सरकार पटक–पटक बन्छन् तर बन्दैनन् बाटो र पुल : RajdhaniDaily.com


धनगढी । सूदुरपश्चिम प्रदेशमा पछिल्लो ८ वर्षको अवधिमा पाँचवटा सरकार बने । यसबीचमा प्रदेशसभाका ३७ भन्दा बढी मन्त्री हुने सौभाग्य पनि पाए । प्रदेशकै एक मात्र उपमहानगरपालिकामा विकासवादी छवि बनाएका नगरप्रमुख छन्, गोपाल हमाल ।

यी तीन सत्यबीच अर्को एउटा सत्य हो– धनगढी उपमहानगरपालिका–१७ पथरी र वडा नम्बर १६ रामपुर जोड्ने पक्की पुल निर्माणको काम ८ वर्षसम्म पनि नसकिनु ।

ठेकेदारकै खेल, विकासमा सधैं झेल

कैलालीको धनगढीमा बन्ने भनिएको यो पुल सम्झौताको ८ वर्षसम्म पनि बन्न सकेको छैन । ८ वर्षको अवधिमा पुलको जगको काम पनि पूरा भएको छैन ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले २७ असार २०७४ मा पुल निर्माणको सम्झौता गरेको थियो । धनगढीबाट बेहडाबाबा मन्दिर जाने मुख्य सडकको शिवगंगामा पुल निर्माणका लागि सम्झौता भएको ८ वर्ष भइसकेको छ ।

पुल नबन्दा नागरिकले सास्ती पाउँदै आएका छन् । कैलालीको गेटाका विनोद चौधरी भन्छन्, ‘बेहडाबाबा मन्दिरबाट धनगढी फर्किंदा समस्या छ । बाढीले गर्दा समस्या हुने गरेको छ, दुःख छ, धेरै पानी हुन्छ, ठेक्का भएको धेरै भयो, काम भएको छैन, बाढी बढी भयो भने, डल्लफ पनि चल्दैन ।’

१४ करोड २६ लाख रुपैयाँमा ३ वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र पप्पु एड्भेन्चर जेभीबीच ठेक्का सम्झौता भएको थियो ।

धनगढीको मुख्य बजारबाट कैलाली बहुमुखी क्याम्पस, जाखोर ताल हुँदै खुटिया नदी तरेर पथरी पुगिन्छ । पथरीपारि वडा नम्बर १६ का बस्ती र प्रसिद्ध बेहडाबाबा मन्दिर छ ।

खुटिया नदी र शिवगंगामा एकैपटक पुल निर्माणका लागि शिलान्यास भएको थियो । खुटिया नदीमा पुल निर्माणको काम पूरा भए पनि शिवगंगामा रोकिएको हो । धनगढीका स्थानीय उद्धव भट्टराईले परराष्ट्रमन्त्री आरजु देउवाकै निर्वाचन क्षेत्रको पुल ८ वर्षसम्म पूरा नभएको बताए । उनले भने, ‘खुटिया नदीको पुल सञ्चालनमा छ, यस पुलको जगको काम पनि पूरा भएको छैन, परराष्ट्रमन्त्री पनि यही क्षेत्रको हुनुहुन्छ तर पुलको काम अलपत्र छ ।’

मोटरसाइकल तार्न सय रुपैयाँ
शिवगंगा नदीमा पुल बनाउन संघीय सरकारले बजेट छुट्याएर ठेक्का लगाइको ८ वर्ष भएको छ । पुल निर्माण नभएकाले हिउँदको समयमा उपमहानगरपालिकाले ह्युमपाइपमार्फत सवारी सञ्चालनका लागि सडक निर्माण गर्दै आएको छ । तर, वर्षात् सुरु भएसँग स्थानीयले नदी तर्नसक्ने अवस्था छैन ।

नदीमा मोटरसाइकल र साइकल वारपार गर्दा शुल्क तिर्नुपर्ने बाध्यता छ । शिवगंगामा बाढी आउने भएकाले मोटरसाइकल, साइकल र मान्छेहरू डल्लफमै राखेर तारिँदै आएको छ ।

मोटरसाइकलसहित एक जना मान्छे तारेको सय रुपैयाँ लिन्छन् । धनगढी उपमहानगरका–१७ का वडाध्यक्ष माधवराज रानाले पनि खुटिया र शिवगंगा पुलको एकैपटक शिलान्यास भएको बताए । शिवगंगामा पायल बनेपछि पुल निर्माणको काम रोकिएको छ । तर, निर्माण कम्पनीले झन्डै आधा भुक्तानी लिएको छ ।

