सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो, लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य

सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो, लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य


हालैको खोज–अनुसन्धान प्रयासबाट सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा  नं. १० महादेवटारमा एक लिच्छविकालको महत्त्वपूर्ण शिलालेख फेला परेको छ । अहिले तिलेश्वर नामले चिनिने महादेवको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पौषकृष्ण ५ मिति अङ्कित राजा वसन्तदेवको पालाको यस शिलालेखमा राजाको नाम भने लेखिएको छैन । 

अनुसन्धानकर्ता प्रा.डा.दिवाकर आचार्य र श्रीकृष्ण धिमाल

महादेवटारको यस अभिलेख प्राप्त भएको क्षेत्रबाट करिव ५ किलोमिटर हवाई दूरीमा दक्षिण पूर्वतर्फ ईन्द्रावती नदीसँगै जोडिएको काभ्रेपलान्चोक जिल्लाको पलाञ्चोकगढीनेर हालको पाँचखाल नगरपालिकामा विजय स्वामिनिले संवत् ४२५ (विसं ५६०) भगवती विजयेश्वरीको प्राणप्रतिष्ठा गराई राखेको अभिलेखमा उपलब्ध रहेको कुरा यहाँ स्मरणीय छ ।  

अहिले फेला परेको अभिलेखको अन्तिम पंक्तिबाहेक अन्य पाँचै पंक्तिमा जलहरि फुटेर चोइटिएर जाँदा केही अक्षर टुटेका छन् । तरपनि प्रसंग र छन्दका आधारमा पाँच मध्येका दुई पंक्तिमा टुटेका अक्षर भर्न सम्भव छ, बाँकी तीन पंक्तिमा भने त्यसो गर्न सम्भव छैन । काठमाडौं उपत्यका बाहिर फेला परेको तर सिधै शासकीय केन्द्रसँग सम्बन्ध भएका मानिससँग सरोकार राख्ने यस अभिलेखको विशेष महत्त्व छ ।  

यस अभिलेखबाट लिच्छविकालको राजपरिवारपछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पद अवसानको सूचना मिलेको छ ।  

अभिलेखको मूलपाठ (अनुवाद)

कल्याण होस्, यी नित्य र अनित्य दुबै हुन्, मोहरहित छन्, सगुण छन् पनि र सगुण छैनन् पनि । यी न बाहिर छन्, न भित्र । यी सूक्ष्म छन्, स्थूल छन्, र स्थूलभन्दा पनि स्थूल छन् । यी व्यापक र अव्यापक दुबै छन्, जन्मरहित छन्, † सम्प्र† । यी एक छैनन्, अनेक पनि छैनन् । यी विश्व–ब्रह्माण्डमा अस्तित्वमा आएमध्येकै सबैभन्दा पहिला हुन् । यी संसारबाट उत्पन्न हुने डरलाई शान्त पार्ने उपाय हुन्, त्यसैले यिनको आश्रय योगीहरूले लिन्छन् । यी ध्यानका लक्ष्य हुन्, जान्नु–बुझ्नुपर्ने वेद्यतत्त्व हुन् र यस जगत्–मा उपलब्ध वेदरूपी परमज्ञान पनि यिनै हुन्, यस्ता कुनै पनि किसिमका दोष–मैल नभएका कामदेवका वैरी शिवजीको जय होस् ।  

(वाणी र बुद्धिले जसले यस संसारमा युधिष्ठिरको अनुसरण गरे र धनुष अर्थात् अस्त्रप्रयोगले अर्जुनको अनुसरण गरे, ती भीमगुप्तले देवगुप्त नाम गरेका छोरा जन्माएका थिए । आफ्ना पिताको चरित्र र जीवनशैलीको अनुकरण गर्नखोज्ने तिनले आफू यसरी शिशु नै भएपनि गरे । अनि नीति विपरीतको जीवनशैली र अशान्त बुद्धि भएका तिनमा कलियुगको डरलाग्दो दोष पस्यो । माताको र पिताको पनि पुण्यवृद्धिका लागि र सबैले चिताएको फल पाऊन् भनेर प्रशस्त बुद्धि भएकाले तिनैका लागि यहाँ शिवलिङ्ग बनाए । संसारभरको पापलाई नाश गर्ने आकाशदेखि पातालसम्म, मर्त्त्यलोकदेखि स्वर्गलोकसम्म सबै समेट्ने, रजोगुण र तमोगुणले रहित, शुद्ध चेतनामात्र स्वरूप, बहुरूप, भव, ईश, अनघ आदि नामले कसैगरी स्तुति गरिएका शिवजीको स्थापना यिनले (देवगुप्तको) मोक्षका उद्देश्यले यहाँ गरे ।)  

संवत् ४४२ पुस महिना कृष्णपक्षको पञ्चमी तिथि ।

सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो, लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य

