत्मबोध हो ।

हिमाल दार्शनिकताको अपार स्रोत मात्रै होइन, सुन्दरताको मुहान पनि हो । गुराँसे वन, बुकेनी लेक, हिमशिलताले सिंगारिएको हिमालको दुनियाँ चहार्नु एउटा स्वच्छन्द वातावरणको भोग गर्नु पनि हो । सिन्दुरे बिहान, चहकिलो दिउँसो र सुनौलो साँझको रङफेराइ साँच्चै मोहनी लाग्दो छ । हिमाल एउटा अपरिमित क्रीडास्थल हो ।

हिमाल आरोहण गर्नु एउटा साहस हो त्यो पनि निर्दयी चट्टानमा विना रमिते खेल्नुपर्ने । कुहिरो माथिको चट्टानमा बस्न पाउनु एउटा भिन्न स्वर्गको यात्रा हो । बेलायती लेखक सर विलियम मार्टिन कनवेले सन् १८९५ मा प्रकाशन गरेको आफ्नो द आल्पस फर्म इन्ड टु इन्ड पुस्तकमा लेखेका छन्– कुनै पनि विदेशीले नेपाली हिमाल नचढ्दै हाम्रा करवीर बुढाथोकी र हर्कवीर थापाले सन् १८९४ मा आल्पसमा एक हजार माइल चहारेर स्विट्जरल्याण्डको एउटा चुली पहिलो पटक चढेका थिए, त्यसको नाम नै गोर्खाचुली राखिएको छ ।

कश्मिरदेखि आसामसम्म करिब १५०० माइल लामो लस्करमा हिमालय पर्वतमाला छ । त्यसमध्ये नेपालमा मात्रै ५०० माइल पर्छ, जहाँ विश्वका १० प्रमुख हिमालयहरूमध्ये ९ वटा त नेपालमै छन् । यस बाहेक अन्दाजी २४० चुलीहरू २० हजार फिट भन्दा अग्ला छन् भन्ने विभिन्न समयका अध्ययनले पुष्टि गरिसकेको छ । नेपालमा ६१ मिटरदेखि ८,८४८ मिटरसम्मको भौगोलिक विविधता भएका साना–ठूला गरी करिब ३ हजारभन्दा बढी हिमाल छन् ।

धेरैलाई केटाकेटीको वेला चीलको उडाइले ईर्ष्या लाग्छ र पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धा बन्ने गरेको देखिन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको एउटा सांस्कृतिक रूप हो । मानिसको आफ्नै जाँगरले जहिले पनि रहस्यको गहिराइमा छिर्न प्रेरित गरेको हुन्छ, र यस सभ्यताको राजमार्ग पनि त्यही डोरिएको भेटिन्छ, जस्तैः मिश्रको पिरामिड र चीनको पर्खाल ।

एउटा हिउँचुली माथि खुट्टा टेक्नलाई मात्रै समय, साहस र ज्यानैको बाजी ठोकेर कैयौं टाढाबाट यहाँ आएको मैले पाएको छु । त्यो कठ्याङ्ग्रिने हिमाल चढेर जीउ जोखिममा हाल्नु वास्तवमै मूर्खता हो, त्यो पनि लाखौं रुपैयाँ खर्च गरेर । समृद्धिको दाँजोमा हेर्दा हाम्रो यो परिभाषा सीमित जस्तै हुन पुग्छ । हामी बेसाहाको घेराभित्र पिल्सिएका छौं तर उनीहरू आर्थिक सम्पन्नतामा मनोरञ्जन खरिद गरिरहेका छन् ।

आफैंले रचेको आधुनिकताको साङ्लोबाट उम्कन थुप्रै विदेशी पर्यटक बनेर विश्व चहारिरहेका छन् । कतिपय अगुवा अन्वेषक भई बिरानो ठाउँ पुग्छन् त कतिपय पर्वतारोही भई मेसिनले पट्टिएको शरीरलाई प्रकृतिको सुदरतासँग भुलाइरहेको पाइन्छ ।

