हामी पोर्चुगलको राजधानी लिस्बन पुग्दा टंक सापकोटा सेफको सेतो ड्रेसमा आफ्नै रेस्टुराँमा भेटिए । अधिकांश समय सोही ड्रेसमा भेटिने सापकोटा चलेका चारवटा रेस्टुराँका मालिक हुन् । उनी सेफको रूपमा आफैं काममा खटिन रमाउँदा रहेछन् ।
बेलाबेला युरोपका मिडियामा छाइरहने सापकोटा केही दिनयता पुनः अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेका छन् । गत महिना लिस्बनमा रहेको उनको रेस्टुराँ फोर्नो दि ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ ।
सापकोटा यसरी बाह्य मिडियाहरूको चासोमा पर्न थालेको एक दशक भइसक्यो । उनको पाककला, उनले सञ्चालन गरेको रेस्टुराँ फोर्नो दि ओरो र त्यसको गुणस्तर । उनको त्यही कलाका कारण उनलाई इटालियन खानाको एम्बासडर बनाइएको रहेछ ।
सुन्ने जो-कोहीलाई पनि सापकोटाको करिअर संघर्षको पृष्ठभूमिले आकर्षित गर्छ । हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको ‘यो नेपाली शिर उचाली’ कार्यक्रम छायाङ्कनका लागि परिकल्पनाकार तथा प्रोड्युसरको रूपमा म, निर्देशकको रूपमा मित्र रोशन ठकुरी र प्रस्तोताको रूपमा महानायक राजेश हमालसहितको टिम युरोप उड्यौं ।
स्पेनको राजधानी म्याड्रिडमा फिफ्टी टप पिज्जाले आयोजना गरेको कार्यक्रममा सापकोटालाई अवार्ड प्रदान गरिएको थियो । सापकोटाको उक्त रेस्टुराँ गत वर्ष उत्कृष्ट १६औंमा पर्न सफल भएको थियो । संयुक्त राष्ट्रसंघीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । सापकोटाले सञ्चालन गरेको रेस्टुराँ ‘र्फोनो दि ओरो’ उक्त सूचीमा सूचीकृत समेत छ ।
इटालियन खानामा देखाएको विशेष खुबी र प्रतिभाकै कारण सापकोटाले दर्जनौं पुरस्कार पाइसकेका छन् । सन् २०१६ मा पोर्चुगलमा उनी युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।
पोर्चुगलमा सीमित विदेशीमध्ये उनी एक हुन् जसको बारेमा त्यहाँका मिडियाले सधैंजसो कभरेज गरिरहेका हुन्छन् । पत्रपत्रिका र अनलाइनदेखि टेलिभिजनसम्म अन्तर्वार्ता दिन भ्याई नभ्याई हुन्छ उनलाई । सापकोटालाई यो प्रसिद्धि दिलाउने रेस्टुराँ हो– सुनको चुल्हो ।
फोर्नो दि ओरो अर्थात् उनको रेस्टुराँको नेपाली अर्थ सुनको चुल्हो हुन्छ । यहाँ नाम अनुसारकै सुनको जलप लगाइएको चुल्होमा पिज्जा बनाउने गरिन्छ । यो रेस्टुराँलाई उनी ‘सुनको मन्दिर’ भन्न रुचाउँछन् ।
सापकोटाले सन् २०१४ मा उक्त रेस्टुराँ सुरु गर्दा अमेरिकाको न्यूयोर्कमा एउटा सुनको जलप लगाइएको चुल्हो थियो, सापकोटाका अनुसार यो चुल्हो विश्वकै दोस्रो सुनको चुल्हो हो । जुन चुल्हो निर्माणमै मात्र उनले झण्डै एक करोड नेपाली रुपैयाँ खर्च गरेका छन् । एक नेपालीले सञ्चालन गरेको रेस्टुराँ भए पनि उनका नियमित ग्राहक पोर्चुगिज र युरोपियनहरू हुन् ।
सापकोटा भन्छन्, ‘मेरा ग्राहकहरू जति खानामा चासो राख्छन् त्यो भन्दा धेरै मेरो चुल्होको बारेमा जिज्ञासा राख्छन् । यहाँका मिडियाहरू कमै मात्र होलान् जहाँ यो चुल्हो र रेस्टुराँको बारेमा न्यूज नआएको होस्।’
