सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना निर्माण


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा ५ कट्ठा ३ धुर जग्गा अतिक्रमणमा परेर २ हजार ७३३ वटा घर, भवन, मन्दिर र आश्रम बनेका छन्।
  • आयोजनाले अतिक्रमित जग्गा र संरचना हटाउन प्रशासनलाई पत्राचार गरी कानुनअनुसार कारबाही र संरक्षणका लागि सहयोग मागेको छ।
  • २०७२ सालमा केही जग्गा खाली गराए पनि पूर्ण खाली गर्न नसक्दा अहिले पुनः २० दिनअघि जिल्ला प्रशासनलाई पत्राचार गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया सुरु गरेको छ।

३ जेठ, सुनसरी । देशकै पुरानो र ठूलो सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा बढी जग्गा अतिक्रमण भएको छ । अतिक्रमित १११ बिघा ५ कट्ठा ३ धुर जग्गामा २ हजार ७३३ वटा घर, भवन, मन्दिर, आश्रम, कुटी र घर–टहरा निर्माण भएको आयोजनाको ठहर छ ।

आयोजनाले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा र त्यहाँ बनेका भौतिक संरचना हटाउन प्रशासनसँग अनुरोधसमेत गरेको छ । आफ्नो स्वामित्वमा रहेका जग्गाहरूमा बनेका अनधिकृत भौतिक संरचना हटाई सरकारी जग्गा संरक्षण गर्न आयोजनाले सुनसरी र मोरङका जिल्ला प्रशासनलाई छुट्टाछुट्टै पत्राचार गरेको छ ।

प्रशासनलाई बुझाएको पत्रमा आयोजनाले आफ्नो स्वामित्वमा रहेको कोलोनी र नहर प्रणालीहरूमा अतिक्रमण भएका वास्तविक स्थानको पहिचान गरी लगत लिएको तथ्य, अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने व्यक्तिहरूको नाम, ठेगानासहित अतिक्रमण गरेको जग्गाको क्षेत्रफल समेत प्रस्ट्याएको छ ।

सुनसरीको उत्तरी भेगमा पर्ने बराहक्षेत्र नगरपालिकाको (कोशीको नयाँपुल) देखि दक्षिण चतरा इन्टेकदेखि मोरङको बुधनगरसम्म ५३ किलोमिटर लम्बाइको मूल नहर, २०३ किलोमिटर लम्बाइका १९ शाखा र उपशाखा नहर, २३४ किलोमिटर लम्बाइका साना शाखा नहर (जसले २०० देखि ५०० हेक्टरसम्मका जमिनमा सिंचाइ सविधा पुर्‍याउने क्षमता राख्छ) का डिल र आसपासका जग्गा अतिक्रमण गरेर अनधिकृत रूपमा भौतिक संरचना बनाएको ठहर आयोजनाको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तेज रिजालद्वारा हस्ताक्षरित पत्रमा जग्गा अक्रिमण गरेर सिंचाइ सुविधामा हानि–नोक्सानी पुर्‍याउनेलाई प्रचलित कानुनअनुसार कारबाही गरी कोलोनीहरू, चतरा मूल नहर र शाखा प्रशाखा नहर प्रणालीहरू संरक्षणका लागि सहयोग गर्न पनि अनुरोध गरेको छ ।

आयोजनाले विशेषगरी सिँचाइ प्रणालीको प्रभावकारिता कायम राख्न र सरकारी सम्पत्तिको रक्षाका लागि सुनसरी र मोरङका जिल्ला प्रशासन कार्यालयहरूबाट आवश्यक पहल तथा सहजीकरणको अपेक्षा राखेको आयोजनाका निमित्त आयोजना निर्देशक मनोहरकुमार साहले बताए । पत्रको बोधार्थ जलस्रोत तथा सिँचाइ विभाग, जावलाखेललाई समेत दिइएको छ ।

आयोजनाको जग्गा कहाँ, कति अतिक्रमण ?

