सिद्धिचरण: विद्रोह, वेदना र उज्यालो


प्रतिभापुञ्ज युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका प्रज्ज्वल आलोक हुन् । विश्वकै एउटा महान् प्रतिभा हुन् । आफ्नो सम्पूर्ण जीवन उनले नेपाल, नेपाली र नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गरे । साथै शान्ति, एकता र विश्वबन्धुत्वलाई विश्वभरि फैलाउनका लागि प्रयत्नशील रहे।

वास्तवमा एउटा असल कवि युगद्रष्टा र भविष्यद्रष्टा हुन्छ । यस मान्यताका साकार रूप हामी युगकवि सिद्धिचरण श्रेष्ठमा ज्वलन्त रूपमा हेर्न सक्छौं । नेपाल मात्र होइन, भूमानवका मंगलपथलाई आलोकमय बनाउनका लागि नेपाली वाङ्मयका वरद् पुत्र युगकवि श्रेष्ठ जीवनपर्यन्त त्याग र संघर्षमय जीवन बिताउँदा पनि आफ्नो कविकर्मलाई पूर्ण रूपमा सार्थक तुल्याएका हुन्।

सामाजिक दायित्वप्रति सचेतता नै असल साहित्यकारको पहिचान हुन्छ । साहित्यलाई जीवनका पथप्रदर्शकका रूपमा लिनुपर्छ । साहित्यले सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय संघर्षहरूलाई सशक्त वाणी दिनुपर्छ र समस्या–समाधानका लागि बाटो देखाउनुपर्छ । साहित्यमा सत्यम्, सुन्दरम्का साथै शिवम् पनि अवश्य अभिव्यक्त हुनुपर्दछ । किनकि साहित्य यदि सत्यम्को सुन्दर अभिव्यक्ति हो भने साहित्य मानवीय मूल्यको उद्घोषक शक्ति पनि हो, जसले हाम्रो जीवनमा प्रेरणा, उल्लास र प्रकाश दिन्छ।

वस्तुतः एउटा असल कवि नवयुगद्रष्टा हुन्छ, साथै भविष्यद्रष्टा पनि हुन्छ । समाजमा व्याप्त अन्याय, असमानता, निरंकुशता, शोषणका यथार्थ वर्णन गर्नु कविको दायित्व हो । साथै जनतालाई सचेतता प्रदान गर्ने काम पनि सचेत, जागरुक कविको दायित्व हो । वर्तमान जीवनलाई व्यवस्थित गरेर लोकमंगलको प्रतिष्ठा गर्दै भावी मानवजीवनलाई मंगलमय बनाउनका लागि पथप्रदर्शन गर्नु पनि असल कविको दायित्व हो । हिन्दीका प्रसिद्ध कवि सुमित्रानन्दन पन्तले भनेका छन्–  

‘कवि रे भविष्य की क्रान्त दृष्टि,

देखता जगत् के आर–पार

स्वर स्पर्श–सुधा से जनमनका

जीवनका हरता व्यथा भार।’

कवि सिद्धिचरणले युगको अर्थनीति, राजनीति, समाजनीति, शिक्षानीति, सभ्यता, संस्कृति, साहित्य सबै क्षेत्रमा गहिरो अध्ययन, मनन र चिन्तन गरे । पूर्वीय तथा पाश्चात्य भाषा, साहित्य र दर्शनको पनि स्वाध्ययन गरेर विशिष्ट ज्ञान आर्जन गरे र यी विभिन्न क्षेत्रबाट ती समस्त तत्त्वहरू बटुले, जुन समग्रतः आजको पथभ्रमित मानवतालाई नवजीवन प्रदान गर्न सकून् । उनको मान्यता छ– ‘साहित्य जीवनको उन्नयनका लागि।’

सन् १९६६ मा बेइजिङमा आयोजित अफ्रो–एसियाली लेखन सम्मेलनमा सिद्धिचरणले दिएको मन्तव्य ऐतिहासिक छ– ‘साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आड–समर्थन दिनुपर्छ । आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ । यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो।’

