समुदायको सङ्कट व्यवस्थापनको औजारको रूपमा २०१३ सालमा स्थापना भएको सहकारी सङ्ख्यात्मक रूपमा २०८२ असारसम्म ३२ हजार ९६५ पुगेको छ। नेपालको वित्तीय समावेशीकरण, ग्रामीण विकास र सामुदायिक सशक्तीकरणमा सहकारीले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सहकारी सङ्घ/संस्थामा कुल सेयर पुँजी रु. १ खर्ब ४३ अर्ब रहेको छ भने बचत परिचालन ११ खर्ब २५ अर्ब पुगेको छ। त्यस्तै ऋण परिचालन ९ खर्ब २३ अर्ब रहेको छ।
औपचारिक बैंकिङ प्रणालीको पहुँच सीमित रहेको अवस्थामा सहकारीहरूले जनताको स-साना बचतलाई सङ्गठित गरी सदस्यहरूको बीच लगानी गर्न सहयोग गरेका छन्। सहकारी अभियान केवल आर्थिक गतिविधि मात्र नभई सामाजिक न्याय, सहभागिता, आत्मनिर्भरता र लोकतान्त्रिक अभ्यासको एक जीवन्त अभ्यास पनि हो। त्यसैले सहकारी नेपाली अर्थव्यवस्थाको महत्त्वपूर्ण आधार बन्न पुगेको छ।
नेपालमा सहकारीको अवधारणा
नेपालमा सहकारी अभियान स्थापनाकालमा कृषि र उपभोक्ता सहकारीहरूमा केन्द्रित भए पनि समयक्रममा बचत तथा ऋण सहकारीहरू तीव्र गतिमा विस्तार भएर गएको पाइन्छ। सामाजिक तथा राजनीतिक विकासका आधारले सहकारीहरूको विकासमा पनि असर गरेको पाइन्छ। सहकारीका सन्दर्भमा विकासका चरणहरूलाई चार चरणमा लिन सकिन्छ :
• प्रारम्भिक चरण: २०१७ सम्म यस चरणमा सहकारी स्थापना पनि भयो तर उल्लेख्य विकास भएको थिएन। सहकारी ऐन २०१६ आयो तर कार्यान्वयन हुन पाएन। राज्यको पहिलो आर्थिक योजनामा सहकारी परे पनि कार्यान्वयन हुन पाएन, तर २०१० मा सहकारी विभाग स्थापना भयो र सहकारी स्थापना र विकासको बीउ रोपियो।
• दोस्रो चरण (२०१७ देखि २०४८): यो राज्य नियन्त्रित चरण हो। यस चरणमा सरकारसमेत सहभागी साझा सहकारी राज्य नियन्त्रित संयन्त्रको रूपमा विकास भयो। सीमित स्वायत्तता प्राप्त भए पनि राज्यको नीतिमा निर्भर भएका कारण समुदाय स्तरमा राम्रो विकास हुन नसके पनि सहकारीको विकासमा प्रारम्भिक चरणभन्दा सङ्ख्यात्मक विकास भएको थियो।
• उदारीकरण चरण: सहकारी ऐन २०४८ पछि सहकारीको सङ्ख्यात्मक विकास मात्र भएर समुदाय स्तरमा जनसङ्गठनको रूपमा विकास भयो। राज्यले लिएको उदार अर्थव्यवस्थामा सहकारीहरूको सङ्ख्या, आकार र पहुँच विस्तार भयो। राज्यका योजनाहरूमा सहकारी प्राथमिकतामा परेको हो।
• दुविधाको चरण: २०७२ सालको संविधानपछि सहकारी दुविधाको चरणमा प्रवेश गरेको हो। तीव्र रूपमा सहकारीहरूको सङ्ख्यात्मक विकास भएको, करको दर बढेको, सुपरिवेक्षणमा तीन तहको सरकारको जिम्मेवारीले दुविधा भयो। सहकारी ऐन २०७४ आयो तर सहकारी क्षेत्रले खोजेको विकास हुन सकेन। कागजमा सबै कुरा भएर पनि व्यवहारमा केही नपाएको चरणको रूपमा यो अवधिमा सहकारी क्षेत्र विकास भयो।
आज नेपालमा हजारौँ बचत तथा ऋण सहकारी संस्था छन् जसले लाखौँ सदस्यलाई सेवा दिइरहेका छन् तर सङ्ख्या बढेसँगै गुणस्तर र सुशासनमा प्रश्न उठ्नु स्वाभाविक भएको भाष्य विकास भएको छ। सहकारीको छवि कमजोर भएको हो कि भन्ने भान भएको छ तर समुदाय स्तरमा भूमिका कमजोर भएको छैन, निरन्तर बढिरहेको छ। कारोबार र पहुँच निरन्तर बढेको छ। वित्तीय क्षेत्रमा विकास भएका प्रविधिहरूको कारण सहकारी रूपान्तरणको चरण कुरेर बसेको पाइन्छ।
