सन्तुलित टिम, लयमा ब्याटर : लिग २ मा नेपालको पुनरागमन


ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा नेपाल सन्तुलित देखियो । टिममा आएको सन्तुलनसँगै नेपालले ओडीआईमा गुमेको लय फर्काउँदै लिग २ मा पुनरागमन नै गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले घरेलु मैदानमा ८ मध्ये ६ खेल जितेर २४ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।
  • कप्तान रोहित पौडेलले पहिलेका शृङ्खलामा राम्रो खेल्न नसकेको तर यसपटक राम्रो खेलेको भएर यो नतिजा सम्भव भएको बताए ।
  • नेपालले टप अर्डर ब्याटिङ सुधार गर्दै इशान पान्डेको समावेशीकरणपछि घरेलु शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

१० जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा आजभन्दा ठीक एक महिना अघिसम्म नेपाल संकटपूर्ण अवस्थामा थियो । २० खेलमा ५ जित मात्र निकालेको नेपाल १२ अंकका साथ ८ टोलीमध्ये सातौं स्थानमा थियो ।

उक्त अवस्थामा नेपालका लागि आगामी दुई शृङ्खलाहरू महत्त्वपूर्ण हुनेवाला थिए, किनभने नेपालले घरेलु मैदानमा खेल्दै थियो, त्योपनि लगातार दुई शृङ्खला ।

अघिल्लो पटकको लिग २ चक्रमा अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले चमत्कारिक प्रदर्शन गरेर यस्तै संकटपूर्ण अवस्थाबाट शीर्ष ४ मा स्थान बनाएर सोझै एकदिवसीय विश्वकप छनोट खेलेको थियो ।

यसपटक नेपालको शीर्ष ४ सम्भावना अब हुने बाहिरी शृङ्खलामा पनि निर्भर रहनेछ, घरेलु शृङ्खलामा भने नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन देखाइसकेको छ ।

नेपालको यो पुनरागमनमा सबै खेलाडी आ-आफ्नो स्थानमा उत्कृष्ट रहे । ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा नेपाल सन्तुलित देखियो । टिममा आएको सन्तुलनसँगै नेपालले ओडीआईमा गुमेको लय फर्काउँदै लिग २ मा पुनरागमन नै गरेको छ ।

ओमान र यूएईसँगको शृङंखलाबाट सुरु भएको यो पुनरागमन लिग २ कै दुई बलिया टोली- अमेरिका र स्कटल्यान्डविरुद्ध पनि ‘डोमिनेटिङ’ प्रदर्शनसम्म पुग्यो ।

अन्तत: नेपालले घरेलु शृङंखलाका ८ मध्ये ६ खेल जितेर १२ अंक बटुल्यो र अंकतालिकामा २८ खेलबाट २४ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिलेका शृङ्खलामा राम्रो खेल्न नसकेको तर अहिले राम्रो खेलेका कारण जित सम्भव भएको बताउँछन् ।

‘हामीले दुवै सिरिजमा राम्रो खेल्यौं, विशेषगरी अमेरिका र स्कटल्यान्डसँगको शृङ्खला राम्रो रह्‍यो । दुवै बलिया टिम हुन्, उनीहरूसँग यस्तो प्रदर्शन गर्नु भनेको हाम्रो स्तर राम्रो भएको देखाउँछ’ कप्तान रोहितले भने, ‘पहिलेका शृङ्खलामा राम्रो खेल्न सकेका थिएनौं, यसपटक राम्रो खेल्यौं त्यही भएर यो नतिजा सम्भव भयो ।’

अब नेपालले घरबाहिर गएर दुई शृङ्खला खेल्न बाँकी छ, जसले नेपाल शीर्ष ४ भित्र पर्ने वा नपर्ने कुरा तय गर्नेछ । कप्तान रोहितले आफ्नो स्तरको प्रदर्शन गर्न सकेमा बाहिरी शृङंखलामा पनि धेरै समस्या नहुने बताए ।