स्रग्धरा छन्दमा रचिएको शिवजीको वन्दनाबाट सुरु हुने यस अभिलेखको दोस्रो श्लोकमा भीमगुप्तको प्रशंसा गरिएको छ । यहाँ यिनलाई धनुर्विद्यामा अर्जुनको र वचन एवं बुद्धिमा युधिष्ठिरको अनुसरण गर्ने व्यक्तिका रूपमा वर्णन गरिएको छ । पाटन स्वथुटोलमा भेटिएको संवत् ४११ को शीलवतीको अभिलेखबाट यी भीमगुप्त राजा मानदेवको जमानामा विषयपति र महाप्रतिहारको (अहिलेको भाषामा भन्नुपर्दा एक प्रदेशका शासक र राजदरबारका मुख्यसचिव) भूमिकामा थिए भन्ने थाहा हुन्छ । 

तेस्रो श्लोक भन्छ, ‘यी भौमगुप्तले देवगुप्त नामका एक छोरा जन्माएका थिए, जो शिशु नै भएपनि आफ्ना पिताको चरित्र र जीवनशैलीको अनुकरण गर्न खोज्थे । यही क्रममा यिनले केही उपद्रो गरे जसको विवरण अभिलेखको टुटेको अंशमा परेकोले पाउन सकिन्न ।’

अभिलेख अगाडि भन्छ, ‘यसरी नीति विपरीतको जीवनशैली र अशान्त बुद्धि भएका देवगुप्तमा कलियुगको डरलाग्दो दोष पस्यो । यो दोष के थियो भन्ने अनुमान गर्न सजिलो छैन । यस किसिमको अभिव्यक्ति हामीले अन्त देखेका छैनौं । कलियुगको डरलाग्दो दोष भनेर कुनै खराब रोगतर्फ लक्षित गर्न खोजेको हुनसक्छ, अथवा कुनै किसिमको उपद्रव वा विद्रोहतर्फ । यसभन्दा बढी देवगुप्तका बारेमा केही भनिएको छैन, कुरा लुकाइएको छ । तर अघिल्लो श्लोकमा परिपक्व बुद्धि भएका कसैले आफ्ना मातापिताको पुण्यवृद्धिका लागि, सबैले चिताएको पुगोस् भनेर, अनि यिनैका लागि शिवलिङ्ग निर्माण गरे भनिएको छ ।’  

यस सूचनाका आधारमा देवगुप्त मारिएका वा उनले आत्महत्या गरेको हो कि भन्ने अड्कल काट्न सकिन्छ । लिच्छवि शासनको केन्द्र नेपाल–उपत्यकाबाट यति बाहिर आएर शिवलिङ्ग स्थापना गर्नुको कारण देवगुप्तको यस ठाउँसंग कुनै किसिमको साइनो हुनुपर्छ, उनी यहाँ बितेका हुनसक्छन् । अर्को कुरा, यस अभिलेखमा भीमगुप्तका लागि भूतकालको प्रयोग भएकाले उनी पनि बितिसकेको अनुमान गर्न सकिन्छ ।  

अभिलेखको अन्तिम श्लोकमा संसारभरको पाप नाश गर्ने, स्वर्ग मर्त्त्य दुबै समेट्ने, रजोगुण र तमोगुणले रहित, शुद्ध चेतनामात्र स्वरूप भएका, बहुरूप, भव, ईश, अनघ आदि नामले कसैगरी स्तुति गरिएका शिवजीको स्थापना ृदेवगुप्तकोे मोक्षका उद्देश्यले यिनले यहाँ गरे भनिएको छ ।  

सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो, लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य

यसरी देवगुप्तका लागि शिवलिङ्ग निर्माण गराउने व्यक्तिको नाम अभिलेखको अक्षर टुटेको अंशमा परेकाले उपलब्ध छैन । यस अभिलेखको शब्दावली र भेदाभेदवादमा आधारित शिवतत्त्वको वर्णनले अनुपरमले रचेको हाँडिगाउँ सत्यनारायणथानको अभिलेख सम्झाउँछ । त्यसैलेशिवलिङ्ग थापी यो अभिलेख लेखाउने व्यक्ति गुप्त परिवारका सबैभन्दा प्राज्ञिक व्यक्ति अनुपरम नै हुनसक्छन् । अथवा यी व्यक्ति वसन्तदेवका समयमा लामो समय (संवत् ४३५–४५४ सम्म) राजकाजमा हालिमुहाली गर्ने गुप्त परिवारकै अर्का व्यक्ति रविगुप्त हुनसक्छन् ।  

यस अभिलेखमा शिवलाई विश्वमय र विश्वोत्तीर्ण दुबै देखाउन खोजिएको छ, उनलाई ‘बहुरूप’ नामले पुकारिएको छ । शिवजीको प्राचीन नाम रुद्रसँगै ‘बहुरूप’ उपाधिको प्रयोग पाशुपतसूत्रको पुरानो तह (बिथभच)मा भएको छ । शिवका ‘भव’, ‘ईश’, ‘अनघ’, र ‘स्मरारि’ (कामदेवका वैरी), यी उपाधि र नामको पनि यस अभिलेखमा प्रयोग भएको छ । यसरी नेपालमा प्राचीनकालदेखि प्रचलित शैवधर्मको इतिहासको व्याख्याका लागि पनि यो अभिलेख महत्त्वपूर्ण छ।

