प्रकाशित मिति : असार ३०, २०८२ सोमबार
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सक्रिय भएर मूल्य र आदर्शको पक्षमा उभिन डेमोक्र्याटहरू सँग आग्रह गरेका छन ।
न्यू जर्सीमा आयोजित कार्यक्रममार्फत डेमोक्र्याटहरूलाई कडा सन्देश दिँदै उनले देशको वर्तमान अवस्थाबाट निराश हुन नहुने बताए ।
ओबामाले भने, ‘यो समय गुनासो गर्ने, वा निष्क्रिय हुने होइन । अब डेमोक्र्याटहरूले बलियो बन्नु जरुरी छ।’
डेमोक्र्याटहरु सधै स्वतन्त्र अभिव्यक्तिको पक्षमा हुने भन्दै उनले अरूको असहज अभिव्यक्तिलाई पनि स्वीकार गर्न सक्ने साहस आवश्यक आवश्यक रहेकोमा उनको जोड छ ।
ओबामाको यो टिप्पणी ट्रम्पको दोस्रो कार्यकालमा डेमोक्र्याटिक पार्टीको दिशा र नेतृत्वको बहसबीच आएको हो । सत्ता बाहिर रहेको डेमोक्र्याटिक पार्टीभित्र नेतृत्व र रणनीतिबारे गम्भीर छलफल भइरहेको छ ।
ओबामाले न्यू जर्सी र भर्जिनियाका गभर्नर पदका उम्मेदवारहरूलाई समर्थन गर्न सबैलाई आग्रह पनि गरे ।
न्यू जर्सीबाट डेमोक्र्याट उम्मेदवार मिकी शेरिल र भर्जिनियाबाट पूर्व सांसद अबीगेल स्पानबर्गरलाई उनले ‘व्यावहारिक र जनताका लागि समर्पित नेतृ’ भनेका छन ।
डेमोक्र्याटिक राष्ट्रिय समितिको लागि पनि स्रोत तयार पार्न आग्रह गर्दै उनले आगामी चुनाव डेटा र सामाजिक सञ्जालमार्फत हुने भन्दै जसका लागि पैसा, समय र दक्षता आवश्यक रहेकोमा जोड दिए ।
ओबामाले अमेरिकाका संस्थाहरू विश्वविद्यालय, कानुनी संस्था आदिलाई ट्रम्प प्रशासनको धम्की र दबाबको विरोध गर्न आह्वान गरे । उनले भने, ‘रिपब्लिकन पार्टीमा अब कुनै सुरक्षा रेखा बाँकी छैन । मलाई ट्रम्पका गतिविधिबाट अचम्म छैन ।’
ओबामाले देशको लोकतन्त्र र भविष्यका पुस्ताका लागि सबैले आफ्ना मूल्यहरू र आदर्शको रक्षा गर्न केही असहजता सहन तयार हुनुपर्ने बताए।
यस कार्यक्रममा न्यू जर्सीका गभर्नर फिल मर्फी र उनकी पत्नी ट्याम्मी मर्फीको आतिथ्यमा २५ लाख डलरको रकम संकलन भएको थियो । जसको केही भाग न्यू जर्सी गभर्नरको निर्वाचनमा खर्च गरिने बताइएको छ।
ओबामाको यो सम्बोधनले स्पष्ट रूपमा देखाउँछ कि डेमोक्र्याटिक पार्टीलाई अब निष्क्रियता, निराशा वा विभाजन चाहिएको छैन ।
अब सक्रियता, एकता र व्यावहारिक दृष्टिकोण चाहिएको छ । जसको सुरुवात स्थानीय स्तरमै हुनुपर्ने संकेत ओवामाले प्रष्ट रुपमा दिएका छन्।