सरकार शटडाउनका कारण अमेरिकामा नागरिकता वितरण समारोह रद्द



प्रकाशित मिति : आश्विन २७, २०८२ मंगलबार

सरकार शटडाउनका कारण अमेरिकामा नागरिकता वितरण समारोह रद्द

अमेरिकाको सरकारी खर्च विधेयकमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच भएको गतिरोधका कारण सरकार शटडाउन जारी रहँदा नयाँ अमेरिकी नागरिक बन्ने तयारीमा रहेका सयौं व्यक्तिहरू प्रभावित भएका छन्। भर्जिनियास्थित युएससीआईएस कार्यालयमा गत शनिबार नागरिकता वितरण समारोह अचानक रद्द भएपछि विश्वका विभिन्न देशबाट आएका करिब एक दर्जन आवेदकहरू अन्योलमा परेका थिए ।

अमेरिकी नागरिकता लिने प्रक्रियाको अन्तिम चरणमा पुगेका आवेदकहरू आफ्नो सपथको सूचना बोकेर निकै उत्साहित थिए। सुरक्षा जाँच पार गर्दै उनीहरू चेक इन डेस्कमा लाइन लागेका थिए। केही बेरमा नै शपथ ग्रहण समारोहमा सामेल भएर अमेरिकी नागरिक बन्ने उनीहरूको तयारी थियो। तर, कार्यालय पुगेपछि अचानक उनीहरूले सरकार शटडाउनका कारण समारोह रद्द गरिएको थाहा पाएका थिए ।

त्यहाँ उपस्थित कसैले पनि समारोह रद्द भएकोबारे इमेल वा फोनमार्फत सूचना नपाएको जनाइएको छ । प्रवेशद्वारमा रहेका कर्मचारीले समेत यसबारे कुनै जानकारी नदिई उनीहरूलाई भित्र प्रवेश दिएका थिए, जसले गर्दा कर्मचारीहरूलाई पनि यसको जानकारी नभएको हुन सक्ने देखिएको छ।

सरकार शटडाउनका कारण अमेरिकामा नागरिकता वितरण समारोह रद्द

सरकार शटडाउनका कारण अमेरिकामा नागरिकता वितरण समारोह रद्द

पछि युएससीआईएसको वेबसाइट जाँच गर्दा केही समयका लागि त्यो बन्द रहेको पाइएको थियो । वेबसाइट खुल्दा त्यसमा आवेदकको अपोइन्टमेन्ट अपरिहार्य परिस्थिति भन्दै केही दिन पहिले नै रद्द भएको सूचना देखिएको थियो । वेबसाइट जाँच नगर्नेहरूले यसको जानकारी पाउन सकेनन्।

रद्दको कारणले कार्यालयमा उपस्थित आवेदकहरूमा निराशासँगै ठूलो अन्योल पैदा गर्‍यो। हिजाब लगाएकी एक महिलाले आफ्नो पहिरनका कारण आफ्नो मात्र अप्वाइन्टमेन्ट रद्द गरिएको हो कि भनेर अन्य आवेदकलाई सोधेकी थिइन् । कतिपय आवेदकहरू ढिलाइले आफ्नो काम, जीवन र योजनाहरूमा असर पर्नेबारे चिन्तित थिए ।

कार्यालयले आवेदकहरूलाई अर्को अपोइन्टमेन्टका लागि नोभेम्बर १ मा फर्कन निर्देशन दिएको छ। तर, संघीय शटडाउनको अवस्था हेर्दा त्यो मितिमा पनि समारोह हुने सम्भावना कम छ। सामान्यतया युएससीआईएस आवेदन शुल्कबाट सञ्चालित हुने भएकाले सरकारी शटडाउनको बेला पनि खुल्ला रहने गर्छ। तर, यसका निर्देशकले अन्तर्वार्ता र नागरिकता समारोहहरू ढिलाइ हुन सक्ने जानकारी गराएका थिए ।

राष्ट्रियस्तरमा कति युएससीआईएस अपोइन्टमेन्ट वा शपथ समारोहहरू रद्द भएका छन् भन्ने स्पष्ट तथ्याङ्क सार्वजनिक भएको छैन। युएससीआईएसले फिल्ड कार्यालयहरू बन्द भएको सूची वेबसाइटमा राखेको छ, तर रद्द भएका समारोहहरूको कुल सङ्ख्या उपलब्ध गराएको छैन। यद्यपि, अन्य समारोहहरू पनि रद्द भएका अनलाइन रिपोर्टहरू आएका छन्।

अक्टोबर १ देखि सुरु भएको सरकार शटडाउनका कारण ७ लाखभन्दा बढी संघीय कर्मचारीहरूले बेतलबी बिदामा बस्नुपरेको छ। पछिल्ला ९ महिनामा अमेरिकी अध्यागमन नीतिमा भएका तीव्र परिवर्तनहरूसँगै अहिले वाशिङ्गटनको गतिरोधले स्थायी घर बनाउने सपना देखेका आवेदकहरूको दैनिक जीवन र भविष्यमा गहिरो असर पारिरहेको छ।

सरकार शटडाउनका कारण अमेरिकामा नागरिकता वितरण समारोह रद्द





Source link

Leave a Comment