‘बाहिरी कन्डिशनमा खेल्न च्यालेन्ज नै हुन्छ, तर हाम्रो लेभलको क्रिकेट खेल्न सक्यौं भने बाहिर पनि जित सम्भव हुन्छ’ कप्तान रोहितले भने, ‘बाहिर गएर खेल्न नसक्ने भन्ने त हुँदैन तर होम टिमलाई अलिकति एड्भान्टेज हुन्छ हामीले अझै बेटर क्रिकेट खेल्नुपर्छ ।’

लेग स्पीनर सन्दीप लामिछानेले एकमात्र विकल्प राम्रो खेल्ने र जित निकाल्दै जाने भएको बताएका छन् । ‘भोक लागेको बेला खानेकुरा खाएर चुप लागेर बस्ने हो, त्यहीभएर अब बाँकी खेल जित्दै जाने त्यसपछि के हुन्छ त्यहीबेला हेर्नेे’ सन्दीपले नेपालको तेस्रो खेलपछि भनेका थिए ।

पहिलो शृङ्खला ‘रियालिटी चेक’, दोस्रोमा फेरियो नतिजा

सन्तुलित टिम, लयमा ब्याटर : लिग २ मा नेपालको पुनरागमन

नेपालका लागि घरेलु मैदानको पहिलो शृङ्खला एउटा कडा ‘रियालिटी चेक’ जस्तै थियो । नेपाल दबाबपूर्ण अवस्थामा रहेका बेला टिम कम्बिनेसन मिलाउन पनि संघर्ष गरिरहेको थियो । त्यही संकटका बीच नेपालले युवा खेलाडीहरूलाई मौका दिने साहसिक निर्णय पनि गर्‍यो ।

यूएईसँगको पहिलो खेलमा ब्याटिङ दमदार हुन नसकेपनि नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट लयमा खेल जितेको थियो । दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भयो ।

त्यसपछि नेपालले टिम कम्बिनेसनमा केही फेरबदल गरेर दुवै ओपनर परिवर्तन गर्दै युवा ब्याटर अर्जुन कुमाल अनि भेट्रान ब्याटर विनोद भण्डारीलाई मौका दिएको थियो । त्यसपछिका दुई खेल नेपालले जित्यो पनि ।

नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेख दुवैलाई आराम दिँदै नेपालले विनोद र अर्जुनको जोडी प्रयोग गरेको थियो । त्यस शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध आसिफ भने टिममा फर्किए र ९४ रनको पारी खेले ।

सन्तुलित टिम, लयमा ब्याटर : लिग २ मा नेपालको पुनरागमनयसबीचमा २ खेलमा मौका पाएका अर्जुनले ११ र ४८ को स्कोर बनाए । विनोदले ५६ र ० को स्कोर बनाए । दुवैले स्कटल्यान्डसँगको पहिलो खेलमा पनि मौका पाए जहाँ अर्जुनले रन जोड्न नसक्दा विनोद पनि १० रनमा आउट भए ।

यो ‘रियालिटी चेक’ मा नेपाल केही हदसम्म सफल साबित भएको देखियो र नयाँ कम्बिनेसनका साथ ४ मध्ये ३ खेल जित्दै टोलीले आफ्नो पुनरागमनको बलियो जग बसाल्यो । तर जितको लय कायमै राख्‍ने चुनौती भने अझै देखिन्थ्यो किनभने अर्जुन र विनोदको लय एकैप्रकारको नहुँदा नेपालको टप अर्डर ब्याटिङ केही हदसम्म ‘भल्नरेबल’ नै देखिन्थ्यो ।

‘टप अर्डरबाट रन बनिरहेको थिएन, विनोद दाई अनि अर्जुनले मौका पाउँदा राम्रो प्रदर्शन पनि गरे’ कप्तान रोहितले परिवर्तनबारे भनेका छन् ।

तर दोस्रो शृङ्खलामा भने नेपाली टोलीमा अझ निखार देखियो । पहिलो खेलमा विनोद भण्डारी नचलेपछि दोस्रो खेलमा कुशल भुर्तेलले फेरि मौका पाए, अमेरिका विरुद्ध शानदार शतक प्रहार गरे । त्यस खेलमा आसिफले पनि अर्धशतक बनाए ।