ठेक्का सम्झौताअनुसार २५ असार २०७७ भित्र काम सकिनुपर्ने हो । सडक डिभिजन कार्यालयले २०८२ भदौसम्म म्याद थपेको छ । निर्माण कम्पनीलाई थप गरिएको समय सकिन एक महिना मात्र बाँकी रहेका बेला पुल निर्माणको काम भने अलपत्र छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले पुल निर्माणको स्थान परिवर्तन गर्नुपर्ने भएकाले समस्या भएको बताए । उनले स्थान १५ मिटर परिवर्तन गर्न खोजेको तर ठेकेदारले नै अवरोध गरिरहेको दाबी गरे ।

‘ठाउँ परिवर्तन गर्न भनेका थियौं, १५ मिटर तल–माथिको कुरा हो, मुद्दा हाल्छु भन्छ, अर्काे ठाउँमा बनाउँदिनँ भन्छ,’ ठेकेदारलाई दोषी देखाउँदै उनले भने ।

नौमुले सडक ४ वर्षदेखि अलपत्र
दैलेख बजारदेखि खुर्सानीबारी हुँदै नौमुले जोड्ने सडकखण्डअन्तर्गतको १३ किलोमिटर सडक कालोपत्रे गर्न बिरुवा सिद्धान्त सिगेश्वर जेभी जोरपाटी काठमाडौंसँग सम्झौता भएको ४ वर्ष भयो ।

३ वर्षको कार्यावधिसहित १३ भदौ २०७८ मा ठेक्का सम्झौता भयो । सम्झौतामा तोकिएअनुसार ३ वर्षको अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन । तोकिएको अवधिमा काम नभएपछि २५ वैशाख २०८२ सम्म म्याद थप भयो ।

थप गरिएको समयावधि पनि सकिएर पुनः म्याद थप गरिएको छ । दुइपटक म्याद थप हुँदा पनि सडक कालोपत्रे हुने छाँटकाट देखिँदैन । पूर्वाधार विकास कार्यालय दैलेखले पुनः २०८३ सालसम्मका लागि म्याद थप गरेको छ । कम्पनीले १९ करोड ९४ लाख १७ हजार रुपैयाँमा १३ किलोमिटर सडक कालोपत्रे गर्नेगरी कामको जिम्मा पाएको थियो ।

सडक कालोपत्रेको काम खुर्सानीबारीदेखि नौमुलेसम्मको खण्डमा केही सुरुवाती संरचना निर्माण गरेर रोकिएको छ । अहिले न त निर्माण कार्य अगाडि बढेको छ, न त अघिल्लो कामको मर्मत गरिएको छ । सडक किनारमा बनाइएका नालीहरू भत्किएका छन्, फलामका जालीहरूमा खिया लागेको छ र निर्माणस्थलमै राखिएका मेसिनहरूसमेत प्रयोगविहीन अवस्थामा देखिन्छन् ।

समयमै सडकको निर्माण कार्य नहुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन् । बिरामी पर्दा गाडी आउँदैन, बाटोमा बोकेर लैजानुपर्ने अवस्था भएको नौमुले गाउँपालिकाकी स्थानीय बिमला शाही बताउँछिन् । ‘सडक हिलाम्मे हुँदा बाटोमा गाडी फस्छन्, नौमुलेबाट सदरमुकाम आएर साँझ घर पुग्दा शरीर थकित हुन्छ,’ बिमलाले दुखेको पोखिन् ।

तिलबहादुर थापाको पनि उस्तै गुनासो र आक्रोश छ । ४ वर्षदेखि बाटो बन्ने आशामा बसेका उनी अझै धूलो र हिलोमै हिँड्न बाध्य भएको भन्दै आक्रोशित छन् । काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखी कानुनी कारबाही गर्नुपर्ने उनीजस्ता सबै स्थानीयको दबाब छ ।