राजधानी लिस्बनमा सापकोटाका तीन इटालियन र एक नेपाली गरी चार रेस्टुराँ सञ्चालनमा छन् । चारवटै विशिष्ट गुणस्तर र पहिचानका छन् । जसमध्ये कासा नेपालेजा भन्ने रेस्टुराँबाट युरोपियनहरूलाई नेपाली खानाको स्वादमा लोभ्याइरहेका छन् ।
उनको नेपाली रेस्टुराँका कर्मचारी नेपाली दौरा सुरुवाल र गुन्युँ चोलीमा सजिएर ग्राहकको सेवा गर्छन् । जहाँ नेपाली खानाका परिकारसँगै नेपालबारे विविध सामग्रीहरू पनि सङ्ग्रहित छन् ।
अर्को चिनारी ट्रफल
भान्साको हिरा भनेर चिनिने बहुमूल्य च्याउ ट्रफलप्रति सापकोटाको निकै लगाव छ । ट्रफल कलेक्सनका लागि र आफ्नो रेस्टुराँमा बहुमूल्य ट्रफल राख्नको लागि उनले लाखौं खर्च गरेका छन् । यही लगावले गर्दा उनी पोर्चुगलमा ट्रफल खोजीमा लागिरहेका थिए । किनकि अहिलेसम्म पोर्चुगलमा ट्रफल भेटिएको थिएन ।
यसबारे अध्ययन गर्न युनिभर्सिटी अफ एभोरासँगको सहकार्यमा सापकोटा दुई वर्षदेखि खटिइरहेका थिए । अन्ततः गत महिना उनी पोर्चुगलमै ट्रफल रहेको तथ्य जुटाउन सफल भए ।
यससँगै सापकोटा पुनः एक पटक युरोपियन मिडियामा छाएका छन् । त्यहाँका चलेका मिडियाले उनको न्यूजलाई प्रमुखताका साथ प्रकाशन प्रसारण गरेका छन् । ट्रफलबारे अझै बृहत् अध्ययन गर्ने उनको योजना छ र ट्रफलसँगको आफ्नो लगावबारे वृत्तचित्र निर्माणमा समेत जुटेका छन् ।
सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहुमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । अहिले पनि ट्रफल पाइने सीमित रेस्टुराँ मध्येमा पर्छ उनको रेस्टुराँ । उनी भन्छन्, ‘मेरो रेस्टुराँमा ट्रफलको स्वादमा रमाउन चार सय माइल टाढाबाट मानिसहरू आउँछन् ।’
गुणस्तरमा अब्बल, प्रधानमन्त्रीदेखि सेलिब्रेटीसम्म ग्राहक
सापकोटाको अनुभवमा सेवाको गुणस्तर नै सफलताको मुख्य आधार हो । पोर्चुगलमा पिज्जा नापोलितान बनाउने पहिलो रेस्टुराँको रूपमा फोर्नो दि ओरो सञ्चालनमा ल्याएको र गुणस्तरसँग कहिल्यै सम्झौता नगरेको उनको भनाइ छ । पछिल्लो एक दशकयता उनले आफ्नो व्यवसाय विस्तार गरेका छैनन्, कारण भएका रेस्टुराँको गुणस्तर जोगाइराख्नु र सकेको सुधार गर्नु उनको प्राथमिकता हो ।
यही भएरै हो, पोर्चुगलका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र गन्यमान्य सेलिब्रेटीहरू उनका रेस्टुराँका ग्राहक बनेका छन् । ग्राहक मात्रै होइन, उनीहरूसँगको सम्बन्ध पनि राम्रो छ सापकोटाको । उनको रेस्टुराँमा राष्ट्रपति मार्सेलो, निवर्तमान प्रधानमन्त्री एन्टेनियो लुइस आइसकेका छन् ।
त्यसो त हामी कार्यक्रम छायाङ्कनका लागि उनको सबैभन्दा पुरानो रेस्टुराँ कोमे प्रिमा पुग्दा पोर्चुगलका चर्चित फिल्म निर्देशक, पत्रकार, फोटोग्राफर लगायत सेलिब्रेटीहरू पनि भेटिए । उनीहरू सबैले सापकोटाको मुक्तकण्ठले प्रशंसा गरे ।
फिल्म निर्देशक एन्टोनी पेद्रो भन्दैथिए, ‘टंक आफूले जति मिहिनेत र इमानदारी देखाएका छन्, त्यसले सम्पूर्ण नेपालीप्रतिको हाम्रो दृष्टिकोण निकै सकारात्मक बनेको छ ।’
सामाजिक सेवामा सधैं अगाडि
सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका न्यून आय भएका १० हजार भन्दा बढीका लागि एक महिनासम्म निःशुल्क खाना खुवाए । त्यो पनि बाहिरै भान्सा तयार गरी आफ्नो फोर्नो दि ओरो रेस्टुराँकै गुणस्तरको । उनले अस्पतालमा अप्ठ्यारो परेका बिरामी र कुरुवाहरूलाई पनि खाना खुवाए ।
![सुनको चुल्होमा पिज्जा बनाउने नेपालीको रेस्टुराँ सुनको चुल्होमा पिज्जा बनाउने नेपालीको रेस्टुराँ](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/yo-nepali-Shir-Uchali-resturant2.jpg)
जुन कामको बारेमा युरोपियन सञ्चारमाध्यमहरूले प्रशंसा सहितको न्युज प्राथमिकताका साथ प्रकाशन गरेका थिए । नेपालमा पनि आश्रम, विद्यालय लगायत संस्थालाई उनले ठूलो रकम सहयोग गरेका छन् । पोर्चुगलमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने मध्येमा उनको नाम अग्रस्थानमा आउँछ ।
कोरोनाको बेला कैयौं व्यवसायीको व्यवसाय सदाका लागि बन्द भए तर सापकोटा त्यही समयलाई आफ्नो जीवनको उत्कृष्ट समय ठान्छन् र जीवन सिक्ने अवसर मिलेको अनुभव सुनाउँछन् ।
मिहिनेत र इमानदारी नै सफलता
सापकोटाले सन् १९९२ मा दाजुसँग जर्मनी जाँदा भिसा लगाउनु पनि पर्थेन । पासपोर्ट र टिकटको भरमा जो–कोही नेपाली सहजै जर्मनी जान सक्थ्यो । उनले पनि त्यसै गरे । तर, जर्मनी ओर्लंदासम्म के गर्ने, कसो गर्ने सबै अन्योल थियो ।
नेपालमा आईएलको पढाइ छाडेर विदेश पुगेका सापकोटासँग कुनै प्राविधिक ज्ञान र शैक्षिक योग्यता थिएन, त्यसैले उनले युरोप बसाइका सुरुवाती दिनहरूमा रेस्टुराँमा भाँडा माझ्ने काम गरे ।
सीप त त्यस बेला थिएन नै त्यसमाथि भाषाको पनि समस्या थियो जसका कारण कैयौं पटक विदेशिनु गल्ती भयो भन्ने लाग्थ्यो उनलाई तर, उनीसामु स्वदेश फर्कनु या विदेशमै संघर्ष गर्नुमध्ये एक विकल्प रोज्नै पर्ने बाध्यता थियो र उनले युरोपकै संघर्ष रोजे ।
कुनै दिन यस्तो थियो उनी दैनिक चौध–पन्ध्र घण्टा भाँडा माझ्ने काम गर्थे । कुनै पनि कुरा सिकिहालौं, जानिहालौं भन्ने उनको हुटहुटीले भाँडा माझ्ने कामबाट माथि उठ्न समय लागेन ।
सापकोटासँग भाँडा माझ्नेहरू भाँडा नै माझिरहँदा उनी चाहिं किचन हेल्पर, वेटर र अलराउण्डर कर्मचारी हुँदै छोटो समयमै सिपालु सेफ बने । उनको स्वभाव, इमानदारी र लगनशीलताका कारण रेस्टुराँ सञ्चालकहरूको रोजाइमा पर्न थाले ।
जब उनी सन् १९९६ मा पोर्चुगल पुगे त्यसपछि उनले आफ्नै केही गर्ने सोचे र आफूले जानेको कलालाई व्यवसायमा बदले, त्यसपछि पछाडि फर्केर हेर्नु परेन । एकपछि अर्को गर्दै व्यवसाय बढाउँदै लैजाँदा उनले छलकपट कहीं कतै गरेनन् र जे जानेको छ त्यसमै चित्त बुझाएर पनि बसेनन् ।
आफ्नो दक्षता बढाउन उनले इटालियन खानाको बारेमा अध्ययन पनि गरे । रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा उनले इटालियन खानाका परिकार सम्बन्धी दुईवर्षे कोर्स गरे । त्यतिबेला यस्तो थियो कि दुई वर्षसम्म उनी प्रत्येक साता आइतवार बिहान इटली पुग्थे अनि शुक्रवार साँझ पोर्चुगल फर्कन्थे र रेस्टुराँमा काम गर्थे ।
नेपाललाई ध्यान केन्द्र बनाउन सुझाव