यी दुई ओपनरद्वयले आफूहरू निर्विकल्प रहेको जनाउ नै दिए । बाँकी दुई खेलहरूमा पनि यही ओपनिङ जोडीको प्रयोग भयो, जसले नेपालको ब्याटिङ सन्तुलनमा पनि ल्यायो ।

ओपनरपछि वान डाउनमा इशान पान्डे अनि २ डाउनमा कप्तान रोहित पौडेलले पनि राम्रो प्रदर्शन गर्न सक्दा नेपालको मिडल अर्डरमा दबाब पनि कम देखियो ।

‘हामीले अघिल्लो शृङ्खलामा केही संघर्ष गरेका थियौं, विशेषगरी टप अर्डरबाट क्लिक भइरहेको थिएन तर यसपटक भने ब्याटिङ बलिङ सबै राम्रो भयो’ कप्तान रोहितले भनेका छन् ।

कमजोर ब्याटिङमा सुधार 

दोस्रो शृङ्खलाअघि नेपालले टिममा एउटा परिवर्तन गर्‍यो। घरेलु खेलहरूमा निरन्तर राम्रो प्रदर्शन गरिरहेका इशान पान्डे पहिलोपटक नेपालको ओडीआई टोलीमा समावेश भए ।

पहिलो खेलमै भने मौका नपाएका उनले त्यसपछिका तीनवटै खेल खेले, तीनवटैमा राम्रो प्रदर्शन पनि गरे । संयोगवश, इशान पान्डेले खेलेका तीनवटै खेल नेपालले जित्यो पनि । पहिलो खेलमा २० रनमा अविजित रहेका इशानले त्यसपछि ५५ र ८४ को स्कोर बनाए । उनका लागि डेब्यू सिरिज यादगार रह्‍यो ।

नेपालको कमजोरीका रूपमा रहँदै आएको ब्याटिङ यो शृङ्खलामा आइपुग्दा भने धेरे राम्रो भएको देखियो । पहिलो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल त्यसपछिका तीन खेलमा भने विपक्षीमाथि हावी नै भयो ।

बलिङ सधैं मजबुत रहँदै आएको नेपाली टिममा ब्याटिङको पनि सन्तुलन मिल्दा उत्कृष्ट नतिजा निकाल्न सम्भव भयो । कप्तान रोहितले अघिल्लो सिरिजमा केही संघर्ष भएपनि टप अर्डर ब्याटिङ सुध्रिएपछि यो सिरिज अझ राम्रो भएको उल्लेख गरेका छन् ।

सन्तुलित टिम, लयमा ब्याटर : लिग २ मा नेपालको पुनरागमन

‘हामीले अघिल्लो शृङ्खलामा केही संघर्ष गरेका थियौं, विशेषगरी टप अर्डरबाट क्लिक भइरहेको थिएन तर यसपटक भने ब्याटिङ बलिङ सबै राम्रो भयो’ उनले भने । कप्तान रोहित आफैं पनि लयमा देखिए । यसबारेमा बोल्दै उनले भने, ‘अब रन लागिरहेको थिएन, आफैंलाई पनि नराम्रो लागिरहेको थियो ।  यसपटक योगदान दिन पाएँ, टिमको लागि पनि राम्रो भयो ।’

इशान पान्डेको आगमनपछि टप अर्डर अझ सुदृढ भएको कप्तान रोहितको भनाइ छ । ‘हामी दुई-तीन वर्षदेखि यही खोजिरहेका थियौं, टप अर्डरमा बाँयाहाते ब्याटर आवश्यक नै हो । इशान आएपछि त्यो कुरामा सजिलो भएको छ’ रोहितले भने, ‘लेफ्ट आर्म स्पीनरसँग खेल्न इशान भएपछि सजिलो भयो जसले अर्को राइट ब्याटरलाई पनि सजिलो हुन्छ । त्यसकारण लेफ्ट राइट कम्बिनेसन महत्त्वपूर्ण हुन्छ ।’

