सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ


९ वैशाख, काठमाडौं । उनी विभिन्न मोडेलका जुत्ता लगाउन औधी रुचाउँथे । नयाँ–नयाँ ढाँचाका जुत्ता किन्नु र संकलन गर्नु उनको सोख थियो । तर, उनले खोजे जस्तो मोडेलका जुत्ता बजारमा सितिमिति पाइन्थेन ।

विभिन्न मोडेलका जुत्ता किन्नै भनेर काठमाडौंका अल्ताफ रहमानले धेरै ठाउँ र पसल चहारे । बरु, त्यसरी डुल्दा उनले धेरै जोर जुत्ता फटाए, तर आफूले चाहेको जस्तो जुत्ता पाएनन् ।

एकदिन अल्ताफ यसै जुत्ता खोज्दै हिँडिरहेका थिए, उनको मनमा लाग्यो– ‘म जस्तै जुत्ताका सौखिन अरू पनि होलान् । मेरो जस्तै समस्या अरूको पनि होलान् !’

अनि, अल्ताफको मनमा झट्ट एउटा ‘आइडिया’ फुर्‍यो– ‘बरु, किन आफैं जुत्ता उद्योग नखोल्ने ?’

उनलाई थाहा थियो, जहाँ समस्या हुन्छ, त्यहीँ अवसर पनि सँगसँगै आइपुग्छ । उनले आफूले भोगिरहेको समस्यालाई अवसरमा बदले । अनि, आफूले खोजे जस्तै विभिन्न मोडेलका जुत्ता आफैं उत्पादन गर्ने निधो गरे । यो ६ वर्षअघिको कुरा हो ।

उद्योग नै खोल्न हल्काफुल्का लगानीले पुग्नेवाला थिएन । कसरी उद्योग खोल्ने त ? पैसा कताबाट कसरी जुटाउने ? यही ध्याउन्नमा अल्ताफ थिए ।

तत्काल दिमागमा अतिमिल्ने दुई साथीको नाम आयो । तुरुन्तै फोन घुमाए र भेटे फैयाज अलि र ताहिर अहमदलाई । दुवै साथीलाई जुत्ता उद्योग खोल्ने आइडिया ‘सेयर’ गरे । दुवै साथी अल्ताफसँग पूर्णसहमत भए । अनि अल्ताफले दुवैलाई साझेदार बनाए ।

अनि, तीन साथी मिलेर जुत्ता उद्योग खोल्न जोहो गरे १ करोड रुपैयाँ । भारतबाट कच्चापदार्थ ल्याएर काम थाले । जुत्ताको नाम राखे– ‘दुल्ला’ ।

जुत्ता बजारमा एकदमै छोटो समयमा ‘ब्रान्ड’ बनिसकेको दुल्लाले अहिले जुत्तामात्र नभई छालाका ब्याग, बेल्ट (पेटी) र अन्य सामग्री उत्पादन गर्दै आएको छ ।

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ

अनलाइनबाट बनेको दुल्लाको बजार

तीन साथीले जुत्ता उत्पादन त थाले, तर शोरुम नभएका कारण ‘अनलाइन प्ल्याटफर्म’ मार्फत नै बिक्री सुरु गरे । उनीहरूले उद्योग सुरु गर्दाताका नेपाली उपभोक्ताले अनलाइनमार्फत सामान खरिद (सपिङ) गर्ने चलन खासै चलिसकेको थिएन ।

तर, अल्ताफसहित तीनै साथी आफ्नो उत्पादनको गुणस्तरमा ढुक्क थिए । त्यसैले दुल्लाले ग्राहकलाई ‘ट्राई एन्ड बाई’ अफर दिन थाले । यो भनेको ‘अर्डर’ गरेको सामान चित्त बुझ्यो भनेमात्र खरिद गर्ने, चित्त नबुझे फिर्ता गर्न सकिने सेवा हो ।

कतिपय ग्राहकलाई फोटोमा देखेका भरमा सामान खरिद गरौं कि नगरौं भन्ने हुन्छ । त्यस्ता ग्राहक लक्षित गरेर दुल्लाले ट्राई एन्ड बाई सेवा थालेको अल्ताफ बताउँछन् ।

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ

‘सुरुको अवस्थामा हामीलाई आफ्नो ब्रान्ड स्थापित गर्नुपर्ने थियो । त्यसकारण हामीले एकदमै कम नाफा राखेर छालाको जुत्ता, ब्याग बजार ल्यायौं,’ अल्ताफ सम्झिन्छन् ।