मेरो पहाडी गाउँ पञ्चासे आसपासका साना गाउँहरूमा कात्तिक अन्तिमदेखि फागुन अन्तिमसम्म उपल्लो हिमाली भेगका भोटे दाजुभाइहरू झर्थे । हिमाली जडीबुटी जस्तैः सिदेनुन, वीरेनुन, जिम्मु, सियो, नरिवल, बोकेर बेसी झर्थे जाडो छल्नका लागि मात्रै । कतिपय गाई तथा भेडीगोठ लिएर केही तल्लो खण्डसम्म मात्रै आउँथे । अनि बेसीमा फल्ने कोदो, गहुँ, लिएर फर्कन्थे, ‘सैनी र मीत’ लाउने संस्कृति पनि अचम्मै थियो ।

हिमालको गीत गाउँदै हिमाल बिर्सिरहेका हामी

यो सांस्कृतिक नातो गजबको हुन्थ्यो, पहाड र हिमाली काखमा बस्ने नागरिकहरू बीचको बलियो सम्बन्धको एउटा छनक । खै अचेल त्यस्तो देखिन्न । जातीयताको चर्को बहस चलेका बेला कता हरायो यो हाम्रो पुरानो सांस्कृतिक परम्परा । यो सबै हिमाली संस्कृति हो, जसलाई हिमालले जोगाएको थियो । आजकल हिमाल नै बिर्सिए जस्तै छ, त्यसैले यी सम्पदा विलाएका छन् मात्रै होइन भुलेका पनि छौं ।

मेरो आशय चाहिं अब यो होइन कि ? हामी नेपाली हिमाल हेरेर मख्ख छौं र मख्ख छौं, यिनै हिमालका गीत, कविता र कथा सुनेर । हिमालको सौन्दर्यमा मात्रै अलमलिनु वास्तविकता होइन, दीर्घकालीन लाभ लिन सक्नु पनि हो । समुन्नतितर्फको यात्रा हुनुपर्छ भन्ने हो । हिमाली क्षेत्रको विकासको आधार जैविक विविधता र हिमाली पर्यटन नै हो । नेपालका हिमालका बारेमा चर्चा र बहस चलेको पनि वर्षौं बित्न लाग्यो ।

अहिलेसम्म हिमाली क्षेत्रको विकासका लागि दीर्घकालीन कुनै पनि कार्ययोजना सुरु नहुनु दुःखको कुरा हो । हिमाली क्षेत्रमा बस्ने नेपाली नागरिकको जीवनशैलीमा खासै परिवर्तन आएको छैन भने हिमाली संस्कृति नै उच्च जोखिममा पर्दै गएको छ ।

प्रशस्त सम्भावना भएर पनि बत्तीको मुनि अँध्यारो जस्तै छ, हाम्रो हिमाली खण्ड एकातिर भने अर्कोतिर जोखिम पनि बढ्दै गएको देखिन्छ । नेपालका हिमनदीहरू पछिल्लो समय ३० सेन्टीमिटरदेखि १ मिटरसम्म वार्षिक रूपमा पातलिंदै छन् भने १० देखि २० सेन्टीमिटरसम्म वार्षिक पग्लिएर गएको सर्वेक्षणले देखाएको छ । अहिलेकै परिस्थितिमा ४ डिग्री सेल्सियस तापक्रम बढ्ने हो भने नेपालको आगामी पुस्ताको लागि हिमनदीहरू एकादेशको कथा बन्न सक्छ ।

नेपालमा अहिलेसम्म ५ वटा हिमतालहरू फुटिसकेका छन् भने संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम अन्तर्गत गरिएको एक अध्ययन अनुसार नेपालका ४० वटा हिमताल फुट्ने खतरामा छन् । च्छो–रोल्पा, थूलागी, वरुण, ईम्जा, गंगापूर्ण अर्थात् मनाङ्ग हिमताल उच्च खतरामा छन् । नेपालको तापक्रम प्रति दशक ०.४१ डिग्री सेल्सियसले बढेको अध्ययनहरूले देखाएको छ । बढ्दो तापक्रमले हिमाली क्षेत्रको चौंरीपालन समेत प्रभावित हुँदै गएको छ । ढिलो मनसुनका कारण ढिलो धान रोपाइँ हुने र धान कल्पना नै गर्न नसकिने गरी चाँडै पाक्न थालेको छ ।

नेपालका हिमालबाट बगेर गएको नदीको भारतमा छुट्टै नदी सभ्यता विकास भएको छ । तर, सभ्यताको पुजारी हिमाल हाम्रै कारणले संकटमा पर्दै गएको छ ।