नेपालको सहकारी आन्दोलनले वित्तीय समावेशिता, स्थानीय विकास र नागरिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तर पछिल्ला वर्षहरूमा केही सहकारी संस्थामा देखिएका वित्तीय अनियमितता, कमजोर सुशासन, जोखिम व्यवस्थापनको अभाव र नियमन कमजोरीका कारण सहकारी क्षेत्रप्रति जनविश्वासमा ह्रास आएको छ। यस्तो अवस्थामा “सुदूर क्षितिजको सुरक्षित सहकारी अभियान” लक्ष्यसहित सुरक्षित, पारदर्शी र उत्तरदायी सहकारी प्रणाली निर्माण गर्नुपर्नेछ।
सुदूर क्षितिजको सुरक्षित सहकारी अभियान भन्नाले तत्काल समस्या समाधान मात्र होइन, भविष्यमा आउने जोखिमहरूलाई समेत पूर्वानुमान गरी सहकारी प्रणालीलाई सबल, अनुशासित र विश्वसनीय बनाउने दीर्घकालीन कार्यप्रणालीलाई जनाउँछ। यस अभियानको केन्द्रबिन्दुमा सदस्यको बचत सुरक्षा, संस्थागत स्थायित्व र प्रणालीगत जोखिम न्यूनीकरण रहेको हुनेछ। सरकार र अभियानको सहयात्रा भएको हुनेछ।
सहकारी अभियानको आफ्नै सुरक्षित प्राविधिक प्रणाली विकास गरिएको हुनेछ। सहकारी बन्द हुने दर शून्य भएको हुनेछ। सुरक्षित, पारदर्शी, सुशासित र सदस्य–केन्द्रित सहकारी प्रणाली निर्माण भएको हुनेछ। सरकार नियन्त्रणमुखी भन्दा सहजकर्ताको रूपमा सहयोगी सहयात्री हुनेछ। अभियान स्वनियमनमा आधारित नै हुनेछ।
सदस्यको बचत र लगानीको पूर्ण सुरक्षा भएको हुनेछ। सहकारी संस्थाको वित्तीय स्थायित्व उच्च स्तरको हुनेछ। सहकारी वित्तीय क्षेत्र परम्परागत बैंकिङभन्दा बृहत् र समुदायमा आधारित हुनेछ। सहकारी क्षेत्रको प्रविधि र जनशक्ति नमुनायोग्य हुनेछ।
सहकारी एकीकरण नीति: नीतिमार्फत क्षमता विकास गराउन सकिने अवसर अभियानमा बाँकी रहेको छ। सेवा प्रवाहमा सहकारीहरूबीच प्रतिस्पर्धा कम गर्न र अरू वित्तीय संस्थाहरूको प्रतिस्पर्धा गर्न सक्षम बनाउन एकीकरणलाई अनिवार्य अवयवको रूपमा विकास हुन सम्भव छ
सहकारी क्षेत्रमा दीर्घकालीन जनविश्वास कायम भई प्रणालीगत जोखिमबाट सहकारी क्षेत्रको संरक्षण भएको हुनेछ। जोखिम व्यवस्थापनका लागि अभियान सक्षम भएको हुनेछ। सदस्यहरूलाई सेवा र प्रतिफल दर बजारभन्दा उत्कृष्ट हुनेछ। शून्य आपराधिक घटना हुने क्षेत्रको रूपमा वित्तीय सहकारीहरूको विकास भएको हुनेछ। उत्पादनमूलक ऋण र उद्यमशीलता सिक्ने थलोको रूपमा अभियान विकास भइसकेको हुनेछ।
पुँजीबजार, बिमा र सरकारी ऋणपत्रहरूमा सहकारीको योगदानको दर वृद्धि भएको हुनेछ। सबै बचत तथा ऋण सहकारीहरू सञ्जालिकृत भई सेवा प्रवाह गर्न सक्षम हुनेछन्। बचत तथा ऋण सहकारीहरूको लागि अलग्गै विशेष ऐन कार्यान्वयन भएको हुनेछ।
सुशासन तथा प्रभावकारी नेतृत्व नै सहकारी क्षेत्रको दिगोपन र विश्वासको स्तर बढाउने माध्यम हो। सुशासनविना अरू सबै कोरा कल्पना हो। सहकारीमा सुशासन कमजोर भएको छ। यो निर्माणको लागि समयको माग हुन्छ। रातारात सुशासन कायम गर्न सकिँदैन। सुशासनका लागि नेतृत्वको प्रतिबद्धता आवश्यक हुन्छ।
