प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ ।
तस्बिर : रासस/ एपी
अमेरिकाले साउदी अरेबियालाई तेस्रो देशबाट पनि हतियार खरिद गर्न पाउने गरी अनुमति दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानी आक्रमणविरुद्ध साउदी अरेबियाको सुरक्षामा “अत्यन्त सहयोगी” भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
क्षेत्रीय अधिकारीहरूका अनुसार, साउदी अरेबियाले हतियार तथा गोलाबारुद पुनः आपूर्तिका लागि गरेको अनुरोधलाई अमेरिकी प्रशासनले स्वीकृति दिएको हो।
ती अधिकारीका अनुसार, अमेरिकाले तेस्रो पक्षमार्फत हुने हतियार हस्तान्तरण लाई समेत अनुमति दिएको छ। यो अनुमतिसँगै अमेरिकी निर्मित हतियारहरू आफ्नै भण्डारबाट साउदी अरेबियालाई पठाउन अन्य सहयोगी देशहरूका लागि बाटो खुलेको छ।
इरानले आफ्नो नागरिक पूर्वाधारहरूमा आक्रमण गर्न सक्ने सम्भावित खतराप्रति साउदी अरेबिया चिन्तित रहेको बताइएको छ। यदि अमेरिकाले इरानी पूर्वाधारमा आक्रमण गरेमा त्यसको प्रतिशोधस्वरूप साउदीमाथि हमला हुन सक्ने आशङ्का गरिएको छ।
यसैबीच, इरानबाट हुनसक्ने आक्रमणको सामना गर्न खाडी क्षेत्रका अधिकांश अरब देशहरूबीच घनिष्ठ सहकार्य भइरहेको पनि अधिकारीहरूले उल्लेख गरेका छन्।
गत जनवरीमा ट्रम्प प्रशासनले साउदी अरेबियालाई ७३० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न ९ बिलियन अमेरिकी डलर बराबरको सम्झौता स्वीकृत गरेको थियो।
नोभेम्बरमा साउदी अरेबियालाई अमेरिकाको ‘प्रमुख गैर-नेटो सहयोगी’ राष्ट्रको रूपमा मान्यता दिइएको थियो। यो मान्यताले हतियार हस्तान्तरण प्रक्रियालाई थप सहज बनाएको छ।
अमेरिकी प्रशासनले कङ्ग्रेसको प्रक्रिया छलेर संयुक्त अरब इमिरेट्स लाई करिब ८.४ बिलियन डलर, कुवेतलाई ८ बिलियन डलर, र जोर्डनलाई ७०.५ मिलियन डलर बराबरको हतियार बिक्री प्रक्रियालाई तीव्र रूपमा अघि बढाएको छ।