सम्झौता सकियो, काम सकिएन
निर्माण कम्पनीले ठेक्काअनुसार २०८२ सालको असार मसान्तसम्म काम सक्नुपर्ने थियो । तर, निर्धारित म्याद सकिएपछि पनि पूर्वाधार विकास कार्यालय दैलेखले दोस्रोपटक २०८३ असार मसान्तसम्म म्याद थप गरेको जनाएको छ । त्यसपछि पनि कम्पनीले कुनै उल्लेखनीय प्रगति गर्न सकेको छैन । कार्यालयले दिएको विवरणअनुसार हालसम्म ४५ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय दैलेखका सब–इन्जिनियर अशोक भट्टले जानकारी दिए । यस विषयमा थप बुझ्न खोज्दा कार्यालय प्रमुख प्रवीण कार्कीसँग सम्पर्क हुन सकेन ।

निर्माण कम्पनीको चरम लापरबाहीले सडक कालोपत्रे अलपत्र बन्न पुगेको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधि भने पूर्वाधार विकास कार्यालयको ढिलासुस्ती र कमजोर अनुगमन प्रणालीप्रति असन्तुष्ट छन् । उनीहरूका अनुसार ठेकेदार कम्पनीलाई बारम्बार समय थपेर संरक्षण गर्नु आफैंमा गलत निर्णय हो ।

टेर्दैनन् स्थानीय तहलाई
निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गरेर बैठकमा बोलाएर काम चाँडो सम्पन्न गर्न आग्रह गरे पनि बेवास्ता गरेको नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी बताउँछन् । ‘हामीले निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गरेर बैठकमा बोलाएर पनि काम सक्न आग्रह ग¥यौं तर व्यवहारमा कुनै खासै प्रगति देखिएको छैन,’ उनले भने ।

तत्काल ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने अध्यक्ष सुवेदीको माग छ । ‘सडक लामो समयसम्म अधुरो राख्नु भनेको सोझा जनतालाई सास्ती दिनु हो,’ सुवेदीले थपे ।

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले पनि यस सडकका ’boutमा पटक–पटक कुरा गर्दा पनि ठेकेदारले कुनै चासो नदेखाएको बताउँछन् । ‘यो हाम्रो नगरको मात्र होइन, तीन जिल्लालाई जोड्ने महत्वपूर्ण बाटो हो,’ उनले भने, ‘हामीले पटक–पटक सर्वदलीय बैठक बसेर चेतावनी दिँदा पनि कम्पनीले गम्भीरता देखाएको छैन, पुनः एकपटक सर्वदलीय बैठक बसेर कालोसूचीमा राख्नका लागि अघि बढ्ने’bout सल्लाह गर्छौं ।’

दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पटक–पटक जानकारी गराउँदा पनि ठेकेदारले ‘काम गर्छु’ भन्ने तर काममा चासो नदेखाएको बताए । ‘माथिबाट आएको पत्रका आधारमा पुनः पूर्वाधार विकास कार्यालयले म्याद थप गरेछ,’ उनले भने, ‘अब थप भएको म्यादमा पनि काम सम्पन्न नभए कानुनी कारबाही गर्छौं ।’

यता, निर्माण जिम्मा पाएको बिरुवा सिद्घान्त श्रीङ्गेश्वर जेभीमा कार्यरत इन्जिनियर सूर्य रेग्मीले निर्माणमा ढिलाइ भएको स्वीकार गरे । असार मसान्तसम्म काम सक्नुपर्नेमा बर्खाको समयमा काम गर्न जोखिम भएकाले काम सम्पन्नमा ढिलाइ भएको उनको भनाइ छ ।

४ वर्षअघि सुरु भएको यो सडक निर्माण आयोजना अहिले विकासका नाममा अन्याय गरिएको स्थानीय बताउँछन् । जनताले लामो समय पर्खाइ र सास्ती व्यहोरे पनि सम्बन्धित निकायले जिम्मेवारी नलिएको स्थानीयले गुनासो गरिरहेका छन् ।

सडक निर्माण समयमै नहुँदा सवारीसाधन ओहोर–दोहोर गर्नमा सकस भइरहेको नौमुले गाउँपालिका दैलेख सवारी चलाउँदै आएका कर्ण तारामी बताउँछन् ।

लामो समयदेखि सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै गत जेठमा स्थानीयले रूखमा फोटो टाँसेर निर्माण कम्पनीका सञ्चालक सीताराम शाहीको खोजीसमेत गरेका थिए । दबाबपछि केही समय काम थालनी भएको सडक कालोपत्रेको भौतिक प्रगति हालसम्म निराशाजनक छ ।

(Visited 12 times, 1 visits today)





Source link

Leave a Comment