दुल्लाको जुत्ता र अन्य सामग्री बिस्तारै ग्राहकले रुचाउँदै गए । बिस्तारै तिनै ग्राहक दोहोरिन थाले । धेरैजसो ग्राहकले ‘अनलाइनभन्दा स्टोर वा शोरुममै पुगेर छानिछानी किन्न पाए हुन्थ्यो’ भन्ने अनुरोध गरेपछि तीन साथीले काठमाडौं कमलपोखरीमा एउटा सानो शोरुम खोले । शोरुम र अनलाइन दुवै माध्यममा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएसँगै उनीहरूले आफ्ना उत्पादन बढाउँदै गए ।

विदेशी ब्रान्डलाई चुनौती दिन सक्ने डिजाइन र मूल्यको ‘फुटवेयर’ उत्पादन गर्ने लक्ष्य लिएर सुरु भएको दुल्ला अहिले काठमाडौंसहित दमक, धरान, चितवन, पोखरा र बुटवल आउटेलबाट बिक्री भइरहेको छ ।

त्यतिमात्र होइन, अस्ट्रेलिया, अमेरिका र बेलायतमा शोरुम खोल्ने अफर पनि दुल्लाले पाइसकेको छ ।

सुरुमा जुत्ता–चप्पलबाट थालिएको दुल्लाको व्यापार यतिबेला महिला र पुरुष दुवैका लागि ‘बेल्ट’, ‘वालेट’ र ब्यागसम्म आइपुगेको छ ।

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ

युवा रुचिअनुसार जुत्ता र ब्याग

अहिलेका युवा अरूभन्दा फरक कसरी देखिने भन्ने सोच्छन् । त्यसैले युवाको यही सोचअनुसार दुल्लाले एउटा डिजाइनको जुत्ता वा ब्याग उत्पादन सीमित (लिमिटेड) परिमाणमा गर्छ । जसले गर्दा डिजाइन जुध्ने सम्भावना कम हुन्छ ।

पछिल्लो समय युवतीमा लेदर (छाला) को ब्याग बोक्ने रुचि बढ्दो छ । अझै पार्टी, अफिस, घुम्न जाँदा छुट्टाछुट्टै ब्याग बोक्ने गर्छन् । यस्तोमा युवती लक्षित गरेर नयाँ–नयाँ डिजाइनमा लेदर ब्याग बजार ल्याएसँगै दुल्ला युवतीहरूको रोजाइमा पर्ने गरेको छ ।

दुल्लाले सबै सामग्रीमा गुणस्तरीय कच्चापदार्थ प्रयोग गर्छ । कुनै पनि जुत्ता वा ब्याग उत्पादन गर्दा डिजाइन, स्याम्पलिङ र टेस्ट गरिन्छ । लगाउँदा वा बोक्दा सहज छ कि छैन पनि जाँच गरिन्छ र त्यसपछि मात्र बिक्रीका लागि शोरुममा राखिन्छ । जसले गर्दा दुल्ला ग्राहकको रोजाइमा पर्न सफल भएको अल्ताफको अनुभव छ ।

दुल्लामा अहिले २ हजार ९ सय ९० देखि १४ हजार ९ सय रुपैयाँ सम्मको लेदरका विभिन्न सामान उपलब्ध छ ।

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ

मासिक ६ सय सामान बिक्री, ४० जनालाई रोजगारी

कम्पनी सुरुमा नै नाफामा जाने कुरा भएन । उनीहरूले त्यसबाट प्राप्त प्रतिफल थप लगानीका रूपमा खर्च गर्दै गए र बिस्तारै आफ्नो उत्पादन बढाउँदै गए ।

दुल्लाले सामान्य ग्राहकमात्र नभई एनसेल, डाबर नेपाल, सूर्य नेपाल जस्ता बहुराष्ट्रिय कम्पनीका लागि पनि सामान उत्पादन गर्दै आएको छ ।

सुरुका केही वर्ष स्थापित हुन नै संघर्ष गरेको र पहिले थोरै कामदारसाथ सुरु भएको दुल्लाले अहिले ४० भन्दा बढिलाई रोजगारी दिइरहेको छ । दुल्लाबाट अहिले लगभग दैनिक १८ देखि २० र मासिक ५ देखि ६ सयथान सामग्री बिक्री हुन्छ ।