जलवायु परिवर्तनको प्रभावले कीराहरूका कारण तोरी खेती ८० प्रतिशतसम्म कम हुनु, मकैलाई अलैंची र सुन्तलालाई अनारले विस्थापित गर्ने, खेती लगाउने समयमा वर्षा हुन छाड्नु, काँक्रोमा भाले फूल धेरै फुल्ने र आँप झर्न थालेको पाइन्छ । घट्दो पशुपालनका कारण गोबरमल घट्नु र बाँझो जमिन बढ्नु, कम पानीको उपलब्धताका कारण पानी तान्न थप ऊर्जाको आवश्यकता हुनु, सुख्खा नदी माथिका पुलहरू अर्थहीन देखिने कारणहरू पनि जलवायु परिवर्तनको चपेटामा परेको पाइन्छ ।

अनपेक्षित स्थानमा पहिरो, भूस्खलन हुने क्रम पनि बढेको छ । अहिले खासगरी हिमाली क्षेत्रमा लामखुट्टे देखिने गरेको छ । पहाडको गर्मी फाँटमा बस्ने बाँदरहरू हिमाल चढ्न थालेको पाइन्छ भने तराईमा देखिने सर्पहरू समेत हिमाली क्षेत्रमा हिंडेका छन् । कुकुरहरू एउटा मौसमको सट्टा वर्षभरि नै प्रजनन् क्रियामा सक्रिय हुन थालेको वैज्ञानिकहरूले निकालेको अध्ययनमा छ । धेरै झुसिलकीरा र नयाँ कीराहरू देखिने कारण पनि जलवायुमा आएको परिवर्तन नै हो । त्यसो त मानिसहरूमा नयाँ रोग देखापर्न थालेको पाइन्छ ।

नेपाल जस्तो भौगोलिक विविधताको बगैंचामा झन् छिटो जलवायु परिवर्तनको असर देखिन थालेको छ । पुस–माघको जाडो फागुनमा बढेको अनुभव हुन्छ भने जेठको अन्तिम सातादेखि सुरु हुने नेपालको मनसुन असारको मध्यमा मात्रै सक्रिय हुने गरेको छ । हिमाली र पहाडी भेगको जीवनशैलीमा सबैभन्दा बढी अन्तर देखिएको छ । पहाडका अधिकांश जग्गाहरू खेतीयोग्य नभएर बिग्रिएको छ । उच्चतम रासायनिक मलको प्रयोग पनि जग्गा बिगार्ने मुख्य कारक बन्दै गएको छ ।

माटोमा अम्लीयपन बढ्दै गएको छ, जसका कारण खेतीपातीमा प्रभाव परेको हो । यसमा पनि हरितगृह उत्सर्जन र सूर्यको परावैजनी किरण सोझै जमिनमा पर्ने अर्थात् ओजन तहको विनाश हुँदै गएपछि, हाम्रो दैनिकी जीवनमा समेत फरकपन आएको छ ।

भौगोलिक क्षेत्रका आधारमा तराई र मध्यपहाडी क्षेत्रमा भन्दा उच्च पहाडी, हिमाली तथा हिमालपारिका क्षेत्रमा तापक्रमको वृद्धिद्धर बढी छ । थपिएको पानीको भारले घचेट्दै ल्याउने हिमप्रवाहको थुप्रोले प्राकृतिक बाँधलाई भत्काउने जोखिमका कारण कतिपय समुदायहरू हिमताल फुट्ने भयमा बाँचिरहेका छन् । नेपालबाट वर्षेनि भारतीय उपमहाद्वीपमा बगेर जाने २२५ घनमिटर पानीको स्रोत पनि हिमाल नै हो ।

नेपालका हिमालबाट बगेर गएको नदीको भारतमा छुट्टै नदी सभ्यता विकास भएको छ । तर, सभ्यताको पुजारी हिमाल हाम्रै कारणले संकटमा पर्दै गएको छ । त्यस क्षेत्रका नागरिकहरू समेत वैकल्पिक पेशामा आकर्षित बन्दै गएको अहिलेको सन्दर्भमा हिमालका गीत र भाका धेरै भए, अब समुन्नति चाहियो भन्ने नै हो । त्यसैले अब हिमाली क्षेत्रको समग्र विकास र संरक्षणका लागि राज्यको ठोस कार्ययोजना सहितको कार्यक्रम लागू गर्नुपर्ने बेला भइसकेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School