आयोजनको सुनसरी र मोरङका २० वटा नहरका प्रणालीमा २ हजार ७३३ वटा घर, भवन, मन्दिर, आश्रम, कुटी र घर टहरा गरी अर्बौंका भौतिक संरचनाहरू बनेका छन् । ती संरचनाले आयोजनाको १११ बिघा ५ कट्ठा ३ धुर क्षेत्रफल अतिक्रमण गरेका छन् ।

आयोजनाले तयार पारेको पछिल्लो तथ्याङ्कअनुसार सुनसरी र मोरङका विभिन्न नहर प्रणाली र कोलोनीहरूमा ठूलो सङ्ख्यामा निजी घरटहरा र धार्मिक तथा सामुदायिक संरचनाहरू निर्माण भएका छन् ।

अतिक्रमणको चपेटामा परेको आयोजनाको ठूलो क्षेत्रमध्ये सुनसरीतर्फका विभिन्न ११ वटा नहर प्रणालीमा मात्रै १ हजार ७७४ वटा घरटहरा निर्माण भएका छन् । जसले ८१ बिघा ४ कट्ठा १५ धुरभन्दा बढी क्षेत्रफल ओगटेको छ ।

सबैभन्दा बढी अतिक्रमण बराह क्षेत्रको चतरास्थित चतरा मूल नहरमा ५१ बिघाभन्दा बढी र सीतागञ्ज शाखा नहरमा २ बिघा ८ कट्ठा जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा भौतिक संरचनाहरू निर्माण गरिएको छ ।

सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना निर्माण

विभिन्न चरणमा आयोजनाको स्तरोन्नति भइरहेको यो आयोजनाले आफ्नो भौतिक पूर्वाधार निर्माणका लागि सुरक्षित राखेको जग्गामध्ये बराह क्षेत्रको चतरामा धर्मगुरु बालसन्त देवाचार्य र सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीले करोडौंका भौतिक संरचना बनाएका छन् । चतराको जग्गा आयोजनाको ‘वर्किङ साइट’ का लागि राखिएको हो ।

सिंचाइ आयोजनाको जग्गामध्ये बालसन्त मोहनशरण देवाचार्यले आश्रम, मन्दिर र धर्मशाला निर्माण गर्न भन्दै २ बिघा ४ कट्ठा क्षेक्रफल ओगटेका छन् । उनले आयोजनाको जग्गामध्ये बालसन्त धर्मशालाको नाममा १३ कट्ठा १९ धुर, बालसन्त मन्दिरको नाममा ३ कट्ठा ४ धुर र बालसन्त कुटीको नामा १ बिघा ७ कट्ठा १५ धुर जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेका छन् ।

गिरी एक्लैले आयोजनाको ८ बिघा जग्गा अतिक्रमण गरेका छन् । आयोजनाको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी उनले ८ वर्षअघि ८ करोड रूपैयाँको १२८ कोठे वातानुकुलित भवन निर्माण गरेका छन् । उनले कृष्णदास धर्मशालाका नाममा एक बिघा १३ कट्ठा १८ धुर, सिद्धबाबा गोदामका नाममा ४ बिघा १४ कट्ठा ११ धुर र कृष्णदास आश्रमको नाममा एक बिघा ९ कट्ठा ११ धुर जग्गा अतिक्रमण गरेको आयोजनाले स्पष्ट पारेको छ ।

अतिक्रमण गरेर बनाएको भवनलाई आश्रमका रूपमा प्रयोग गर्दै गिरीले धनीमानी वृद्धवृद्धालाई मासिक र वार्षिक रूपमा महँगो शुल्क लिएर वतानुकुलित कोठा बिक्री गर्दै आएका थिए । उक्त भवनको एक भागमा गिरीले केही वर्ष यतादेखि जगदगुरु श्री रामनान्दाचार्य गुरुकुलको नाममा ‘मोडर्न एजुकेसन विथ एन्सिएन्ट विज्डम’ लेखिएको बोर्ड झुन्ड्याएका छन् ।

उनले बनाएको भवनको जगमुनि चतरा मूल नहरबाट मेसिनले फालेको बालुवा जाने तीन वटा पाइप लाइन छन् । पाइप लाइन विस्तार भएको थाहा हुँदाहुँदै गिरीले भवन निर्माण गरेका थिए ।

गिरी र बालसन्तको भवन नजिकै कुम्भस्तम्भ छेउमा रामशान्ति कुञ्ज महिला आश्रम छ । उक्त आश्रमले १४ कट्ठा १६ धुर जग्गा अतिक्रमण गरेको छ । उक्त आश्रम पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेले सञ्चालन व्यवस्थापन गर्दै आएकी छन् ।

सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना निर्माण

आयोजनाको जग्गामै दुर्बासा घाट महिला सामुदायिक बन उपभोक्ता समिति भवन निर्माण गरिएको छ । त्यसैको सेरोफेरोमा छेवाङ टासी छ्योलिङ गुम्बा पनि निर्माण गरिएको छ ।  गुम्बाकै आसपास घिमिरे बिष्ट वंश केन्द्रको भवन पनि छ । सँगसँगै, खप्तडी बस्नेत वंशको भवन, राम मन्दिर, कुम्भ स्तम्भ, भण्डारी वंशको भवन निर्माण गरिएको छ । यस्तै, अद्वैत संस्था संरक्षण मञ्च नेपाल, नेपाल दशनाम सन्यासी आध्य जगदगुरु श्री शङ्कराचार्य मठ आदि पनि निर्माण गरिएको छ ।

सुनसरीमा पर्ने चतरा मूल नहरको ५१ बिघा ८ कट्ठा १ धुर जग्गा अतिक्रमण गरी २८४ वटा घर बनेका छन् । चतरा नहरकै सुखसेना शाखा नहरको ३ बिघा ८ कट्ठा १८ धुर जग्गा अतिक्रमण गरी १७० वटा घर बनेका छन् ।

हरिपुर शाखा नहरमा १ बिघा २ कट्ठा १ धुर अतिक्रमण गरी २२ जनाले घर बनाएका छन् । रामधुनी उपशाखा नहरमा ७ कट्ठा ९ धुर अतिक्रमित जग्गामा २६ जनाले घर बनाएर बसेका छन् ।

मानिक चौरी उपशाखा नहरमा ५ कट्ठा १५ धुर जग्गामा २० घर, सिंगिया उपशाखा नहरको ३ बिघा १२ धुर जग्गामा ९३ घर, शंकरपुर शाखा नहरको ४ बिघा ४ कट्ठा ११ धुरमा १२७ घर, सोही शाखाबाट छुट्टिएका धनबहादुर माइनरको १ घिा ९ कट्ठामा ६१ घर, बलाहा माइनरको १३ कट्ठा २ धुरमा २७ घर, इनरुवा माइनरको १६ कट्ठामा ३५ घर, होलैया माइनरको १ बिघा १ कट्ठा ८ धुरमा ४६ घर, बबिया माइनरको १ बिघा ६ कट्ठा २ धुरमा ६३ घर र गौतमपुर माइनरको १ बिघा १८ कट्ठा १३ धुरमा ८१ घर निर्माण भएका छन् ।

यसैगरी, आयोजनाको एसएसजे झुम्का उपशाखा नहरको १८ कट्ठा ५ धुरमा ५२ घर, विश्रामपुर माइनरको ५ कट्ठा १९ धुरमा २४ घर, सीतागञ्ज शाखा नहरको २ बिघा ८ कट्ठा १ धुरमा २०९ घर, रामगञ्ज शाखा नहरको ४ बिघा १९ कट्ठा १५ धुरमा २५४ घर र दुहवी माइनरको १ बिघा १० कट्ठा १८ धुरमा १८० घर निर्माण भएको आयोजनाले दिएको तथ्याङ्कमा उल्लेख छ ।

चतरा मूल नहरको इन्टेकमा बालसन्तको आश्रम, बालसन्तको कुम्भ स्तम्भ, बालसन्तको राधाकृष्ण मन्दिर, कृष्णदासको आश्रमहरू, उसैको हनुमान मन्दिर र वातालुकुलित भव्य भवन तथा कुटी निर्माण भएका छन् । आयोजनाको चक्रघट्टी कोलोनीमा सप्तकोशी बहुमुखी क्याम्पसको दुईतले भवन निर्माण भएको छ ।

आयोजनाको मोरङतर्फका ९ वटा नहर प्रणालीहरूमा ९५९ वटा घरहरू बनेका छन् । जसले ३० बिघा ५ धुर जग्गा ओगटेको छ । मोरङ खण्डको चतरा मूल नहरमा १९ बिघा १८ कट्ठा ९ धुर जग्गामा १७३ घर बनेका छन् ।

