साइबर आक्रमणपछि डिस्कोर्डका ७० हजार प्रयोगकर्ताको परिचयपत्र चुहावट



प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

साइबर आक्रमणपछि डिस्कोर्डका ७० हजार प्रयोगकर्ताको परिचयपत्र चुहावट

विश्वभरका गेमरहरूबीच अत्यन्त लोकप्रिय अनलाइन मेसेजिङ प्लेटफर्म डिस्कोर्डले करिब ७० हजार प्रयोगकर्ताहरूका आधिकारिक परिचयपत्रका तस्वीरहरू चुहिएको हुनसक्ने जनाएको छ। यो घटना एक ठूलो साइबर आक्रमणसँग सम्बन्धित रहेको कम्पनीले पुष्टि गरेको छ।

डिस्कोर्डका अनुसार, ह्याकरहरूले कम्पनीको प्रणालीमा प्रत्यक्ष आक्रमण नगरी प्रयोगकर्ताको उमेर प्रमाणीकरणका लागि सहयोग गर्ने तेस्रो पक्ष कम्पनीलाई निशाना बनाएका थिए। कम्पनीले भनेको छ कि “डिस्कोर्ड प्लेटफर्म आफैं ह्याक भएको होइन।”

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चुहिएको डाटामा व्यक्तिगत विवरण, आंशिक क्रेडिट कार्ड जानकारी र ग्राहक सेवा प्रतिनिधिसँग भएका सन्देशहरू समावेश हुन सक्छन्।”

साइबर आक्रमणपछि डिस्कोर्डका ७० हजार प्रयोगकर्ताको परिचयपत्र चुहावट

साइबर आक्रमणपछि डिस्कोर्डका ७० हजार प्रयोगकर्ताको परिचयपत्र चुहावट

तर, कम्पनीले पूरा क्रेडिट कार्ड विवरण, पासवर्ड वा प्रयोगकर्ताका व्यक्तिगत सन्देशहरू र गतिविधिहरू नचुहिएको स्पष्ट पारेको छ ।

डिस्कोर्डले सबै प्रभावित प्रयोगकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क गरेको छ र घटनाबारे अनुसन्धान गर्न कानून कार्यान्वयन निकायहरूसँग सहकार्य भइरहेको जनाएको छ। साथै, आक्रमणमा संलग्न तेस्रो पक्ष कम्पनीको पहुँच पूर्ण रूपमा बन्द गरिएको पनि कम्पनीले बताएको छ।

तर, डिस्कोर्डले उक्त तेस्रो पक्ष कम्पनीको नाम भने खुलाएको छैन।

डिस्कोर्डका लागि ग्राहक सेवा सफ्टवेयर प्रदायक जेन्डेस्कका प्रतिनिधिले बीबीसीसँग भनेका छन्, “हाम्रो प्रणाली सुरक्षित छ र यो चुहावट हाम्रो प्लेटफर्मको कमजोरीका कारण भएको होइन।”

केही अनलाइन प्रयोगकर्ताहरूले यो चुहावट डिस्कोर्डले सार्वजनिक गरेको भन्दा ठूलो भएको दाबी गरेपछि कम्पनीका प्रवक्ताले ती दाबीहरू “गलत र डिस्कोर्डबाट पैसा असुल्ने प्रयासको हिस्सा” भएको बताएका छन् ।

साइबर आक्रमणपछि डिस्कोर्डका ७० हजार प्रयोगकर्ताको परिचयपत्र चुहावट

यसअघि पनि डिस्कोर्डले आफ्नो उमेर प्रमाणीकरण प्रणालीलाई कडा बनाएको थियो। केही वर्षअघि प्लेटफर्मका केही सर्वरहरूमा अश्लील र चरमपन्थी सामग्री बाँडिएको आरोप लागेपछि कम्पनीले सुरक्षात्मक उपायहरू सुदृढ गरेको थियो।

सान फ्रान्सिस्कोमा मुख्यालय रहेको डिस्कोर्डमा विश्वभर करिब २० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्। गेमरहरूबीच यो प्लेटफर्म संवाद, फाइल आदानप्रदान र अनलाइन समुदाय निर्माणका लागि सबैभन्दा लोकप्रिय माध्यम मानिन्छ।





Source link

Leave a Comment