आफ्नो यसै सिद्धान्तअनुसार कवि सिद्धिचरणले लोकचेतनालाई सफल अभिव्यक्ति दिए, युगबोधलाई सशक्त आह्वान गरे । राजनीतिक कोलाहल, देशप्रेमका गीत, सामाजिक वैषम्य, दलित–शोषितहरूप्रति सहानुभूति, प्रेरणादायी कविताहरू, रूढिवादी विचारहरूलाई तोड्ने क्रान्तिप्रवृत्ति तथा मानवहित चिन्तन आदि सबै युगीन चेतनाहरू सिद्धिचरणका काव्यमा पर्याप्त व्याप्त छन्, यसमा कुनै सन्देह छैन।

युगकवि सिद्धिचरणमा युगीन परिवेशलाई अति सूक्ष्म दृष्टिले हेर्ने क्षमता थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूलाई पनि उनी बडो गहिराइका साथ अध्ययन गरी त्यसको सही मूल्यांकन गर्न सक्षम थिए । नेपाली साहित्यका ‘युगकवि’का रूपमा सुपरिचित सिद्धिचरण श्रेष्ठ कविकर्तव्यप्रति पनि सदैव समर्पित, सचेत तथा जागरुक थिए।

युगकवि श्रेष्ठका अनुसार साहित्य आफ्नो देशका लागि मात्र होइन, सम्पूर्ण विश्वको कल्याणकामनाका लागि लेख्नु आवश्यक छ– ‘साहित्य साहित्यका लागि होइन, समाजका लागि हो । समाजको यथार्थ चित्रण गर्नु नै साहित्यको मुख्य लक्ष्य हो । समाजलाई उन्नतिको मार्गतिर उन्मुख गराउन खोज्नु नै साहित्यरचनाको अभिप्राय हो । यसले हाम्रो मौलिक सिर्जनाहरू देशमा फैलाउँदै साहित्यलाई राष्ट्रको विकासका साथसाथै लैजानुपर्ने आवश्यकता भएकाले हामी लेखकहरूको कर्तव्य पहिलेको भन्दा अहिले महत्त्वपूर्ण हुन आएको छ । हाम्रो साहित्यबाट अरूले हामीलाई चिन्न सकून् । नेपालीपन के हो, सबैले जान्न सकून्, यही कुराका निमित्त साहित्य सिर्जना गर्नुपरेको छ । अरू देशका महान् कृतिहरू पनि नेपालीमा अनुवाद गर्नुपरेको छ । साहित्य देशको मात्र नभई विश्वकै निमित्त हुनुपर्छ भन्ने सिद्धान्त हामीले अँगाल्नुपर्छ।’

एकातर्फ युगकवि सिद्धिचरणको काव्यमा देशप्रेम, सामाजिक विसंगति, व्यंग्य एवं विद्रोहको क्रान्तिचेतना तथा युगबोधको प्रबल भावना पाइन्छ भने अर्कातर्फ सम्पूर्ण जगत्को रक्षाका लागि, अरूको भलाइका लागि आफ्नो सर्वस्व, आफ्नो जीवन पनि समर्पित गर्नका लागि सदैव तत्पर उनको उदात्त भावनाले तनमनलाई असीम प्रेरणाले भरिदिन्छ । जगत्को रक्षा एवं मानिसको सेवाका लागि कविको जीवन समर्पित छ । साथै यदि कुनै अत्याचारी छ भने उसलाई तत्काल समाप्त गर्नका लागि कटिबद्ध छ–

‘शिक्षा मेरो जगत् भरको गर्नु रक्षा सदैव,

दीक्षा यही हो परहित गरूँ आखिरी श्वाससम्म।

ज्वाला रुकोस् दनदन कहीं मृत्यु आई फुकेको,

अत्याचारी यदि छ त कहीं माथ नै ताक्छु त्यसको।’

समाजको कलुषता र विसंगतिलाई देखेर कविलाई आन्तरिक पीडा हुन्छ, बेचैनी हुन्छ । आफूभित्रको अन्तद्र्वन्द्वको पीडालाई कविले आफ्ना क्रान्तिकारी रचनाहरूमा अभिव्यक्त गरेका छन् । उनको कृति ‘मंगलमान’ यसको प्रत्यक्ष प्रमाण हो । समाजमा व्याप्त असमानता, अत्याचार, अन्याय देखेर कविको आत्मा विद्रोहले भरिभराउ हुन्छ । उनी अन्धकार समाप्त गर्नका लागि सत्यतिर, प्रकाशतिर उन्मुख हुन्छन् । समाजलाई दिशानिर्देशन दिनका लागि समाजको यथार्थ चित्रण व्यक्त गर्ने संकल्प लिन्छन्–