विराटनगर शाखा नहरको ३ बिघा ८ कट्ठा १३ धुरमा ४६१ वटा घर, हरिनगरा–महादेवकौल शाखा नहरका ३ बिघा १८ कट्ठामा १४६ घर, हुरहुरिया खाखा नहरको १ कट्ठा ४ धुरमा १३ घर, बरियाती शाखा नहरको १६ कट्ठा ८ धुरमा १८ घर, नयाँपट्टी शाखा नहर र बैतौना माइनरको १६ कट्ठा १६ धुरमा ३६ घर, आमझोरा शाखा नहरको ८ कट्ठा १० धुरमा ५२ घर, रंजनी उपशाखा नहरको १ कट्ठा २ धुरमा १५ घर र झमनपुर शाखा नहरको ११ कट्ठा ६ धुरमा ४५ घर निर्माण भएका छन् ।

आयोजना निर्देशक भन्छन्- आयोजनाको जग्गा खाली गर्न पत्राचार गरेका छौं

सुनसरी–मोरङ सिंचाइ आयोजनाका जग्गामा दशकौंदेखि अनधिकृत संरचना निर्माण भएका छन् । त्यस्ता संरचनामा निजी घर–टहरादेखि सार्वजनिक धार्मिक संरचनासम्म छन् । २०७२ सालमा आयोजनाले मोरङको केरौनदेखि सुनसरीको चतरास्थित ८ आरडीसम्मका अनधिकृत बसोबास हटाए पनि सबै जग्गा खाली गराउन सकेन ।

आयोजनाले त्यसबेला सरकारी जग्गा संरक्षणका लागि प्रशासनसँग सहयोग मागेर डोजर चलाएको थियो । दशकौंदेखि बसोबास गर्दै आएका नागरिकका घरमा डोजर चलेपछि अधिकारवादी सङ्घसंस्थाले विरोध जनाए । काम थाती नै रह्यो । नयाँ सरकार आएपछि सरकारी जग्गा संरक्षणको माग उठेको छ ।

सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ९२ कार्यान्वयन गर्न निर्देशन गरेको छ । निर्देशनपछि आयोजनाले अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया सुरु गरेको आयोजनाका निमित्त आयोजना निर्देशक मनोहरकुमार साहले बताए । उनले अनलाइनखबरसँग भने, ‘२०७२ सालमा आयोजनाका सबै जग्गा खाली गराउने प्रयास गरेको हो तर सकिएन । अहिले हामी सक्रिय भएका छौं । सूचना प्रवाह गरी अतिक्रमित जग्गा खाली गराउन पत्र प्रशासनलाई पत्र पठाएका छौं ।’

उनले हालको अवस्थामा सरकारी जग्गा संरक्षण र व्यवस्थित गर्ने निर्देशन प्राप्त भएअनुसार २० दिनअघि नै सार्वजनिक जग्गा खाली गर्न पत्राचार गरिसकेका बताए । सुनसरी र मोरङका जिल्ला प्रशासन कार्यालयलाई लगतसहित गत वैशाख २२ गते नै पत्राचार गरिएको उनले बताए ।

जग्गाको स्वामित्व सुनसरी-मोरङ आयोजनाको तर उपभोग भने अरूले नै गरिरहेको अवस्थामा सिंचाइका लागि नहरको स्तरोन्नति गर्न बाधा अड्चन आइपरेको उनको भनाइ छ ।

नापी र मालपोतले असहयोग गरेकै कारण आयोजनाले आफ्नो स्वामित्वको जग्गा उपयोग गर्न नपाएको र पत्राचार अनुसार कार्यान्वयन नभएको साहले दाबी गरे ।

चतराबाट कोशी नदीको पानी ल्याई सुनसरी र मोरङका खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन सन् १९५४ को नेपाल–भारतबीच भएको कोशी सम्झौताअन्तर्गत सन् १९६४ मा सुनसरी–मोरङ सिंचाइ आयोजनाको निर्माण कार्य सुरु भएको थियो । सन् १९७० मा भौतिक निर्माण कार्य सम्पन्न गरी ५ वर्षको परीक्षणपछि सन् १९७५ भारत सरकारले नेपाल सरकारलाई आयोजना हस्तान्तरण गरेको थियो ।





Source link

Leave a Comment