‘नेपालमा कच्चापदार्थ नपाउने भएका कारण भारत र चीनबाट आयात गर्नुपर्छ । कच्चापदार्थ यहाँसम्म ल्याइपुर्‍याउन नै धेरै खर्च हुन्छ । जसले गर्दा उत्पादन खर्च पनि महँगो पर्न जान्छ,’ अल्ताफ भन्छन्, ‘हामीले त नेपालको अर्थतन्त्रमा केही न केही योगदान पुर्‍याएका छौं । रोजगारी सिर्जना गरेका छौं । यस्तोमा सरकारले कच्चापदार्थ आयात कर अलि कम गरिदिने हो भने अझै कम मूल्यमा ग्राहकलाई सामान दिन सक्छौं ।’

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइग्राहक सेवाबाट परिचित दुल्ला

पछिल्लो समय अनलाइन सपिङ गर्नेहरूको संख्या निकै बढेको छ । बजार गएर सामान रोजेर किन्ने समय धेरैसँग हुँदैन । त्यसैले मानिसहरू अनलाइन सपिङतिर मोडिएका छन् । यही कारण हो दुल्लाका उत्पादन अनलाइन प्ल्याटफर्ममार्फत नै धेरै ब्रिकी हुने गरेको ।

‘कोही काठमाडौँ उपत्यकामा हुनुहुन्छ र दुल्लाबाट केही सामान अर्डर गर्नुभयो भने अर्डर गरेको दिन नै सामान प्राप्त गर्नुहुन्छ, त्यही पनि निःशुल्क, अल्ताफ भन्छन्, ‘नेपालका अधिकांश सहरमा ग्राहकले अर्डर गरेको दिन नै सामान डेलिभरी हुन्छ । साथै, दुल्लाबाट सामान अर्डर गर्दा नेपालको प्रायः सबै स्थानमा हामी निःशुल्क डेलिभरी गर्दिन्छौं । गुणस्तरसँगै राम्रो ग्राहक सेवाका कारण दुल्ला ग्राहकको रोजाइमा परेको हो ।’

दुल्लाबाट किनेको ब्यागको छाला उक्कने, चेन भाँचिने जस्ता समस्या देखिए दुल्लाले अर्को नयाँ ब्याग उपलब्ध गराउने अल्ताफ बताउँछन् ।

‘हामी ग्राहकलाई सामान मात्र बेच्दैनौं, लेदरका सामान कसरी जतन गर्ने पनि सिकाउँछौं । साथै, जुत्ता किन्दा जुत्तासँगै जुत्तामा प्रयोग हुने पालिस, साइनर पनि निःशुल्क उपलब्ध गराउँछौ,’ उनी थप्छन् ।

सामानलाई कसरी जतन गर्ने भन्ने ‘टिप्स’ पनि दुल्लाले ग्राहकलाई दिने गरेको छ । दुल्लाको सामाजिक सञ्जालका पेजमा पनि यी टिप्स राखिएका छन् ।

‘लेदरका सामानमा लागेको फोहोर नरम, सुक्खा ब्रस वा कपडाले सफा गर्नुपर्छ । साथै, लेदरका सामानलाई सुक्खा, हावा चल्ने ठाउँमा राख्नुपर्छ । सिधा घाममा राख्नु हुँदैन,’ अल्ताफ भन्छन् ।

सोखले खुलेको ‘दुल्ला’, लिँदै बजार उचाइ
श्रीमती सबाना खातुनसँग दुल्लाका सञ्चालक अल्ताफ ।

अमेरिकादेखि अस्ट्रेलिया हुँदै युरोप निर्यात

दुल्लालाई नेपालसँगै नेपाल बाहिर बस्ने नेपालीले पनि उत्तिकै रुचाएका छन् । त्यसैले नेपाल आएको बेला यहाँबाट सामान लिएर जाने गर्छन् ।

दुल्ला ब्रान्डका सामान अमेरिका, न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, जापान, दुबई, बेलायतसहति केही युरोपेली देशबाट अर्डर आउने गरेको छ । दुल्लाले आफ्ना उत्पान विभिन्न देशमा निर्यात पनि गर्दै आएको छ ।

‘लेदरबाट बन्ने लगभग सबै सामग्री दुल्लामा उपलब्ध छ । तर, लेदरको ज्याकेट भने उत्पादन गरेका छैनौं । पछिल्लो समय लेदर ज्याकेटको माग ग्राहकबाट आएको छ । त्यसैले अब लेदर ज्याकेट पनि उत्पादन गर्ने योजना छ ।’

त्यसैगरी ग्राहकले नै ललितपुरमा दुल्ला आउटलेट खोल्न आग्रह गरेका छन् । यही वर्षभित्र काठमाडौं र ललितपुरमा थप दुई आउटलेट खोल्ने योजना अल्ताफ सुनाउँछन् ।

तस्वीरहरू : शंकर गिरी/चन्द्र आले





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School