इशानले पनि बाँयाहाते ब्याटर हुनु फाइदाको विषय भएको बताए । ‘म नभएपनि अरु कोही लेफ्ट ब्याटर भएपनि टिमको लागि राम्रो नै हुन्छ भन्ने किसिमको सोच राखेको थिएँ । मलाई टिममा बोलाउनुहुन्छ भन्ने आशा चाहिँ थियो’ इशानले भने, अहिले राम्रो प्रदर्शन गर्न पनि सम्भव भएको छ । मेहेनत गरिरहेको थिएँ, त्यही कुराको नतिजा हो जस्तो लाग्छ ।’

‘मलाई एउटा सिम्पल रोल दिनुभएको छ । ४० ओभरसम्म आफ्नै हिसाबले ब्याटिङ गर्ने र क्रिजमा टिक्ने भन्नुभएको थियो । त्यही अनुसार खेलें कुनै दबाब पनि थिएन’ इशानले भने ।

दीपेन्द्र र सन्दीपको लय

नेपालका लागि यी दुवै शृङ्खलामा देखिएको अर्को सकारात्मक पक्ष भनेको अलराउन्डर दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको लय हो । दुवैका लागि यो शृङ्खला शानदार नै रह्‍यो ।

दीपेन्द्र नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी रहे भने सन्दीप सर्वाधिक विकेट लिने बलरका रूपमा रहे । दीपेन्द्रले अलराउन्ड क्षमता फेरि प्रमाणित गरिदिए ।

दीपेन्द्रले घरेलु शृङ्खलाका ८ खेलमा ७ पटक ब्याटिङको मौका पाउँदा ४ अर्धशतक र १ शतकसहित ३८४ रन बनाएका छन् । यस्तै अफ स्पीन बलिङमा ११ विकेट समेत लिए ।

सन्तुलित टिम, लयमा ब्याटर : लिग २ मा नेपालको पुनरागमन

दीपेन्द्रको शानदार लयकै कारण उनी नेपालका ‘एक्स फ्याक्टर’ प्लेयर हुन् भनेर फेरि एकपटक प्रमाणित गरे । कप्तान रोहितले टप अर्डर ब्याटिङ सुध्रँदा दीपेन्द्रमाथि दबाब कम भएको र उनले राम्रो फिनिसिङ दिलाउन सकेको बताएका थिए ।

यस्तै स्टार लेग स्पीनर सन्दीप लामिछाने पनि उत्कृष्ट लयमा देखिए । उनले शृङ्खलाका ८ खेलमा १९ विकेट लिए । कुनैपनि खेलमा सन्दीप विकेटविहीन हुनुपरेको थिएन । उनले नै नेपाललाई विकेट लिन संघर्ष गरिरहेका बेला महत्त्वपूर्ण ‘ब्रेकथ्रु’ हरू पनि दिलाए । यही बीचमा उनले ओडीआईमा १५० विकेट पूरा गर्दै कीर्तिमान समेत बनाए ।

‘एउटा योजना बनाइएको थियो, त्यही योजना अनुसार राम्रो बलिङ गर्न सक्दा विकेट निकाल्न सम्भव भइरहेको थियो । अन्य खेलाडीबाट पनि सपोर्ट भइरहेको थियो’ सन्दीपले भनेका छन् ।

अबको चुनौती

नेपालले अब लिग २ क्रिकेटमा दुई बाहिरी शृङ्खला खेल्न बाँकी छ । नेपालले अब जुलाईमा नेदरल्यान्ड्स र नामिबियासँग नेदरल्यान्ड्स गएर खेल्नेछ ।

अंकतालिकामा हाल नेदरल्यान्ड्स नेपालभन्दा माथि रहेको छ । नामिबिया भने सातौं स्थानमा छ । उक्त शृङ्खलामा पनि नेदरल्यान्ड्सलाई दुवै खेलमा हराउने चुनौती नेपालका सामू हुनेछ ।

त्यसपछि नेपालले अक्टोबरमा ओमान र क्यानडासँग ओमानमा खेल्नेछ । ओमान हाल तेस्रो स्थानमा छ भने क्यानडा हाल नेपालभन्दा ठीक तल छैटौं स्थानमा छ ।

यसरी नेपालले आगामी शृङ्खलाहरू घरभन्दा बाहिर खेल्ने भएकाले बाँकी दुई शृङ्खलामा पनि नेपाल आवश्यक जितको खोजीमा रहनेछ ।





Source link

Leave a Comment