प्रभावकारी नेतृत्वविना सुशासन सम्भव छैन। सहकारी संस्कृति भएको नेतृत्व विकास नगरी दिगो सुशासन कायम हुन सक्दैन। सदस्य हितमा खुसी हुने नेतृत्वविना पनि सुशासनको जग बलियो बन्दैन। सहकारीमा व्यक्तिगत, आन्तरिक र बाह्य सुशासन कायम गर्न आवश्यक छ। नेतृत्व र सुशासन भनिने वा लेखिने विषय होइन, अभियानले अनुभूतिको विषय हो। सहकारीका लागि नेतृत्व गर्नेहरूको आवश्यकता छ।
वित्तीय अनुशासन र जोखिम व्यवस्थापन नै बचत तथा ऋण सहकारी हो। आज केही संस्थाहरूमा समस्या भएको पनि निश्चित हो। त्यसको व्यवस्थापनका लागि यो भन्दा उच्च स्तरको सदाचार आवश्यक छ। अभियान नाफामा होइन, सेवामा परिमार्जन हुन आवश्यक छ।
सहकारिताविनाको कारोबार र बजारमुखी व्यवस्थापनले मात्र सहकारीलाई दिगो बनाउँदैन। लाभ, लागत, बाँडफाँटभन्दा माथि उठेर सदस्यहरूको स्रोतको प्रभावकारी परिचालन सुनिश्चित गरिनुपर्दछ। वित्तीय अनुशासन अनुपात वा सूत्रबाट होइन, सदस्य, सञ्चालक तथा सरोकारवालाहरूको प्रतिबद्धताबाट मात्र आउने हुन्छ। तरलता सङ्कट र खराब कर्जाको जोखिम व्यवस्थापनका लागि भरपर्दो प्रणाली विकास नगरी सहकारी संस्थाको दिगोपना सुनिश्चित गर्न कठिन हुन्छ।
प्रभावकारी स्वनियमन र नियमन सहकारी सञ्चालनको एउटै रथका दुईवटा पाङ्ग्रा हुन्। स्वनियमन सहकारीको आत्मा हो। आज सहकारी अभियानमा आत्मस्वाभिमान कमजोर बनाइएको छ। सहकारी अभियानको स्वाभिमान नबढेसम्म छवि र छवि नबढेसम्म विश्वास बढाउन सकिँदैन। सबै मिलेर सबै सहकारी संरक्षण गर्न आवश्यक छ।
सरकारले सहकारी संरक्षणभन्दा नियमन र सङ्कुचनको बाटो लिँदा आजको दिन आएको हो। नियमन आवश्यक खराबी हो। नियमनमा भन्दा स्वनियमन प्रभावकारी हुने विधिहरू नीतिगत रूपमै खोजिनुपर्दछ। स्वनियमन भनेको ‘नो नियमन’ होइन। नियमन गर्दा स्वनियमन नगर्ने भन्ने हुनु हुँदैन। सहकारीको दिगो विकासका लागि स्वनियमनमा आधारित नियमन नै आवश्यक छ।
पारदर्शिता र सूचना प्रवाह बचत तथा ऋण सहकारी सञ्चालनको आधार हो। सदस्यहरूमा मात्र सूचना पुगेर हुँदैन, सरोकारवालाहरू पनि सुनिश्चित हुनुपर्दछ। आज सूचनाको युग हो, सबै सदस्यहरूको हात–हातमा सूचना पुग्न आवश्यक छ। सूचनाविना पारदर्शिता कल्पना पनि गर्न कठिन छ। कारोबारको पारदर्शिता सदस्य, सञ्चालक र व्यवस्थापन सबै तहमा हुन आवश्यक हुन्छ। कानुन परिपालना र निर्णयको पारदर्शिताले मात्र सहकारीहरूको वृद्धि र विकास सम्भव छ।
सदस्य शिक्षा र सशक्तीकरण
सहकारीका सदस्य तथा संस्थाहरूमा शिक्षा र सशक्तीकरण बढाउन आवश्यक छ। संस्थागत विकासका लक्ष्यहरू हासिल हुन व्यवस्थापन र सञ्चालकहरूको सशक्तीकरण आवश्यक छ। निरन्तर शिक्षा, सूचना, प्रवर्द्धनका माध्यमबाट सहकारिताको सशक्तीकरण गर्न सकिन्छ। सहकारीको शिक्षा हात–हातमा पाउने व्यवस्था हुनु आवश्यक छ।
कानुनी सुधारमार्फत वित्तीय सहकारी ऐन: बचत तथा ऋण सहकारीहरूको सपना हो। व्यावसायिक आकार–क्षेत्र जस्तो भए पनि औपचारिक रूपमा वित्तीय कारोबार गर्न वित्तीय सहकारी ऐन आजको आवश्यकता हो। यसले तरलता व्यवस्थापन, ऋण व्यवस्थापन, सञ्चालकहरूको संरक्षण गर्न आवश्यक छ। सहकारीहरू सेवामा सहकार्य गरेको पाइएको छैन। सहकार्य भएका क्षेत्रहरूमा पनि पेसागत मर्यादाको परिपालना भएको छैन। त्यसैले कानुन तत्काल सुधार गरी वित्तीय सहकारी ऐन निर्माणले मात्र यस क्षेत्रका बृहत् समस्याहरूको समाधान दिन सक्दछ।