‘मैले त्यसै बस्नु हुन्न सत्य खोल्नै पर्छ

भविष्यका लागि मैले केही बोल्नै पर्छ।

बोल, बोल मेरा कवि सत्य के हो बोल

फुकी फुकी आगो पार बिसौनीको गोल।’

यसप्रकार अन्तर्मनको कोलाहलले कविलाई झकझक्याउँछ । फलस्वरूप मानवजीवनलाई सार्थक बनाउने दिशामा, मानवकल्याणका लागि उनले आफ्नो सशक्त कलमको माध्यमबाट ‘मंगलमान’जस्तो कृतिलाई जन्म दिए ।

सिद्धिचरण: विद्रोह, वेदना र उज्यालो

बिचरा मंगलमान अन्याय र शोषणलाई चुनौती दिँदै अघि बढिरहेको हुन्छ । तानासाही, निरंकुशता, जाति–पाति तथा सामाजिक कुरीति र विसंगतिहरूसँग संघर्ष गर्दै ऊ आफ्नो देशलाई सुधार्नका लागि प्रयत्नशील रह्यो र आफ्नो सर्वस्व लुटाउनका लागि पनि तत्पर रह्यो । आफ्नो ज्यान बलिदान गरेर पनि ऊ समाजलाई बदल्न चाहन्थ्यो । उसले स्पष्ट भन्यो कि मानिस भएर बाँच्नका लागि बन्द ढोकाहरू स्वयं नै खोल्नुपर्छ । यस सत्प्रयासमा प्राण पनि जान्छ भने त्यसको परवाह नगरी अघि बढ्दै जानुपर्छ–

‘मान्छे भई बाँच्नलाई ढोका खोल्नुपर्छ

गए जाओस् एउटा ज्यान अघि बढ्नुपर्छ ।’

जो छल–प्रपञ्च गर्न जान्दैन, त्यसका लागि यो अँध्यारो समाजमा बाँच्न कठिन हुन्छ । संक्रमणकालीन अँध्यारो समाजमा न्याय र इन्साफका लागि मंगलमान जीवनपर्यन्त ऊ लड्दै रह्यो । तर अफसोस ! जिन्दगीभरि ऊ एउटा घृणित, तिरस्कृत जिन्दगी लिएर बाँचेको थियो । ऊ मरेपछि कविलाई अत्यन्त दुःख लाग्यो । कवि आहत स्वरमा भन्छन् कि तिमीजस्तो सोझो व्यक्तिका लागि यो संसारमा ठाउँ छैन–

‘यस्तै भयो तिम्रो पालि मंगलमान जाऊ

तिमीजस्ता सोझालाई छैन यहाँ ठाउँ ।’

सामाजिक परिवर्तनका लागि, जीर्ण मान्यताहरूलाई समाजबाट हटाउनका लागि, समाजबाट छुवाछुत र भेदभाव हटाउनका लागि, नारी उत्थानका लागि तथा समाजमा आमूल परिवर्तन गर्नका लागि आफ्नो विचारसँग मेल खाने क्रान्तिकारी पात्र मंगलमानलाई चुने, किनकि कविको विचारमा व्यक्तिको मूल्यांकन कामले हुनुपर्छ, जातिको आधारमा होइन । यस ‘मंगलमान’ रचनाद्वारा कविले समाजको यथार्थ तथा पारदर्शी स्थिति देखाएका छन् । साथै समाजको नवनिर्माणको नवसन्देश पनि दिएका छन् । कविको कल्पनाअनुसार भेदभावरहित नयाँ समाज, जसमा असमानता नहोस्, शोषण, गरिबी, अत्याचार नहोस्, त्यसका लागि त्यागी, जागरुक, क्रान्तिकारी मंगलमानजस्ता युवक नै चाहिन्छ । यसैको प्रयासले समाजमा परिवर्तन आउँछ तथा स्वर्णयुग आउँछ । यसै आशा र विश्वासका साथ कवि भन्छन्–

‘एक धक्का देऊ, स्वर्णयुग खुल्छ

विश्वासको यही बोली मंगलमान बोल्छ ।’