नेपाली खानालाई विश्वमाझ चिनाउनु आफ्नो सपना भएको बताउने सापकोटा झण्डै तीन दशकदेखि पोर्चुगलमै बसे पनि मन-मुटु नेपालमै पुगिरहने बताउँछन् ।
उनले व्यवसाय सुरु गर्दासम्म पोर्चुगलमा राम्रो गुणस्तरको खाना पाउने रेस्टुराँको अभाव थियो । त्यही अभावमा उनले अवसर देखे । सम्भावना भएर पनि गुणस्तरीय रेस्टुराँहरूको अभाव रहेको पोर्चुगलमा अहिले खानाको पारखीहरूका लागि खोजे जस्ता ठाउँहरू बनेका छन् ।
विश्वका कतिपय देशले आफ्नो खानालाई अन्तर्राष्ट्रिय ब्राण्डको रूपमा स्थापित गरिरहेका छन् । नेपालले पनि आफ्नो मौलिकतालाई विश्वमाझ चिनाउन सक्छ र त्यसको लागि जस्तोसुकै योगदान दिन आफू तयार रहेको सापकोटा बताउँछन् । जहाँ जे कुरामा सम्भावना छ त्यो गर्नुपर्छ भन्दै उनी थप्छन्, ‘अहिले विश्वका मानिसहरू तनावमा छन्, उनीहरूको लागि राहत मिल्ने ठाउँ बन्न सक्छ नेपाल । बुद्धको देश, भगवान् शिवको देश नेपाललाई विश्वकै ध्यान केन्द्रको रूपमा विकास गर्न सकिन्छ र कामदार मात्रै होइन, गुरुहरू जन्माउन सकिन्छ ।’
सापकोटाको जीवन यात्राबारे थाहा पाउँदै गर्दा, उनको व्यवसाय प्रत्यक्ष नियाल्दै गर्दा र पोर्चुगिजहरूसँग उनी र सम्पूर्ण नेपाली बारेको धारणा सुन्दै गर्दा हामीलाई गर्व लागिरहेको थियो । उनको भोगाइ, अनुभव र उनले बाँचेको जीवन अरू कैयौंका लागि प्रेरणा बन्न सकोस् ।
‘यो नेपाली शिर उचाली’ कार्यक्रममा हामी पालैपालो संसारभर छरिएका यस्तै प्रेरणादायी पात्रहरूको कथा समेट्नेछौं । जुन कथाहरू हरेक शुक्रबार साँझ ९:३० बजे हिमालय टेलिभिजनमा हेर्न सक्नुहुनेछ । साझा कथा युट्युब च्यानलमा पनि कार्यक्रम हेर्न सक्नुहुनेछ ।
हरेक कथाको पढ्ने सामग्री अनलाइनखबरमा यसैगरी पढ्न पाउनुहुनेछ भने कार्यक्रमबारे जानकारी र छोटा भिडियोहरू यो नेपाली शिर उचाली फेसबुक पेजमा पनि उपलब्ध हुनेछ ।
बाध्यता, रहर या सपना, कारण जे भए पनि धेरै नेपाली विदेशी भूमिमा संघर्ष गरिरहेका छन् । उनीहरूले पसिना त पराइ देशमा बगाइरहेका छन् तर मनमा आफ्नै मातृभूमि छ । हामीकहाँ यस्तो भाष्य निर्माण भइरहेको छ कि विदेश जानेहरू पलायन भए । तर, यथार्थ त्यो मात्रै होइन । उनीहरूमध्ये कैयौंले विदेशी भूमिबाट देशको नाम चम्काइरहेका छन् ।
अवसर र वातावरण भयो भने नेपाली कुनै पनि विषय र क्षेत्रमा कमजोर छैनन् भन्ने उदाहरण पनि बनिरहेका छन् । त्यस्ता नेपालीहरूको खोजी गर्ने, उनीहरूको अनुभव र ज्ञानलाई मातृभूमिसँग जोड्ने तथा प्रेरणाका कथा खोज्ने उद्देश्यले यो नेपाली शिर उचाली नामक टेलिभिजन कार्यक्रम जन्मियो । कार्यक्रमको परिकल्पनासँगै हामीले त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन सुरु गर्यौं र छायाङ्कनको सुरुवात युरोपबाट गर्ने निर्णय गर्यौं ।
हामीसँग सीमितताहरू थिए तैपनि सम्भव भएसम्मका देशमा गर्व गर्न लायक काम गरेका नेपालीसँग भेट्ने, अन्तरङ्ग कुराकानी गर्ने प्रयास गर्यौं र कार्यक्रम छायाङ्कन गर्यौं । जसमध्ये एक हुन् पोर्चुगलका सापकोटा । इटालियन खानाका सेफ तथा रेस्टुराँ व्यवसायी सापकोटाको संघर्ष र सफलतालाई हामीले कार्यक्रमको पहिलो भागमा समेटेका हौं ।