लिच्छविकालमा राजा मानदेवको पालादेखि नै ‘देव’ नामधारी राजपरिवारपछि दोस्रो शक्तिशाली परिवार ‘गुप्त’ नामधारी सोमवंशी आभीर गोमीहरूको थियो । यिनीहरू सम्भवतः ब्राह्मण भएपनि युद्ध र राजनीतिमा पूरै संलग्न ‘ब्रह्म–क्षत्र’ थिए । लिच्छवि अभिलेखहरुमा गुप्त नामधारी धेरै व्यक्तिहरु विभिन्न भूमिकामा भेटिन्छन्, तर अहिलेसम्म पाइएका अभिलेखहरुका आधारमा यस वंशको सबैभन्दा शक्तिशाली परिवार परमाभिमानी नामले जानिने परमगुप्तको थियो भन्न सकिन्छ । यिनका दुई छोरा मानगुप्त र अनुपरमृगुप्ते मध्ये जेठा छोरा राजकाजमा संलग्न भएको कुराको अप्रत्यक्ष प्रमाण पाइन्छ भने कान्छा अनुपरम शास्त्रका ज्ञाता भएका कुराको प्रत्यक्ष प्रमाण । दहचोकमाथिको इन्द्रदह मानगुप्तले बनाउन लगाएको कुरा उनका भाईका पनाति जिष्णुगुप्तले आफ्नो अभिलेखमा लेखेका छन् ।  

मानगुप्तका शाखा–सन्तानको वर्णन–विवरण कतै छैन, तर यस अभिलेखमा चर्चा गरिएका भीमगुप्त र देवगुप्त साथै वसन्तदेवका सर्वदण्डनायक महाप्रतीहार (आजको भाषामा प्रधानन्यायाधीश, मुख्यसचिव) रविगुप्त मानगुप्तको हाँगोका हुनसक्छन् । संवत् ४५४ तिर आफ्ना केही गोतिया भाइबन्धुसहित रविगुप्त कुनै प्राकृतिक वा अप्राकृतिक दुर्घटनाको शिकार भएजस्तो देखिन्छ । यसपछि यिनका अन्तिम समयतिरका जोडीदार महाराज महासामन्त क्रमलीलले गोमी–गुप्त परिवारकै भौमगुप्तलाई राजकाजमा अघि बढाएको देखिन्छ ।  

मानगुप्तका भाई अनुपरम उद्भट विद्वान् थिए, यिनले रचेको र कुँदाएको हाँडिगाउँ सत्यनारायणथानको अभिलेख भाषा र विषयवस्तुका हिसाबले सबैभन्दा प्राज्ञिक छ, तर यिनले कुनै राजकीय पद धारण गरेको देखिंदैन । भौमगुप्त यिनै अनुपरमका छोरा थिए । यिनले लामो समय राजकाजमा हालीमुहाली गरे । भौमगुप्तको अवसानसंगै अंशुवर्माको उदय भयो र एक पुस्ताका लागि गुप्त परिवार पक्कै ओझेलमा पर्यो । त्यसैले भौमगुप्तका छोराको कतै उल्लेख छैन । अंशुवर्माको अवसानपछि भने यो परिवार फेरि सत्तामा आयो, अझै आक्रामक रूपमा ।  

सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो, लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य

भौमगुप्तका नाति जिष्णुगुप्तले शासन–सत्ता आफ्नो हातमा लिई अंशुवर्माले तोकेका उत्तराधिकारी राजा उदयदेवलाई पदच्युत समेत गरे । त्यसपछि देव नामधारी राजपरिवारका यो वा त्यो व्यक्तिलाई नाममात्रको राजा थापी जिष्णुगुप्त र उनका छोरा विष्णुगुप्तले सर्वेसर्वा भई हालिमुहाली गरे, तर विष्णुगुप्तका युवराज भैसकेका छोरा श्रीधरगुप्तको कहिल्यै पालो आएन ।  

सम्भवतः तिब्बत प्रवासबाट फर्केका उदयदेवका छोरा नरेन्द्रदेवले आफ्नो गुमेको राज्य फिर्ता लिने क्रममा यिनीहरूलाई सखाप पारे । यसपछि आभीर गोमी गुप्तहरूको सूर्य सधैंलाई अस्तायो । अन्तमा, आजकल लिच्छवि अभिलेखहरुमा प्रयोग भएका दुबै संवत्–बारे फरक–फरक दाबीहरु अघि सारिएका छन्, तिनको राम्ररी परीक्षा गरी एउटा निष्कर्षमा पुग्नुपर्नेछ । तर त्यसो गर्न यहाँ सम्भव नभएकाले हामीले हाल मानिआए अनुसार शक संवत् मानेका छौं ।  

(अनुसन्धानकर्ता प्रा.डा.दिवाकर आचार्य र श्रीकृष्ण धिमाल हुन् । डा.आचार्य अक्सफोर्ड विश्वविद्यालयको अल सोल्स कलेजका प्रोफेसर र काठमाडौं युनिभर्सिटीको हिमालयन सेन्टर फर एसिया स्टडिजका संस्थापक सदस्य हुन् ।)

प्रकाशित: ७ असार २०८१ १८:५६ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School