बालेन्द्र शाह पर्खिरहेको काठमाडौंको फोहोर : RajdhaniDaily.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएसँगै काठमाडौं उपत्यकाको फोहोरमैला दीर्घकालीन व्यवस्थापन, नदी प्रणालीको प्रदूषण र वातावरणीय सवालको दीर्घकालीन समाधान हुनेमा उपत्यकाबासी तथा सरोकारवालामा आशा जागेको छ ।

चैत दोस्रो सातासम्ममा फोहोरमैला व्यवस्थापन र प्रदूषण समस्या समाधानका ‘विषय विज्ञ’ प्रधानमन्त्री पाउने आशाले वातावरण संरक्षण क्षेत्रका अभियन्ता तथा सरोकारवालामा आशा पलाएको हो । रास्वपा वरिष्ठ नेता शाहको उदय र परिचय बनाएको काठमाडौंको फोहोरमैलाले दीर्घकालीन व्यवस्थापनका लागि ‘विज्ञ प्रधानमन्त्री’ शाहलाई पर्खिरहेको वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन क्षेत्रका विज्ञ एवं सरोकारवालाले बताउँदै आएका छन् ।

काठमाडौं महानगरपालिका प्रमुखका रूपमा उम्मेदवारी दिँदैगर्दा ‘उपत्यकाको फोहोरमैलालाई नै बहुआयाममिक ढंगले व्यवस्थापन गर्न सकिने’ भन्दै चर्चामा आएका शाहलाई महानगरबासीले आशासाथ भारी मत दिए । सोही मतले विजयी भएर महानगर प्रमुख भएलगत्तै बञ्चरेडाँडा पुगेका शाहले फोहोरको दीर्घकालीन व्यवस्थापन नभएसम्म ‘माला नलगाउने’ घोषणा गरेर अर्को चर्चा बटुले । मेयर रहेकै समय फोहोरका मुद्दामा शाहले जहाँ बोले, त्यसले चर्चा नै चर्चा पायो ।

संघीय सरकारले स्थानीय तहका रूपमा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत खटाउने सवालमा होस् वा प्रमुख प्रशासकीय अधिकृतका बलमिचाइले समस्या हुँदा शाहले ‘सिंहदरबारको फोहोर नउठाउने’ चेतावनीसमेत दिए । ‘संघीय सरकारको असहयोगका कारण फोहोरको दीर्घकालीन व्यवस्थापन हुन नसकेको’ बताउँदै आएका शाहले महानगरको मेयर हुँदा सहरी विकास मन्त्रालयले बोलाउने सर्वपक्षीय बैठकदेखि उपत्यका मेयर फोरम र त्यस्ता साझा मञ्च बहिष्कार गरिरहे । जेनजी आन्दोलनपछि अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरेपछि मेयरबाट राजीनामा गरेका शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा पटकपटक चासो राख्दै आएका छन् ।

बञ्चरेडाँडा–सिसडोल क्षेत्रमा ‘कानेखुसी’
शाहले प्रधानमन्त्रीको शपथग्रहणको समय नजिकिएसँगै उपत्यकाको फोहोरमैला व्यवस्थापनमा गम्भीर असर पर्नेगरी बञ्चरेडाँडा सिसडोल क्षेत्रमा फोहोर व्यवस्थापनमा अवरोध भएपछि शाहलाई फोहोरमैला व्यवस्थापनले पर्खेको सरोकारवाला बताउँछन् ।

शाह निर्वाचित भएलगत्तै फोहोर बिसर्जन क्षेत्रका स्थानीयले ‘विगतका सहमति कार्यान्वयन नभएको’ भन्दै आन्दोलनको चेतावनी दिइरहेका छन् । सरकारले भने नयाँ सरकार गठन भएलगत्तै बाँकी विषय पनि कार्यान्वयन हुने उनको भनाइ छ । आमनिर्वाचनमार्फत करिब दुईतिहाइको सरकारको नेतृत्व गर्ने अवसर पाएका शाहले आफ्नो विज्ञता र एजेन्डा कार्यान्वयनको बलियो अवसर पाएका बेला काठमाडौंको फोहोरको दिगो व्यवस्थापन र बहुआयामिक व्यवस्थापन टुंगोमा पु¥याउन फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षण क्षेत्रमा कार्यरत ठुलो समूह नै ‘अब कि बार, बालेन्द्र सरकार’ भन्दै राजनीतिक अभियानमै जोडिएको थियो ।

फोहोर घटाउँदै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले सुख्खा फोहोर व्यवस्थापनमा सक्रियता देखाएसँगै बञ्चरेडाँडाको चाप घटेको छ । महानगरपालिकाका १० वटा वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गर्न थालेको महानगरपालिका वातावरण महाशाखा प्रमुख सरिता राईले बताइन् । महानगरपालिका प्रमुख हुँदा शाहले नै पूर्ववत् प्रक्रिया रद्द गरी सुरु गरेको ‘क्लस्टर’ निर्माण गरी फोहोरमैला संकलन गर्ने प्रणालीका कारण सहज भएको वातावरण शाखा प्रमुख राईको कथन छ ।

