शिकागोमा नेपाली सांस्कृतिक केन्द्र बनाउन जुलाई ५ देखि महायज्ञ



प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

शिकागोमा नेपाली सांस्कृतिक केन्द्र बनाउन जुलाई ५ देखि महायज्ञ

अमेरिकाको इलिनोय राज्यको शिकागो क्षेत्रमा नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि २० लाख डलर संकलन गर्ने लक्ष्यसहित जुलाई ५ देखि ११ सम्म साताव्यापी “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा शिकागो आध्यात्मिक महोत्सव–२०२६” आयोजना हुने भएको छ।

शिकागो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको साझा सांस्कृतिक, धार्मिक र सामाजिक केन्द्र निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन्। महोत्सव १०१ एस चर्च रोड, बेन्सेनभिल, इलिनोइसस्थित प्रस्तावित नेपाली सांस्कृतिक केन्द्रको आफ्नै स्थलमा सञ्चालन हुनेछ।

महोत्सवमा प्रख्यात वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन तथा प्रवचन हुनेछ। आयोजकले “घर–घरबाट उठौँ, नगर–नगरबाट जुटौँ, यो महाअभियानमा काँधमा काँध मिलाऔँ” भन्ने मूल नारासहित सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि आह्वान गरेको गरेका छन्।

“सांस्कृतिक केन्द्र निर्माणका लागि हालसम्म झण्डै २ लाख ५० हजार डलर संकलन भइसकेको छ। यो महायज्ञमार्फत २ मिलियन डलर संकलन गर्ने लक्ष्य राखेका छौँ। सबैले साथ दिनुहुनेमा हामी आशावादी छौँ,” महायज्ञ मूल समारोह समितिका संयोजक बाला घिमिरेले खसोखासलाई जानकारी दिए।

भविष्यका पुस्ताका लागि स्थायी सम्पदा निर्माण गर्ने अभियान

महायज्ञ मूल समारोह समितिका नाममा जारी गरेको विशेष अपिलमा यो अभियान केवल धार्मिक कार्यक्रम नभई शिकागोमा नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानलाई पुस्तान्तरण गर्ने स्थायी केन्द्र निर्माणको ऐतिहासिक अवसर भएको उल्लेख गरिएको छ।

शिकागोमा नेपाली सांस्कृतिक केन्द्र बनाउन जुलाई ५ देखि महायज्ञ

प्रत्येक नेपाली परिवारलाई सकेसम्म सातै दिन महोत्सवमा सहभागी हुन आग्रह गर्दै सम्भव नभए कम्तीमा एक दिन उपस्थित भएर पनि अभियानलाई साथ दिन अनुरोध गरिएको छ।

संयोजक घिमिरेले महोत्सवमा उपस्थित हुने, स्वयंसेवकका रूपमा सेवा गर्ने, भोजन, हल, साउन्ड सिस्टम तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने, नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक योगदान गर्ने तथा परिवार र साथीभाइलाई अभियानमा जोड्न आग्रह गरेका छन्।

प्रत्येक दान, प्रार्थना, स्वयंसेवा र सहयोगले शिकागोमा नेपाली समुदायका लागि स्थायी सांस्कृतिक केन्द्र निर्माण गर्ने अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको भनाई छ।

उद्घाटनदेखि पूर्णाहुतिसम्म सात दिन कार्यक्रम

जुलाई ५ आइतबार बिहान ८:३० बजे शुभ शोभा कलश यात्रासँगै महोत्सवको शुभारम्भ हुनेछ। त्यसपछि उद्घाटन समारोह, प्रसाद वितरण तथा दिउँसोदेखि श्रीमद्भागवत कथा, भजन–कीर्तन, दाता सम्मान र आरती कार्यक्रम सञ्चालन गरिनेछ।

जुलाई ६ देखि १० सम्म प्रत्येक दिन बिहान पूजा तथा श्रीमद्भागवत पाठ–पारायण र दिउँसोदेखि साँझसम्म कथा प्रवचन, भजन–कीर्तन, दाता सम्मान तथा आरती हुनेछ।

जुलाई ११ मा अन्तिम दिन पूजा, कथा प्रवचन तथा साँझ ७ बजे पूर्णाहुति र समापन समारोह आयोजना गरिने कार्यक्रम छ।

दाताका लागि सम्मान योजना सार्वजनिक

नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि प्राप्त हुने सहयोगलाई प्रोत्साहन गर्न आयोजकले विभिन्न तहको सम्मान योजना सार्वजनिक गरेको छ।

एक डलरदेखि १०० डलरसम्म सहयोग गर्ने सबै दाताको नाम स्मारिकामा समावेश गरिनेछ भने १०१ डलरभन्दा माथिका दातालाई धन्यवादपत्र, सम्मानपत्र तथा सार्वजनिक सम्मान गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी पाँच हजार डलरभन्दा माथि सहयोग गर्ने दाताको नाम सांस्कृतिक केन्द्रको शिलालेखमा अंकित गरिनेछ। ३० हजार डलरभन्दा बढी सहयोग गर्ने दाताको नाम सांस्कृतिक केन्द्रको एक कक्षमा राखिनेछ भने एक लाख डलरभन्दा बढी योगदान गर्ने दाताको नाममा केन्द्रको प्रवेशद्वार वा कुनै ब्लकको नामकरण गरिने आयोजकले जानकारी दिएका छन्।

विशेष धार्मिक सेवा

महायज्ञ अवधिभर भक्तजनका लागि तुलादान, गृहशान्ति पूजा, रुद्राभिषेक, चौरासी पूजा, नवग्रह पूजा, चुडाकर्म (मुण्डन), गन्धर्व विवाह तथा बेल विवाहजस्ता धार्मिक सेवाको व्यवस्था गरिएको छ।

सातै दिन भोजन तथा प्रसाद वितरणको व्यवस्था रहने आयोजकले जनाएको छ। साथै प्रसाद, भोजन, यातायात, धार्मिक सामग्री तथा कार्यक्रम व्यवस्थापनका विभिन्न पक्षमा स्पोन्सर गर्न इच्छुक व्यक्ति तथा संस्थालाई पनि सम्पर्क गर्न अनुरोध गरिएको छ।

कलश यात्राका लागि सीमित अवसर

आयोजकका अनुसार उद्घाटन दिन हुने शोभा कलश यात्राका लागि सीमित संख्यामा मात्रै कलश बाँकी रहेका छन्। एक कलशमा एक जनाको मात्र नाम समावेश गरिने भएकाले सहभागी हुन चाहने भक्तजनलाई यथाशीघ्र नाम दर्ता गर्न आग्रह गरिएको छ। कलश यात्रामा सहभागी हुनेहरूलाई परम्परागत नेपाली वा धार्मिक पोशाकमा उपस्थित हुन प्रोत्साहित गरिएको छ।

थप जानकारी, कलश बुकिङ, दान तथा स्वयंसेवा सम्बन्धी सहयोगका लागि महायज्ञ मूल समारोह समितिका संयोजक बाला घिमिरे, सह–संयोजक शिव अधिकारी तथा आयोजक समितिका अन्य सदस्यहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ।





Source link

Leave a Comment