अफसोस र दुःखले व्यथित भएर कविलाई मर्माहत स्वरमा भन्नुप¥यो कि तिमी कर्तव्यनिष्ठ, सेवामा समर्पित, क्रान्तिकारी भएर पनि सोझो थियौ तर तिम्रो त्याग, समर्पण र सेवा सदा चिरस्मरणीय रहनेछ ।

कवि आफ्नो कविता–यात्राको प्रारम्भदेखि नै यो संसारलाई विषमताशून्य बनाउन चाहन्छन् । कविका परवर्ती कविताहरूमा पनि अन्याय र विषमताविरुद्धको विद्रोही स्वर यथावत् कायम देखिन्छ–

‘युग–युगको यो अपमान, घृणा अनि अत्याचार

खतम गराउन उत्रिरहेको मेरो जाज्वल्य विचार ।’

कविका शब्द–शब्दमा क्रान्तिचेतना तथा युगबोधको तीव्र स्वर छ । समाजको अस्तव्यस्त व्यवस्थाप्रति कविको मनमा आक्रोश छ । जीवनको अस्तित्व नै हराउँदै गएको देखेर कवि भित्रभित्रै उद्विग्न हुन्छन् । त्यसैले समाजमा जागरणचेतना ल्याउनका लागि कवि जीवन र जगत्को अँध्यारो पक्षको दर्दनाक चित्रण गर्छन् तथा विद्रोही गीत गाएर सामाजिक दुर्दशाको सजीव, मार्मिक चित्र प्रस्तुत गर्दै समाजसुधारका लागि शंखनाद गर्छन्–

‘मेरो आज यत्तिको अर्थपूर्ण प्रयास

सिन्का उठाउन ब्रह्माण्ड बोक्न सक्ने

शक्तिको ह्रास

यी स्वास्नी, छोरा–छोरीको मुखमा

एक सीता भात पार्न

ब्रह्माण्डको उज्यालो फार्न सक्ने

मेरो जाज्वल्यमान विचार

खर्च भइरहेछ

अस्तित्व फुटिरहेछ

कालले मेटिरहेछ

जीवन चलिरहेछ ।’

यति मात्र होइन, युगको उग्र विषाक्तताबाट सन्तप्त भएर कवि अति गम्भीर उच्छवास भर्दै अत्यन्त दुःखका साथ भन्छन् कि आगोमा कसौडी (कराई) मा तातो तेलमा भुट्दा छटपटाउँदै गरेको माछालाई जति पीडा र छटपटाहट हुन्छ, मनुष्य पनि आजको यस युगमा यसै प्रकार पीडा र कष्ट भोगिरहेको छ । यहाँ माछा मनुष्यको प्रतीक हो र युगको आगोमा छटपटाउँदै गरेको तातो भाँडा (कसौडी) को प्रतीकद्वारा अभिव्यक्त गरिएको छ ।

यसप्रकार हामी देख्छौं कि कवि सिद्धिचरण मन, वचन र कर्मले युगसमर्पित कवि हुन् । कविता–यात्राको प्रारम्भिक अवस्थादेखि जीवनको उत्तरार्धसम्म कविले अन्यायको खुलेर विरोध गरे–

‘अन्यायको विरोध नै हो आमाको सेवा ।’

नेपाली आमाको सेवाका साथै नेपाली नारी उत्थान र नारी सम्मानको दृष्टिले कविको योगदान उल्लेखनीय रहेको छ । नारीप्रति कविको दृष्टिकोण उदार र व्यापक छ । नारीजीवनका विविध पक्ष र नारीका विविध समस्याहरूको चित्रणमा कविको सूक्ष्म र उदात्त दृष्टिकोण स्तुत्य छ । नारीलाई शक्ति र तेजको साक्षात् प्रतिमा भनेर प्रेरणादायिनी, शक्तिदायिनी, सर्जनशक्ति, जगत्जननी, आत्मशक्ति प्रदान गर्ने नारीको आत्माभिमान र आत्मबल जगाउँदै नारीलाई ससम्मान प्रतिष्ठापित गरिएको छ । नारी प्रेम र सौन्दर्यकी प्रतिमा हुन् । साथै जगत्जननी आमाको जीवनको उच्चता र आदर्शमयता नै नारीजीवनको महानता हो । ममता, प्रेम, सेवा र समर्पणकी प्रतिमूर्ति आमाका गुणगान गर्दै कवि श्रद्धाले नतमस्तक भएर भन्छन्–