महानगरपालिकाले ‘क्लस्टर’ वर्गीकरण गरी निजी क्षेत्रसमेत परिचालन गरेर सुक्खा फोहर व्यवस्थापन कार्य सुरु भएसँगै काठमाडौं उपत्यकाबाट ल्यान्डफिल साइटमा जाने दैनिक चाप कम भएको छ । ल्यान्डफिल साइटमा करिब ३ दशमलव १९ मेट्रिक टन कम दैनिक रूपमा कम हुन थालेको महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख राईले जानकारी दिइन् ।

‘क्लस्टर’ छुट्टाएर वर्गीकृत फोहोर संकलन र व्यवस्थापन अवधारणा निवर्तमान मेयर शाहकै सोच भएको बताउँदै राईले भनिन्, ‘ट्रान्सफर स्टेसनका लागि जग्गा व्यवस्थापनलगायत धेरै इस्यु संघीय सरकारसँग सम्बन्धित भएका कारण विगतमा अप्ठ्यारो भएको थियो, अब विषय बुझेको व्यक्ति प्रधानमन्त्री भएपछि फोहोरमैला व्यवस्थापन पक्कै सहज हुनेछ ।’

प्रधानमन्त्रीका रूपमा शाह आउने पक्का भएपछि बञ्चरेडाँडाका स्थानीयले समेत फोहोरको दीर्घकालीन व्यवस्थापनमा निश्चिन्त भएको बताएका छन् । हरेकपटक सरकारले सम्झौता गर्दै धोका दिँदै गरेकाले निराश स्थानीय यसपटकको आन्दोलनमा प्रधानमन्त्री शाहसँगै सम्झौता गरेर सधैंका लागि समाधानको बिन्दुमा पुग्नेमा आशावादी छन् ।

३२ वडालाई ६ क्लस्टरमा विभाजन
काठमाडौंको फोहोरमैला व्यवस्थापनलाई ‘क्लस्टर’ वर्गीकरण र फोहोरमैलाको स्रोतमै वर्गीकरण सुरु गरेयता धेरै सजिलो भएको फोहोर मैला व्यवस्थापन क्षेत्रमा कार्यरत नेप्सेम्याक अध्यक्ष टिकाराम दाहाल बताउँछन् । उनका अनुसार महानगरपालिकाले निजी क्षेत्रसमेतलाई समन्वय गरेर ३२ वटा वडालाई ६ क्लस्टरमा बाँडेर सुख्खा फोहोर व्यवस्थापनको नमुना काम गरिरहेको छ ।

महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई ७ भागमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार रुपैयाँ आम्दानी गरिएकोसमेत राईले बताइन् । काठमाडौं महानगरपालिका वडा ७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरिएको हो ।

हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत सञ्चालन गरिएको फोहोरमैला व्यवस्थापन संघले जनाएको छ । काठमाडौं महानगरपालिकाको आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ । वडा २, ३, ४, ५ र ७ पर्ने यस क्लस्टरबाट नमुना सरसफाइ कार्यक्रम सञ्चालन गरिएको नेप्सेम्याक अध्यक्ष दाहाल बताउँछन् ।

क्षेत्र नम्बर–२ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा ६, ८ र ९ पर्छन् । क्षेत्र नम्बर–४ मा मेची पोली इन्डस्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ कबोल गरेको छ ।

यसमा वडा १६, १७ र २६ पर्छन् । वडा १३, १४ र १५ समेटेर क्षेत्र नम्बर–५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर–६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।

५२ स्थानमा ‘ट्र्यास बुम ब्यारियर’
त्यस्तै, काठमाडौंका नदीमा ठाउँठाउँमा वारपार फलाम वा तारजाली बनाएर बोतल, प्लास्टिकका टुक्रा तथा सुख्खा फोहोर संकलन थालिएको छ । काठमाडौं महानगरपालिकाले मात्रै उपत्यकाका ५२ स्थानमा ट्र्यास बुम बेरियर राखेर नदी प्रणालीको फोहोर संकलन गरिरहेको महानगरपालिका वातावरण महाशाखा प्रमुख राईले बताइन् ।

उपत्यकाका विभिन्न स्थानबाट पैदलयात्री तथा बस्तीबाट नदी प्रणालीमा जाने प्लास्टिकजन्य तथा नकुहिने सुख्खा फोहोरको समस्या समाधान गर्न यो विधि प्रयोगमा ल्याइएको हो । उपत्यकाका विष्णुमती, रुद्रमती, मनोहरालगायत नदीमा ट्र्यास बुम ब्यारियर महानगरपालिकाले राखे पनि बागमतीमा भने बागमती एकीकृत सभ्यता विकास समितिको कार्यक्षेत्र भएकाले महानगरपालिका प्रवेश नगरेको राईले बताइन् ।

साप्ताहिक रूपमा नदी, सार्वजनिक स्थान तथा सडक सरसफाइ गरिरहेका अभियानसमेत समेटेर सरसफाइ अभियान चलाइए पनि ट्र्यास बुम ब्यारियर नयाँ अभ्यास भएको राईले बताइन् । उपत्यकाका नदीलाई प्रदूषणमुक्त बनाउन गरिएका विभिन्न उपायमध्ये ठोस फोहोरमुक्त बनाउन यो विधि सबैभन्दा महत्वपूर्ण हुने राई बताउँछिन् ।

(Visited 143 times, 1 visits today)





Source link

Leave a Comment