सहकारी सिद्धान्तहरूको परिपालना: सहकारी सिद्धान्त परिपालना भन्नाले अन्तर्राष्ट्रिय सहकारी सङ्घ (आईसीए) र विश्व ऋण परिषद्द्वारा प्रतिपादित सिद्धान्तहरूको परिपालना हो। स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा–प्रशिक्षण तथा सूचना, सहकारीबीच सहकार्य, र समुदायप्रति सरोकार—लाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो।
यी सिद्धान्तहरूको पालना हुँदा सहकारी संस्था पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बन्छन्। निर्णय प्रक्रिया लोकतान्त्रिक र सहभागितामूलक हुन्छ। आर्थिक क्रियाकलाप सुरक्षित र दिगो हुन्छ तथा संस्था समुदायको सामाजिक–आर्थिक विकासमा सक्रिय भूमिका खेल्न सक्षम हुन्छ। त्यसैले सहकारीको दीर्घकालीन स्थायित्व, सुशासन र विश्वास कायम गर्न सिद्धान्त परिपालना अनिवार्य आधार हो भन्न सकिन्छ।
आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाएर सहकारी क्षेत्र सुरक्षित बन्न सक्दैन। आन्तरिक नियन्त्रणविना क्षेत्रगत सुरक्षा सम्भव छैन। आन्तरिक नियन्त्रण प्रणाली एक प्रक्रिया हो जुन संस्थाको नेतृत्व, व्यवस्थापन र कर्मचारीहरूले संस्थाको लक्ष्य हासिल सुनिश्चित गर्नका लागि सञ्चालन गर्छन्।
नियन्त्रित वातावरण (प्रणालीको आधार, शीर्षस्तरबाटै राम्रो नैतिक आचरण, जिम्मेवारी बाँडफाँट, स्पष्ट सञ्चार र उत्तरदायित्व सुनिश्चित), जोखिम मूल्याङ्कन (आन्तरिक र बाह्य जोखिम पहिचान, विश्लेषण र व्यवस्थापन), नियन्त्रित गतिविधि (व्यवस्थापनले नीतिहरू र प्रक्रियाहरूमार्फत जोखिमहरू कम गर्न आवश्यक नियन्त्रित कार्यहरू डिजाइन र कार्यान्वयन), सूचना र सञ्चार (उचित सूचना उपलब्ध गराई आन्तरिक र बाह्य रूपमा प्रभावकारी सञ्चार सुनिश्चित) र अनुगमन प्रभावकारिता सुनिश्चित हुन आवश्यक छ।
बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष सहभागिता नै जोखिमबाट संरक्षणको आधार हो। अभियानको जगेडा कोषको रूपमा स्थिरीकरण कोषको सुदृढीकरणबाट बचत तथा ऋण सहकारीहरू आबद्ध भएर मात्र सम्भव छ।
डिजिटल प्रणाली र एआईको प्रयोग: डिजिटल सेवाहरूको विकास र प्रयोग नै सञ्जाल संरक्षणको मूल आधार हो। प्रविधिमैत्री सहकारिता नै दिगोपनको आधार हो।
सहकारी एकीकरण नीति: नीतिमार्फत क्षमता विकास गराउन सकिने अवसर अभियानमा बाँकी रहेको छ। सेवा प्रवाहमा सहकारीहरूबीच प्रतिस्पर्धा कम गर्न र अरू वित्तीय संस्थाहरूको प्रतिस्पर्धा गर्न सक्षम बनाउन एकीकरणलाई अनिवार्य अवयवको रूपमा विकास हुन सम्भव छ।
सुदूर क्षितिजको सुरक्षित सहकारी अभियान कुनै एक कार्यक्रम वा नारा मात्र होइन, यो दीर्घकालीन सोच, संरचनागत सुधार र सामूहिक प्रतिबद्धता हो। जब सहकारी संस्था सुरक्षित हुन्छन्, तब मात्र सदस्य सुरक्षित हुन्छन् र सहकारी आन्दोलनले आफ्नो मूल उद्देश्य—आर्थिक न्याय र समावेशी विकास—पूरा गर्न सक्छ।
(ढकाल नेपाल बचत तथा ऋण सहकारी राष्ट्रिय महासङ्घ (नेफ्स्कुन) का अध्यक्ष हुन्।)