‘आमा ! तिमी जन्म दिने मलाई

आमा ! तिमी प्राण दिने मलाई

तिमी बोट, म फूल त्यहाँको

हो, दान तिम्रै जे जति छ मेरो ।

आमा ! छ तिम्रो महिमा अपार

सिद्धिन्न गाए पनि बारम्बार

हरदम बहाइकन प्रेमधारा

दिन्छ्यौ मलाई कतिको सहारा ।

असंख्य तिम्रो गुणको निमित्त

केही कुरा छैन दिने मबाट

सपुत तिम्रो कहलाउँछु ।’

यसप्रकार नारीका दुःख, व्यथा र अश्रुपूर्ण जीवनका सजीव चित्रण कविले गरे पनि नारीलाई सेवा, करुणा, माया, दयाको साक्षात् मूर्ति भनेर श्रद्धामयी नारीलाई प्रेरणा, प्रोत्साहन, मान र सम्मान प्रदान गरेका छन् ।

कविको यो धारणा रहेको छ कि कविता जीवनका लागि हुनुपर्छ । यसैले राष्ट्रप्रतिको प्रेम, नेपाली जनताप्रतिको ममता, युवा वर्गमा जनचेतना तथा मानवतावादी भावनाले ओतप्रोत भएर उनी कविकर्ममा पूर्णतया समर्पित भए । सम्पूर्ण युगको सफल प्रतिनिधित्व गर्ने कारणले नै उनलाई ‘युगकवि’, ‘कविरत्न’, ‘युगपुरुष’ आदि उपाधिहरू प्रदान गरिएका हुन् । कवि सिद्धिचरण श्रेष्ठलाई प्रदान गरिएका अनेकानेक महत्त्वपूर्ण ‘सम्मान’, ‘पुरस्कार’ र पदवीले उनको विराट कवि–व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ । युगलाई ब्युँझाउनका लागि उनले जगजागरणका जुन उद्बोधनात्मक कविताहरू लेखे र मार्गदर्शन प्रदान गरे, ती सबै वर्तमानका लागि मात्रै होइन, भविष्यका लागि पनि युगौंयुगसम्म सार्थक, प्रकाशवान् र प्रेरणादायी रहनेछन्।

सिद्धिचरण: विद्रोह, वेदना र उज्यालो

युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यजगत्का साहित्यिक, सामाजिक, राजनीतिक, सांस्कृतिक पुनर्जागरणका ज्योतिस्तम्भ थिए, चेतना र जागरणका अग्रदूत थिए । उहाँमा मनुष्यत्व सर्वोपरि थियो । त्यसैले युगसत्य र युगधर्मबिच पूर्ण तादात्म्य स्थापित गर्दै उहाँ शोषण र अभावको चोटले आहत मानवताको मर्मान्तक वेदनाको स्पष्ट चित्र उतार्न सफल थिए । उनी आदर्श स्रष्टा र कुशल भविष्यद्रष्टा थिए । एकातर्फ युगका वर्तमान समस्याहरूसँग जुझ्दै रहे, साथै आउने भोलिका समस्याहरूसँग पनि जुझ्दै मानवकल्याणको मार्ग प्रशस्त गर्दै रहे । युगकवि सिद्धिचरण दूरदर्शी थिए । उनले आफ्नो सुदूरव्यापिनी दृष्टिबाट भविष्यमा आउने समस्याहरूलाई पनि नजिकबाट देख्थे । सूक्ष्म र तीक्ष्ण दृष्टिबाट उनका दूरदर्शी कविहृदयले आफ्नो युगभन्दा धेरै अगाडि बढेर विचार गरेको, चिन्तन गरेको, मार्गदर्शन गरेको हामी पाउँछौं।

नेपाली वाङ्मय–क्षितिजका उज्ज्वल नक्षत्र भएर उहाँ सदैव हामीका लागि प्रेरणाका अजस्र स्रोत भएर हाम्रो पथप्रदर्शन गरिरहनेछन् । आफ्नो बहुमूल्य साहित्यिक देन र उपलब्धिहरूमा उनी सदा जीवित रहनेछन् ।

प्रकाशित: ९ जेष्ठ २०८३ १२:०८ शनिबार





Source link

Leave a Comment