प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार

इरानी जलसेनाका प्रमुख मारिएका छन्। इजरायली सेनाले इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) नौसेनाका कमाण्डर अलिरेजा ताङ्सिरी मारिएको दाबी गरेको छ। तर, इरानी अधिकारीहरूले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
इजरायलका अनुसार उनी हर्मुज जलमार्गमा बारुद बिछ्याउने तथा जहाज आवागमन अवरुद्ध गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए।
इजरायलका रक्षामन्त्री इजरायल कात्जले भने, “गएराति एक सटीक र घातक कारबाहीमा इजरायली रक्षा बलले आईआरजीसी नौसेनाका कमाण्डर ताङ्सिरीसहित वरिष्ठ नौसैनिक अधिकारीहरूलाई समाप्त गरेको छ। युद्धका उद्देश्य पूरा गर्न हामी इरानमा पूर्ण शक्तिका साथ कारबाही जारी राख्नेछौँ।”
कात्जले ताङ्सिरी नै हर्मुज जलमार्गमा जहाज आवागमन अवरुद्ध गर्ने गतिविधिका मुख्य जिम्मेवार व्यक्ति भएको थप दाबी गरे।
इजरायल र अमेरिकाले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि ताङ्सिरी झन् सक्रिय र सार्वजनिक रूपमा देखिन थालेका थिए। उनी उक्त जलमार्गमा जहाज आवागमन लगभग पूर्ण रूपमा अवरुद्ध गर्ने कार्यका प्रमुख योजनाकारमध्ये एक मानिन्छन्।
युद्धभरि सामाजिक सञ्जालमा सक्रिय रहेका ताङ्सिरीले मंगलबार मात्र एक सन्देशमार्फत उक्त जलमार्गबाट कुनै पनि जहाज आवागमन गर्न इरानको समुद्री निकायसँग पूर्ण समन्वय आवश्यक पर्ने बताएका थिए। साथै, उनले खाडी क्षेत्रमा आईआरजीसी नौसेनाका गतिविधिबारे नियमित जानकारी पनि साझा गर्दै आएका थिए।